Kewalpure Kisan – Sangharsha Ko Thik Gara

केवलपुरे किसान – संघर्षको ठीक गर

ओइलाएर भएन काम गतिलो हे वीर नेपाली हो !
रुन्छौ नि कति आज देशभरका हे भाइ कंगाली हो !
क्रान्तिकारी कदम लिएर बढ्ने चर्को प्रतिज्ञा गर !
भिक्षाले हक पाइँदैन बुझ है संघर्षको ठीक गर !

जाली दानवका कठोर र तिखा कानुन कटाइकन
सारा मानिसलाई प्रेम गर्दै राम्रो चलन ल्याउन
गाउँमा बढ् फूर्तिसाथ डट लौ सब चेतनाले भर
भिक्षाले हक पाइँदैन बुझ लौ संघर्षको ठीक गर !

कैयौं हेर मरे गए अझ कति मर्छन् यिनै पाटीमा
झुन्डिन्छन् कति शोक विहृवल हुँदै डोरी कसी घाँटीमा
देऊ वर्गीय चेतना घर घरै कत्ती नमानी डर
भिक्षाले हक पाइँदैन बुझ लौ संघर्षको ठीक गर !

मर्का तन्त्र छँदैछ देशभरमा नौलो कहाँ के छ र ?
जो अन्याय थियो अघि अझ बढ्यो लौ हेर देशैभर
हाहाकार परेर रुन्छ जनता आवाज को सुन्छ र ?
भिक्षाले हक पाइँदैन नि तीखो संघर्षको ठीक गर !

खेताला, मजदुर, छात्र, महिला ती खेतीवाला सब
जागिरे, पसले र देशभरका ती र्सवहारा सब
भेला भइकन लड्नुपर्छ नि बुझयौ कामोस् भूमि थर्थर
भिक्षाले हक पाइँदैन तगडा संघर्षको ठीक गर !

चारौं तर्फछ अन्धकार निमुखा माथि छ त्यै शोषण
गर्ने छन् कि ती मित्र राष्ट्रहरूले नेपाल आलिङ्गन
यो नेपाल नछो नछो अब नछो ! इन्कलाबी नारा भर
भिक्षाले हक पाइँदैन गतिलो संघर्षको ठीक गर !

लग्लग् कामीसके ल हेर छिचरा साम्राज्यवादी जति
तिनकै चाकरीदार यी अब छिट्टै रोएर जालान् सती
मीठो मानववाद बढ्छ दिनहुँ लौ हेर चारैतिर
नेपाली बन लौ भिरेर खुकुरी पारेर ठाडो शिर !

पल्टाऊ इतिहास हेर विचरा ती थैली शाही सब
बिग्रे, खेर गए मरे, सब सडे फोस्रो छ त्यो गौरव
ढोका भित्र कुँदेर हुन्न अबता संसार धावा गर !
भिक्षाले हक पाइँदैन नि कडा संघर्षको ठीक गर !

खाली पेट छ खान छैन घरमा पाइन्छ आश्वासन
नाङ्गो देह छ वस्त्र छैन करमा के काम यो भाषण
रातो रक्त उमाल भक्भक् छिट्टै नेपालका हे धन !
देलान् आशिक ती तर्राई चुचुरा पाखा पखेरा वन ।
मर्नुपर्दछ वीरले समरमा पारेर छाती खुला
पर्नुपर्दछ देशका जति पनि चुसेर खाने दुला
राम्रो जोश लिएर होस सितको चड्कै परेझैं गर
भिक्षाले हक पाइँदैन बुझ है संघर्षको ठीक गर !

ती साहित्य कला र संस्कृति उपर गर्दै ठूलो आदर
सच्चा हे जनसेवी साथीहरू हो ! लौ विश्व मोर्चा गर !
आजादी प्रगति र शान्तिपथको कर्नाल फुक्दै गर
भिक्षाले हक पाइँदैन दरिलो संघर्षको ठीक गर ।

चारौं तर्फछ अन्धकार निमुखा माथि छ त्यै शोषण
गर्ने छन् कि ती मित्र राष्ट्रहरूले नेपाल आलिङ्गन
यो नेपाल नछो नछो अब नछो ! इन्कलाबी नारा भर
भिक्षाले हक पाइँदैन गतिलो संघर्षको ठीक गर !

साभार: जनमत कविता खण्ड १ २०६४

Mahesh Regmi – Uniharu Jo Farkenan

महेश रेग्मी – उनीहरू जो फर्केनन्
(नेपाल साप्ताहिक अंक १२७)

देश खोज्दै गरेकी छोरी
देश देखाउंदै गरेको म

समयको विषुवत् रेखामा उभिएर
हेरिरहेछु देश, छोरी, जीवन र बाटो ।
भन्थें-
जीवन आफैंमा प्रयोग हो
तर म निरन्तरको प्रयोग र परीक्षणमा
मभित्रकै मान्छेबाट पराजित छु ।
कसैले नसोध मलाई, म को हुं –
तर म समयहीन समय भएको छु ।
आज जीवनको एउटा किनारामा उभिएर हेरिरहेछु-
बिदाइ भएका बाटाहरू
बिदाइ भएका दृश्यहरू
बिदाइ भएका जीवनहरू ।
प्रत्येक दिनजसो सुर्यास्तका किरणहरू हेर्छु र
एउटा महान् दिनको प्रस्थान भएझैं लाग्छ

स्मृतिहरू सम्हाल्न खोज्छु/तर सक्तिनं
कहीं-कतै नपुगिने बाटो हिंडिएछ
आफ्नै स्वत्वमा घाइते भएर ।
परदेशमा दुर्घटनाग्रस्त भएर
आफ्नै स्वाभिमानसग
आफ्नै पहिचानसग ।
अब फर्किंदैन ती दिनहरू
नफर्किने ती दिनहरूलाई सलाम
म जहांजहां पुगें
मैले जहांजहां टेकें
ती बाटाहरूलाई पनि सलाम
म त सगरमाथाको बासिन्दा
समयसंग हारेर पनि
परदेशमा देशको याद बांचिरहें ।
तर उनीहरू जो फर्केनन्
देश खोज्दै
जस्तै चुत्थै देश भए पनि
आफ्नै देश ।

Pratima KC – Naari Diwas (Nepali Gajal)

प्रतिमा के.सी. – गजल: नारी दिवस

नारी स्वतन्त्रताको लागि जुटेको दिन हो रे आज
अन्तररास्ट्रिय श्रमिक नारी दिवस हो रे आज

संसारभरी महिलाहरु भेला भाको देखिराछु
मेरो देशमा पनि ठुलो महिला भेला छरे आज

जुर्मुराई उठेका ती हात माथि साथ दिनलाई
गाउँ शहर र वस्ती वस्तीबाट पनि झरे आज

सामन्ती संकार अनि रुढिवादको पर्दा च्यातेर
नारी हक र हितमा लड्ने प्रतिबद्ध गरे आज

समानता र मानवीयता खोज्ने नारी मनहरु
यिनै चुनौती र चेतनाको बिगुलले भरे आज

महाकाली लक्ष्मी सरस्वती पनि महिला नै हुन
अपमानित त्यो पिडा पोख्न दुर्गा रुप धरे आज

सौन्दर्य त क्षणिक हो रैछ नैतिक युद्ध गर्नु पर्छ
भन्दै लज्जा घुम्टो उतारी विचारको वस्ती सरे आज

७ मार्च २०११
बेलायत

(Sent to Sanjaal Corps via Email)

Mani Raj Singh – Bishwasghaati Samaya

मणिराज सिंह – विश्वासघाती समय

चारैतिर उज्यालो छ र पनि
किन केही देखिँदैन कतै पनि
सून्य केबल सून्य फिँजिएझैँ
सबैतिर एकनाश छाएको छ सन्नाटा
भाङ्ग, धतुरो खाएर लर्बराइरहेको बिहानी
रेबजिग्रस्त बहुला कुकुरझैँ
पानीसँग डराएर
भीर–भीर ढुन्मुनिदै
आत्महत्याको प्रयासमा
बमसँग वसन्त साटिरहेछ
आफ्नै लाशमाथि कात्रो
सजाइरहेछ ।

रित्ता पेटहरूको युद्ध
र नाङ्गा आङ्हरूको हड्तालले
तिमी र ऊ बीचको अन्तर
झन–झन फराकिलो हुँदैछ
अन्धकारमा हुरी–बतास सँगसँगै
बाढी र पहिरोले गाजेझैँ
कोर्रा, सुम्सुम्याउँदै समय
ह्वाहर्वार्ती बलिरहेछ
आफैँभित्र गुम्साएर संवेदना
सपनासँग बम साटिरहेझैँ लाग्छ
आफैँलाई आश्वास्त पार्न
थपथपाएर आफ्नै बिद्रोह
विश्वासघात गरिहेझैँ लाग्छ ।

Dipendra KC – Udaas Samaya Haru Lai

दीपेन्द्र के.सी. – उदास समयहरुलाई !

किन ? प्रतीक्षा “”” !
उदास समयहरुलाई !

पोलिरह्यो चिसो रातले
आशा बोकेर झर्दैनन् ताराहरु
मनमा विझाइरह्यो त्यो साइत
आफनै दृष्यमाथी अविश्वासी आँखाहरु,
झरनाको ढुँगाजस्तै
पखालिएको छ कि ? थिलथिलिएको ?
कसलाई के थाहा ?
खोलो सुसाएको
रोएको हो कि ?
गीत गाएको ?

अँध्यारोमा टम्म भरिएको बाहेक
रित्तो देखिन्छ दुनियाँ
हेर्दा उज्यालोमा
सायद !
आउँदा पनि खाली
जाँदा पनि खाली
यही हो कि ?
नमेटिएको तिर्खा !

आँधीहरु चलिरहे
के पातहरुलाई
रहर थिएन होला र ?
रुखमै लहराउने ?
तिमीले कटेर गएपछि
कहिले सम्मिएन त्यो डाँडो,
यो मनको पहिरो
चल्छ आफै, थामिन्छ आफै
अव भत्कनै के बाँकी छ र त्यहाँ,
थाहा छ मलाई
भाग्यको लेखन, र
आशीर्वादले नचल्ने जीन्दगी
कुनै असफल रिक्रुटे
खाली खुट्टा फर्किएझैं
किन प्रतीक्षा छ
उदास समयहरुलाई !

कुनै स्टेसनबाट
छुट्यो कि छुटेन ?
पुरानो रेल झैं उदास समय
आइपुगेको छैन अझै यहाँ
रँगहीन शन्देस बोकेर ।

बागलुङ, हाल ओस्टण्डे बेल्जियम

Asha Gurung – Bhawana Timro Naam Ma

आशा गुरुङ – भावना तिम्रो नाममा

तिमी हिडयौ आफ्नै सुरमा
म हुनुको अर्थ तिमीमा छैन
म पनि त मान्छे
पत्थर जस्तो मुटु मेरो छैन

कति घुर्की लाँउछौ मलाई
त्यो सहनसीलता अब ममा छैन
रित्तो भइसँके आफु तिम्रो Continue reading “Asha Gurung – Bhawana Timro Naam Ma”

Siddhicharan Shrestha – Ma Bahula Hoina


सिद्धिचरण श्रेष्ठ – म बहुला होइन

आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।

मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।

मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु;
पेट छ खान पाऊँ भन्छु,

नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;

बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू

मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।

Hemanta Khatiwada – Aaja

हेमन्त खतिवडा – आज
(मधुपर्क २०६६ चैत)

भेट हाम्रो भा’को थिएन
कैंयौं दिनमा भयो आज
अलप भई ग’को थियौं
लजाउँदै आयौं आज
मेरा मनको मझेरीमा
किरण छर्दै आयौं आज
उस्तै रूप बान्धी बोकी
लजाएर आयौं आज Continue reading “Hemanta Khatiwada – Aaja”

Nawaraj Sharma – Naya Barsha

नवराज शर्मा – नयाँ वर्ष

पहेलो बालहरु झरेर
नयाँ पालुवाको स्थान लिएपछि
हरेक वर्ष बसन्त आउँछ
हरेक तेह्रा महिना नयाँ वर्ष बन्छ।

वन उपवनमा फूलहरु ढकमक्क छन्
प्रकृति यथागतिमा चलायमान छ,
मानिसको भावनाको संसार
प्रकृतिको योगदानको आँसिएकोले
लाग्छ,
केही वर्षयता बैशाखे मुनाहरु
मावन हृदय आल्हादित गराउँदै
हाँसेको छैन,
कोपिला त के फक्रेका फूहरु पनि
मुस्कुराउँदै अंगालो हाल्न
आए झै लाग्दैन।

विवस छन् मुनाहरु
रगतको आँसु चुहाउँदै
बेसरा कर्कस ध्वनिमा
सुरमा सुर तालमा तालमिलाउन
र,
रक्त पिपासु पदचापहरु
हृदयको धुक्धुकी समेत आठ्याएर
करैसैमा हिड्दा
सन्त्रस्त आर्तनाद
चुपचाप–चुपचाप सुनिरहन 219

युगौदेखि पत्रै पत्रले थिचिएका
भू गर्भबाट उम्मेर आउने लाभा झै
टाउको उठाउन खोज्दैछन् बचेराहरु
उनीहरुलाई टिप्न
चीन आकाशमा मडारिई रहेछ
मुनाहरु बचेरालाई सूचना दिन सक्दैनन्
आफ्नो असमर्थताप्रति हिनताग्रस्त छन्
अभिसप्त छन् मुनाहरु

आकाशबाट झम्टा मार्दै
बचेरा टिप्ने चिलले ढुक्न छोडेको छैन
चराको जोडी आ–आफ्नो गुँडमा आएर
फूल पार्ने बचेरा जन्माउने कर्म छोडको छैनन्
चिलको आहार बन्नु पर्ने डरले
त्यसैले बचेराहरु जन्मने क्रम रोकिएको छैन।
गुँडबाट उभिदै आकाशमा
स्वतन्त्र बिचरण गर्ने उ नीको धोको
कहिल्यै मरेको छैन।

फूलहरु छन्
कोपिँ मुनाहरु पनि छन्
उनीहरु आतूर छन्
नव प्रभातको किरणसागै
युगान्तकारी लक्षणयुक्त
नवागन्तुकको गलाको माला बन्न
तर विवश छन्
रक्तर… धुमिल आकाशमा
भस्मा सुरको गलामा भुण्डिन
त्यसैले व्यग्र छन् फूलहरु
यो अभिसप्तताबाट मुक्तिको लागि

फूलहरुको ठम्म्याई छ
राक्षसको गलाको सभा बन्नु
पालो लाएर आत्महत्या गर्नु सरह हो
तै पनि उर्दिवालका जर्खरिएका पासविक हातहरु
टिप्छन् बोटबाट र
मुटु छेड्ने सियो रोपेर
जबर्जस्ती झुण्याउन यम गलामा
विवस छन् फूलहरु पिचास छातिमा
रुँदै रुँदै झुण्डिन

रात रहुन्जेल न हो
निशाचरहरुको बिगबिगी
सवैले बुझेका छन्
उज्यालो हत्केलाले छेकेर छेकिन्न
इतिहासको रथ पछाडि फर्कदैन
किनभने त्यो अगाडि बढ्दै जाँदा
पछाडि खाडल बन्दै जान्छ
तै पनि बल गर्दैछन्
आफ्नै विहान तर्फको यात्रातर्फ
इतिहासलाई फर्काउने
अन्तिम प्रयासमा

भो–भो बल नगर
पूर्व उज्यालो हुनै लाग्यो
झ्याउँकिरीको भाका फेरिसक्यो
आफू उभिन्डो परेर
दुनियालाइ देख्ने
चमेरोले समेत ओडारको बाटो
तताईसक्यो
उज्यालो उसको शत्रु
संकेत पाइसक्यो
घुम्दै फिर्दै नयाँ गतिमा
तह्रौं महिनामा प्रवेश गर्ने
नयाँ वर्ष आईसक्यो।

Manoj Kafle (Mansoon) – Timro Kalpana Ma

मनसुन – तिम्रो कल्पनामा

तिम्रो कल्पनामा एक एक प्याला पिउदै रोएँ
नशामै मरें नशा नशामा जीवन जिउदै रोएँ

तिमीले चिरेको मुटु फेरी दुख्यो अनि रोएँ
सहन नसकी नशा पिएँ चोटहरु सिउदै रोएँ

बिछोडको बेदनामा प्रियेसीको यादमा रोएँ
बन्यो पोखरी आँसुको त्येसैमा खिउदै रोएँ

आज एकान्त मा तिम्रो तस्बीर हेरेर रोएँ
के दिन रात झरी वर्षा अनि हिउदै रोएँ

तिम्रो कल्पनामा एक एक प्याला पिउदै रोएँ
नशामै मरें नशा नशामा जीवन जिउदै रोएँ

Mahendra Adrisya Rai – Joon, Kalaa Ra Ma

महेन्द्र अदृश्य राई –जून, कला र म


गीद्द चिल र वाजको उडान भन्दा माथि
त्यहा हावा छैन पानी छैन
अक्सिजन र कार्बनडाईअक्साईडको भण्डार छैन
तर पनि युगौंदेखि
चम्किलो धम्किलो बनेर
धर्मको हरफहरुमा ज्ञान छरेर
बाँचिरहेको छ ।
जन्मदा नै सगरमाथाले देखेको जून
अनी
तल ब्रम्हाण्डकै सर्बश्रेष्ठ धर्तिमा
अन्धबिश्वासको सेतो कपडा ओडाएर
अर्धमृत एउटा आत्मालाई
संस्कृतिको गोदाममा थन्काईएको छ
हावा पानी सँग लजाउनुपर्ने
आकाश पातालसँग मन बुझाउनु पर्ने
उर्दि जारि गरिएको छ
संस्कृतिको पण्डितहरुबाट
हासो भित्र रोदन
मुास्कान भित्र क्रन्दनले
क्षतबिक्षत बनाएर
निधारमा कालो तुल झुण्डाईएको छ ।
जहाँ लेखिएको छ ।
स्वामि बिहिन बिधवा
अनि शास्त्रको रिमोटले चलाएमान छन्
सुन्दर गाँउहरुको सुन्दरी कलाहरु ।

त्यो माथिको जून
यो तलको कला
बारम्बार

जूनलाई आधा रातमा देखेर
हाँस्न छोडेको कला
खित्कौली छोडेर हास्छन्
त्यसै दिनहरुमा
ग्रहहरुको चेपबाट कलाको अबश्थामा चिहाउदै
अमिलोतितो आभा छरेर
कसैले नदेख्ने गरि नाच्छन् जून

एक दिन सम्साझैं
मैले जुनलाई सोधे
ए…………जून
भूपिको कबिताको हरफमा
कत्तिको सत्यता छ हँ
रुन्छ पो शीतहरु प्रेर ।
त्यहि दिन
मैले कलालाई सोधे
ए……………कला
तिमीलाई देखेर म भ्रमित हो
या त तिमी त्यस्तै छ हौ
कला बोल्न खोज्छे
राता राता गालामा
आशंकाको कालो रेसाहरु मडार्दै
जूनका उत्सुकतामा बादल परेछ
पानी पर्ला पर्ला जस्तो भयो
परन्तु मेघ गर्जन पाएन ।
कला उिठ
सिमसिममा केहि मन भिजे जसरी
गर्जनाको गर्जन चड्कियो
मेरो मुटुमा
मेरो कानमा
स्वतन्त्रताको नाममा माकुरी जालो
म हेर कहिल्यै लाउदिन
संस्कार र ईज्जतको भ्रममा
कालो धुवाभित्र बस्दिन
राता राता समयहरुमा
यो सेतो कत्ति सुहाएन मलाई
शब्दहरुको बर्षा भयो
ऊ लागि घर तिर
जून लाग्यो पर तिर।

म भने
त्यहि बर्षामा भिजाएर बसे
तन र मन दुबै।

धेरै जाडो भयो मलाई
मुखबाट तातो श्वाश बहदै थियो।
कलाको समिपसम्म सायद
जूनको अर्धगोलाकार आयतन सम्म सायद
अब मैले
तौलहिन अन्धबिश्वासमा
मेरो अठोठको ढक तराजु राखेर
अर्को तिजसम्ममा मैले जोख्नुछ
एकापट्टि अन्धबिश्वास र
अर्को पट्टि
कलाको चाहाना
जूनको समर्थन

मेरो ढक तराजुको टनहरु…

बिण्णुपादुका ४, सुनसरी

Krishna Bajagain – Ankha Ra Sapana

कृष्ण बजगाईं – आँखा र सपना

खुल्लै आँखाले पनि
कसरी देख्न नसकेको हँ ?

आँखा चिम्लेर महिर्षिले
संसार देख्थे
ध्यान मग्न बुद्धले
ज्ञानको गहिराई देखे
आँखै खोलेर पनि
नदेखे जस्तो किन गर्नु ?

आँखा चिम्लेर पनि ब्यूँझि राख्नु– बुद्ध
आँखा खोलेर पनि नदेख्नु– राजनीति

कसरी असरल्ल छाड्न सकेका
आँखाहरु सडकमा ?

जिन्स पाइन्टको पछिल्लो खल्तीमा
आँखा राखेर किन हिँड्छन तरुनीहरु ?
वक्षस्थलमा आँखा टाँसेर
कसरी हिँड्न सकेका लोग्ने मानिसहरु ?
कसले भन्यो
राजनेताहरुको आँखा घिच्चुकमा हुन्छ ?

हाम्रै आँखा अगाडि छट्टू राजनेताहरुले
कसरी झुक्यार लगेकाछन्
जनताको आँखाको नानी,
र टाँसी दिएकाछन् उनीहरुको आँखामा सपना ।

सपनाको आकार हुँदैन
सपना साकार हुँदैन
–भन्ने जब थाहा पाउँछन् एक दिन
माग्नेछन् उनीहरुले आआफ्ना आँखाका नानी ।
त्यसपछि हेर्नुपर्दछ
कसरी चलाउँछन् अन्धाहरुले शासन ?

ब्रसेल्स, बेल्जियम

Madhav Prasad Ghimire – Gaunchha Geet Nepali

माधबप्रसाद घिमिरे-गाउँछ गीत नेपाली

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त नेपाल

गण्डकी कोशी कर्णाली मेची र महाकाली
लेक र बेंसी ब्युँझाउँछन् लहर लाख उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली

सीताले सारा भिजाइन दक्षिण लंका भारत
भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिबले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एशियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीं साँझमा

यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा पृतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सूर्य ध्वाजा लिई
नाँचौंला हामी हिमालमा ज्योतिको पंख उचाली

शब्द – माधबप्रसाद घिमिरे
स्वर – आनन्द कार्की, कुन्ती मोक्तान, तारा थापा, ममता दिपबिम, राजु लामा
संगीत – उस्ताद गोविन्दलाल
एल्बम – गाउँछ गीत नेपाली

Chandra Gurung – Pahiro

चन्द्र गुरुंग – पहिरो

हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ डाँडामाथिको गुम्बा,
बगाएछ खोला किनारको मन्दिर
र बगाएछ गाउँ माँझको मस्जिद पनि ।
तर बिहान सवेरै
चिण्डे लामा गुरुले
स्वार्थको ‘माने’ घुमाई रहेको देखें,
बूढो पण्डित बाजेले
छल-कपटको प्रसाद बाँडी रहेको भेटें
र बोके दारीवाला मौलवीले
जातियताको अग्लो पखर्खाल निर्माण गरेको सुनें ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ साना-ठुला घर-गोठहरु,
बगाएछ गरीबका मन धान्ने हरियो खेतबारीहरु
र बगाएछ असंख्य चौपाया-दोपाया जीवनहरु
तर बिहान सवेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउँन
आई पुगेको साहूलाई भेटें,
खेतबारीहरुमा थुप्रै सपनाहरु रोपेका
किसानहरुका आँखामा आँसु र व्यथा देखें
र हर घर-आँगनमा
मात्र मृत्यु पल्टेको सुनें ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ गोदामहरुमा
सुति रहेका अन्नका बोराहरु,
बगाएछ खेतहरुमा उभिएका लहलहाउँदो बाली
र बगाएछ थुप्रोई लत्ता-कपडाहरु पनि ।
तर अझै पनि
अशान्त भोकलाई
गाउँलेहरुको पेटमा अल्झेको देख्छु ।
निर्वस्त्र नाङ्गोपनलाई
पीडितहरुका अंगमा टाँस्सिएको भेट्छु ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

Khagendra Pandhak Limbu – Agni Lalakar

खगेन्द्र पन्धाक लिम्बू – अग्नि ललकार

म युयुत्सु हुँ

मान्छेको बिरुद्ध
युद्ध नलड्ने भनेर
चुपचाप बसेकोछु
मेरो अखण्डता

सार्बभौम सत्ताको
घात गर्दै
अघि आयौ भने
एक्काइशौं शताब्दीको
अन्तिम युद्ध
तिमीसंगै लड्छु
लड्छु तिमीसंगै

कोलोनी बाँच्न सक्दिन

दुई दशमलब चार प्रतिसत
भूगोलको फोक्टीमा
धरतीका सारा
पन्ध्र प्रतिशत
मान्छे/अ/मान्छे बीच
डढेलो सल्काउन चाहन्न
मेरो शरीरभरि
झुल्ला थापेर
चकमक नपार
ममाथि तेल नथप

अहिले आगो भएकोछु
शैलाधिपबाट
तिमीले चोरेका माटो

बंग्याएको ईतिहांसमा
अब,
लाभा उमालेर छोड्छु

विस्तारवादी आतंककारी !
कुमनुच्छे !
तँलाई तुन्द्रुंगमा हाल्छु
हाल्छु तँलाई तुन्द्रुंगमा

क्लिव !
अज्यौली थापेर
जाफ्ता च्यात्न
म पनि जान्दछु
अचैतन्य !
लोहकिल मिच्दै
मसंग सेम थपेर बढ्दैछौ
भीरमा बसेर
सोघा झैं नतर्साऊ

तिम्रो कल्पान्त नजिकिएकोछ
मेरो राष्ट्रियतामा धावा नबोल

लोदर योपन सहन सक्दिन

म वाग्मीपुत्र हुँ
अग्निशर्मा हुँ
अग्रेठ भएकोछु

स्वतन्त्र भुतल/व्योमप्रेमी
हिमाली राज्यको
प्रगल्भ नेपाली हुँ
स्वाभिमानमा अपच
अतिक्रमण अक्षम्य छ

तिम्रो भौज्य होइन यो मेची-महाकाली

स्वाभिमान र स्वतन्त्रताको निमित्त
यो अझेटोमा
पुरै अढाई करोड भन्दा
बढी प्राणले
एकै चोटी
प्रतिरक्षात्मक रुपमा
अन्गुली खेल्दै
पृथ्वी रंग्याउन तयारछु

मेरो इरादा बुझेर घुंडा टेक

भाग यहाँबाट

रोटी पोलेर खाऊ
धोतीले इज्जत छोप्न सिक
त्यहिँ तिम्रो भलो छ

म योगक्षेममा छुच्चोछु

यो विपुलामा
मेरो पनि आफ्नै देश छ

कोलोनी बाँच्न सक्दिन

खबरदारीको यो अन्तिम पत्र हो –
अन्यथा,
म अन्तिम युद्ध तिमीसंगै लड्छु

अजस्त्र म नेपालभक्त हुँ

– २०१० अगष्ट ०७

Shikhar Arohan – Nishabdata

शिखर आरोहण – निःशब्दता
(Sent to Sanjaal Corps via Email)

ऊ, हिडिरहन्छ प्रत्येकपल्ट
एउटा निर्माणका विरूद्धहरूमा
ऊ लडिरहन्छ प्रत्येकपल्ट
विनिर्माणका संघारहरूमा
चुपचाप चुपचाप
वाचाल ओठहरू
पड्किरहेछन्, Continue reading “Shikhar Arohan – Nishabdata”

Bikram Subba – Lampat Rajtantra

विक्रम सुब्बा – लम्पट राजतन्त्र

कुनै सम्मानित सभामा
बनाएर मलाई प्रमुख अतिथी
पहिर्यालएर खादा-माला आसन ग्रहण गराउँदा
मेरो अंगअंग र रक्तकण सबै हुन्छन् प्रफुल्ल
कुनै मालामाल समिति-कमिटीको अध्यक्ष बनाई
गर्न दिए मलाई बैँक खाताको चेकमा हस्ताक्षर
हात-आँखाका तन्तुतन्तु मेरा दंगदास हुन्छन्
भने, खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?

चिनेजानेको मानिसले बाटोमा
ढोग-दण्डवत-नमस्कारले गरे सम्मानभने
भित्र पस्छ अनौठो उर्जा र जिउ रमरम मक्ख पर्छ
कसैले ‘हजुर’ भनेर गरे सम्बोधनभने
यी कान हुँदै पस्छ खुशी नसानसामा
हरेक हप्ता-दशदिनमा पत्रपत्रिकातिर
भाषण गर्दैको फोटो देख्दा छापिएको मेरो
शिरमा शिरपेच र हातमा राजदण्ड कायमझैँ हुन्छ
भने, खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?

म खासमा एक लम्पट र हुस्सु मानिस
तर कसैलको पुस्तक-भुमिकामा
‘प्रेरणाको लागि धन्यवाद’ भनि मेरो नाम लेखेभने
बिजुली-तागत मेरा नौवै नारीमा जर्मुराउँछ
कार्यक्रममा कुनै विमोचन-उद्घाटनको
मलाई साभपति-प्रमुख अतथी बनाएको क्षण
खाँट्टी सम्राट भएजस्तो हुन्छ म भित्रको मानिस
छिन-छिन, दिन-दिन र समय-समय
शक्तीबर्धक यी प्रशंसाका क्यव्सुलबिना
बाँच्नै सक्दिन म यो दुनियामा
किनभने म खोक्रोछु भित्रभित्र पुरै
र बाहिरिया-देशी-विदेशी क्रितृम पम्पले बाँचिरहेछु
भने, खोइ ढल्यो लम्पट राजतन्त्र म भित्रको?

Sanju Bajagain – Aama Ra Digital Sapanaa

सन्जु बजगाईं – आमा र डिजिटल सपना

कान्ला खन्ने कोदालोका दोब्रिएका धारहरुले
खाल्डाहरुमा लाश चाख्न थालेको देखेर
सालघारीमा सुसेल्दै हिँड्ने
नौजवान
मुङ्गलान भासिदैछन्
आँखामा अनिदा रहरहरु च्यापेर ।

चुहिने घरको फुसको धुरी
बर्षातको चेतावनी
मुटुमा च्यापेर
पीडा बाँचिरहेछ बर्षौदेखि,
मुङ्गलानेको आफ्नो धर्ती
केवल फुङ्ग माटो बनेर
छटपटाईरहेछ तिर्खाहरुमा
काकाकुल भएर ।

खडेरी परेको आमाको कोख,
सुत्केरी भएको भ्रम कोट्याउँदै
आँगनमा सन्तान खोजिरहेछ,
भूत, प्रेत, नरपिचाश बेरिएको वायू
घुम्छ रे आजकल वस्तिहरुमा,
आधारातमा शंख फुक्ने जोगी
भुस्याहा कुकुरको धम्कीले
थरथराएपछि
शंख बज्दैनन्…..
साईरन बज्छन् गल्लीहरुमा ।

ऊ,
मुङ्गलानको ठिमाहा चरित्र,
आफ्नै आमा बिर्सिएर
फेसबुकका पाना पल्टाउँछ

आवाद गर्छ
अप्राकृतिक मसीका काला थोपाहरु
ईमान्दारीताको बिजयप्राप्तिमा ।

समय म्याराथुन दौडिरहेछ,
आमा नाङ्गलो उठाएर
चन्द्रमा चिहाउँछिन् अझैपनि
जोड र घटाउका सिलशिलाहरु
उनका हातका औलाबाट
फुत्किई सक्दासम्म पनि
दुई बीस,
अनि
चारकोरीको गन्तीले
लपक्क लिपेको भकारीमा
एउटा सग्लो बर्ष भर्छिन्
र खुशी देख्छिन् हलुङ्गेका थालहरुमा ।

त्यो ठिमाहा चरित्र,
हरेक साँझ
मुङ्गलाने ईन्द्रेणी आँखामा टाँसेर
आईरीस क्याफेको ढोका चाहार्छ
जीवन्त तन्तुहरुमा गर्व भरेर ।

रात मस्त नशाको
सिरक ओढेर
झुल्के घामसँगै बिदा हुन्छ
आज, भोली, पर्सी गर्दै
धेरै रात ओर्लिए बिहानीमा
तर,
ऊ डिजिटल युगमा बाँचेको मान्छे
आमा भेट्ने दिन कहिल्यै आएन
उसको डिजिटल सपनामा ।

ब्रसेल्स, बेल्जियम

Komal Shrestha Malla – Bancheko Chhu (Muktak)

कोमल श्रेष्ठ मल्ल – बाँचेको छु

हो मेरो
आफ्नै भोगाइ
र नतौलिएको सोचाई
नहारेर हारे कतै
हारेर हारे कतै
त्यहैले म जीवन भोगेर
मृत्युलाई बाँचेको छु ॥

Nawaraj Subba – Satyam Shivam Sundaram

नवराज सुब्बा – सत्यम् शिवम् शुन्दरम्!

हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल
कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरुको बीचमा
लुकेर बसेको
सुवासलाई सुटुक्क सोधें
यो भन्दा सुन्दर
कहिल्यै नओइलिने फूल
छ मसंग
जाउँ त्यहीँ ढुक्कले बसौं
ऊ मानेन पटक्कै मानेन
पक्रन खोजें तर
नओइलिने फूलमा
कहिल्यै बस्दिन म भन्दै
मेरो हात झड्कालेर
मनै दुख्नेगरि
उ टाढा गयो
यी फूलका पत्रदलमा या
असल मानिसको देहमा
सुगन्ध अर्थात् प्राण
अन्ततः बास बसेनन्
सत्यम् शिवम् शुन्दरम् !