Dhirendra Premarshi – Hajur (Nepali Gajal)

धीरेन्द्र प्रेमर्षि – हजुर!

वेदनाको लहरले मुटु जब छुन्छ हजुर
ढुङ्गा जस्तो मुटु पनि त्यतिखेर रुन्छ हजुर

रुन सक्नु भनेको नि वीरताकै निशानी हो
छल-छाम, अहङ्कार आँसुले नै धुन्छ हजुर

विषालु हो, टोक्छ पनि, टोक्ने मात्र हैन तर
पिरतीको गीत गाए सर्पले नि सुन्छ हजुर

हत्केलामा ज्यान राखी बतासमा कावा खाने
माकुराले बाध्यतामै जालो सधैँ बुन्छ हजुर

जिन्दगीको यात्रामाझ् निद्रासँगै रात चल्छ
परेली उघार्‍यो कि त बिहानी नै हुन्छ हजुर

Ishwar Ballav – Duita Fula Deurali Ma

ईश्वर बल्लभ – दुइटा फूल देउरालीमा

दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ
देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ

गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो
टल्किने त्यो निधारमा पसिना
सुकाइदिए जस्तो लाग्छ पात हम्की पीपलको
बिसाउनीमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको सम्झना छ जस्तै लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ

राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ
कुनै रात बसेको त्यो बासमा
ओतमुनि आकासको छायाँमुनि धरतीको
रातमुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ

शब्द – ईश्वर बल्लभ
स्वर – नारायण गोपाल

Ritu Ashik – Bhoomi

ॠतु आसीक – भूमि

यो भूमिमा
हाम्रा धुकधुकिहरु फेरी फर्केर आउनेछन|
स्वतन्त्रताका फूलहरु फेरी फक्रिन्छ
र हामी
यो भूमि माथि
शहिदको सम्झनामा
झन्डाहरु उठाउछौ |
हामीले
रगतले बनाएको झन्डा
अविचल अक्षुण फरफरिने छ
शताब्दिको अन्तसम्म |
यो भूमिका वासिन्दाहरुको पुकार
हावामा लहलाउँछन
भूमिलाई स्वतन्त्र पार्दै
जन्जिरभित्रबाट उठ्नेछन|

जीवनको गर्जन उर्लदो नदी जस्तो भएर
उनीहरुले आफूलाई
नव निर्माणको साँचोमा ढाल्ने छन्|
यो सबै
यी भूमिमा पनि हुनेछ |
हाम्रा भाग्यका छाँयाहरू टडकारो छ |
यो भूमिका शहिदहरुले
जसरी आँखामा न्यानो सपना देखेथे
यो भूमिमाथि उभिएर
हामी प्रतिज्ञा गर्छौ
तिमीले चाहेको यो भूमि हुनेछ ।

Komal Bhatta – Chhachalkyo Jawani Ubayo Kasaile

कोमल भट्ट – छचल्क्यो जवानी उबायो कसैले (गज़ल)

छचल्क्यो जवानी उबायो कसैले
कसी प्रेम पाशमा डुबायो कसैले

अति प्रीतले मन्द मुस्कान छर्दै
सुधा जल खन्याई नुवायो कसैले

हुँदा अर्ध चेतमा पियाएर प्याला
समाएर तान्दै खुवायो कसैले

कुहू कोयली झैँ मधुर कण्ठ खोली
सुरिला गीतैमा रुवायो कसैले

छुटी स्नेह सामिप्यले मन दुखायो
छताछुल्ल आँसु चुहायो कसैले

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Bharat Baglunge – Yaksha Prashna

भरत बागलुङे – यक्ष प्रश्न

हाम्रो घरमा
रोग छ
भोक र शोक छ
तिम्रो घरमा पनि यस्तै भए
तिमी के गथ्र्यौ ?

हाम्री आमाको
बुढो धोती फाटेर
लाज असरल्ल पोखिएको छ
बा को इज्जत
लगौंटीले रोक्न सक्दैन
हाम्रो Continue reading “Bharat Baglunge – Yaksha Prashna”

Manoj Bogati – Aarop

मनोज बोगटी- आरोप

तिमीले समातेर मात्र मेरो हात बलियो भएको होइन
किन भने हात समातिन्न।

हात समातेर राख्न सकिन्न
फुस्किन्छ
समात्नु र फुस्कनुको घर्षणले जन्मिन्छ
आरोप।

आरोप पनि आफ्नै सृजना हुन्छ
जसलाई कसैले स्वीकार्दैन।

एकदिन तिमी भन्दा पनि बलियो हुन्छ आरोप
र तिमीलाई जित्छ।
जसलाई कसैले स्वीकार्दैन।

जब आरोपहरूको जनसंख्या बढ्छ
उसले आफ्नो संस्कृति माग्छ
सुरक्षा माग्छ
चिन्हारी माग्छ।

आरोपको सुरक्षामा कानून बनिन्छ
लेखिन्छ संविधानमा आरोपको अधिकार।
आरोपलाई पनि बॉंच्ने अधिकार छ।

आरोप अन्तिम उपाय हो
आफूलाई चिनाउने।

जब आरोप ठूलो र तिमी सानो बन्छौ
तब औपनिवेशिक प्रपञ्चले धार पाउँछ।

को सुन्तुष्ट छ आरोपसित?
तिम्रो आरोप
यसरी बॉंच्छ।

आरोप रङ हो
मैले तिमीलाई दलें
तिमीले मलाई दल्यौ।
वा हुन सक्छ यसको विपरित।

आरोप अक्षर हो
तिमीले मलाई लेख्यौ
मैले तिमीलाई लेखें।
वा हुनसक्छ यसको विपरित।

आरोप छैन भने
गति छैन।

यसकारण तिम्रो आरोपसित मलाई गुनासो हुँदैन।
तिमीले पठाएको आरोपलाई
मैले पिरामा बसाएँ, बुझाएँ, खुशी पारें
अनि तिमीलाई नै फर्काएँ।

सुन्यौ, आरोप दास हुनसक्छ
अन्तमा नाश हुनसक्छ।

जुनदिन आरोपको चेतना यसरी ठोक्किएररै पलाउँछ
त्यही दिनदेखि
जीवनको परिभाषा हराउँछ।

एति सुनिराख
आरोपको आफन्त हुँदैन।

अनि म तिम्रो आफन्त हुँ।

Narayan Tiwari – Basi Basi Khane Manchhe (Nepali Bal Gajal)

नारायण तिवारी – बसी-बसी खाने मान्छे

बसी-बसी खाने मान्छे, देख्या होलाऊ तिम्ले
काम गरि खाने पनि, लेख्या होलाऊ तिम्ले

सुति-सुति खानपाए गर्नुहुन्न काम ?
मनैमन गुन्ने मान्छे छेक्या होलाऊ तिम्ले

बिनाआर्जन पुर्ख्यौलीको हात पर्ने धन
तुजुक र फुटानी नि रोक्या होलाऊ तिम्ले

यस्तो रीति रुने थिति बदलिने पो हो कि
सबै हाँस्ने गाउँतिर टेक्या होलाऊ तिम्ले

Yuyutsu R.D. Sharma – Khola

युयुत्सु आर. डी. शर्मा – खोला

तिम्रो सङ्गमर्मरी काँध
र, मेरो चौडा छातीको बीचमा
गर्जिरहेछ एउटा खोला
आँसु, आँसु, आँसु ।

तिम्रो गुलियो मुख
र, मेरो सुगन्धित जिब्रोको बीचमा
एउटा फिलिङ्गाहरुको रात
टल्काइरहेको तयो न्यानो नरम त्वचा
त्वचा, त्वचा, त्वचा ।

तिम्रो मांसल जीउ
र मेरा कामिरहेका हातहरुको बीचमा छन्
बादलहरु मात्तिएका लालीगुराँसे वनको सुगन्धले
सुगन्धले, सुगन्धले, सुगन्धले ।

तिम्रो बदामी आँखा र मेरो तातो मुखको बीचमा
खसेका छन् पानीका थोपाहरु मोतीझैं
जंगलका बाक्ला हरिया पातहरुमािथ
पातहरु, पातहरु, पातहरु ।

तिम्रो चम्किरहेको सेतो छाला
र मेरो कालो कपालको बीचमा
सुगाभन्दा हरिया पातहरु
पहेँलिएका छन् अनवरत वर्षाले
वर्षाले वर्षाले वर्षाले ।

तिम्रो जँड्याहा लोग्नेको नपुंसक सिरानीसँगै
बिताएका तिम्रा रातहरु
र मेरो बहुलाएको टाउकोको बीच
उम्रीरहेछ एउटा सानो कविता – वसन्तको
जसले मेरो गहिरो घाउ भर्नेछ
र, उमार्ने छ
फूलहरु, फूलहरु, फूलहरु ।

तिम्रा नीला पारिजात फूलका आँखा
र मेरो कामिरहेको कलमको बीचमा
एक्लिएको एउटा वनचरोको एकल चित्कार
पागल, पागल, पागल ।

तिम्रो मोतीजस्तै सेतो दाँत
र, मेरो निद्राको बीच
दौडदै आउँदै छ बर्खे पानी
कुनै भोको नदीको रोदनझैं
ताराहरु नभएको बिरानो आकाश
र, ग्रीष्म रातको उराठलाग्दो
अन्धकारमा, अन्धकारमा, अन्धकारमा ।

तिम्रो ठूलो छाती
र, मेरा नरम ओठको तिर्खाको बीचमा
क्रुद्ध खोलाको आक्रोश
ठोकिरहेको आफ्नो टाउको जादुजस्ता
पहाडहरुमा, पहाडहरुमा, पहाडहरुमा ।

तिम्रा निर्णयहरु र
मेरो निभ्न लागेको टुकिको बीचमा
खोला बौलाएको

तँ; तँ कवि; तँ मूर्ख
नपुंसक, जा जा गइहाल्-निस्किहाल् ।

(प्रकाशोन्मुख कविता संग्रह “पानाहरु खाली छन्” बाट ।)

Laligurans – Chyatiyeko Man

लालीगुराँश – च्यात्तिएको मन

मोजमस्ती मै डुबेछु म, थाहा थिएन कहाँ छु
ईच्छा रहर मरीसके, अहिले जीउँदो लास भाछु
खोटो रहेछ भाग्य मेरो, पाउनु दुःख पाएं
पटक पटक जीवनमा मैले धेरै धोका खाएं ।

किन होला Continue reading “Laligurans – Chyatiyeko Man”

Roshan Janakpuri – Galti

रोशन जनकपुरी – गल्ती

बिहानीको घाम
मेरो घरको छानाहुँदै
लम्पसारिन्छ
मेरो ढोका अगाडि पस्रेको सडकमा।
आफ्नै रगतको बिछ्यौनामा
सुतेको, त्यो मानिस उठ्दैन अब,
गल्ती!
अँ, एउटा गल्ती गरेको थियो उसले,
सोधेको थियो-
भन्नोस् महाशय!
मेरो हिस्साको रोटीमा
हस्ताक्षर कसको हुनुपर्दछ,
तपाईंको कि मेरो?

Indra Narthunge – Kasle Sunayo Timilai Yo Jhuto Kura

इन्द्र नारथुङ्गे – कसले सुनायो तिमीलाई यो झुटो कुरा

(पूर्ण संघीयताको लागि कविता आन्दोलन)

ठाउँठावै खाल्डा खुल्डी
ठाउँठावै थुम्का थुम्की
कतै तिर्खाले ब्याकुल बालुवा
कतै पानीले जलथल जरुवा
समाहा राख्न पनि नमिल्ने
जमाहा फाल्न पनि नमिल्ने
अक्करे एउटा गह्रालाई
आली थपेर केही ठाउँमा
केही गह्राहरुमा विभाजन गर्न लाग्दा
लालपूर्जाबाटै नयाँ गह्राहरु अलग हुन्छन् भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

हलगोरु छिर्नै नसक्ने फोक्टाहरु
कुलोले भेट्दै नभेट्ने चोक्टाहरु
मैले बनाउँछु भनेर कहाँ भने
हो
अलिकती हेरेर होचोअर्घेलो
अलिकती खोजेर धुलो-चिम्ट्याईलो
माटो बराबर नभएपिन
बाटो बराबरीनै पुग्ने
यस्तै गह्राहरु छुट्याउन लाग्दा
छुट्टिएका गह्राहरुमािथ
छिमेकीले आँखा गाड्छन् भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

गह्राको वर्तमान संरचनालाई हेर त
के उस्तै छन् पूर्व र पश्चिम
के उस्तै छन् उत्तर र दक्षिण
केन्द्रबाट पूर्व लाग्दा भिरैभिर
केन्द्रबाट पश्चिम लाग्दा भिरैभिर
छुँदै नछोईने उत्तर
धुँदै नधोईने दक्षिण
हलगोरु साउन पनि नमिल्ने
पानी लाउन पनि नमिल्ने
यो अक्करे गह्रालाई
आली हालेर केही ठाउँमा
मात्र माटो विभाजन गर्न लाग्दा
मन टुकि्रन्छ भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

धेरै भयो माटोले अस्तित्व गुमाएको
पहिरोले पुरेर पुरानोलाई
इतिहास नामेट हुनै लागेको बेला
सहसा जागेर सपनाहरु
आफैलाई खोज्न थालेपिछ
तिमीले बाटो देखाउनु पर्नेमा
उल्टै अतालिन्दै छौ किन
माटोले मागेको त मात्र पहिचान हो
रातोलाई रातै भनिनु पर्छ
कालोलाई कालै भनिनु पर्छ ।

एउटा सिङ्गो गह्रा
केही गह्राहरुमा बिभाजन भएपिछ
गह्रा-गह्रा बीचमा
पानी बाराबार हुन्छ भन्ने
सायद तिमीले सुन्यौकी
त्यसैले त भन्न सक्यौ
साकेला र मारुनी एकै ठाउँमा अटाउँदैन
रोधी र भैलेनी एकै गाउँमा गाइन्दैन
गुम्बा मस्जिद र मन्दिर सँगसँगै धाइन्दैन
भन
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

ए ! मान्छे
हल्लाहरुको पछि लागेर
अब पनि परिवर्तनलाई कहिलेसम्म रोक्ने
यथास्थितीलाई कतिाजेलसम्म बोक्ने
कतै पानीले जलथल जरुवा
कतै तिर्खाले ब्याकुल बालुवा
समाहा राख्न पनि नमिल्ने
जमाहा फाल्न पनि नमिल्ने
यो अक्करे गह्रालाई
आली हालेर केही ठाउँमा
मात्र माटो विभाजन गर्न लाग्दा
मन टुकि्रन्छ भनेर
किन उल्टै मनहरु भाँची रहेका छौ

महोदय
मैले थप्न लागेको आली
पनामा होईन युरेसिया होईन
रेड क्लिफ लाईन वा मेक मोहन लाईन पनि होईन
प्यारालल-३८ त झन् हुँदै होईन
मात्र गंगाले पछ्याएको बाटो
ब्रम्हापुत्र वा नाईलले छोएको माटो
कोशी गण्डकी र कर्णालीले बनाएको टाटो जस्तै
अलगअलग बहावको अलगअलग क्षेत्र मात्र हुनेछ
जहाँ
रोधीँ र हाक्पारे सँगसँगै गाउँने छौं हामी
होलीमा रङ्ग सँगसँगै लाउँने छौं हामी
मन्दिर मस्जिद गुम्बा र साकेलाथान
सँगसँगै धाउने छौं हामी

हो
मनहरु बराबर भएपिछ
कुलेसोले गह्राहरुलाई बराबर छोएपिछ
आलीहरु सीमा बन्दैनन् महासय !
यो गलत छ कसैले भन्दैनन् महासय !

Bhanendra Sambahamfe ‘Jujharu’ – Bidambana

भानेन्द्र सम्बाहाम्फे “जुझारु” – विडम्बना

यो धर्ती यो आकाश
किन किन अनौठो लाग्छ
कता कता के के नमिले जस्तो लाग्छ
अनि यो मन
नमिलेकोलाई ताछ्तुछ् गरेर
मिलाउन खोज्छ चिटिक्क पारेर
नमिलेका रङहरुलाई फालेर
सुन्दर Continue reading “Bhanendra Sambahamfe ‘Jujharu’ – Bidambana”

Tekab Koirala – Bhupi Le Yesai Bhaneka Hun Ra

टेकब कोईराला – भूपिले उसै भनेका हुन् र

“हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त वीर छौं”
भूपिले उसै भनेका हुन् र !
वीर र बुद्धू दुवै हुनु
हाम्रो वाध्यता
वीर हुनु विगतको वाध्यता
कहिले ‘विश्वयुद्ध’ भन्दै
वीरत्व प्राप्त गर्यौं
कहिले ‘अंग्रेजसंगको युद्ध’ भन्दै
वीरत्व प्राप्त गर्यौं
बुद्धू हुनु वर्तमानको वाध्यता
कहिले ‘इराककाण्ड’ मा
बुद्धूत्व प्राप्त गर्यौं
कहिले ‘तलवारकाण्ड’ मा
बुद्धूत्व प्राप्त गर्यौं
साँधबाहिरको के कुरा
साँधभित्रै पिन
बुद्धूत्व प्राप्त गर्ने वाध्यता
कहिले जनयुद्धको नाममा
‘खारकाण्ड’ भन्दै
कहिले यार्चागुम्बा टिपेको निहुँमा
‘नारकाण्ड’ भन्दै
कहिले मधेश आन्दोलनको मौकामा
‘पहाडिया भगाओ अभियान’ भन्दै
बुद्धत्व प्राप्त गर्ने गौतम बुद्धको सन्तान हामी
हे वीर बुद्धूहरु हो !
बुद्धूत्व प्राप्त गर्नुपर्ने वाध्यता
आिखर कहिलेसम्म
हामी वीर छौं
तर बुद्धू छौं
भूपिले उसै भनेका हुन् र !

Nirmal Kumar Acharya – Aaja Desh Tukrindaichha

निर्मलकुमार आचार्य – आज देश टुक्रिँदैछ (गीत)
(Source: मधुपर्क असार, २०६८)

आज देश टुक्रिँदैछ, किनार भत्कँदो छ
लोत्तिरहेछन् डाँडा, हिमाल लच्कँदो छ ।।
हरियाली कक्रिँदैछ, पहरा खस्कँदो छ
सुकिरहेछन् नदी, धरती धस्कँदो छ ।।
सहकाल फेरिँदैछ, अभाव पस्कँदो छ
घटिरहेछन् बाली, अकाल मस्कँदो छ ।।
छलछाम चुलिँदैछ, विश्वास घस्कँदो छ
मरिरहेछन् आशा, हृदय चस्कँदो छ ।।
खुसीयाली मेटिँदैछ, वेदना लस्कँदो छ
फुलिरहेछन् गला, आलाप झस्कँदो छ ।।

Pralhad Pokhrel – Akshar

प्रल्हाद पोख्रेल – अक्षर
(मधुपर्क २०६६ जेठ)

देखौँ अक्षरका ताँती लेखौँ अक्षरकै कुरा
मातौँ अक्षर खाएर पिएझैँ लठ्ठ भै सुरा
पढौँ अक्षरका भाषा भोगौँ अक्षर-जीवनी
पाई अक्षरकै साथ रमाओस् लेखनी पनि ।

दर्कोस् अक्षरको वषर्ा चलोस् अक्षरकै भल
उर्लोस् अक्षरकै बाढी बगाई चित्तको मल
भन्छन् अक्षर हुन् ब्रहृम, परमात्मा र ईश्वर
गरे अक्षरकै ध्यान पाइन्छन् जगदिश्वर ।

ज्ञानगोष्ठी चलून् धेरै गरी अक्षर-आरती
धानी अक्षरकै धन्दा लेखियून् कविताकृति
हिडौँ अक्षर टेकेर उडौँ अक्षर-यानमा
लागौँ अक्षरकै खेती सपार्ने अभियानमा ।

सुघौँ अक्षरको मीठो बासना मग्मगाउने
बालौँ अक्षरको बत्ती ज्योत्स्नाझैँ जग्मगाउने
फुकौँ अक्षरको आगो दन्दनी हुर्हुराउने
पिऔँ अक्षरकै पानी जवानी जुर्मुराउने ।

हिँडे अक्षरको बाटो रोकिन्न कहिल्यै गति
रोजे अक्षरको क्षेत्र निरन्तर छ उन्नति
शङ्का अक्षरमा छैन त्रास-चिन्ता-व्यथा-खति
लङ्का मात्रै कहाँ हो र! जितिन्छ अमरावती ।

हाँके अक्षरका सेना हारिन्न कहिल्यै रण
तानी अक्षरकै ताँदो जितौँ सङ्ग्राम भीषण
बोकी अक्षरका झण्डा क्रान्तिमा होमिऔँ सब
चढी अक्षरकै डुङ्गा ज्ञानगङ्गा तरौँ अब ।

चुहिँदैन कतै तप्प अविनाशी छ अक्षर
गतिमान ऊध्र्वगामी छ अग्रगामी निरन्तर
हिडौँ अक्षरकै बाटो चिन्तामुक्त सरासर
जराजीर्ण हुँदै हुन्न अजरामर अक्षर ।

Dr. Mohan Prasad Joshi – Premi Bhaechhu, Premika Pani

डा. मोहनप्रसाद जोशी — प्रेमी भएछु, प्रेमिका पनि

आँखा खुला छ हृदय पनि
तिमीलाई देख्न पाइन्छ कि भनी |

शरीर निहुरिन्छ शिर पनि
तिम्रै वन्दना गर्न भनी |

म प्रेमी भएछु, प्रेमिका पनि
तिम्रै पिरती पाइएला Continue reading “Dr. Mohan Prasad Joshi – Premi Bhaechhu, Premika Pani”

Dipenrda KC – Timi Prati

दीपेन्द्र के. सी. अपजसी – तिमीप्रति

माफ गर मलाई !
सुवासना र सौन्दर्य एकैचोटी छर्दै
जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा
सँधै मुस्काइरहेको एक थँुगा मुहार
तिम्रो सौन्दर्य र गुणको
बाराम्वार वयान र चर्चा गर्न चाहदिन म !
जो मनभित्रै टाँसिएको छ स्वर्णपत्रमा
अनुभूतिका अक्षरहरुले कँुदेर ।

सत्य !
तिमी छेउमा छौ र पो ढुक्क छु म
उज्यालो छ यो घर, प्राण छ यो घरभित्र
स्नेह र मोहकता खेल्छन घरभित्र ।

डुङडङती गन्हाउने यो शहरबाट
तालुभरी वजनले थिचिएको यात्राबाट
सम्साँझ घरभित्र छिर्दा–
न्यानो आत्मीयताको सुवासना छ घरभित्र
शीतल हावाको चौतारो छ घरभित्र,
यति भैसकेपछि पनि
म किन बोलिरहुँ र ?
तिम्रो सादगी र उत्तमालाई
शव्दमा खुम्च्याउन !

पसीनाका तेल हालेर
दियो जलाउँछ्यौ घरको
आफना आकाँक्षाहरुलाई खोपामा राखेर
रथ चलाउँछ्यौ घरको
परेलीका बलेसीहरु चिस्याएर आफना
पखाल्छ्यौ कचराहरु घरको
नबोलेर मुखले कत्तिपनि, बोल्छ्यौ धेरै हातहरुले,
यस्तोमा म के केनै बोलेर
किन चम्काउनु पर्छ र तिम्रो अनुहार
तिम्रै उपस्थितिले
घर चम्किएको बेला ।

त्यसैले प्रिय !
माफ गर मलाई
मनभित्र अँकित स्वर्णपत्रका अक्षरहरु
बाराम्बार बयान र चर्चा गर्न चाहदिन म !
मौन प्रशन्नतामा केवल
उज्यालो आभाष साट्न चाहन्छु
नखर्ची शव्दहरु ।

बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।
२७ जनवरी २०१३

Hemanta Pardeshi – Sagarmatha Uklindai

हेमन्त परदेशी – सगरमाथा उक्लिंदै

तिमी आऊ या नआऊ ,
मेरो साथ देऊ या नदेऊ ,
त्यो तिम्रो कुरा हो ।
तिमी भित्रको अन्तर्बोधी अवचेतनको ,
तिमी भित्रको स्वकीय दृष्टिबोधको ,
अनि ,
तिम्रो आत्मनिर्णयको अधिकारको ।

तर, यथार्थ यही हो-
कि, मैले – नाङ्गै खुट्टा सगरमाथा आरोहण गर्न सकिन्छ
-लाई-
आफ्नो जीवनदर्शन बनाउने हिम्मत गरिसकेकोछु ।
हो, मैले पनि बुझेकोछु,
बिल्कुल तिमीले बुझे जस्तै-
अर्थात ,
नाङ्गै खुट्टा सगरमाथा उक्लिने –
साहासिक एवम् प्रगल्भ अभियानको बिरुद्धमा ,
थुप्रै दृष्टिविक्षेप र उपहासका अमार्जित कैरनहरु कथिनेछन् ।

अनि ,
आधार शिविरभरि धोबी चरीको गीत बनेर-
द्वेषजनित कायरताका निरर्थक बखानहरु पनि गुन्जिनेछन् ।
किनभने ,
नाङ्गो खुट्टा हिउँ कुल्चनु –
प्राकृतिक बिशृङ्खलता र ,
निराकृतताको पराकाष्ठा मात्रै होइन ,
अग्राह्य मानव उद्वीपनको उपज पनि हो ।

त्यसैले त ,
आज सम्म जतिले सगरमाथाको चुचोरोमा पाइला राखे
अथवा राख्न खोजे,
तिनीहरुले कहिल्यै नाङ्ङो खुट्टा हिउँ कुल्चने हिम्मत गरेनन् ,
अर्थात नाङ्गो खुट्टा हिउँ कुल्चनुलाई –
प्राकृतिक उत्क्रमको सिद्धान्तले रोक्यो / छेक्यो ,
अनि,
परास्त गर्‍यो / अर्हतारहित बनायो ।
एसो भनिरहँदा-
तिमीलाई लाग्न पनि सक्छ,
कि, म – तेन्जिङ शेर्पा र एड्मण्ड हिलारीहरुको उपहास गरि रहेकोछु ,
जुन्को ताबेई र पासाङ् ल्हामुहरुको साहसको खिल्ली उडाइ रहेकोछु ।
तेसैले म तिमीलाई भन्दैछु –
तेन्जिङ र एड्मण्डको गौरबमयी गाथालाई मात्रै होइन-
आप्पा , आङरिता र सुन्दरेहरुको इतिहाँसलाई समेत जीवन्त राख्दै ,
अनि ,
पासाङ र जुन्कोका साहासहरुले आफुमा अनुप्राणिता भर्दै ,
बिल्कुल नाङ्गो खुट्टा ,
अनि ,
बिना अक्सिजन र बिना हिउँ निरोधक परिधान ,
म सगरमाथा आरोहणको यौटा नयाँ ,
एवं ,
प्रायोगिक यात्रामा निक्लिंदैछु ।
हो, म नाङ्गै खुट्टा सगरमाथा उक्लिंदैछु ।

Pravin Rai Jumeli – Man Pareko Durghatana Bare Euta Report

प्रवीण राई जुमेली – मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट
(Sent to Sanjaal Corps via Email)

सधैं त सरीर मर्थ्यो मन बाँच्थ्यो
यसपाली त मन चाहिँ मरेछ सरीर बाँच्यो

नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो
विडम्बनाको भीरमा वैरिएछ
‘ए झरी’ भन्थ्यो ‘रे मर्नअघि
अलिकति घामको किरण पनि माग्थ्यो ‘रे
नीलो आकाशलाई हेरेर त झन् सासै चुँडिन गाह्रो भो ‘रे
मर्दै गर्दा त्योसित एकान्तको साथ थियो ‘रे

सरीर मर्नलाई त एउटा ढुङ्गाको चोट नै मनग्गे
छुरीको एउटा सानो प्रहार नै मनग्गे
तर गीतबाट भाका नचुँडी
रुखबाट हरियो नखोसिई
कहाँ मर्छ र मन कहाँ मर्छ र मन

समयले भन्थ्यो ‘रे हामी अमर्त्यसेन-खोला सुकेको देख्छौं
असीम एउटा वानगोफ-बोध हराएको देख्तैनौ
हामी सुन्छौं पण्डित बजेको ज्ञानहरु
तरलताको अरुणालामा-रुदनहरु सुन्दैनौ
समयले त्यसै भन्थ्यो ‘रे

कति सुटुक्क मऱ्यो त्यो समयकै षडयन्त्रमा
कसैको गजप मुटुले देख्नै भ्याएन
मलामीको रमिता भर्न र विषादको काँध दिन पाएन कसैले
हिप्पोक्रेसी गन्हाउने फूल नै चढाउन आएन
कुनै भ्रमको महत्वकांक्षी हात
आस्था नामक सरौको सूचीमा पनि चडेन
राहत भनिने केही छद्म राशी

समवेदनाको साइटभरि बोधो कंक्रिटहरु ठडिन थालेछ अहो
मनको चिहानमाथि विस्मृतिको बनमारा उम्रिन थालेछ॥

सिक्किम अकादेमी, तिब्बत पथ, गान्तोक – ७३७१०१, सिक्किम
इमेल – ritukhel2009@gmail.com
फोन – ९७७५९९२१४१

Bibek Dulal Chhetri ‘Damak’ – Teej Sambandhi Haiku Haru

विवेक दुलाल क्षेत्री “दमक” – केहि तिज सम्बन्धि हाइकुहरू

१.
तिजको बेला
पिठ्यूँमा घाम बोकि
नेपाली चेली .

२ .
कस्तो फेशन
लय हो या रत्यौली
तीजका गीत .

३.
पेट काटेर
हुन्न हरितालिका
रुढी Continue reading “Bibek Dulal Chhetri ‘Damak’ – Teej Sambandhi Haiku Haru”