पदम भण्डारी – भानुभक्तलाई पनातिको चिठ्ठी
जिज्यू हजुर बा !
तपाईं सञ्चै हुनुहुन्छ?
हामीलाई त यहाँ कसैलाई संचो छैन
स-परिवार बिरामी छौं
यहाँ रोग निको होला भन्दा थपिंदो छ
त्यसैले जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
जिज्यू हजुर बा !
गाउँमा घाँसीले खनेको घाँसीकुवा पनि पुरिईसक्यो
तपाईँको नाममा खुलेको विद्यालयपनि खुल्न छोड्यो
गाउँलेहरू मिलेर बनाएका ठाँटीहरूपनि भत्किईसके
अब त गाउँ पनि गाउँ जस्तो छैन
त्यसैले जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
जिज्यू हजुर बा
चुँदी गाउँकि सीता मलेसिया गई भन्थे कता हराई कता?
जुत्ता सिलाउने गरेको सुके सार्की पनि गाउँमा छैन
बिसे नगर्चिका पनातिहरू दलितका नाममा हेपिएका छन्
भिमे कुमालकि १८ वर्षे छोरी हीरा हराएको एक वर्ष भैसक्यो
ठूला घरे कान्छाकि गर्भिणि श्रीमति बलात्कृत भई
गाउँमा एकले अर्कालाई सहयोग त परै जाओस
विश्वास गर्ने वातावरणपनि छैन
त्यसैले जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
जिज्यू हजुर बा
बेरोजगारीले गर्दा गाउँका यूवाहरू
कोहि जंगल पसे, कोहि कालापानी पसे
देशभरी रडाको मच्चियो
गाउँभरी विधवामात्र हुन थाले
आईमाईहरूका जीउमा राति पहिरन देखिन छाडेपछि
धर्म, कुसंस्कार र कुरीति मान्नुहुन्न भनेर एकथरी आए
रातो पहिरन लगाउने अभियान गाउँभरी चलायौं
अर्काथरी आएर धर्म नमान्ने माओबादी हुन भन्दै
गाउँलेहरूलाई भकुर्न सम्म भकुरे जिज्यू हजुर बा
हामीहरू यहाँ बस्नै नसक्ने भयौं, त्यसैले
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
गाउँको गौचरन थियो नी जिज्यू हजुर बा
सुकुम्बासीका नाममा ठूलाबडाले नै ओगटे
माथि डाँडाको जंगल त परेड खेल्ने थलो भएको छ
गाउँमा पिउने पानी पनि छैन
फूर्के सल्लाको पानी गाउँमा ल्याउन
ट्याङ्की त बनेको हो, धाराहरूपनि बनेका हुन्
अहिले त्यहाँ कमिलाको गुँड छ, माकुराको जालो छ
जिज्यू हजुर बा
पानी भर्न जाँदा तपाँईकि पनातिनी बुहारीको टाउकोमा
एउटीले ढुङ्गाले हानेर टाउकै फुटाइछ
आजकल त उ डेढ घण्टा गाग्री बोकेर खोला झर्छे
पानीपनि खान नपाईने यो ठाउँमा के बस्ने?
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
रम्घा खोलाको पानीबाट बिजुली निकाल्ने कुरा भयो
योजनामा श्रमदान गर्नुपर्छ भनेर
घरैपिच्छे १०।१० दिन श्रमदान गर्यौं
पछि ठेकेदारले बील बनाएर खायो रे
भ्रष्टाचारीको योजना भनेर खोई कसले हो
बमले उडाइ दिएछन्
सबै गाउँलेहरूको मेहनत खेर गएको छ
हाम्रो चित्त दु:खेको छ
जिज्यू हजुर बा
यहाँको स्थति हेर्दा एकछिनपनि बस्न मन छैन, त्यसैले
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
बिकास त यहाँ ठप्पै छन् जिज्यू हजुर बा
सरकारले यो वर्ष ४२ अर्ब बजेट छुट्याएको
१० अर्ब मात्रै बिकासमा खर्च भएछ
बाँकि सबै सुरक्षा र साधारण खर्चमा गयो रे
यो बिकासै नहुने ठाउँमा बसेर काम छैन
त्यसैले, जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
मंत्रीको भत्ता बढाउन यहाँ कसैले रोकेको छैन
सरकारी ढुकुटीबाट निजी घर मर्मत गर्न कसैले रोकेको छैन
लडाईं गर्ने हतियार किन्न पनि यहाँ कसैले रोकेको छैन
भाई भाई लडाईं गर्न पनि यहाँ कसैले रोकेको छैन
अनि बिकास गर्न कसले रोक्यो बुझिएको छैन
मर्ने र मार्ने बाहेक केहि नहुने ठाउँमा के बस्ने?
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
जिज्यू हजुर बा
अहिले त यहाँ सारा बहुदलबादी भ्रष्टाचारी छन्
सारा पत्रकार भतुवा छन्
अत्याचारको बिरोध गर्नेहरू आतंककारी छन्
आतंककारीहरूसंग घाँटी जोड्ने मतियारहरू छन्
बैंकपनि उद्योगपतिहरूलाई कारवाहि गर्छ, मंत्रीलाई सक्दैन
पापीहरूले मेलम्चिलाईपनि तुहाई दिए
भ्रष्टाचार भयो भनेर बिदेशीलेपनि रकम दिन्न भन्छन रे
मुलुकमा संकट माथि संकट थपिंदै छ
बिकासमा सहयोग गर्ने दातृ राष्टहरूपनि
प्रजातन्त्र प्रजातन्त्र भन्दैछन्
बिदेशीहरूपनि साह्रै हावि भए जिज्यू हजुर बा
के गर्ने, के गर्ने साह्रै छटपटि भैरहे छ
म मात्रै आएर के गर्नु, स-परिवारै आउने बीचारमा छौं
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
अहिले त सबैभन्दा मोज त कर्मचारीहरूलाई छ
गाउँमा जानसक्ने अवस्था छैन भन्यो
मज्जाले जिल्ला सदरमुकाममै बस्यो, तलव खायो
गाउँका योजनाहरू सदरमुकाममै बन्छन्
सदरमुकाममै कार्यान्वयन हुन्छन्, त्यहिं सम्पन्न हुन्छन्
शत प्रतिशत प्रगति हुन्छ जिज्यू हजुर बा
खाने र खुवाउनेहरूमात्र यहाँ बस्न सक्छन्, हामी सक्दैनौं
त्यसैले, जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
यहाँका थुप्रै बुद्विजिविहरू बिदेश पलायन भैसके
म पनि पलायन हुँ की जस्तोपनि लागेको थियो
एकजना मंत्रालयका सचिवले आत्महत्या गरे
म पनि आत्महत्या गरूँ की जस्तोपनि लागेको थियो
परिवारको मायाले त्यसो गर्न सकिन
यो रित्तो खण्डहर भूमीमा बस्न नसकिने भयो
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
यहाँ केहि छैन जिज्यू हजुर बा
यहाँ शान्ति सुरक्षा छैन
मानव अधिकार छैन, प्रजातन्त्र छैन
राजनैतिक प्रतिवद्वता छैन
उत्तरदायि शासनप्रणाली छैन
भएका प्रणालीहरूपनि एकपछि अर्को ध्वस्त हुदैछन्
बाँकि त अब संकटमात्रै छ, जिज्यू हजुर बा
त्यसैले, हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
भन्नुहोला, नआत्तिनु, समाधान होला नी भनेर
तर समाधानको कुनै लक्षण छैन
सरकार सदरमुकाममा छ
माओबादी गाउँमा छ
हामी बीच चेपुवामा छौं
कसले धेरै मान्छे मार्ने होड चलेको छ
दुबैको संवेदनशिलता हराएको छ
कसरी समाधान होला र?
समाधान हुँदैन, जिज्यू हजुर बा
त्यसैले, हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
लामो गन्थन गरें जिज्यू हजुर बा
पढ्दा पढ्दै दिक्क लाग्यो होला होला, माँफ पाउँ
हामी स-परिवार त्यतै आउँछौं
बाँकि भेटमा विस्तार गरौंला
अहिलेलाई बिदा, जिज्यू हजुर बा
अहिलेलाई बिदा
तपाईंको पनाति
२०६२।३।२७
सिमकोट, हुम्ला
(१९२ औं भानु जयन्तिको अवसरमा कर्मचारी मिलन केन्द्र, हुम्लाद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल भएको कविता)