Upendra Shrestha – Hamro Laagi Yo Hinsa Ra Hatya Kina?

उपेन्द्र श्रेष्ठ – हाम्रो लागि यो हिंसा र हत्या किन ?
(मधुपर्क असार, २०६७)

हाम्रो लागि
कहाँ छ खोइ एउटा गाँस ?
कहाँ छ खोइ एउटा बास ?
कहाँ छ खोइ एकटुक्रा कपास ?
हाम्रो लागि
यहाँ खाँचो छ हामीलाई वासको
यहाँ खाँचो छ हामीलाई गाँसको
यहाँ खाँचो छ हामीलाइ कपासको
यहाँ खाँचो छ हामीलाई बाँच्ने स्वतन्त्रताको,
हाम्रो लागि
यो परम्पराको पुनरावृत्ति किन ?
यो ढुङ्गो सभ्यत्ता र संस्कृति किन ?
यो हिंसा र हत्या किन ?
हाम्रो लागि
यो आतङ्कवादको
कुनै अर्थ छैन,
हाम्रो लागि
यो हिंसा र हत्याको
कुनै मूल्य छैन,
हाम्रो लागि
यहाँ खाँचो छ हामीलाई बाँच्ने हक,
र बाँच्ने अधिकारको
यहाँ खाँचो छ हामीलाई बाँच्ने स्वतन्त्रताको
हाम्रो लागि
यो हिंसा र हत्या किन ?
हाम्रो लासिग
यो धार्मिक सम्प्रदाय किन ?
हाम्रो लागि
यहाँ खाँचो छ एउटा गाँस
एउटा बास
र एउटा स्वतन्त्रताको

Upendra Shrestha – Hamro Lagi Kina

उपेन्द्र श्रेष्ठ – हाम्रोलागि किन ?
(मधुपर्क २०६६ असोज)

अरूको निम्ति
मर्ने
र मार्ने
खोक्रो उद्देश्य बोकेको हाम्रो संस्कृति
हाम्रो परम्परा
र हाम्रो इतिहास
हाम्रोलागि किन ?
हाम्रोलागि
अर्थहीन छ यो हाम्रो अतितको गाथा
अर्थहीन छ यो हाम्रो लाखे परम्परा
र यो हाम्रो गथु संस्कृति
हाम्रोलागि
भोको बस्तीको लागि
यी खोक्रा नाराहरू किन ?
यी खोक्रा भाषणहरू किन ?
हाम्रोलागि
यो लुट र अपहरण किन ?
हाम्रोलागि
यो उग्र आतङ्कवाद र हिंसाहरू किन ?
खोइ हाम्रो गाँस ?
खोइ हाम्रो बास ?
खोइ हाम्रो गन्तव्य ?
अरूको निम्ति
मर्ने
र मार्ने
खोक्रो उद्देश्य बोकेको हाम्रो संस्कृति
हाम्रो परम्परा
हाम्रोलागि किन ?
हाम्रोलागि
अर्थहीन छ यो हाम्रो गथु संस्कृति
अर्थहीन छ यो हाम्रो लाखे नाच र तानाकिसी