Bibek Dulal Chhetri ‘Damak’ – Gardina Bhandai Thiyo (Gajal)

विवेक दुलाल क्षेत्री “दमक” – गर्दिन भन्दै थियो (गजल)

गर्दिन भन्दै थियो, उ उक्साहट आयो
हेर्दा हेर्दै खुनी हातको फैलावट आयो

फूलहरू मुर्झाएका थिए ,बिश्वास ढलेका
दमित इच्छाहरूको सजावट आयो

लेखिनु Continue reading “Bibek Dulal Chhetri ‘Damak’ – Gardina Bhandai Thiyo (Gajal)”

B J Bantawa Rai – Narabhakshi

बि. जे. बान्तवा राई – नरभक्षी……!

नर्क बिचमा छ यहाँ झिलिमिली,,,
त्यसैले हरेक साँझ यहाँ रंगिन्छन
ईन्द्रको स्वर्ग र यमेको यमलोक झैं
यहाँ ईन्द्रेहरु अप्सरासँग र सोमरस सँग
यमेहरु अबोध अनी अञ्जानका स्वाससँग
हरेक घडी-घडी, किचिन्छन, थिचिन्छन
अनी यहाँ पल पल लुछिन्छन
चौखुराईएको कैदी झैं अप्सराहरु
यहाँ मजबुर छन मरेर जिउन
यो झिलिमिली भित्र कुरुक्षेत्र छ
यहाँ समुन्द्र झै बगेका आँशु छन
चेरापुञ्जी झै आँशुले भिजेका
पाईलै पिच्छे लट्ठिएका देवता छन
यहाँ छाती चिर्ने टनाटन अस्त्रहरु छन
यहाँ एकले अर्काको शिकार गर्दै गरेको
ठुला ठुला नरभक्षी पशुहरु छन
त्यसैले त यहाँ मान्छेलाइ नङ्ग्याईन्छ
बङ्ग्याईन्छ, अनी मान्छेलाई नै खाईन्छ।

Ratna Prajapati – Majhi Dai Dunga Khiyaideu (Nepali Bal Kabita)

रत्न प्रजापति – माझीदाइ डुङ्गा खियाइदेऊ (बाल कविता)
(मुना २०६५ फागुन)

माझीदाइ डुङ्गा खियाइदेऊ
लौन मलाई स्कुल पुर्‍याइदेऊ ।
फेवापारि स्कुल छ फेवापारि गाउँ
साना साना हात-पाइला म कसरी जाऊँ ।

बाबा मेरो परदेशमा आमा मेलापातमा
एक्लै छु म घरमा हजुर, छैन कोही साथमा ।
जीवनको अमूल्य समय खेर जान लाग्यो
हेर्दाहेदै स्कुल पुग्न अबेर हुन लाग्यो ।

सबै जना भन्छन् मलाई धेरै पढ्नुपर्छ
देश उठाउन कम्मर कसी अघि बढ्नुपर्छ ।
धेरैधेरै पढ्छु हजुर ज्ञानी मान्छे बन्छु
सधै सधैं मेरो देश उठिरहोस् भन्छु ।

Bidhya Prasad Ghimire – Sharadagaman

विद्याप्रसाद घिमिरे – शरदागमन

आयो फेरि शरद् रहरको उन्माद लिई साथमा
हिलो मैलो हट्यो सबतिर न मेघ नै आकासमा ।
हरित कुञ्ज दिन दिन गरि वर्ण फेर्दैछ स्वर्णको
चुलिएका शिखरहरू छन् दृष्टान्त अन्नपूर्णको ।।

लेक—बेँसी चहचह झुल्यो नानाथरिका पिङभैंm
सयपत्री र मखमली पूmल फक्रिदियो रङ्गिन भै ।
बर्षा गयो झलमल भयो दसैँ–तिहार बस्तीमा
वायुभित्र चिसोपन बढ्यो नाच्छ उमङ्ग मस्तीमा ।।

स्वच्छ जल कलकल बग्यो बज्यो मृदङ्ग गुञ्जन
वनबुट्यान हाँगा–पातमा ताण्डव नृत्य मञ्चन ।
पूर्ण यौवना उन्मुक्त जूनले हेरिरहन्छे रातमा
यही यामका किन्नरीहरू लजाउँछन् हर बातमा ।।

Narayan Tiwari – Mero Desh Anuhar Herera Banchchha

नारायण तिवारी – मेरो देश अनुहार हेरेर बाँच्छ

म मेरो देशको कथा लेख्दैछु
मेरो देश बाहिर बाहिर हाँस्छ
भित्र तिर रुन्छ
मेरो देश जो कहिल्यै शिर झुकाउँदैन
मेरो देश….
यसका असीम पीडाहरू थुप्रै छन्
यो बाहिर त हिमाल बनेर मुस्काउ“छ
भित्र आँसु खसाउँछ
आह । कति दुर्बल छ मेरो देश
म मेरो देशका खिन्यौटे अनुहारहरू
एक–एक गरी देख्दैछु
म मेरो देशको कथा लेख्दैछु ।
जुन देश आफूभरि,
आफ्नो मुटुभरि गुराँस फुलाएर हाँस्छ
जुन देश सधैं उकाली र ओराली,
बेंसी र भन्ज्याङ रमणीय दृश्यहरूमा
भुलेर, मजबुरन भुलेर
करले–रहरले होइन भुलेर,
आफ्ना तिर्खाहरूलाई, यी नै डाँडाकाँडाहरूमा
यी नै मधेशहरूमा
यी नै कोसी र कर्णालीहरूमा
यी नै मेची र महाकालीहरूमा
आफ्नो अनुहार टकटकी हेर्छ,
मेरो देश अनुहार हेरेर बा“च्छ ।
हो ! मुटुभरि भावना पगाल्न सक्नु
पनि खूबी हो
हो, यो मेरो देशको खूबी हो
उफ् ! यही खूबीमा त उसका सम्पूर्ण
रहरहरू जिउ“छन् ।
रहर–कर
कर–रहर
यो पनि एउटा कथा भइसक्यो
म यी नै भावुकताहरूलाई पगाल्दैछु
म मेरो देशको कथा हाल्दैछु ।
विरान छन् हाम्रा जाज्वल्य क्षणहरू
कहिले आउने….
कहिले पाउने, विरान छन्
केवल बिरानोको आभास छ
र छ त केवल…..
निष्ठुरी मन, जो कहिलेकाहीं कतै
देशसित प्रीति गा“सेर,
कल्पिन्छ….
रुन्छ– कल्पिन्छ
सुन्छ– अ“ध्यारोमा त मुटुभित्र न्यानो
– आभास हुन्छ
हो यो देशको मन पनि यस्तै छ
मेरो देशको मन निश्चय नै यस्तै छ ।
वास्तवमा मेरो देश फक्रिएको फूल होइन
गुरा“स फुल्छन्
चित्त भुल्छ
वास्तवमा मेरो देश
कक्रिएको फूल हो
यो कहिलेकाही“ कतै मात्र
फुलिरहेछ– फुल्छ
केही क्षण मात्र…………..
हेर्नोस् हिमाल केही क्षण
कल्पना गर्नोस्–हा“स्यो…..
कल्पना गरिरहनुस्……
हिमाल रोयो…. हिमाल,
कोसी र मेची बनेर रोयो
हिमाल कर्णाली र महाकाली बनेर रोयो
मेरो देश यी नै आ“सुहरूको मुहान हो …..
आ“सुहरूको मुहान मेरो देश
हिमाल–जो कहिल्यै हा“स्न सक्दैन,
आ“सुहरूको मुटु कहिल्यै हा“स्न सक्दैन
मेरो देश समष्टि वेदनाहरूको पोको हो
म त्यसैले यी वेदनाहरू खोतल्दैछु…
म मेरो देशको व्यथा बोल्दैछु ।
जिन्दगी केही होइन आखिर देश हो
सुकेको जिन्दगी ……
पतझडहरू …… उडाएका सुकेका पात ….
यही त यो देशको जिन्दगी हो
यही त यो देशको पीडा हो ….
वसन्त आउने केवल न्यानो प्यास
मात्र त हुन्छ
हाम्रा घर–आ“गनका फूल–पातहरू
समयमा बढ्दैनन्
समयमा फुल्दैनन्
एक– दुई बढीहाल्लान् तर
सय–सय लड्ने त यस देशको
व्यथा हो
सय– सय फूलपातहरू हाम्रा
कंचनजंघा र धौलागिरिका
पत्तै नपाई गृष्ममा जल्छन्
जाडो त केवल छल हो ….
यो पग्लिरहन्छ, मेरो देश पग्लिरहन्छ
मेरो देश यस्तै–यस्तै विसंगत
प्रकृति–धारा मुन्तिर थिचिएर कहालिन्छ
म यी नै चिच्याहटहरूको माया पाल्दैछु
कृपया विरक्त नहोइदिनुस् …
म मेरो देशको कथा हाल्दैछु ।

Bodhraj Paudel – Godumba Ra Ma

बोधराज पौडेल – गोडुम्बा र म
(मधुपर्क बैशाख, २०६७)

विचरा गोडुम्बा !
झुण्डिन्छ सानो बेलामा
लहरिँदै जाँदा शाखाहरू
निकै पर पुगिसके
गोडुम्बा त्यहीँ छ
सुकेको फूलमा टाँसिएको ।

म निश्चल छु
सायद हतास Continue reading “Bodhraj Paudel – Godumba Ra Ma”

Komal Shrestha Malla – Mero Yaad

कोमल श्रेष्ठ मल्ल – मेरो याद

मेरो याद छाती भरी बगाएर नबस है
मेरो प्यार मुटु भरी सजाएर नबस है
हिजोआज अर्कैको म भइसके माफ गर
विश्वासको दियो बाली हृदय त्यो साफ गर

किन भन्छौ मेरो रूप बषन्तको बहार जस्तो
नचिनेर नबुझेर नगर है विश्वास त्यस्तो
बिनासित्तै रहरलाई नपाल है म भनेर
त्यसै त्यसै जीवनलाई नफाल है म भनेर

लाग्यो भने कालो दाग मेटाउन गाह्रो हुन्छ
पराइको नासो अब कहाँ त्यसै प्यारो हुन्छ
आफुआफै आफनो बाटो पछ्याएर हिडने गर
मनलाई फकाएर खुसी खुसी जिउने गर

Sharad Nirola – Bhanera Faida Chhaina

शरद निरोला – भनेर फाइदा छैन

भन्न थाल्यो भने किन भनिस भनेर भन्छन
बोल्न खोज्यो भने किन बोलिस भनेर रोक्छन
नभनुँ त मुख चिलाएर चौपट्ट छ भन्दा
बढ्ता हुन्छस तँ ? भनेर ठोक्छन

देशमा कस्ता कस्ता कुरा भा’का छन् कसले भन्ने?
कति करोड रुपियाँ कता गा’का छन् कसले गन्ने?
बाग्मती र टुकुचामा मात्र होइन मनहरामा पनि
शहरको ढल बगेको कसले देख्ने?

सागपात भनेपछि हुरुक्कै हुने काठमाडौंबासीले
चौंसुर-पालुंग खान छोडेको कसले देख्ने ?
रायोको सागका मूठाका मूठा
गुहे पानीमा धोएको कसले देख्ने?

सडकमा गाडीको जाम छँदाछँदै
मोटर साइकलको बिगबिगी कसले रोक्ने ?
पेटीमा दुई पांग्रे गुड्छन त सडकमा दुई खुट्टे हिडछन्
यो अचम्मको कैफियत कसले बुझ्ने?

न शान्ति छ न सुरक्षा छ
ज्यान संगको खेलबाड कसले हेर्ने
पार्टीपार्टीका बीच महासंग्राम छ
जनताको भलो कसले गर्ने ?

संबिधान नभए देश चल्दैन
त्यसको खाका कसले कोर्ने
जुनसुकै मूला आए पनि
घटीमा छ महिना माग्नै पर्ने !

देशभरि ठूल्ठूला नदी र नाला छन्
तिनका पानी कता फाल्ने
धाराका टुटी जोडले खोल्दा
स्वाँ-स्वाँ आवाज कसले सुन्ने?

जुन बेला बत्ती दरकार छैन
त्यही बेला बत्ती आइ दिने
रात भरि टुकी बाल्नु पर्दा
जनताको मर्का कसले बुझ्ने?

आफुलाई भन्छन जनताको नेता
जनता चाहिं सधैं यता न उता
यो हरिबिजोगको अन्त्य कतै छैन
यो समस्या कसले बुझ्ने?

विश्वमै दुर्लभ यी जन्तुलाई
नेपाली भनी कसरी भन्ने
देश त यिनले मासेकै छन्
दु:ख-पुकारा कोसित गर्ने ?

Bhupin Byakul – Kitaab

भूपिन ब्याकुल – किताब

मेरो हृदयको पुरानो दराजमा
मलाई मनपर्ने
प्रिय किताब छ !

प्रत्येक दिन त्यसका पानाहरु खोल्छु
पाउँछु
हिजोका शब्दहरु फेरिएर नयाँ शब्दहरु टाँसीएका छन्
मानौँ त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र
जहाँ शब्दका नयाँनयाँ छालहरु आउँछन्
त्यही एउटा किताब छ
जसका पृष्ठहरु भित्रबाट
एकाएक हराउँछन् शब्दहरु
र जसरी भरिन्छन् इनारहरु बर्षामा
त्यसरी नै भरिन्छन् किताबका रिक्त पानाहरु

प्रत्येक दिन त्यसका पानाहरु खोल्छु
हिजो दुखाएका शब्दहरु गाएब छन्
हिजो हँसाएका शब्दहरु पनि गाएब छन्
रुप बदलिरहेका शब्दहरु पढेर
म कसरि अर्थ लगाउन सक्छु अ त्यो किताबको ?

मेरो पुस्तकालयमा
जहाँ शब्दहरुको नदी बग्छ
र किताबको सीमनाबाहिर पुगेर टुंगिन्छ
जहाँ शब्दहरुको घाम लाग्छ
र किताबको क्षितिजबाहिर पुगेर डुब्छ
जहाँ शब्दहरुको अर्थ बग्छ
र किताबको भूगोलबाहिर निस्किएर हराउँछ

संसारका सबैसबै प्रेमिहरुसंग छ
शब्दहरु हराउने र भेटिने
अर्थहरु बग्ने र बदलिरहने
प्रेमको किताब !

Keshav Silwal – Dukha Ko Barnamala

केशव सिलवाल – दु:खको वर्णमाला

वर्षौंदेखि घोकिरहेका छौँ
जोसुकैले पढ्न नसक्ने
यो दुःखको वर्णमाला

त्यति सहज हुँदैन
दुःखका अक्षरहरु पढ्न
बाहिरजस्तो देखिए पिन
अर्कै हुन्छन् भित्रका अक्षरहरु
हिमाल र पहाडका अक्षरहरु पढ्न
आफैँ हिमाल र पहाड बन्नुपर्छ
बगर र नदीका अक्षरहरु पढ्न
आफैँ बगर र नदी बन्नुपर्छ

के भन्छन् हँ
घामका यी अक्षरहरु
के अर्थ बोक्छन् हँ
पानीका यी बूँदहरु
कसको स्वतन्त्रताले आत्महत्या गरेको छ
आकाशको विशाल अक्षरको हाँगामा
कस्ता अक्षरहरु खोपिएका छन्
भरियाको ढाडमा
कस्ता अक्षरहरु लेखिएका छन्
आमाको छातीमा

युगौँयुगदेखि पढिरहेका छौँ
हिमालको चिसोले
गालामा खोपिएका चिसा अक्षरहरु
मधेसको समथर फाँटमा
रगत र पसिना एक गरेर
निरन्तर पढिरहेका छौँ
बाढीले थुपारेका घामका काला अक्षरहरु
नाक ठोकिने भीरहरुमा
वर्षौंदेखि पढिरहेका छौँ
अभावका आकाश छुने अक्षरहरु
यी यसरी वर्षौंदेखि पढिरहेका छौँ
भोक र तिर्खाका अक्षरहरु
कसरी अनपढ भयौँ हामी ?

वर्षौंदेखि घोकिरहेका छौँ
जोसुकैले पढ्न नसक्ने
यो दुःखको वर्णमाला
के एक निमेषमा पढ्न सकिन्छ देश ?

Madhav Prasad Ghimire – Phool Ko Thunga

माधबप्रसाद घिमिरे – फूलको थुँगा

फूलको थुँगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा

झरीको पछि झुल्केको घाममा निर चढ्यो पहाडको
भर्खर प्रीति बसेको बेला पीर पर्यो बिछोडको

नहाँसु भने सखीलाई पीर मै हाँसु कसरी
रुउँला राति भनेर आँसु मै साँचु कसरी

रातमा मलाई हेर्दछ टोलाई पूर्वको ताराले
त्यो कान्तिपुरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले

शब्द – माधव प्रसाद घिमिरे
स्वर – तारादेवी

Bishwa Sigdel – Anshu

विश्व सिग्देल – आँसु

कुनै समय
आँसु हाम्रो शृङ्गार थियो
हामी धुन्थ्यौं आफूलाई
सफासँग
र हामीबीच खुल्दथ्यो
एउटा घमाइलो दिन

दिन, महिना, वर्ष बित्दै गए
हामीले सिक्यौं धेरै कुरा
हाम्रो संसारबाट
हाँस्न Continue reading “Bishwa Sigdel – Anshu”

Biplav Pratik – Durghatana

बिप्लव प्रतिक – दुर्घटना

सडकको बीचमा
एउटा दुर्घटना भएको छ ।
केही छिनअघि नानाथरीका
झन्झटले जेलिएको त्यो मान्छे
अब बन्धनमुक्त भएको छ,
सडकको बीचमा एउटा दुर्घटना भएको छ ।

यता, जिन्दगीमा कति यस्ता कान र आँखा छन्
जो केही सुन्दैनन्, जो केही देख्दैनन्
कति यस्ता मुटु र मगज छन् जो केही अनुभूत गर्दैनन्
यिनीहरूमध्ये कति त मान्छेसरह बाँचिरहेकै छन्,
र हामीहरू पनि यिनीहरूमध्येबाट नै बाँच्तछौँ ।

वास्तवमा हामीहरू पनि दुर्घटनामै परेका हौँ
म त भन्छु विशाल दुर्घटनाका सिकार हौँ हामीहरू
त्यो सडकबीचको दुर्घटना त एउटा मिथ्या हो ।
र यो जिन्दगीको, अहिले हरेक मान्छेले भोगिरहेको दुर्घटना
शाश्वत हो
उफ ! यो कस्तो दुर्घटना ?
यो कस्तो जिन्दगी ?
यो कस्तो शाश्वत ?
यो कस्तो मिथ्या ?

सडकबीच एउटा दुर्घटना भएको छ
र पछारिएका हामी छौँ
धूलोमा मुछिएर सडकमा रगतपछ्य ।

घट्टेकुलो, १४ जुलाई १९९१

Rupesh Rai – Ichchha Haru

रुपेश राई – इच्छाहरू

इच्छाहरू यसपाली पनि
मोसै मोसो भएर भाँड़ामा
चमक ल्याउने कोशिश गरिरहेछ।

गरिरहेछ नित्य
ती इच्छाहरू। तेस्रो विश्व सम्झेर।जाबो त्यो इच्छा।

गरिरहेथ्यो पोहोर पनि
सायद गरिरहनेछ। जबसम्म उ,
उ भएर बाँच्न पाउँदैन।

पाउँदैन उसले त्यही
कुरा जो ‘म’ ले पाइरहेकोछ। पाइरहेकोछ
अगाड़ी, पछाड़ी चारैतिर हिड़ाउन। कुकुरहरू
भुसिया, बुलडाग थरिथरिका।

थरिथरिका हातहरू। हातहरू कालो, सेतो।

थरिथरिका उसका इच्छाहरू
बलात्कृत भए। यसपाली पनि दशैंमा
इच्छहरू, घटुक्क आँशु निलिई विसर्जन गरिदिए।

गरिदिए उसले
आफुलाई विसर्जन ‘म’को शहरमा।
‘म’को गाउँमा अनि ‘म’को गल्लिमा। ‘म’को समाजमा।
‘म’को विचारमा। ‘म’को देशमा।

‘म’को देशमा इच्छाहरू
फस्टाउन पाउँदैन, मौलाउन पाउँदैन। पाउँदैन पुराहुन।
यसैले पनि हो इछ्छहरू यसपाली…
विसर्जन गरिदिएको…।।

Rishi Ram Neupane – Hoste Timile Gare

ऋषिराम न्यौपाने -होस्टे तिमीले गरे

खोली लोचन शीघ्र हेर अगुवा बालेर बत्ती तिमी
जुट्ने उच्च विचारमा छ गहिरो धाँजा परेको जिमी
शंका, त्रास र आशमा रुमलिंदा छाँया अँध्यारा परे
हैंसे गर्न तयार छन् छल बिना होस्टे तिमीले गरे

छाँया स्वार्थ र लोभका, कलहका फालौँ न हामी मिली
छन् झिल्काहरु भित्रका अनलमा गर्दै अझै पिल्पिली
मौकामा नफुके जुटेर अहिले बल्दैन आगो भरे
हैसे गर्न तयार छन् छल बिना होस्टे तिमीले गरे

पञ्जा थुत्न खुरुक्क बाघहरुका आऊ कसी कम्मर
चर्की वाद विवादमा अररिंदा ढल्छन् पला सुन्दर
बेलामा नबुझे विचार युगको रोपिन्छ काँढा भरे
हैंसे गर्न तयार छन् छल बिना होस्टे तिमीले गरे

आ–आफ्ना हठमा अडी, अडिरहे हुन्छौँ सबै निर्बल
बत्ती पौरखका र आत्मबलका बालौँ मिली झल्मल
बङ्गरा नथुते भुजङ्गहरुले चुस्छन् अरु झन् भरे
हैंसे गर्न तयार छन् छल बिना होस्टे तिमीले गरे।

Mukul Dahal – Maha Sabha Aawaj Haru Ko

मुकुल दाहाल – महासभा आवाजहरूको

भीमकाय पर्खालहरू च्यातेर
घेराहरू बाहिर निस्केका
सुमधुर, कर्कश, तीखा
आवाजहरूको महासभामा
मलाई थाहा छ
मेरो आवाज पनि उपस्थित छ ।
पहाडबाट तल ओर्लदै गरेको झर्नाको
आवाज केही बोलिरहेछ ।
सडकमा वेगवान् सवारी साधनहरूका
आवाजहरू एकअर्कालाई घचेटिरहेछन् ।
आकाशमा उडेको वायुयानको आवाज
उचाइको गर्व गरिरहेछ ।
फ्याक्टÇीमा मेसिनको आवाज
भकभकाइरहेछ ।
चराहरूको कलरव
जीवजन्तुहरूको स्वर
रातमा कीराहरूको किरिरि
सुन्दर यौवनाहरू मmैं उपस्थित छन् ।
सभामा अचल अवस्थाबाट
प्रस्थान सूक्ष्म आवाजहरू पनि छन् ।
अघाएर डम्म आवाजहरू
भोकले चाउरिएका आवाजहरू
कहिल्यै नमर्ने मृदु आवाजहरू
आफ्ना आफ्ना कक्षमा वाचाल छन् ।
आवाजको महासभामा
महाशक्तिहरूको आवाज
समुद्रमा छालजस्तो उठिरहेछ ।
मलाई थाहा छ
मेरो स्वर पनि उपस्थित छ त्यहां ।
तर म चिन्न खोजिरहेछु
कुनचाहिं हो मेरो स्वर ?
कुनचाहिं हो मेरो आफ्नो स्वर ?

R R Chaulagain – Euta Mitho Kabita Lekhna Sakiyena

आर.आर. चौलागाईं – एउटा मिठो कविता लेख्न सकिएन
(मधुपर्क असार, २०६८)

कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन
आरम्भ, मध्यान्तर र उपसंहार कस्तो हुन्छ
पहिल्याउन सकिएन
लेख्दै जाँदा नारा मात्रै हुने हो कि !
त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन
चाहे पूरा होस् अथवा नहोस्
सपनाहरू छताछुल्ल हुने गरी बाँड्न सकिएन
न सुन्दरताको धीत मर्ने गरी प्रशंसा हुन सक्ने भो
न आँखै अगाडिको अस्तव्यस्ततालाई
धारे हात लगाएर सराप्ने अवस्था भो
सँगैको एउटा सँधियार चुँ पनि बोल्दैन
अर्को हामी उसैको कमाराकमारीजस्तो हप्की र दप्की गर्छ
कोसँग सल्लाह मागूँ कस्तो फसादमा परियो
के गर्ने के नगर्ने अलमल्ल परियो
रातमा निदाउन पनि सकिएन
दिनमा काम गर्न पनि सकिएन
के भयो भयो भेउ पाउनै सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
कविता लेखेरै जिन्दगी बिताइयो
कवितासँगै निदाइयो, कवितासँगै उठियो
कविता लेखेरै प्रेम गरियो
कविता लेखेरै विवाहबन्धनमा बाँधियो
कविता लेखेवापत गाली पनि खाइयो
कविता लेखवापत पुरस्कार पनि थापियो
पटकपटक जेलको हावा पनि खाइयो
दरवारको मेजमानी पनि बुत्याइयो
कविताको आकर्षणले थुप्रै मित्रहरू कमाइयो
कविताको प्रहारले थुप्रै शत्रुहरू पनि बटुलियो
कविताकै कारणले देशदर्शन पनि गरियो
कविता पढ्न पराईभूमि पनि टेकियो
आज के भयो यस्तो अचम्म !
कविताले पत्याउँदै पत्याइनन्
फर्केर एकचोटि हेर्दा पनि हेरिनन्
रुन पनि सकिएन हाँस्न पनि सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
मानिसहरू लेख्यालेख्यै छन्, सुनाको सुनायै छन्, छ्यापेकोछ्याप्यै छन् ।
यामानको किताब पनि निकालेको निकाल्यै छन्
तर कविता लेख्या हुन् कि के लेख्या हुन् थाहा छैन
खै ! के सुनाएका हुन्, के छापेका हुन्
केको किताब निकालेका हुन् त्यो पनि थाहा छैन
बोल्नु हुँदैन मारिहाल्छन्
सम्झाउनु हुँदैन झुण्ड्याइहाल्छन्
आफूले त त्यत्ति गर्न पनि सकिएन
स्याबासी लेखाउन घरघर धाउन पनि सकिएन
पुरस्कार जिप्ट्याउन खुट्टामा तेल लाउन पनि सकिएन
पुरस्कार दिलाए आधाआधा बाँडौँला भन्न पनि सकिएन
भरे साहिँलीको भट्टीमा मरुन्जेल धोकौंला भन्न पनि सकिएन

यो बारको जुनीमा त्यत्तिकै मरिन्छ कि क्या हो !
यो पनि भएन त्यो पनि भएन केही पनि भएन
बेसारे कवि/कवयित्री भएर हल्लाखल्ला मच्चाउन पनि सकिएन
अर्काको कविता सारेर आफ्नो नाम छपाउन पनि सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।

– हेटौँडा-४, मित्रनगर मकवानपुर

Kedar Shrestha Gagan – Parkhi Baschha Bagar Sandhai

केदार श्रेष्ठ ‘गगन’ – पर्खी बस्छ बगर सधैँ

फूलले माया गर्दा–गर्दै बास्ना उडिजानी
पर्खी बस्छ बगर सधैँ बगि जाने पानी
लाग्छ मलाई भएँ आज त्यस्तै मै पनि ।

पिडाहरु उर्लि आउँछन् भाका फेरीफेरी
आगो बल्छ Continue reading “Kedar Shrestha Gagan – Parkhi Baschha Bagar Sandhai”

Dipendra KC – Naya Rastriyata Ko Shahar Ma

दीपेन्द्र के.सी. – नयाँ राष्ट्रियताको शहरमा

किन हो ? हरेक दिन–
फेरिएको राष्ट्रियतासँगै
एकफेरा जन्मन्छु
र, एकफेरा मर्छु म !
नयाँ परिचयमा जारी जन्म र मृत्यु
आधा बाँचेर मरेको छु
र, आधा मरेर बाँचेको छु ।

आत्मा बरालिएको छ अन्त कतै
म छु यहाँ नयाँ सीमानाभित्र ।

इलेक्ट्रिोनिक कार्डमा, लुकेको छ धेरै कुरा
तर कवै लुक्दैन
धारिलो नजर आफनै तस्वीरको
जो कटिरहन्छ घरीघरी आफैलाई
सपनाको मरुभूमिमा
आफनै रगतको पानी पिउन ।

हिंडदा सडकमा –
आफनै छातीमा पाइला राखेसरह
हरेक पाइलाहरु, सजायका कोर्राहरु सहन्छु म !
दुनियाँका सशंकित नजरहरु दाँयावाँया
अमूक यातनाहरु सहन्छु म !
मेरो टोपी जुत्ता बनिदिन्छ
उसको मोजा मैले टोपी बनाउनुपर्छ
धेरै जँग बहादुरहरु उभिएका छन ट्राफिक चोकमा
२+२= पाँच भन्नु पर्दछ मैले
आधा बाँचेर मर्दै
आधा मरेर बाँच्दै ।।

आज स्मृति दिवस मेरो राष्ट्रियताको –
असँख्य पूर्वस्मृतिहरुले
पुनः प्राण भर्न सक्दिन म
सँजीवनीविहीन म
ढाका टोपी टेकिएको
मलीन अनुहार दिलमा राखेर
मुखुण्डो हालेर नयाँ राष्ट्रियताको
गेटपास हुन्छु र छिर्छु
नयाँ राष्ट्रियताको शहरमा
त्यहीं क्रमशः धेरै कोर्राहरु सहदै
एकफेरा जन्मन्छु
र, एकफेरा मर्छु म !
आधा बाँचेर मरेको छु
र,आधा मरेर बाँचेको छु
नयाँ राष्ट्रियताको शहरमा ।।

२ अप्रिल २०१३,
Oostende. Belgium

Sindhu Gautam – Bidhawa Samaya Ra Udas Anuhar

सिन्धु गौतम – विधवा समय र उदास अनुहार

आज बिहानै रेडियोले फुक्यो-
धान रोप्न गएका रोपाहारहरु
बीउ लिएर भागाभाग गरे
मेरो गाउँका किन्नरकिन्नरीहरु
कोदालो समाएरै चिच्याउन लागे ।
घनघोर जङ्गलमा
डालेघाँस झार्दै गरेको हर्के
खुर्पा लिएर दगु-यो
नेपथ्यमा ठूलै आवाज निस्क्यो
सबैले थाहा पाए-
आज-
घरबाट निस्कनु हुँदैन ढोका थुन्नर्ुपर्छ
किनकि आज नेपाल बन्द छ ।
आज
लड्नेहरु घमासान युद्ध लड्दैछन्
कोही आफूलाई
अज्ञात रुपमा समर्पित गर्दैछन्
खुकुरीको धार
अनि
बन्दुकका नाल र प्वालमा
बन्दुक ठडिन्छन्

कोपिलाहरु सबै
बममा रुपान्तरित भएका छन् ।
त्यसैले
फूलहरु फुल्न चाहेका छैनन्
बिरुवाहरु उम्रँन चाहेका छैनन्
आज
मिर्मिरेमा सूर्य तेजिला किरणसँगै
बारुद र बमका र्छराहरु र्छकँदै छ ।
मध्यान्हको सूर्य
बाल्टिन र कुकरबमले चर्किँदै छ ।
र साँझको सूर्य रगतको
आहालमा पहाडमुनि चुर्लुम्म डुबेको छ ।
शीतल जून पनि
फायरिङबाट त्रसित छ।
त्यसैले त आज
यत्रतत्र र्सवत्र जिन्दगी
विधवाको निस्तेज अनुहारझैँ
उदासउदास छ ।