सन्तोष थपलिया – म र तिमी
ख्याल ख्यालैमा बिझाएं भने तिमीलाई
‘दुखायौ तिमीले’ भने भैहाल्थ्यो नि
मायाले सेकिदिन्थें, कहिले थाकें नभनी
एकैबारको जुनी हो माया लिने र दिने
बसेर त हेर आफ्नै ठानी
आँखा भित्रै राखी दिन्छु बिझायो नभनी !!!
मन त मेरो पनि ढुंगा हैन, माटो हैन
भेलले लछार्दै पछार्दै ल्याएको मुढा हैन
तिम्रो एक मुस्कान, हाँसोमा रम्छ मन
तिम्रो एक एक पिडामा अतालिन्छ मन
दुइ दिन त बाँकी छ जीवन यात्राको
दुइ शब्द यी फूल तिमीलाई मेरो अन्तरात्माको !!!
हाँस्ने अभिलाषामा कैले घाम, कैले पानी
बाँच्ने जिजिविषामा कैले विष, कैले ओखती
एउटा मुटुमा कैले चोट, कैले माया
यथार्थमै मेरो यात्रा अस्ताउनै लागेको छ
गोधुली नपर्दै थाप न माया एक मुठी
वदलामा मेरो मुटु पनि छामी हेर न एक चोटी !!!