B J Bantawa Rai – Naari Timro Kokh Doshi Haina

बि. जे. बान्तवा राई – नारी तिम्रो कोख दोषी हैन

नारी तिम्रो कोख दोषी हैन
तिमी दोषी हैनौ, तिमीलाई
दोष दिने दुनियाँ दोषी छ
तिमीले जन्माएको सन्तानले नै
दोषी देख्छ तिमीलाई
तिमी कहिल्यै दोषी हुनै सक्दैनौ
राम्रो पक्षमात्र हेर्ने दुनियाँलाई
पनि तिमीलेनै जन्माएकी हौ
तिमीले थुप्रै सन्तान जन्माई सकेका छौ
तिम्रो कोखबाट थुप्रै
थुप्रै बुद्व, राम, जिसस, मोहम्मद,
मार्क्स, लेनिन, माओ, गेटे, दाँते, रबिन्द्रनाथ, गान्धी,
शुकरात, सम्पुर्ण छोराछोरी जन्मायौ आमा बनेर
छोराले मात्र दुनियाँ हाक्न नसक्दा
आङसाङ सुकी, बेनेजीर, एलीजाबेथ,
अनी थुप्रै शासक बनेर पनि उभियौ
थुप्रै राजामहाराजाहरु जन्मिए
बिद्वान, लेखक, बैज्ञानिक सबै तिम्रै देन हुन
परापुर्बकालदेखी जन्माउदै जन्माउदै
आएर पनि आजसम्म दोष पिएर बसेकी छौ
नराम्रोको भडखालमा जकडिएर बसेकी छौ
आफ्नै छोराहरुको दुख खप्न नसकी
टेरेसा बनेर पनि उभियौ, फ्लोरेंस
भएर पनि उभियौ, अनी निंदमा लुकेका
छोराहरुको लागी पासाङ ल्हामु भएर पनि उभियौ
गौरवमय सीता माता, प्रतिष्ठित भृकुटी भएर पनि
तिमीले नारी हुनुको थुप्रै उदाहरण
दि रहेकी छौ
त्यसैले तिम्रो कोख दोषी हैन
न त तिमी दोषी हौ,
दोषी त त्यो दुनियाँ छ
जसलाई परिबर्तनको चस्मा लाउनु छ।
[कबिता लेखिएको मिती २०६० भाद्र १५ गते मनामा बहराईन।

Manoj Kafle (Mansoon) – Mero Jeevan Fulauna

मनोज काफ्ले मनसुन – मेरो जीवन फुलाउन

मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला

न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला

नाम Continue reading “Manoj Kafle (Mansoon) – Mero Jeevan Fulauna”

Hemanta Pardeshi – Timro Abhagi Premi Ko Katha

हेमन्त परदेशी – तिम्रो अभागी प्रेमीको कथा

यता तिमी बैंशालु गुराँश बनेर
लेकाली पाखाभरि ढकमक्क फूलिरहँदा
उता रेगिस्तानको बन्जरभूमिमा ‘नोष्टाल्जिया’का हाँगाभरि
मरुभूमिको ‘क्याक्टस’ फूल्न विवश तिम्रो अभागी प्रेमी
कति फिक्का र निरस जीवन बाँचिरहेको होला l

हुन त पैतलामा काँडा बिझ्दा मष्तिष्क दुख्छ मान्छेको
त्यसैले, आफ्नो अभागी प्रेमीको पीडामय जीवनकथा सुनेर
तिम्रो छातीभित्र पनि अदृश्य घाऊको खिल पल्टिएको होला
अनि दिनरात आँशुको सागरमा डुबुल्की मार्दै
तिम्रो कोमल हृदय बेस्सरी तड्पिरहेको होला l

तर, आँशुले दु:ख धुन सकिँदैन -ले
मलाई चट्टान जस्तै दह्रिलो मन बनाएर भन्न मन लागेकोछ
कि, सबथोक गुमाएर पनि-
फाटेको मन टाल्ने एक टुक्रा आफ्नै माटो त छ नि तिमीसंग
अनि, आँखाका डीलबाट बगिरहेका आँशुलाई धोई पखाली गर्ने
आफ्नै हिमालको चिसो पानी पनि त छ तिमीसंग l

साँच्ची आफ्नो माटोको सुगन्ध कति मिठो हुन्छ है
कल्पना मात्रै गरेर त हेर एकपल्ट
तिमीले कोशेली स्वरुप पठाइदिएकी
गुन्द्रुक र अकबरे खुर्सानीमा
तिम्रो अभागी प्रेमीले कति मिठो सुगन्ध अनुभूत गर्दो हो
पराईभूमिमा पनि आफन्त र आफ्नो देशको माटोको l

यीनै पाखा, पखेरा र सौलुङ्गको दृश्यानुभूतले
कति बिक्षिप्त बन्दो हो उसको मन ?
कति बगाउदो हो तिम्रा यादहरुलाई आँशुका भेलहरुमा ?
तर बिडम्बना !
न आँशु पखाल्ने हिमालको चिसो पानी छ ऊसंग
न सिंचित हुने एक टुक्रा आफ्नै माटो नै ।

तर पनि ऊ निरास बनेको छैन रे !
धेरैपल्ट चिठ्ठीमा लेखेको छ उसले –‘जिन्दगी दिन र रात जस्तै हो l’
दिन पछि रात आए, रात पछि दिन पनि अवश्य आउछ
बस् खाँचो छ त केवल सकारात्मक सोच सहितको समयको सही उपयोगको
अनि, साथ, सहयोग र सद्भावपूर्ण सहयात्रामा
एक अर्का प्रतिको अपरिवर्तनीय बिश्वास र साझा समर्पणको l

Madan Rai ‘Lamakhule’ – Dharanka Chowkharu

मदन राई ‘लामाखुले’ – धरानका चोकहरू
(मधुपर्क २०६६ माघ)

अत्यन्त समृद्धचोकहरू
कतै नलर्खरावस्
कतै नबरालियोस्,
उभियोस् अटल छाती
साँगुरी भन्ज्याङ्ग भएर
भानुचोक, छाताचोक, लक्ष्मीचोक
बालकचोक, किराँतचोक, Continue reading “Madan Rai ‘Lamakhule’ – Dharanka Chowkharu”

Rakesh Karki – Rasayan

इन्जिनियर राकेश कार्की – रसायन (कविता)

विषाक्त रसायन सल्वलाए
स्वच्छता वर्षिने बाटोमा
अंग अंग पक्षघात पारे
सिर्जेन कतै केही माटोमा

जोडिन्छन् गुनिन्छन् थप्दै
व्यालेन्स मिलाउन खोजिन्छन्
हचुवाका एक्सपेरिमेन्टहरुले
डरलाग्दा मिश्रण थपिन्छन्

रटाएका सूत्र कोही बक्छन्
प्रतिफल बारे अनभिज्ञ छन्
कतै पड्काउछन् जलाउछन्
कतिलाई जिउँदै गलाउँछन्

कर्तव्य गर्नेलाइ जमीन सिँच्नु छ
बाँच्नेलाइ हातमुख जोर्नु छ
अम्ल क्षारले कन्टामिनेट हावा
सास त तिमीलाइ पनि फेर्नुछ

जन्माउने जमिन एउटै हुन्
स्तनपान गराउने गौरी हुन्
रसायन बन या अमृत झर
बनाउ या मास आफ्नो घर

– लस् एन्जेलस्

Hem Nath Ghimire – Kina Yesto

हेमनाथ घिमिरे – किन यस्तो

आफ्नै हातले
आफ्नै अंग काटेर
रक्त पिपासु ।

बन्दुक राखेर
परेवाको गुँडमा
शान्तिको खोज –

कापी कलम
खोसेर जबर्जस्ति
बन्दुक दियौ ।

देशको नाममा
रगत बगाउँछौ
देश रेटेर ।

बुद्धको देश
काटमार चल्दैछ
भाइ भाइमा ।

Haribhakta Katuwal – Pokhiyera Gham Ko Jhulka

हरिभक्त कटुवाल – पोखिएर घामको झुल्का

पोखिएर घामको झुल्का भरि आँगनैमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
सयपत्री फूलसँगै फक्री आँगनैमा,
बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है ।

कति कति Continue reading “Haribhakta Katuwal – Pokhiyera Gham Ko Jhulka”

Bhupin Byakul – Euta Lori Geet Chhora Ko Laagi

भूपिन ब्याकुल – एउटा लोरी-गीत छोराको लागि

भोलि बिहानै तिमीलाई भेट्न आइपुग्नेछ
अहिले त पश्चिमलाई उज्यालो पार्न
त्यतैतिर पुगेको छ घाम
सुत छोरा सुत
भोलि बिहानै घामले तिम्रो ढोका ढक्ढकाउनेछ

भन्नेहरु त भन्छन्
डुब्नको लागि मात्र पश्चिम पुग्छ घाम
थाकेर मस्त सुत्नको लागि
पश्चिमको डाँडोबाट तल ओर्लन्छ घाम
तर छोरा
घाम डुब्नुमा घामको दोष कहाँ हुन्छ र ?
घाम डुब्छ
खसिरहेको उज्यालोलाई बचाएर धर्तीलाई बाँड्न
आकाशको खालि पानाभरी
उज्यालोको नि:शब्द कथा लेख्न

हो छोरा, घाम डुबेको छ
र अँध्यारो चराझैं पखेटा खोलेर उडेको छ
घाम डुबेको छ
र हुस्सुको बाढी बग्न थालेको छ
घाम डुबेको छ
र आन्ध्यारोका प्रेमीहरु भजन गाइरहेछन
चुलाहरु बिहानसम्मका लागि निभेका छन्
आँगनहरु भालेको डाँक पर्खेर बसिरहेका छन्
अब छतमा रातभरी कुनै चराले गीत गाउनेछैन

अब चौरमा कुनै रुखको छाया नाच्न पाउनेछैन
रातभरी बाटोमा
बरफपट्टी लगाएर हिंडीरहनेछ हावा
समय बैशाखी काखीमा च्यापेर घिस्रिनेछ
एउटा भयले रातभरी बाँसुरी बजाइरहनेछ
तर चिन्ता नमान्नु छोरा
उज्यालो झरना भएर नखस्ने समयसम्म
म तिमीलाई लोरी सुनाइरहनेछु – उज्यालोको
म तिम्रा सपनासंग जिस्किने
शोकको अनकन्टारमा बाटो खानिरहने छु
सुत छोरा सुत
भोलि बिहानै घामले तिम्रो ढोका ढक्ढकाउनेछ

भोलि फेरी
किरणहरूको पिंगमा मच्चिएर
एउटा उत्सवमय दिन बिताउनु छ
इन्द्रेणीको खोलाबाट कुलो पटाएर
सादा खेतहरु रंगैरङ्गले भिजाउनु छ
आफन्तलाई
आफ्नै आसपासमा एकदिन फक्रिएको हेर्नु छ

जीवनलाई
यस्तैयस्तै दिनहरुको संग्रहालय बनाउनु छ

सुत छोरा सुत
भोलि बिहानै घामले तिम्रो ढोका ढक्ढकाउनेछ !

Mukul Dahal – Euta Arko Raat

मुकुल दाहाल – एउटा अर्को रात

रातको झूसले
घोचिरह्यो रातभर
काठे
इस्पातिलो
धारिलो रातभर
निद्रा कतै गएर सुत्यो ।

रात आंखामा
रेटियो ।
आंखालाई
किल्ला बनाएर
रात पहरामा बस्यो ।
रात ढाडियो पेटमा ।
रातले फेरि एकपल्ट
भद्दा हमला गर्यो ।
अनिद्रा खोपेर
आंखाहरूमा
यो एउटा अर्को रात
मेरो मनमा धसियो ।

Khagendra Sangraula – Aparajita Parijat

खगेन्द्र संग्रौला – अपराजिता पारिजात

उदास जीवनको उजाड बगरमा
मुना टुसायो एक दुबोको
पारिजात अपराजिता पारिजात

जीवनको त्यो जीवन शक्ति
कालरात्रीको जुनकीरी
जनजीवनको दिपशिखा त्यो
श्रमको त्यो महिमा गीत
पारिजात अपराजिता पारिजात

हुरी उठ्दा त्यो हारेन
बज्र बन्यो निस्तेज
मृत्यु मुखेन्जी लत्रेन त्यो
मृत्युन्जयी त्यो अमर गीत
पारिजात अपराजिता पारिजात

उदास जीवनको उजाड बगरमा
हरियाली त्यो जीवनको
पारिजात अपराजिता पारिजात

Sagar Saund – Timra Saath Hindne Lai (Nepali Gajal)

सागर साउद – तिम्रा साथ हिड्नेलाई (गजल)

तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आज
त्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।।

तिमीलाई देखे पछि उस्कै याद आयो मलाई
वेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।।

उनी संग बोल्न नपाई विछोड मेरो भ’को थियो
उनी सम्झि तिम्रैसाथ सबै पीडा पोखे आज ।।

तिम्री साथी देखेपछि तिम्लाई भेटे जस्तै लाग्यो
अस्ताएको माया फेरि उदाएर बोके आज ।।

सम्झिएरै तिम्रो खेल्ने त्यही सुन्दर आँगनीलाई
तिम्रै नाममा एउटा सुन्दर फुल मैले रोपे आज ।।

डडेल्धुरा, जोगबुडा

Shikhar Arohan – Chakrabyuha

शिखर आरोहण – चक्रब्यूह
(Sent to Sanjaal Corps via Email)

व्यासको महाभारतमा
द्रोणचार्य,
तिम्रो चक्रब्यूहको प्रहारले
निरीह अभिमन्युलाई
अचानोमा पारेर
मर्नु न बाँच्नुको दोसाँधमा
उभ्याइरहेको रहेछ
म एकान्तमा
नारदमुनीको प्रतिवेदनसँगै
तिम्रो चक्रब्यूहको
भग्नावशेषमा लडिरहेको
अभिमन्युलाई निहालीरहेछु
महाभारतको लिखीत सङ्ग्रह
अब,
अलिखीत पत्रहरू हुँदै
यत्रतत्र उडिरहेछन्
हिजोको त्यो इतिहास
आज अभिशाप भएको छ
हिजोको त्यो समय
आज श्रापित मरेको छ
मात्र चक्रब्यूह
नयाँ जन्ममा
रूपान्तरीत हुँदै गएको छ

द्रोणचार्य,
लैजाउ अरूपनि एकलब्यका औंलाहरू
निशाना त चुक्ने छैनन्
हिड्दा–हिड्दै गन्तव्यभित्र
पैतालाका स्पर्शहरू पाएर
तिम्रो चक्रव्यूह पनि
झरिहरूमा रूझ्न सक्छ
तिम्रो चक्रव्यूह पनि
हिउदहरूमा चिस्सीन सक्छ
द्रोणचार्य,
अब विर्सिदेउ चक्रव्यूहका कुरा
अब चलाउन छोडिदेउ
चक्रव्यूहका छुरा ।

Dhooswan Sayami – Laas

धुस्वां सायमि – लास
(नेपाल साप्ताहिक)

मेरो
एउटा ‘म’ छ
यहांको स्थितिमा
सदा आफूलाई मरेको पाउंछ
तर सधैका लागि
कहिल्यै यो मर्दैन
र, यो बांचेर उठ्छ/जिउंछ

मेरो
एउटा ‘म’ छ
यहांको स्थितिमा
सदा आफूलाई मरेको पाउंछ
तर सधैका लागि
कहिल्यै यो मर्दैन
र, यो बांचेर उठ्छ/जिउंछ
किनभने
तयार छैन
म आफैलाई यसरी मरिदिन
कुनै प्रकार जीवनलाई घिसारिरहन्छु
यही अवस्था आज
यस देशको क्रान्तिको छ,
र, प्रजातन्त्रको पनि
यहा सधै आन्दोलन हुन्छ
तर सधै प्रजातन्त्र मर्दछ
सत्य भनु त
यहा
प्रजातन्त्र कहिल्यै जिउंदो रहन्न
केवल त्यसको लास
जीवित छ आजपर्यन्त ।

Komal Shrestha Malla – Malai Nai Kina Sodhnu Parya

कोमल श्रेष्ठ मल्ल – मलाई नै किन सोध्नु प-या ?

श्रृष्टिका
लब्ध प्रतिष्ठित सन्तानहरु
भ्रष्टाचार दुराचार व्यविचारले
आस्थालाई कुल्चदै
बिस्वासलाई चपाउदै
मान सम्मानलाई लत्याउदै
जीवन भत्काउन
हत्या दमन लुटका िबस्कुन छर्न
उत्तर दक्षीण र पातालमा
पालै पालो जान्छन
तर अफसोच !
मलाई नै किन सोध्नु प-या, खोज्नु प-या ?
खै मेरो नेपाल ?
निस्तब्ध तकथै तकथै
उदण्ड पोशाक,सपथ
भाडभैलोका पथ
र आत्यन्तीक िबध्वन्सक मन्चनमा
स्वाभिमान निस्तेज पार्ने
िबकट बाद बिवाद
अनेकताको संबाद
नास बिनासको शंखनाद

रक्त रंजीत क्रान्तिकारि रुपान्तरणमा
मात्र तानातान हानाहान
मन्थन, सन्ताप संन्त्रास
बुदै बुदाका स॔झौताहरुमा
भौगोलिक अपमान
अक्षुष्णताको हत्या
चिरा िचरा हक,अधिकार ,न्याय समानता

आततायी बिचार
उत्पाती आचार
रगतको होलीमा
खुलम खुल्ला प्रतियोगीता
गाउ शहरमा देश खोज्न
जीवनको देश
देशको जीवन
रगत आसु र पासोमा िकन ?
तर अफसोच !
मलाई नै किन सोध्नु प-या, खोज्नु प-या
खै मेरो बुद्दनेपाल ?
क्षण क्षण पल पल
परिवर्तित ध्वजा पतकाहरु
दुई चार मकुण्डोधारिका भागवण्डामा
कठै समुन्नत बर्गबिहीन समाज ?
लासै लास
मसान र चिता !
खडतन्त्रात्मक पुन संझौता
ऊत्कृष्ट सामप्रदायीक बैमनस्यता
होमकुण्डको राहत
नाटकी िबस्तारबादी हात
प्रहार ,संंहार ?
भय डर त्रासकै उब्जनी
िबखण्डनकै सनसनी
अचेत कर्तब्य कुण्डमा
जातीय भाषीक लैङ्गीक
सास्कृतीक धार्मीक चरु
स्वाहा स्वाहा !
हरेक स्वास सास्तीमा ??
देस फासिमा मात्र फासिमा ??
तर अफसोच
मलाई नै किन सोध्नु प-या, खोज्नु प-या
खै मेरो नेपाल ?????

Pravin Khaling – Gaun Ko Kura

प्रवीण खालिङ – गाँउको कुरा

अचेल गाँउ भुसुक्कै निदाइ पठाउँछ
झिसमिसेमा उठ्ने बानी हरायो गाँउमा
भालेको डाकमा उठ्ने क्रम टुट्दैछ
अचेल गाँउ नारा र झण्डा बोकेर शहरतिर कुद्दै छ।

***

अबेरसम्म सुत्छ गाँउ
शीताम्मे गोरेटो भएर एका बिहानै शहर पस्छ गाँउ
एक हातमा टेण्डरको फायल र अर्को हातमा झण्डा बोकेर
जब शहर पस्छ अचिनारू गाँउ
धनमान र धनमती भनेर होइन पार्टीको नामले चिनिन्छन्
साइनो र गाउँको माया पैसाले किनिन्छ।

***

पँधेरो, चौतारी र नागबेली उकालीहरू
एक तमासले भाषण जस्तो मालसिरी गाइबस्छन्
त्यसै गरि घरि-घरि भिडन्तमा परिबस्छन्
त्यत्ती मात्र कहाँ हो र उनीहरू त
चौतारीको थकान ,पँधेरोको पानी
र गोरेटोको उकालीमाथि पनि
राजनीति गरिबस्छन्।

***

राँको बालेर सधैं उकाली ओराली गरिबस्ने गाँउ
साइनो कै भरमा बास बस्न आइपुग्ने गाँउ
परिवारभित्रै संशयको घेरोमा परेपछि
साइनो र आत्मियता मरेपछि
शान्ति छ गाँउमा भन्नेहरू भन्छन्
तर गाँउले समसाँझै झोपडीको ढोका थुन्छन्।

***

हुन त गाँउको कथा-व्यथा उस्तै छ
विकासको पनि गति सुस्तै छ
तर किन किन अचेल मेरो प्यारो गाँउ
आमाको काख जस्तो ठाँउ
वैमन्यस्यता, षड्यन्त्र, नारा र भाषणको नाउँ बन्दैछ
सायद गाँउ धेरै दिन बाँच्दैन भन्नेहरू भन्दैछ।

दार्जिलिङ

Dr. Mohan Prasad Joshi – Malai Ta Hansai Uthchha

डा. मोहनप्रसाद जोशी — मलाई त हाँसै उठ्छ

मलाई त हाँसै उठ्छ,
तपाईं कस्तो उट्पट्याङ कुरा गर्नुहुन्छ,
अलिकति विश्राम गर भन्नुहुन्छ |
तपाईंलाई थाहा छैन म कति व्यस्त छु ?
केके गर्दछु ?
ल सुन्नोस् —
फेसबुकमा Continue reading “Dr. Mohan Prasad Joshi – Malai Ta Hansai Uthchha”

Shiva Prakash – Shasak

शिव प्रकाश – शासक !

पेट भर्न
गाँस मागे
गोली दियौ

शरीर ढाक्न
कपास मागे
नेल दियौ

टाउको ओत्न
छानो मागे
जेल दियौ

स्वतन्त्र बाँच्न
अधिकार मागे
मृत्यु दियौ

मैले सुनेको
हो, तिमी यस्तै हुन्छौ
किन भने
तिमी त शासक न हौ !

Kindar Rai – Sabai Lai Chetana Bhaya

किन्दर राई – सबैलाई चेतना भया

रात मात्र मनपराउने हुचिलहरू
अध्यारोमा बास्ने स्याल र फ्याउराहरू
जब जब उज्यालो हुन्छन्
भिरका अध्यारा दुला भित्र पस्छन्
कुहिरो र हुस्सुको मौका छोपी
कुखुराहरू चोर्छन ।

ऊनिहरूको जातै अध्यारो मन पराउने
उज्यालो के हुन लाग्छ आँतिन्छन्
ए, अध्याराको पक्षपाती फ्याउराहरू हो
नबासिहाल अहिले नै,
यो त केहिबेरलाई हुस्सु मात्र लागेको हो,
भयंकर ठूलो बर्षा हुन भन्दा अगाडिको
सन्नाटा मात्र हो,
सबैलाई चेतना भया ।

हे परजिवीका वकिलहरू हो
कति वकालत गर्छौ अब
तिम्रा प्रभुहरूको,
गाडी त अगाडि गुडाउनैछ गुडीनै रहेछ,
कहि कतै चिप्लोमा अड्कीदा
पछाडि नै केहिबेर ठेलौला
गाडी त अगाडि गुड्छ गुड्छ
मुतको न्यानोमा नरमाए हुन्छ ।

कुकुर र बिरालोको लुछालुछमा
रमाउन त के रमायौ होला खोई
कसलाई थाहा छैन र ?
पतन त तिमिहरू आ-आफै गरि हाल्छौ, भईहाल्छौ
तर देशलाई पतन बनाउन खोजे
तिमिहरूको पतन अझ चाडो हुन्छ
सबैलाई चेतना भया ।

फेदाङवा र बिजुवामा भर परेर
क्यान्सर पाल्नु छैन
उनीहरू त झारफुकमा मात्र कामलाग्छ
अनी पितृपुजामा
थोत्रो गाडीको केही पुर्जा मात्र काम लाग्छ
अनि थन्किन्छ ग्यारेजमा,
पुरातन बिचारलाई थन्क्याउ
चाहे कुनै वादै नै तिमि पनि ल्याउ,
नयाँ र सुन्दर नेपाल बनाउ ।

होईन भने छोडी देउ
नयाँ औजार चलाउनेलाई
नयाँ नेपाल बनाउनेलाई
कम्तिमा जनताको म्याण्डेट त मान
सबैलाई चेतना भया ।

Ratna Shamsher Thapa – Bedana

रत्नशमशेर थापा – वेदना
(मधुपर्क असार, २०६७)

छिटै नै आँउछु भनेर गएको
निर्दयी आएन फर्केर ।
वाचा त्यो सम्झेर आँखा यी रसाइ
दुख्छ नि यो मन चर्केर ।
डुब्ने भो मेरो मायाका तारा
गहिरो दहमा ।
रुझ्ने भो मेरो चाहना सारा
ओसिलो गहमा ।
सुसाइरहेछ एकनास आँधी
मेरो चारै सूर ।
विझाइरहेछ हररात छाती
हुँदै चूरचूर ।

Ramesh Jung Thapa – Manabta Ko Prashna

रमेशजंग थापा – मानवताको प्रश्न
(मधुपर्क असार, २०६७)

ए हजुर, भाउ कस्तो ?
पानी महङ्गो, रगत सस्तो
हाँसो महङ्गो, आँसु सस्तो ।।
खोज्दै उज्यालो
भयो अँध्यारो ।
ए हजुर, चलन कस्तो ?
पसिनो खस्तो ।
सुनको सिक्रीमा
मान्छे बिक्रीमा
हेर्दा हेर्दै
गयो उज्यालो
भयो अध्याँरो
ए हजुर, तपाई कस्तो ?
भव्य महलजस्तो ।
म कस्तो ?
जीर्ण सत्तलजस्तो ।
मानवीय परिभाषामा
हामी कस्तो – कस्तो !
किन सधैँ फरक-फरक जस्तो ।