Sitaram Acharya ‘Sagar’ – Naya Nepal Aaune Kahile Hola [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – नयाँ नेपाल आउने कहिले होला

आफ्नो सानो खरको झुप्रो छाउने कहिले होला
हाम्रो घरमा नयाँ नेपाल आउने कहिले होला

जनताको आय तोक्ने खान्छन् आधा लाख बढी
नेपालीले बाह्र हजार पाउने कहिले होला

ठाउँमा बस्ने आफैं गर्छ तस्करी र दुइ नम्बरी
सबैलाई समान कानुन दाउने कहिले होला

विकट गाउँ डाँडा पाखा नेपालीकै भूमि भए
भोको पेट भर्न त्यो मुख बाउने कहिले होला

कुर्सीमाथि खिचातानी सधैंभरी झै–झगडा
यो देशमा शान्तिको गीत गाउने कहिले होला

Sitaram Acharya ‘Sagar’ – Kina Dinchhyou Pida [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – किन दिन्छ्यौ पीडा

हुन्न भनी टार बरु किन दिन्छ्यौ पीडा
चट्टै चुँडी मार बरु किन दिन्छ्यौ पीडा

धेरै जित्यौ होला तिम्ले पिरतीका खेलहरू
मै लिनेछु हार बरु किन दिन्छ्यौ पीडा

दुख, पीडा सहुँला म रोएरै भए पनि
हर्षका आँसु झार बरु किन दिन्छ्यौ पीडा

रमाऊ तिमी आफ्नै खुशियाली रमझममा
‘सागर’ एक्लो पार बरु किन दिन्छ्यौ पीडा

Sitaram Acharya ‘Sagar’ – Dui Muktak [Nepali Muktak]

सिताराम आचार्य ‘सागर’ – दुइ मुक्तक


सबै मिली पाइला चाल्नुपर्छ देशका लागि
एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि
यही माटोमा सधै रमाउनु पर्छ हामी
उज्यालो दिने ज्योती बाल्नु पर्छ देशका लागि


परि पनि सर्माउछिन रे तिम्रो सामु पर्नलाई
चन्द्रमा नि झर्दै छिन रे तिम्रो चर्चा गर्नलाई
जब देखे मैले पनि संखे चौतारीमा
सागर पनि चाहन्छ रे तिमीमा नै मर्नलाई

Sitaram Acharya ‘Sagar’ – Basna Khojchha Prit Yahan [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – बस्न खोज्छ प्रित यहाँ

मन मुटुको धोका बाट पस्न खोज्छ प्रित यहाँ
ठाउँ छैन मनमा भन्दा बस्न खोज्छ प्रित यहाँ

एकान्तमा युगल जोडी हुनु छैन भन्दा भन्दै
एकोहोरो अंगालोमा कस्न खोज्छ प्रित यहाँ

नजरको हेराइले मनभित्रै देख्छ क्यार
अन्धो भई कोमल मन डस्न खोज्छ प्रित यहाँ

नआऊ भो उर्लिएको सागरभित्र तिमी पनि
भन्दा भन्दै आँखा चिम्ली फस्न खोज्छ प्रित यहाँ

Sitaram Acharya ‘Sagar’ – Bhanyou Ra Po Maya Basyo [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – मन भित्र लुकाउदै छु भन्यौ र पो माया बस्यो

मन भित्र लुकाउदै छु भन्यौ र पो माया बस्यो
चोखो मन फुकाउदै छु भन्यौ र पो माया बस्यो

जसो छौ ठिकै छौ त्येही भनाइमा अल्झिएछु
खाली शिर झुकाउदै छु भन्यौ र पो माया बस्यो

बगैचाको सुन्दर फूल मन पराउनु भुल मेरो
फूलै टिपी चुकाउदै छु भन्यौ र पो माया बस्यो

भिजेका ती परेलीलाई माया रुपी न्यानो दिन
सागर छेउ सुकाउदै छु भन्यौ र पो माया बस्यो

Sitaram Acharya ‘Sagar’ – Desh Ka Lagi [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – देशका लागि

सबै मिली पाइला चाल्नुपर्छ देशका लागि
एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि

यही माटोमा सधैं रमाउनुपर्छ हामी
विगतका पीडा गाल्नुपर्छ देशका लागि

आफ्नो मात्र भुँडी भर्नुपर्छ भन्न छोडी
लोभ लभलच जम्मै फाल्नुपर्छ देशका लागि

बिकट गाउँ सबै सुगम बनाउन त
एउटा नयाँ ज्योति बाल्नुपर्छ देशका लागि

मुली हुन घरका राजनीति गर्नेहरु
लालाबाला सम्झी पाल्नुपर्छ देशका लागि

छियाछिया भई च्यातिएको छ भूमि हाम्रो
एकजुट भएर नै टाल्नुपर्छ देशका लागि