Ashesh Malla – Ma Akshar Ra Mero Kavita

अशेष मल्ल – म, अक्षर र मेरो कविता
(मधुपर्क २०६५ माघ)

अक्षरहरूको युद्धमा
मैले शब्द बुन्न नसक्दा
कविता
अधुरो भएको छ
ठीक अहिलेको
भयग्रस्त वर्तमान जस्तो ।
चौबाटोमा उभिएको
अन्योल बटुवा
उभिएको उभियै छ
मेरो कविता जस्तो
न यता न उता
आफ्नै युद्धले थकित
मेरो सपना ।
क्रुद्ध अक्षरहरू
चिथोर्दै भन्दैछन्
कति पछार्छस् कागजका छातीमा मलाई ?
म अनुत्तरित कवि
भावनाका लहरबाहेक
के छ र मसँग
खेप्न सक्दिन
अक्षरहरूका विद्रोह
अब मेरो कविता
कहाँ गएर सकिन्छ
कविताको मृत्यु
के यसरी पनि हुन्छ
मलाई थाहा थिएन ।
बाध्य छु
अक्षरहरूसँग सम्झौता गर्न
असङ्ख्य गोमन पीडाले
आहत मनसँग
न शब्द छन्
न वाक्य
न धुन
न राग
न रङ
अमूर्त अमूर्त भावहरू
अक्षरकै सहाराले
बिउँझन्छन् सिर्जनामा
म कवि
व्यर्थैको अहंले मात्तिएको छु
नत्र
मेरा कविताहरू किन
बेवारिस
पछारिन्थे घुर्‍यानमा
यत्रतत्र ।
मलाई थाहा छ
अक्षरहरू ठोक्किएर
भत्किए पर्खालहरू

भित्रिए उज्यालाहरू
अँध्यारा अँध्यारा चोक, गल्लीहरूमा
के बादल फाटेका होइनन्
कविताका प्रहारले ?
निख्खुर काला बादल
पराजित भए कविताका बज्रहरूले
अहिले पछारिएर अर्धचेत
समयको झापड खेप्दै छ कविता
म थकित कवि
निरीह कलमलाई सोध्दैछु
तिमी थाक्यौ कि म ?
कि यो वर्तमान ?
निःशब्द
मौन
एउटा गर्त
म, कलम र अक्षरहरूमाझ
सायद
अन्योलग्रस्त वर्तमान
पर्खिरहेछ
एउटा अर्को कविता ।

Baidyanath Upadhyaya – Haami

वैद्यनाथ उपाध्याय – हामी

सुन्दर विचारहरूले
पृथिवी सुन्दर छ ।
दुष्ट विचारहरूको कालो मुश्लो
उठदै छ क्षितिजभरी
चारैतिर अस्थिरता, नश्वरता
छाएको यो समयमा
कुन स्थायित्वको सोचमा
मग्न भएछौं हामी..?

सुरसाको Continue reading “Baidyanath Upadhyaya – Haami”

Ashesh Malla – Farkai Deu Mero Manko Ek Jodi Parewa

अशेष मल्ल – फर्काइदेऊ मेरो मनको एक जोडी परेवा

आज कतै गएर
एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ
मनका सबै लगाम फुकाएर
आज कतै दौडूँ लागिरहेछ

मन सधैँ पानी भएर बग्यो
उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न Continue reading “Ashesh Malla – Farkai Deu Mero Manko Ek Jodi Parewa”

Madhav Prasad Ghimire – Afnai Roop Ko Chhaya Heri

माधबप्रसाद घिमिरे – आफ्नै रूपको छायाँ हेरी
(‘किन्नर-किन्नरी’)

अञ्जुलिमा उबाएर पिऊँपिऊँ पानी
आफ्नै रूपको छाया हेरी छक्कै रूपा रानी

अञ्जुलिको यही पानी आफैं पिइद्यूँ त
आफ्नै रूप पिइन्छ कि? यही पानीसित

अञ्जुलिको यही पानी भुइँमा पोखिद्यूँ त
आफ्नै रूप पोखिन्छ कि? यही पानीसित

काँपिगयो अञ्जुलि त, भुइँमा पर्यो पानी
त्यस्तै फुल्यो फूल पनि, जस्ती रूपा रानी

Reshma Shakya – Andolanma Dherai Jana Marnuparchha Hajur (Nepali Gajal)

रेशमा शाक्य – आन्दोलनमा धेरै जना मर्नुपर्छ हजुर

आन्दोलनमा धेरै जना मर्नुपर्छ हजुर
निरंकुश तन्त्र सट्ट फ्याँक्नु पर्छ हजुर

हान्नु पर्छ ढुङ्गाले हान्न जान्नु पर्छ
राजतन्त्र बाली बाली ताप्नु पर्छ हजुर

सक्छौ भने छेपारो झैँ रङ्ग फर्नेहरू
भटाभट चिनेर मास्नु पर्छ हजुर

आफू आफू झगडा गरी स्वार्थी बन्नेहरू
उस्तै परे कहिलेकाहीँ त्याग्नु पर्छ हजुर

नत्र फेरि फिर्ता जाला लिएको अधिकार
खबरदार गर्नु परे गर्छ रेशमा हजुर

Kashiram Biras – Piratiko Nasaama Jhulekai Ta Raamro (Nepali Gajal)

काशीराम विरस – पिरतीको नसामा झुलेकै त राम्रो (गजल)
(मधुपर्क बैशाख, २०६७)

यौवनका फूलहरू फुलेकै त राम्रो
पिरतीको नसामा झुलेकै त राम्रो ।

फूल पनि फुल्न खोज्छन् घामपानी मिल्दा
समझदार भएर खुलेकै त राम्रो ।

द्यौरालीमा पर्खिबसें आँखा डुलाएर
चौतारीमा बोलाएर भुलेकै त राम्रो ।

मनको फूलबारीमा रोपिएर फूल
भँमरा भै लटि्ठएर डुलेकै त राम्रो ।

यौवनका फूलहरू फुलेकै त राम्रो
पिरतीको नसामा झुलेकै त राम्रो ।

Pradeep Chapagain – Taara Ra Jun Ka Kura

प्रदीप चापागाईं – तारा र जुनका कुरा

आमा
कोशौँ टाढा स्वदेशमा
उनको स्नेहले भरिएको मन
अनी परदेशिएको सन्तान
यादै यादले घोच्ने समय
उनका रित्तिएका आँखाहरु
बाटोभरी ओछ्याएर
पर्खाईमा थाक्दिनन् आमा आफ्नो छोरोको
तर्कनाहरु बुन्दै बस्छिन् मायाको डोरोको !!

बिरानो माटोभित्र नपाउने आत्मियता
झझल्कोमा त्यही पखेरोको सामिप्यता
वरिपरी लाखौं अनुहारहरु
मागेर नमिल्ने गुहारहरु
सुखदु:खको मझेरीमा अल्झदै
दिन र रातको फरक नदेखि
बढ्दो छ अघी तिम्रो छोरो आमा
तिम्रै वचनलाई साक्षी राखेर
तिम्रो व्यग्र चाहनालाई
थाती मै राखे अझै केहि वर्ष आमा
अनि
मेरा हँसिला तस्विरलाई
छाती मै राखे अझै केहि वर्ष आमा !

करेसामा मैले रोपेका फूलहरु
रोदनले फुल्दै होलान्
साथीसँगी का बेसारे हूलहरू
म विनै डुल्दै होलान्
मेलापातको रौनक
चाडबाडको उत्साह
र छिमेकीका गुनासाहरु
एक एक गरी सबैलाई
मिलाउँदै बसे अझै केहि वर्ष आमा
छुटेको साथ अनि टुक्रेको मन
सिलाउँदै बसे अझै केहि वर्ष आमा !

घडी पक्कै पनि रोकिने छैन
आशा पक्कै पनि भाँचिने छैन
त्यही सुनौलो दिनको बिहानीमा
तिम्रो मन टाल्न
तिम्रो काख भर्न
अनि तिम्रा सपनाहरु सजाउन
तारा र जूनका कुरा बोकी आउँला आमा,
सकेँ भने सुनका चुरा बोकी आउँला आमा !

Sabina Sindhu – Ghantaghar Ra Sapana

सबिना सिन्धु – ‘घण्टाघर र सपना’

प्रत्येक दिन नयाँ प्रणयसाथ
म उभिन्छु घण्टाघरझैं
समयले अँगाल्छ मलाई ।
र रातमा पोल्टटाभरीका
जून निलेर निदाउँछु ।
घण्टाघरले फेरी
रातको बाह्र बजाउँछ
म झलमल्ल
घामको सपना देख्छु
निन्द्रामै छट्पटिन्छु
जीवनका कलिला हाँगाहरुमा
फेरी
उभिन खोज्छन् मेरा रहरहरु
मेरा नपुङ्सक सपनाहरु
फेरी घण्टाघरको घडिसँगै
पछि दौडन खोज्छन्
म नबोली नबोली
मिठो सपनी देखिरहन्छु
जीवनहीन जीवन बाँचिरहन्छु
मृत्युपत्रमा
हस्ताक्षर गर्न नचाहेर ।

व्यँुझिएर घडि हेर्छु
एउटा सङ्ग्तिमय सुरुवात
फेरी सम्प्रेषित हुन्छ

म केही होइन
संसार केही होइन
टेबुलबाट घडि उठाउँछु
कैद गर्छु
मेरो नाडीमा कैद हुन्छ
ठिङ्ग उभिएको घण्टाघर ।

Engineer Rakesh Karki – Jaya Maobadi

इन्जिनियर राकेश कार्की – जय माओवादी

असाइलम भन्ने यो
दान हो कि वरदान
तिम्रै समग्र कारण
यो अमेरिकन पहिचान

हरियो पत्ताको यो देशमा
केवल तिम्रा मात्र वादी
अमेरिकन बनाउने
जय माओवादी

लेखन्दासलाई Continue reading “Engineer Rakesh Karki – Jaya Maobadi”

Manoj Bogati – Dhunga

मनोज बोगटी – ढुङ्गा

ढुङ्गा-1
उसको कठोरता
तिम्रै आँखाको दोष।

ढुङ्गा
कसैको घड़ेरी हो
घर हो, मन्दिर हो, शहर हो
ढुङ्गा कसरी कठोर हुन सक्छ?

ढुङ्गा पनि फुट्छ
तिम्रो मन जस्तै
विचार जस्तै
विश्वास जस्तै।

कति धेरै अन्तरविरोध र असन्तुष्टी छ तिमीसित
ढुङ्गामा केही छैन, शान्त छ।

तिमीले सिक्नुपर्ने यही थियो।

ढुङ्गा-2
खोलाको ढुङ्गामा छल्किने पानी
अथवा खोलाको जिन्दगानी।
ढुङ्गाले
जीवनको फिँजफोकाको कथा भन्छ
नबुझेर तिमी भने रोइरहन्छौ।

ढुङ्गा-3
तिमी यति माथि छौ
यति माथि छौ
ढुङ्गालाई नै टेकेर छौ।
यो पक्का हो
तिमीले जस्तो
ढुङ्गाले विश्वासघात गर्दैन।

ढुङ्गा-4
पर्खालजस्तो अनुशासन अर्को छैन।

पर्खाल नहुनु हो
तिमी मारिन्थ्यौ।
पर्खालको दर्शन नबुझेरै मारिन्थ्यौ।

मर्नुबाट जोगाउन दह्रोसित उभेको पर्खाल नै तोड़्‌न चहान्छौ?
पर्खालले तिमीलाई तोड़्‌न रोक्दैन।

ढुङ्गा-5
देउरालीको
तीनचुले ढुङ्गा
सत्यम्‌, सुन्दरम्‌, शिवम्‌।

हेर्न सिक।

ढुङ्गा-6
खिड़्‌की फुटाउन ढुङ्गा हान्छौ कि रिस्‌?
छानामाथि ढुङ्गा बज्रन्छ कि आह्रिस्‌?
ढुङ्गाको के दोष
तिम्रो पो दोष।

ढुङ्गा-7
ढुङ्गा कुटेेरै जीवन बनाउँछौ
ढुङ्गा ढोगेरै पानी चढ़ाउँछौ
तिमीलाई
तिम्रो भन्दा पनि धेर
ढुङ्गामाथि विश्वास छ।

ढुङ्गा-8
भातमा ढुङ्गा लाग्दा
नरिसाउनु मायालुसित।

यस्तो घटना
चपाएरै खानेहरूसित घट्छ।

ढुङ्गा-9
तिमी ढुङ्गाको नकल गर्न सक्तैनौ।

ढुङ्गा-10
ढुङ्गाले गह्रौं हुन सिकाउँछ
बलियो हुन सिकाउँछ।

बॉंच्न सिक्दा
निधार फुट्छ
खिड़्‌की फुट्छ
घर फुट्छ।

ढुङ्गाले होसियारीसित सिक्न सिकाउँछ।

नसिक्नेलाई
मन्दिरको पनि अर्थ छैन
मूर्तिको पनि अर्थ छैन।

अर्थ नहुनु कला नहुनु त हो
आफै नहुनु त हो।

नसिक्नेलाई
ढुङ्गा मात्र हो

Bhupin Byakul – Sapana Haru Ko Rang

भूपिन ब्याकुल – सपनाहरुको रङ

मेरो देशका प्रिय सपनाहरु
भेटिन्नन यो देशका साँघुरा सीमानाहरूभित्र
उनीहरुको यात्रा
बिदेशमा जीवनको खोजीबाट सुरु हुन्छ
र आत्महत्याको योजनामा पुगेर टुंगिन्छ !

सपनाको छातीभित्र
हरदम बजिरहन्छ एउटा अन्तरास्ट्रिय धून
जहाँ हुँदैन कुनै राष्ट्रिय ढुकढुकी
आँखाभित्र
निरन्तर नाचिरहन्छ एउटा बिदेशी उज्यालो
जसले देखाउन सक्दैन अँध्यारोमा बाटो
राखेर एउटा पाइला देशको सीमानामाथि
अर्को खुट्टाले नापिरहन्छ बिदेशी आकाश

ऊ अब आशाको झ्यालबाट
घामको मलामी गएको देख्छ पहाडहरुलाई
मुक्त भएको छ ऊ अब प्रेमको नसाबाट
निकालेर फालिसकेको छ
हृदयको कुनाबाट एउटा तस्बिर उसले
आफ्नो प्रेमीको
जसलाई हेरेर ऊ अब कुनै रसिलो सपना देख्दैन

रङ्गीन बन्न
कसले सिकायो सपनाहरुलाई
स्वदेशी चस्मा आँखाबाट झिक्न
र बिदेशी चश्मा लागाएर निस्फिक्री सुत्न
किन केहि भन्दैन यो देशको पार्लियामेन्ट
किन चाहेनन सपनाहरुले
बिहानसम्मको यात्रा गर्न
किन चाहेनन सपनाहरुले
सपनाहरुझैं सुन्दर बन्न ?

Jayaram Timilsina – Akshar Ka Awaj Haru

जयराम तिमिल्सिना – अक्षरका अवाजहरु

अमिलो अनुभूतिको छाँयानेर
अक्षरहरु लिगलिगकोट दौड
स्वतन्त्रताको धीत मार्ने
विचलित अधमरा तनहरु
तातो खरानी ताप्दै
अनन्त प्रतीक्षाका फूलहरुमा
दुखेरै माटोभरी बाँचिरहेछन् Continue reading “Jayaram Timilsina – Akshar Ka Awaj Haru”

Sudhir Chhetri – Kabitako Katha / Sidha Prasaran

सुधीर छेत्री – कविताको कथा /सीधाप्रसारण

एउटा अर्द्धवयस्क सेतै फुलेको नेता
विधानसभामा बोलिरहेथ्यो ह्न बोलिरहन्छ,
मेरो राज्यमा
एक हजार सत्तर हत्या भयो यसवर्ष
दुइसयजति बलात्कारहरू
जुन पोहोर-परारको आँकडाभन्दा धेरै कम छ।
हत्याको सङ्ख्या घटिरहेछ।

नेपथ्य :
गोसखानमा खसीहरू
कति काटिए यस वर्षको चॉंडमा,
सोध्न गइरहेछ
एक शाकाहारी कवि।

***
ठूला बन्दुक बोकेका
भीषण अङ्गरक्षकहरूले चारैतिरबाट घेरेको
निकै ठूलो मान्छे
अर्फनेज शिशुहरूको होस्टेलमा
खानेकुरा बॉंड्न हिँडिरहेछ।
नेपथ्य :
अब फूल र नेहरूजीको प्रसङ्ग
कोट्याउनै नसक्नेगरी
विकलाङ्ग भएको छ कवि।

***

इतिहासले बगाएको
शैनिकशास्त्रको पुस्तक
टिस्टाको कमेरो पानीमा
तैरिन थालेपछि
शनिबारको हाटमा
युद्धका मेडलहरू
परिवारलाई हरियो परियो टनिक खोजिरहेछ।

नेपथ्य :
विशेषणका वस्त्रहरू खोलेर
न्यूड संज्ञाहरू
कलात्मक बन्नको निम्ति
भ्यागुताझैं उफ्रेर
ललितकलाको टेक्ने भुँइ खोज्छ।

***

अरू कविताहरू आजदेखि
कथा रच्नगएका छन्।

Tanka Subba – Naya Manchhe

टंक सुब्बा – नयाँ मान्छे

उ नयाँ युगको नयाँ मान्छे
अथवा यो देशको नयाँ मान्छे
हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे
जसरी परिभाषा गरेपनि
उ नयाँ युगको नयाँ मान्छे हो
हामी जस्तै भएर पनि
यो देशको लागि नयाँ भएर आएको छ
त्यसैले उसलाई नयाँ देखिरहेकाछौ
हिजो उ हामीसँगै हिड्दा
हाम्रो लागि नयाँ थिएन
तर उसले परिवर्तन हुरीवतास वोकेर आएपछि
यहाँ नयाँ मान्छे भएको हो
किनभने उसको परिवर्तीत विचारले
हामी सवै नयाँ पथमा हिडेकाछौ
उसको नौलो प्रभावले
हाम्रा दृष्टिकोणहरु नयाँ भएकाछन्
त्यसैले हामी नयाँ भएकाछौ
उसले केहि नयाँ सम्भावनाहरु
उसले केहि नयाँ लक्ष्य र उदेश्यहरु
समयको ढाकरमा वोकेर ल्याएकोछ
नयाँ युगलाई डोर्या उँदै आएको छ
त्यसैले उसको आगमन र्सवत्र नौलो वनेको हो
यर्सथ हामी प्रत्येक दिन
नयाँ योजना तय गरिरहेकाछौ
नयाँ कुराको विमर्श गरिरहेकाछौ
जो हामीले नयाँ देख्न खोजीरहेथ्यौँ
त्यहि समय नयाँ मान्छेले ल्याएको हो
अव हामी हरेक कुरा
नयाँ विचारको सामार्थ्यले
पुराना संरचनाहरु बदल्न चाहान्छौ
तिनै संरचनाहरु वदल्नैको लागि
नयाँ मान्छेको आवश्यकता थियो
हो त्यहि नयाँ मान्छेले
हाम्रो आवश्यकता पूर्ति गरिदिएको छ
त्यसैले त उसको हातेमालोमा उनीएकाछौ
किनकी हामीले नयाँ सपनाहरु देख्दै जानुछ
त्यहि सुनौलो क्षण यहाँ आईपुगेको छ
जस्ले नयाँ युगको ढोका खोलेर
नयाँ वास्तविकता पदार्पण गरि दिएकोछ
किनभने उ नयाँ युगको नयाँ मान्छे
अथवा यो देशको नयाँ मान्छे
हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे
जसरी परिभाषा गरेपनि
उ नयाँ युगको नयाँ मान्छे हो

Jayram Timalsina – Hridaya Ko Manchhe

जयराम तिमल्सिना – ह्रृदयको मान्छे

भोकसँग पौंठेजोरी खेल्दै
अनिकालमा
एक दुई दाना मकैको गेडो
जोगाउँछिन् मेरी आमा र
तिनै दानाहरूमा
सपना देख्छिन्
नयाँ नेपालको ॥

आगो पैंचो नपाएको
कन्जुस्याईं भोगिरहेकी Continue reading “Jayram Timalsina – Hridaya Ko Manchhe”

Komal Bhatta – Saral Shishta Boli (Nepali Gajal)

कोमल भट्ट – सरल शीष्ट बोली (गज़ल)

सरल शीष्ट बोली नमनले लुट्यो मन
निरन्तर रसिलो गमनले लुट्यो मन

बहाना बनाई नजर वाण हान्दा
मीठो चोट हल्का दमनले लुट्यो मन

समाएर हातै कदम लम्किएको
जुनेली प्रहरको भ्रमणले लुट्यो मन

सधैँ पूर्ण आभा नियालेर हेर्दा
अविरल मिलेको अमनले लुट्यो मन

उपस्थित टुटाई हुँदाखेरी टाढा
मुटु पोतिएको समनले लुट्यो मन

दुबै बाहु पाशमा कसिएर बस्दा
सुधा पान जस्तै रमणले लुट्यो मन
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
14 January ,2013

Amar Tyagi – Aranya Rodan

अमर त्यागी – अरण्य–रोदन

आपसमा पराई छन् मान्छे
कसलाई सुनाएँ यो छातीभित्र
देश दुखेको पीडा
सर्पहरू पालेर वरिपरि
आफू सुरद्य्रिात हुनुको नियति
संस्कृति बनेको बेला
कसलाई सुनाएँ यो जिन्दगी नै दुखेको पीडा
जति चिच्याए पनि
सुन्दैनन् आजका सभ्य रावणहरू
यो दुखाइको कथा
जति कल्पे पनि
बुझ्दैनन् आजका शिष्ट कंशहरू
यो दुखाइको व्यथा
पासा पल्टाउनमै व्यस्त छन्
आधुनिक शकुनिहरू
बारम्बार द्रौपदी बनाएर देशलाई
जुवामा थापिन्छ यहाँ
चिन्नै नसकिने भो
सेतो परिधानभित्रको कालो मन
कालो विचार र कालो भावना
कसलाई सुनाएँ आफू बलिको बोका हुनुको पीडा
अनि कुपोषणले थलिंदै गएको देशको पीडा
कति चिच्याएँ यी बहिराहरूको भीडमा
कति रोएँ यी आर्त शब्दहरूमा
लाग्छ अब चिच्याइ आधी हुनुप¥यो उथलपुथल ल्याउने
अब रुवाइ इन्कलाब हुनुप¥यो मनमस्तिष्क हल्लाउने
नत्र कोही सुन्ने छैन यो भीडभित्रको अरण्य रोदन
कहिल्यै तात्ने छैन चिसो ओदान
च्यातिन च्यातिन लागेको मनमा
चुूडिन चुूडिन लागेको सपना
सजाएर कसरी निश्चित रहुूम
कतै धर्मको नाममा त कतै राजनीतिको नाममा
अझ कति तरुनी चेलीको सिन्दुर पोते खोसिने हो
अझ कति वृद्ध बाआमाको हातको लौरो भाँचिने हो
अझ कति अबोध लालाबालाको सुन्दर भविष्य चुडिने हो
कसलाई सुनाएँ यो मन दुखेको पीडा
भीड र कोलाहलको यो सुनसान अरण्यमा
सधैं भेद, विभेद र अहम्ले
छातीभित्र दुख्छ भने देश
बारबार मन्दिर, मस्जिद र चर्चमा
विभाजित हुन्छ भने देश
लाग्छ सम्पूर्ण वेद, कुरान र बाइबलहरू जलाएँ
र एउटा नचलेको प्रथा चलाएँ
एउटा नलेखिएको इतिहास लेखु
र एउटा नदेखिएको संसार देखु !!

-गजल गुड कलैया, बारा

Jayant Sharma – Bichara Sante Baulayo

जयन्त शर्मा – बिचरा सन्ते बौलायो

आज सन्ते बौलायो, नराम्रैसँग बौलायो
सबैले सन्ते जाँड खाएर बौलायो भनेपनि
सन्ते किन बौलाएको हो गुदी थाहा छैन ।
गाउँमा ढुङ्गा कुटेर परिवार पाल्ने सन्ते
काठ्माडौं आएर एक्कासी कसरी बौलाएछ?

आफूले खाएको थालमा लात हान्न नसक्नु
टेडो आँगनमा छमछमी नाच्न नजान्नु
बिचरा सन्तेको त्यसमा के दोष?
एउटा भाको छोरोलाई युद्धले खाएर त के होला !
कतै सहिदको पिता हुनुको गर्वले त बौलाएन सन्ते?

सहर पसेका जंगली हुँडारहरूको झम्टाइबाट
आफ्नो भाइलाई बचाउँदा पो हो कि सन्ते बौलाएको?
दुशासनहरू भने हिँडिरहेकै छन् छाती फुकाएर
अन्धोपनको निहुँमा चुपचाप बसिराखेको धृतराष्ट्रसामु
छोरीको चित्कार सुन्न नसकेर पो बौलायो सन्ते?

पुनर्निर्माण-परिवर्तनको एकोहोरो भाले बसाइ
नागरिक सर्वोच्चताको फुस्रो सुगा रटाइ
डर, धाक, धम्की- स्वार्थ, छलकपट अनि गाली
शक्तिको ओलम्पिक दौड-‘मेरो गोरुको बाह्रै टक्का’
पाखण्डी साँढेहरूको जुधाइमा सन्तेको मिचाइको के अर्थ?

लोकतन्त्रको बर्को ओढेको अर्को सामन्तवाद
बोल्नु पो ठूलो गल्ती भएछ कि?
‘हो लाई हो’ भन्न सिकेको सन्तेले ‘हैन’ भन्न मानेन
सत्यको पाठ पढेको सन्तेले झूठको खेती गर्न जानेन
अनि सन्ते बिचरा नबौलाओस् पनि कसरी?

तर सन्ते बौलाको यो नै पहिलो पल्ट भने होइन
गाउँबाट धपाइएको, मान्छेको सूचीबाट हटाइएको सन्ते
यस अगाडि धेरै-धेरै पल्ट, पटक-पटक गरि
घात-प्रतिघात छातीमा अचानो थापेर आफ्नै
सहनले डाडाँ काटेपछि क्रमश: बौलाइरहेको छ ।

जब जब नयाँपनको यस्तै ढ्याङ्ग्रो पिटेको सुनियो
जब मुखुण्डोधारी रक्षक नै असलमा भक्षक बन्न थाले
जब साथ दिन्छु भन्नेहरूले आफैं गाँस-वास खोस्न लागे
जब दण्डहिनता र अनिर्णयले राज्यलाई बन्दी बनायो
तब तब कैयौं सन्तेहरू यसरी नै बौलाउँदैछन् ।

०९-२५-२०६६

Dipak Budhathoki – Mero Sarwaswa Desh

दिपक बुढाथोकी – मेरो सर्वस्व देश

म देश भित्रै अव रमाउँछु
सुखदुख दुवैमा अटाउँछु ।
म पाउँछु सबथोक देशमा
फुल्छु जसै नेपालीको भेषमा ॥

डुल्छु सधै प्रकृतिको काखमा
सुन्छु कोइलीको गीत भाकामा ।
हिमाल झै सधैँ हाँसिरहन्छु
दुखेसामा पनि बाँचिरहन्छु ॥

बग्छ पूर्व मेची पश्चिम काली
कुविचार कुदृष्टि सबै फाली ।
झण्डालाई झुक्न दिन्न कहिल्यै
अस्तित्व जोगाइ राख्छु जहिल्यै ॥

सबै मानिसको दिलमा बस्छु
मुटु भित्र देशको माया सांच्छु ।
अभावको सिर्जना जुट्न दिन्न
विखण्ड भइ देश फुट्न दिन्न ॥

बग्छु म देशको नशानशामा
इतिहास लेख्छु नयाँपानामा ।
छ देशसँग रगतको नाता
मुल बिकासको खोल्नेछु खाता ॥

Amar Nembang Limbu – Nostalgia Ko Ukus Mukus Bata Udbodhit Euta Antarbedana

अमर नेम्बाङ लिम्बू – नोस्टाल्जियाको उकुसमुकुसबाट उद्बोधित एउटा अन्तर्वेदना

द्वन्दकालको एक भयानक रातमा
सन्त्रासपूर्ण नङ्ग्राहरू गाडेर
व्यक्तिको बाँच्नुपर्ने स्वतन्त्रतालाई
अतिक्रमण गर्दै
सर्वस्वसहित अस्मिता लुटिएको थियो
हाम्रो प्यारो घरको।
जुन घटनाको छाल-उपछालमा हुत्तिएर
जिउनपुगेका छौँ आज हामी,
टाढो भूगोलको एक कुनामा
सम्झनाको झोलामा
नोस्टाल्जियाको एक एक टुक्रा घर बोकेर।
यसरी नै छरपस्ट भएका छन्
हाम्रा सपना र् विपनाहरू ,
एक हेमन्तको रातमा
हावाले बेस्सरी उडाएका पातपतिंगरहरू जस्तै।
जहाँ जहाँ जान्छौँ हामी
त्यहीँ त्यहीँ बस्छौँ सम्झनाको घर बनाएर
चौरीमा एउटा तन्ना ओछ्याएर
एकछिन बसेजस्तै ।

परदेशमा हुँदा कहिले काहीँ
छातीमा छाम्छौँ हामी
हाम्रो प्रिय घर हरायो कि भनी ?
लाग्छ हामीले वाध्यतावश छोडेर आए पनि
सूर्यले अझै न्यानो राप
दिन छाडेको छैन होला
हाम्रो प्यारो घरलाई ।
अझै रातभर खेल्दैछन् होला
जून र ताराहरू
हाम्रा घरआँगनवरिपरि।
अझै प्रत्येक दिन त्यहाँ
थकाई मार्न आउँछन् होला
मोहनीमय गोधुली साँझहरू ,
हँसिला रसिला गाउँलेका मायाहरू ।
अझै बोलाइरहेछ हामीलाई
विपनामा र सपनामा पनि
हाम्रो प्यारो घर र देशले।
त्यसैले फर्कन चाहन्छौँ हामी
आफ्नै प्यारो जन्मभूमिमा
जहाँ अधुरो प्रेम र टुक्रिएका निद्राहरू जोडिएर
एउटा नयाँ सपना बन्नसकोस् ,
जहाँ सिलौटी पहाड र हिमाललाई
दिनदिनै हेर्नसकौँ हामी
जहाँ घोसे मुन्टो लाएर बसेको
हाम्रो बुढो घर फेरि जुर्मुराएर उठ्नसकोस्
जहाँ चल्लाहरूले आफ्ना माउमुनि ओतिएर
न्यानोपनको अनुभूति प्राप्त गरे जस्तै
हामीले पनि आफ्नो घरमा ओतिएर
सदा न्यानोपनको अनुभूति प्राप्त गर्नसकौँ
जहाँ हाम्रो जन्मभूमिमा
स्वतन्त्रता ,समानता र शान्तिको सास फेर्दै
युग युगसम्म बाँच्नसकौँ हामी ।

न्यूयोर्क