Nawaraj Subba – Jeevan Mero Sabdakosh Ma

जीवन मेरो शब्दकोशमा
गीत, कविता, ओठ, पानामा
पोखिएर कहिल्यै नसिद्घिने
मानवता, भाईचारा, समानता हुन्
फूल, पात, जून, तारामा
अभिब्यक्त हुनै नसकेका
मानवीय दृष्टि, स्पर्श, स्वाद, गंध हुन्
जो अन्तर्हृदयका अनुभूति हुन
र जीवनमा अनुवाद हुन चाहन्छन्
आज जीवन
शब्द, अर्थ र आयाम विस्तार गर्दै
धड्कन्मा प्रतिध्वनित हुन खोज्दछ
मेरो जीवन
मेरो शब्दकोशमा ।
जीवन कवि बन्छ कहिले गायक
छिया छिया भएर पनि जीवन
बाँसुरीझैं बज्दछ नायक
ब्याकरणले बाँधिने शब्दावली
मात्र नठान यो जीवन
अशुद्घै सही मलाई मनपर्ने
शब्दकोश हो मेरो जीवन
जीवन मेरो शब्दकोशमा ।
हातमुख जोर्ने कला सिक्दासिक्दै
कतै बिर्सन लागिएको अर्थ हो जीवन
एक सर्को पिङ दोहोरी नमच्चाँउदै
उमेर ढल्केको पछुतो पनि जीवन
दुखे पनि सबै सामु नसुम्सुम्याई
निकोपार्नु पर्ने घाउ पनि जीवन
लगाउन नमिल्ने फाल्न नसकिएको
चिनो उही पुरानो कोट
मेरो जीवन
जीवन मेरो शब्दकोशमा ।
जीवन जिउने नाममा
कतै जुध्नु, जित्नु, हार्नु जीवन
रुनु, हाँस्नु, हाँस्नु, रुनु जीवन
हार्नुको दोष अरु नै कोही जुम्राहरू
आफ्नै भैंसीले आफू सिध्दिएको नदेख्नु
आफू सधैं दिग्भ्रमित, दोधार, दोमन,
न यता न उता पनि त जीवन
यसैले आज म
आफ्नै शब्दकोशमा जीवनको अर्थ
थपिरहेछु, मेटिरहेछु भेटिरहेछु र लेखिरहेछु,
शब्द, भाव, स्वाद, सुवास, धड्कन
सबै आकांक्षा अट्ने शब्दावली
हुनुपर्छ यो जीवन
यही मलाई मन पर्ने
शब्दार्थ मेरो जीवन
जीवन मेरो शब्दकोशमा ।

Nawaraj Subba – Atmahatya Garna Aghi

दुनियाँ !
पराजित नठान मलाई
पोष्टमोर्टम् गर र हेर
आफू जीवनबोध गर
नठान साथ दिने हात घटे
आफू गन्तव्यबोध गर
आखिर जिउने सवालमा मान्छे
अभिनयसिवाय बाँचेको को छ र !
प्रेयसी !
बिछोड र पीडाको प्रतिरूप रहेछौ
नसम्झ सपना मेरा
सन्तान म टुहुरो पार्दैछु
ममता सारा लत्याउदैछु
र तिमीसँग विदा माग्दैछु
आखिर आजकल मायाको फूल पनि
कवितामा बाहेक फुलेको कहाँ छ र !
आमा !
वेदना र प्रसवकी प्रतिमूर्ति,
म सन्तान तिम्रो
निरन्तर मृत्युन्मुख र
आज आत्महत्या निकट छु
उसबेला ‘सीता’ लाई मुक्ति दिने
धरती आज मेरो सामु फाट्छ
आफ्नै माया नलागे पनि आमा
मलाई तिम्रो माया लाग्छ ।

Nawaraj Subba – Mayalu Lai Kaukuti


को भन्छ
गुराँस वनमा मात्र फुल्छ
ढाँटेको हैन मैले
आजकल मनको मझेरीमा
भमरा डाली डाली डुल्छ ।


फूलहरूको बहार देख्दा
चरीझैं मलाई बोलुँबोलुँ लाग्छ
चुल्ठोमा त्यस्तरी फूल नसिउरे
मनभित्र थुनेको कोईली
सत्य आज खोलुँखोलुँ लाग्छ ।

Nawaraj Subba – Raute Ko Man

नवराज सुब्बा – राउटेको मन

समयसित चिप्लदै गुड्ने
तिम्रा गाडी
भो मलाई चाहिएन
गति पन्छाउँदै
हावामा उड्ने
तिम्रा जहाज पनि
मलाई चाहिएन ।

मलाई
कम्प्यूटरमा च्याटिङ गर्दै
भासिनु छैन मुगलानमा
मलाई त मेरो माटो
मेरो जंगल मेरो बाँदर
अनि यी तरुलभ्यागुर नै
मीठो छ ।

नच्याऊ मेरो नाङ्गोपन
मैले छोप्नु छैन लाज
ती तिम्रा रङ्गीन कपडाले
नचिथोर मलाई
अनि मेरो संसारलाई
भो नपढाऊ
तिम्रा भाषा
मलाई यत्तिकै छाडिदेऊ
किन कि
मलाई तिमी वा अरू कोही
बन्नुपरेको छैन
मलाई म नै रहन देऊ
मलाई म मै रम्न देऊ
बिन्ति मलाई नमास तिम्रा प्रेमले
बरु थप अरू तिम्रो तिरस्कार
मेरो जंगल मलाई नै छाडिदेऊ
मलाई जंगलमै रम्न देऊ
तिमीले देखेका मेरा दुःखमैं
विन्ति मलाई छाडिदेऊ
जसरी म यतिन्जेल बाँचे
मलाई त्यसरी नै हाँस्न देऊ ।

Nawaraj Subba – Niyati

हेर्दा हेर्दै त्यो फूल आज
यसरी ओइली झरेको देख्दा चाल पाएँ
मैले जीवनसँगै मृत्यु पनि ल्याएको रैछु,
हामीले पूज्ने त्यो द्यौराली आज
यसरी पहिरिएको देख्दा थाहा पाएँ
मैले मिलनसँगै विछोड पनि पाएको रैछु ।

Nawaraj Subba – Najaau Bhamara Bhai

माया पनि
बिरानो लाग्छ ।
यी बाटा र हिलाम्मे पाइलाहरू
छरपस्ट हराएका आफन्तहरू
तापनि
जीवन यहाँ
अझै बॉकी छ जस्तो लाग्छ,
आऊ साथी
भमरा भई नजाऊ !
यो माटोमा अझै
कमलको पातझैं सफा
अनि फूल झैं स्वच्छ
जीवनको Continue reading “Nawaraj Subba – Najaau Bhamara Bhai”

Nawaraj Subba – Beni Ko Bazaar Jata Heryo Udas Nazar

चैतको उराठ दिन
ऑधी चलिरहेछ
ढोका थुनेको छु
झ्याल, भेन्टिलेसनबाट
हावा धुलो आइरहेछ ,
ऑखा ठोक्किन्छन्
छतका चिराहरू नियालिरहेछु
तै कोठाभित्र सुरक्षित हुन खोज्छु ।
झुम्रोले रेडियोको धुलो पुच्छु
रेडियो भने घन्कंदैछ
“बेनीको बजार, जता माया, उतैछ नजर”…
माया गुरुङ्गको गीत बज्छ
तर, आज यो गीतमा मोहनी छैन
मायाप्रितीका बाबरी बास्ना छैन
कठै के भए होलान्
यो गीत गाउने र नाच्ने
माया गुरुङ्ग र उनका साथीहरू
रेडियो घरीघरी समाचार दिन्छ
पॉचसय जना मरे मारिए
आज गीतको लय नै बेग्लै लाग्छ
मायैंमाया फूल्ने
मायाको त्यो बेनी बजारमा
आज हिंसा फक्रिएछ ।
यता म भनें आज,
आफ्नो घरको भुई,छत, भित्तामा
चर्किएको चिराहरूमा चिरिन्छु
सिमलको भुवा मलाई नै पछ्याउँछ
पोईला जान पनि खै मनै छैन
भैगो लौ मोहनी फुकाई देऊ ‘माया’ !
यस पालिको चैत उदास उराठ छ ।

Nawaraj Subba – Bhir Ra Goreta Haru

उ त्यो भीर
उहिल्यैदेखि डरलाग्दो थियो
हरेक यात्रुलाई तर्साउने
किच्लाझैं अड्किएको
ठूलो ढुङ्गा छेवैमा थियो
दिनहुँ हिड्नै पर्ने
चुनौतीको फेदैमा
एउटा गोरेटो थियो,
ए ! झन्डै भुलेंछु
डराई डराई
हिड्ने म थिएँ ।
धेरै बग्यो पानी तम्मर खोलामा
पहिरा धेरै गए भीर छातीहरूमा
नातिनातिना काखमा च्यापेर
म कथा सुनाउ‘ंदै छु
मृत्यु प्रतिध्वनित हुने
त्यो भीर र ढँङ्गु ा
जहाँको त्यहीं छ
जस्ताको त्यस्तै छ
गोरेटो उही छ
केवल हिजो कोही थियो
आज मसँग तिमीहरू छौ
भोलि तिमीहरूसँग
अरु कोही हुनेछन्
नदीमा पानी उही बगेझैं
शरीरमा रगत उही रातै हुनेछन्
मनमा मृत्युको भय कालै हुनेछन्
फरक केवल पात्र र पाइलाहरू
सायद,
उही हुनेछन् भीर र गोरेटाहरू ।

Nawaraj Subba – Salik Bina Ko Sadak

सालिक विनाको सडक
कस्तो हुन्छ होला भन्थे सबै
आज त्यहीँ सालिक ढलेको छ
सबैलाई देब्रे पार्ने सालिक
आज गिरेको छ
बीच बाटोमा दिउँसै यात्री तर्साउने
सालिक आफै तर्सेर भागेको छ ।

आज मान्छे िहंड्न
सडक सानो भएको बेला
सडक ढाकेर बस्ने अिन
यात्रुसँग घरिघरि निहुँ खोज्नेलाई
मालिक बन्न खोज्नेलाई
ठेगान लाएका छन् यात्रीले
हिड्ने बाटो फराकिलो भएको छ
सालिक विनाको सडक ।

सबै बटुवा
लठुवा सधैं
कहाँ हुन्छन् र !

Nawaraj Subba – Ma Laatokosero

नवराज सुब्बा- म लाटोकोसेरो

आजकल म ऐनामा
आफुलाई ठ्याक्कै
लाटोकोसेरो देख्छु

हुन त
मैले भन्दा राम्रो सपना
खै कसले देखेको होला र !
मेरो भन्दा मीठो कल्पना
कसले गरेको होला र !
स्वर्गकी परीसित म Continue reading “Nawaraj Subba – Ma Laatokosero”

Nawaraj Subba – Khoji Rahechhu Jindagi

अलिकति विश्वासमा अल्झिएर
बाँच्न खोज्छु एउटा जिन्दगी
लक्ष्मणरेखा कोरेर सीमाभित्र
सुरक्षित साँच्न खोज्छु जिन्दगी
दन्त्यकथाको तराजुमा
बराबरी हुन नसकेका
बिरालाका रोटीझैं
कहिले जिन्दगी भारी हुन्छ
कहिले विश्वास,
अल्झिएपछि कतै
न खस्न पाइन्छ
न बसिरहन पाइन्छ
न जित्न सकिन्छ
न हार्न
आज
दुनियालाई साक्षी राख्दै
खोजिरहेछु जिन्दगीलाई
सपनीलाई साक्षी राख्दै
खोजीरहछु बिपनीलाई ।

Nawaraj Subba – Bhir Ko Chindo

नवराज सुब्बा – भीरको चिण्डो

तेञ्जिङ शेर्पा खोज्दै
चुचुरो चढ्दा
यस्तो लाग्यो
यो त
भीर पो रहेछ
एउटा नमीठो पीर
जहाँ म जन्मे, बढें
र कहिले अलि माथि पुगें, हाँसे
घरिघरि लडें अनि रोएँ
तैपनि आजसम्म
भीरदेखि डराएर म कतै भागिन
माया मारेर अन्यत्र पनि लागिन
निरन्तर चढें, बढें, र
अन्ततः फलें
एउटा भीरमा
चिण्डो भएर
र अड्किएँ पीरमा

कसलाई थाहा होला ?
मेरो अवतरण या मेरो मृत्यु
अनि यो भीर या पीरमा
के फरक छ ?
अनि हाम्रो
गन्तव्य र चिण्डो
किन उस्तै उस्तै देखिन्छ ?

Nawaraj Subba – Satyam Shivam Sundaram

नवराज सुब्बा – सत्यम् शिवम् शुन्दरम्!

हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल
कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरुको बीचमा
लुकेर Continue reading “Nawaraj Subba – Satyam Shivam Sundaram”

Nawaraj Subba – Chakka Pardai Chhu

नवराज सुब्बा – छक्क पर्दैछु

हालखबर !
खै के भन्नु
म त आजकल
छक्क पर्दैछु
यता सुकुम्बासी
गोली खान्छन्
र सहिद हुन्छन्
उता विदेशी आउँछन्
र नागरिकता लिन्छन्
सपनाको खेती गर्न सधैं
साढेजुधाई मात्र हने देश
अधिकारकै नाममा सधै वन्द हुन्छ यो देश
मन र बाटाहरू परदेशिए बिरक्तिएर
कतै हिडि सक्नु छैन
तीर्खा लाग्दा पिउने पानी छैन
टाउको दुख्दा सिटामोल पाइँदैन
दुखिरहने मनको पोको छ एउटा
त्यो पनि फुकाउने ठाउँ कतै छैन
न छोरा, न बुहारी, न नाति नातिना
आफ्ना सन्तान सवै परदेशी
म स्वदेशी आज विदेशी जस्तो
आफ्नै देशमा एक्लो भएको छु
हिड्दैछु पाउन शान्ति
सुख खोज्न भौंतारिदैछु
आज दोबाटोमा अचानक
घेरे शहीदहरूले मलाई
अनि रोए, कराए, झसङ्ग बनाए
गन्तव्य भुलि बरालिएको भेटेर
मलाई गिज्याउनसम्म गिज्याए
धत्तेरी ! लक्ष्य पुग्न हिडेको म बटुवा
पत्तै नपाई लठुवा पो भएछु
आफ्नै गतिमति यस्तो देखेर
म तीनछक्क पर्दैछु ।

Nawaraj Subba – Jeevan Bodh

फेर्दैछु
तारा सारा दिन गनेर भएनि
जिएकै छु मृत्युलाई छलेर
ढुक्क बाँचेकै छु ।
मलामी हिँडेको छु
कैयौ अन्तिम अञ्जुली
फूल र माटो चढाएको छु
मुङलान जानेलाई
विदाईका हात
कैयौं पटक हल्लाएकै छु ।
दुखसुखका Continue reading “Nawaraj Subba – Jeevan Bodh”

Nawaraj Subba – Ashwasan

धोका पाएको विश्वासले
अब ईश्वर कहीँ देख्दैन
तर पाप र अपराध होला भनेर
मसँग नडराऊ साथी
चोटले छाती छियाछिया भए पनि
छाती भित्रको यो धड्कन्
यहीँ रुक्दैन ।

Nawaraj Subba – Pratibaddhata

कुहिरोमा काग अल्मलिए पनि
अन्तमा गन्तब्य भेट्टाई छाड्छ
अँध्यारा सबै रात होइनन् नसुत्नु
मनको कम्पास छामेर
सधैं पूर्वामुख भई विश्वास गर्नु
बिहान सूर्य झुल्की छाड्छ ।

Nawaraj Subba – Ujyalo Ko Kheti

आजकल गाइँगुइँ सुनिन्छ
धकेल्न खोजिदैछ फेरि अन्धकारमा
खबरदार !
वत्तीमुनिको अँध्यारोमा बस्न
विलकुलै मञ्जूर छैन हामीलाई
नगर बन्द नदीको सङ्गीत
काकाकुल तीर्खा बोक्न
अब मञ्जुर छैन कसैलाई

भन, किन उँचाइ हाम्रो बढेन ?
जबकि सगरमाथाकै शीरमा
शान्तिको पहिलो किरण झर्छ
वुद्धभूमिमा जन्मेर पनि हामी
किन युद्धभूमिमा छट्पटाइरहेछौं ?
कसलाई देखाऔं ?
अप्ठेरो ठाउँमा आएको यो पिलोलाई
आफ्नै घरमा हामी घुन भइयो र पिस्नसम्म पिसियौं
साँढे बीचको बाछा पनि भइयो र मिच्नसम्म मिचियौं
आज घरघरमा शहिदका सुनौंला तस्वीरहरू
टाँगेर घर उज्यालो त बनाइयो
तर घरभित्र बस्ने सन्तानका
मुहार किन अझै अँधेरै छन् ?

उज्यालोको खोजीमा
हामीले खोज्दै नखोजेका अथवा सोच्दै नसोचेका
अनगिन्ति दागहरू पनि लगाइएछ अनुहारमा
‘अँध्यारो रोपेर फल्दैन उज्यालो’ कसरी बुझाउँ
के आफैभित्र पहिले शान्तिको दियो सल्काउन सकिदैन त !
सकिन्छ, किन सकिदैन, अवश्य सकिन्छ
अनेकताबीच एकताको सुन्दर कमल फुलाउन सकिन्छ
खोजौं दिव्यपुञ्ज आफैभित्र
आज, अहिले नै
उज्यालोको खेती सुरु गरौं
अँध्यारो विरुद्ध उज्यालोको खेती गरौं !

Nawaraj Subba – Dodhar Raat

कुनै रातको त
तिखो काँडा हुँदोरहेछ
छातीभित्र हृदय पोल्ने
तातो राँको पनि हुँदोरहेछ,
यो कस्तो घडी आयो
चिच्याउँ कसैको सपना टुक्रिन सक्छ
चुपचाप सहुँ यसरी त अब
आफ्नै हृदय टुक्रिन सक्छ ।

Nawaraj Subba – Hami Kata Gairahechhaun

विकास क्रमसँगै मानिस
बाँदर चरित्र मुक्त हुन सके
हामी जंगली मुक्त हुने थियौं
साँच्ची मानव हुनेथ्यौं
सम्मतिका अनेक विन्दु मेटाएर मान्छे
विभाजनका अनेक बहाना खोजिरहन्छ
स्वयं विभाजित हुन्छ अनि छट्पटाइरहन्छ
हेर, न्यानो रगत संचार हुने मुटु ढुकढुकीमा
आज सुनिदैनन् भाइचारा, मानवताका लयहरू
गुन्जिदैनन् किन समुन्नति, ईमानका तालहरू
आज विश्वास गर्दैन मान्छे मान्छेलाई
किन अझै मानवीय मूल्य
अवमूल्यन गर्न खोज्छ मान्छे
घरैघरको जंगल बनाएर मान्छे
बाँदरमा पुनरावृत्ति हुन खोज्छ
विकास क्रमसँगै मानिस
बाँदर चरित्र मुक्त हुन सके
हामी जंगली मुक्त हुने थियौं
साँच्ची मानव हुनेथ्यौं ।