Yagyesh Dhwoj Karki – Aaja Ka Jogi

यज्ञेशध्वज कार्की – आजका जोगी

मलाई छोटा कपडाभन्दा
छोटा विचारसँग सरम लाग्छ,
मूर्खको बातभन्दा
महापण्डितको उपदेश झिज्यार लाग्छ!

बहिरालाई
मुस्कुराएको वचन सब मिठो हुन्छ,
बेवाकूफ दर्शकलाई
बकबके लवारपाँडे विद्धवान हुन्छ,
मलाई त आश्चर्य हुन्छ!
खुल्ला सडकमा हिँड्न छाडेर मानिस,
साँघुरिएको गल्लीमा किन कोचिन चाहन्छन्?
अपरिमित आकाशलाई त्यागेर
जमीनमा किन घिस्रन चाहन्छन्?
अनि,
विषालु विचार डस्न चाहने
ती ढोंगी उपर घृणा हुन्छ
त्यसको कृत्रिमता देखेर
त्यसको उदण्डता देखेर
अनि भन्न मनलाग्छ,
हे विद्धता र ज्ञानका चस्मा लगाउनेहरु!
हृदयको आँखाले हेर,
धमिलोपन हट्ला कि?
वास्त्राभूषण र सुनका रथमा रमाउनेहरु
बोक्रेपन ताँछेर हेर,
अमिलोपन घट्ला कि?

खरानी र रुद्राक्षले सिद्धिप्राप्त हुने भए
पूरै वन अग्नीकुण्डमा होमीदिन्थेँ,
रुद्राक्षका रुख सब नंग्याइदिन्थेँ,
तर सिद्धि त अदभुत बुद्धिमा छ
जो सँसारबाट परय छ।

मलाई बोटमा सुकेर चाउरी परेको फलभन्दा
केमिकलका हरिया फल तीतो लाग्छ,
मलाई छोटा कपडाभन्दा
छोटा विचारसंग सरम लाग्छ।

Yagyesh Dhwoj Karki – Ma Jangali Banna Chahanchhu

यज्ञेशध्वज कार्की – म जङ्गली बन्न चाहन्छु!

ईश्वरको सृष्टिमा
मानिसले टाङ् अडाएकोले
वसुदेवझैँ जीवनको कैदी बनेको छु,
आधुनिक्ता मेरो थुनुवा हो,
सभ्यता मेरो कंश हो,
मानिस मेरा दूारपाल हुन्,
त्यसैले मुक्तिको खोजिमा
म जङ्गली बन्न चाहन्छु!

आफ्नो देशको एक मुट्ठी माटो
हातमा खेलाउन चाहन्छु,
भूमीमा बलरामको हल चलाउन चाहन्छु,
बूढानीलकण्ठको खोजीमा
जानकी जन्माउन चाहन्छु!
म जङ्गली बन्न चाहन्छु!

म त्यहाँ जान चाहन्छु,
जहाँ मेरी किताब प्रकृती खुद हओस्,
भोटेकोशीको कलकलता र गौरीशंकरको आलीशानताको पानालाई
हावा झुल्दै झुल्दै आई पल्टाँउन्,
म भीरको डीलमा बसी,
मच्चिदै मच्चिदै आएको चिसो चिसो स्याँठलाई
अन्तरंगमा स्वागत गर्न चाहन्छु,
आफ्नो उद्धेश्य शीतल चन्द्रमामा ताक्न चाहन्छु,
म जङ्गली बन्न चाहन्छु!

शालीन पहाडको टाकुरामा,
हिउँ पग्लेर बगेझैँ,
ओरालीमा बिछ्याइएको सल्लाको पातका गुन्द्रीमा
हुस्सुको च्यादर ओडेर
गुराँसको जरा समाति, बेलपत्रको झरीसंगै
चिप्लेटी खेली
सललल बग्न चाहन्छु।
रातमा ताराहरु जिस्कँदै गलगल हाँसेको,
कहिलेकाहीँ,
पृथ्वीमा झर्न व्याकुल भई हाम्फालेको,
बादलसँग लुकामारी खेली
सन्ध्यामा,
सूर्यदेवको रथको गड्गडाहट्सँग तर्सितर्सि
कोलाहलमा आकाशमा लुक्न गई
साँझको प्रतीक्षा गरेको,
यो दिनहुँको ताराहरुको उपद्रव
म नियाँल्न चाहन्छु,
म ब्रह्माण्ड अँगाल्न चाहन्छु,
म जङ्गली बन्न चाहन्छु!

ए सभ्यताको परिभाषा बदल्नेहरू!
सुन! सुन!
कृत्रिमताको पाठशाला खोल्नेहरु,
तिमीहरु पनि सुन!
म टेलिभिजन होइन,
हावाको सुस्केरामा नाच्ने
पातपतिंगरका मुज्रा हेर्न चाहन्छु,
आणविक्ताको चमत्कारसँगै हरियालीको बलात्कार होइन,
हाहाकार होइन,
बागमतीको सत्कार, सृष्टिको जयजयकार! सुन्न चाहन्छु,
मानवको अमानावीयाताको कारण खोज्न चाहन्छु,
यदि सभ्यताको समाज यही हो भने
म जङ्गली नै बन्न चाहन्छु!

Yagyesh Dhwoj Karki – Aastha

यज्ञेशध्वज कार्की – आस्था

आस्था हृदयका कुनाकाप्चामा खोज, खोताल
मसीका मन्त्र, बोलीका प्रवचनमा होइन,
त्यहाँ सायद,
झुठा आश्वासनले बन्दी ईश्वर
मुक्तिकालागि तिम्रो प्रतिक्षा गरिरहेछन्।

Yagyesh Dhwoj Karki – Aama Timro Yaad Aayo

यज्ञेशध्वज कार्की – आमा तिम्रो याद आयो

आमा तिम्रो याद आयो,
तिम्रो मायाको सम्झना आयो,
धेरै टाढासम्म आयो
र यसरी आयो कि
तिम्रो ममताको आभासले मेरो मन भरी आयो
आखाँमा आँसुको झरी ल्यायो
यी बन्द नेत्रले पलभरको लागि तिम्रो दर्शन पायो
र यो शिशुले
तिम्रोलागि शब्दै मात्रको यो गीत गायो,
आमा तिम्रो साह्रै नै याद आयो।

Yagyesh Dhwoj Karki – Timi

यज्ञेशध्वज कार्की – तिमी

तिमी दिया हौ कि सोचेको थिएँ
अथाह अन्धकारमा सुन्दर बिन्दु,

तर महाग्नी रहेछौ
कोइला नि नबक्सने खरानी बनाइदिने!

तिम्रो आगमन जीवनको शिखर थियो,
यात्रा खोंच र खाल्डाहरु,
नाङ्गो Continue reading “Yagyesh Dhwoj Karki – Timi”

Yagyesh Dhwoj Karki – Yo Samaj

यज्ञेशध्वज कार्की – यो समाज

यो मानिसको किनबेच चल्ने समाजमा
मजबुरीमा, लाचारीमा, बलजफतीमा, जबर्जस्तीमा
कयौं बेगुनाह चेलीबेटी बेचिन्छन्,
जो लज्जा र अपमानले
दिनभरी लुक्छन्,
रातभरी दिनलाई कुर्छन्,
सबका सामु झुक्छन्,
आफ्नो नसीबलाई धिक्कारी सुकुँसुकुँ रुन्छन्,
उनलाई अतीतले पोल्छ
भाग्यले पिरोल्छ
भित्रभित्र भावनाहरुले दुख्छ,
अनि यो समाजले पनि
उनै उपर थुक्छ!
तर,
आफ्नो इच्छाले,
आफूखुशी आफैलाई
आफ्नो इमान र मर्यादासँगै बेच्नेहरु चाहिं
रोव, रवाफ र शानसंग
दिनभरी भुक्छन्,
रातभरी चैनसंग घुर्छन्,
आफ्नो घुसियापन सबका सामु पुर्छन्,
ओहदामा माथि माथि उठ्छन्,
उनलाई न कानुनले छेक्छ
न नैतिकताले रोक्छ,
केवल कपटले बोक्छ
अनि यो समाज पनि
उनैलाई निहुरी निहुरी सलाम ठोक्छ!

Yagyesh Dhwoj Karki – Kohi Aau

यज्ञेशध्वज कार्की – कोही आऊ

कोही आमा आऊ
यहाँ बुद्ध जन्माऊ,
कोही पिता आऊ
आफ्नो छोरा पि.एन.शाह बनाऊ,
कोही गुरु आऊ
कैयौंलाई अर्जुन शिक्षा दिलाऊ,
कोही भाइ आऊ
लक्ष्मणको प्रेम साथ ल्याऊ,
कोही छोरी Continue reading “Yagyesh Dhwoj Karki – Kohi Aau”

Yagyesh Dhwoj Karki – Ishwar Bhetiyema Awashya Sodhnechhu

यज्ञेशध्वज कार्की – ईश्वर भेटिएमा अवश्य सोध्नेछु

ईन्द्रको स्वर्णगद्दीमा सायद ईन्द्र आफै छन्
या ज्यूस छन् या जूपिटर?
मृत्यु पश्चातको यात्रामा,
वैतर्नि तर्नुपर्ने हो कि
सेन्ट पिटरसँग इन्टरभ्युमा जानु पर्ने हो?
स्वर्ग पुग्न के-के गर्नु पर्ने हो?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु।

भयाटिकन, मक्कामदिना, चारधाम
जेरुसुलम, लुम्बिनी, अमृतसर
मलाई कोही बताइदेऊ पृथ्वीमा ईश्वरको घर,
ईश्वर तिमी नै कहीं बोलाऊ
जहाँ म साक्षात तिम्रो दर्शन पाउँ,
अन्योलमा,
जाउँ पनि त म तीर्थ कहाँ जाउँ?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

जिससका बोलीमा बुद्ध

बुद्धका बोलीमा सरस्वती,
शिवका अलौकिक जटामा गंगासँग
नाइल र मिसिसिपी निर्झरी,
आखिर शरीर
दफ्नाएपनि जलाएपनि माटोमै मिल्छ,
आत्मा परमात्मामै,
तिम्रो परमात्मालाई जे नाम बोलाऊ!
सृष्टिको सुरुवात आदम थिए या मनु,
यो जीवनको सुरुवात त गर्भबाटै हुन्छ,
धर्मबाट त होइन,
नत्र धर्मैधर्मले हराबरा यस पृथ्वीमा
शान्ति को शोक किन मनाइन्छ?

पृथ्वीलाई धर्मकै रणभूमी किन बनाइन्छ?
जहाँ फादरका रोब, मौलानाका दाडी र पण्डितका धोति
प्रतिपक्षीका ध्वजा भएका छन्।

ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

मानिसले खोजे ईश्वरलाई,
ढुंगा र पत्थरमा,
सुन र चाँदीमा,
पृथ्वीमा बस्न बनाइदिएको डेरामा;
मन्दिरमा खोजे, मस्जिदमा खोजे,
चर्चमा खोजे, गिर्जाघरमा खोजे
मानिसले सायद खोज्न बिर्सेकी आफ्नो मनमा?
ईश्वर भेटिएमा अवश्य सोध्नेछु!

बाटो एक मार्गदर्शन अनेक!
इतिहास एक कहानी अनेक!
सृष्टि एक त सृष्टा कसरी अनेक?
विश्व एक त स्वर्ग कसरी अनेक?
सेन्ट होस् या ऋिषिमुनि
वेद-बाइबल लेख्ने हुन् या के के कुन्नि?
आस्था हृदयको कुनाकाप्चामा पाइन्छ
अक्षरका मन्त्र र बोलीको प्रवचनमा होइन,
त्यहि कुनामा सायद,
झूटा आश्वासनले बन्दी ईश्वर
मुक्तिको प्रतीक्षा गरिरहेछन्,

त्यसैले हे ईश्वर!

भेटभएमा म सोध्न चाहन्छु
धर्म धर्मात्मा ले बनाए कि परमात्माले?

Yagyesh Dhwoj Karki – Jaat Jaat Bhanne Lai

यज्ञेशध्वज कार्की – जात-जात भन्नेलाई

जात-जात भन्नेलाई
झूटो धर्मको मात लागेको छ,
जात-जात भन्नेलाई
अन्धविश्वासको बात लागेको छ,
जात-जात भन्नेलाई
अनेकताको घात लागेको छ,
किनभने जात-जात भन्नेलाई
समाजमा एकता वाहियात लागेको छ।