Deep Raj Neyong-Hang – Aankha Ra Chitra Haru

दीपराज नेयोङ्हाङ – आँखा र चित्रहरु

मेरा सुन्दर चित्रहरु
किनिदिनेहरु कोही भएनन्
अध्याँरो कुनामा थन्काउँदा थन्काउँदा
श्याम–श्वेत बनेका छन
रङ्गहरुले चित्र पोतेका छैनन
बस्तीहरुमा मानिसहरु छैनन
लस्तिएको म
भुगोलबाट माथी माथी हेर्छु
चन्द्रमा टल्कन्छ
चन्द्रमाबाट माथी माथी हेर्छु
भूगोल टल्कन्छ
अन्तरिक्ष दोसाँधमा
माथीको बोधमा वास्तवित्ता खोज्दै
बिना गुरुत्वाकर्षण म उड्दैछु
यता उता…उता यता…

लिटिलब्याई र फ्याटमेन
बिटुलिन खोजिरहेको बेला
आईन्स्टाईन फेरि एक सम्झना
तर स्याउ माथीबाट किन खस्छ
अहँ
न्युटनहरु हेर्दैनन् अचेल
हो त्यसैले त अब
स्याउहरु माथी माथी जान्छन
लिटिलब्याई र फ्याटमेनहरु तल तल झर्छन्
आदिम युगको आदिम पाईलाहरु
पाईलिदै पाईलिदै गरेका डोबहरुमा
हाम्रा हरिया हरिया खर्कहरुमा
हाम्राबिजहरु उडाउँन माथी माथी र
झार्न बरमुडा ट्रयाङ्गलमा

आज कोलोजिएमको एक तमासामा
आफ्नै अनुहार रगतपच्छे छ
आनन्दित मनाउँनेहरुको हुटिङ्गमा
अर्को आवाज बिलाएको छ
म बुलन्द गर्न
फिरउन आईपुग्न अघिनै लाल समुन्द्र तर्ने छु
चट्टानका फोहोराहरुबाट झरेको
जिवनको पानी पिएर
बाँच्ने र बचाउँने छु-फेदाङ्गमाहरुलाई
किन की फलाक्नु छ फेरि
बाँच्नु छ फेरि बिरामीहरु
हाम्रा बस्तीहरुमा
उस्तै, पहिलाजस्तै
उर्वर र फराकिला पाखाहरुमा
वर–पिपल चौतारीमा
बिसाउँन थकित काँधहरु

कागले सत्य टिप्न अघिनै
कोईलीको चुच्चोभरी
सत्यका झिल्लीहरु बगिरहेका हुन्छन
खोक्रो करङ्गमा थोत्रो कोट ओडाएर
बुख्याँचा ढाटिएको छ पलपल
बुख्याँचा देखाएर पंक्षीहरु ढाटिएका छन् उस्तै गरी
बाचाका मुर्त चित्र एकलब्य औंलाहरु अब
सनसनी बोल्न थालेका छन
यहाँ नदीका दोभानहरुमा
राता राता ज्वलाहरु उत्पन्न हुन्छन
हाम्रा राता राता बस्तीका छाँयाहरुले
आकाश रातो भएको छ
त्यसैले
पानी रातो बर्षिएको छ
आफ्नै आँगनमा
त्यसैले
झण्डाहरु राता राता छन्
किल्ला किल्लामा
त्यसैले
मान्छेका आँखाहरु राता राता छन
जस्ले
मेरा आँखाहरु तिर्मीराएका छन
हो त्यसैले अब
म सभागृहका प्रयोगशालामा
अनगिन्ती जारहरुमा
रासायनीक समिकरणको प्रयोगमा
अम्ल र क्षारको समिस्रणमा
रक्तकोष बिहीन मानवको
सृजना खोजिरहेको छु

पथरी – कोशी, मोरङ

Deep Raj Neyong-Hang – Poorba Astaundai Gareko Ghaam

दीप राज नेयोंगहांग – पुर्व अस्ताउदै गरेको घाम

साँगुरी भञ्याङ्गपारि क्षितिजबाट
उदयमान् घाम
चिसो आङ्ग सेकाउदै निस्कन्छ
घुँगी सिपीको हराउँदो बास
छेपारोको कथासँगै
राउटे र कमैयाका गाँउहरुमा
गल्लीहरु Continue reading “Deep Raj Neyong-Hang – Poorba Astaundai Gareko Ghaam”

Deep Raj Neyong-Hang – Benaami Mastak Ma Umriyeka Bij Haru

दीपराज नेयोंगहांग – बेनामि मस्तकमा उम्रिएका बिजहरु

जादुगरी सतरन्जमा
जफतिएका बेनामी मस्तकहरु
इतिहासका कलमहरुले नलेखिंदा अक्षरहरुमा
नेपथ्य बोल्छ-
प्रतिध्वनिमय चा/ताल खेल्दै
बिरोधाभास भित्ताहरु प्रती
अजस्र उभ्याउँदै घनहरु
बन्द कोठामा रिंगिनुको उपजमा
पड्कीन्छन बाँधहरु र बग्छन
धमिलो बनेर…

इतिवृती सुन्दै जाँदा
बाँसझ्याङहरु घाट तिर हिँड्दा हिँड्दा
सिद्धिएका छन
नयाँ तामाहरुका आस्वादानमा
र्‍यालिएका जिब्राहरु
मुखमा थमाउनु भन्दा
भोको पेट भित्रका झोमोलोङमाहरु
अट्टल र जिवन्त छन दोसाँधमा
त्यसैले
पागलपन भित्रको अपागल परेवी पखेरुहरु
निस्चिन्तन खेल्छन आकाशमा
तर बन्दैनन बाजरुपी-
परेवी प्रतिक बेचेर
गोसखान हिंड्दैगरेका हटारुहरुसँग

श्मशान बासहरुमा उम्रिएका
बेचैनहरु बोकेर
बाँच्नुमा रफतरत काँसघारिहरु
आदम र अदनमा श्रापित सर्पस्थल हुनुबाट
निबृति खोज्दै खोज्दै रित्तिएर
ब्याकुल बनेका काँसे जिन्दगीहरु
घिर्लिंग यात्रामा अल्झेपछी त खोज्छन
जिन्दगीका अमुल्य मूल्यहरू
चट्याङ्गका झिल्काहरुसंगै
झिल्किंदै झिल्किंदै
सतरंजले कुँदिएका निरतीशयहरुका
अट्टहासी उपहास तोड्न

सदाबहारका कोसेलीहरु
सम्प्रेसण गर्ने ऋतुहरुमा
खडेरीका वाणहरुले स्पन्दन स्तब्ध हुँदा
मैदान पहाडमा रुपान्तर भएको छ
माटो ढुंगामा रुपान्तर भएको छ
त्यसैले त्यहाँ-
पाइलाहरु रुपान्तरित हुँदै हुँदै
नयाँ गोरेटोहरु खोज्दछन
मान्छे भित्रको समुन्द्रबाट
क्रिस्टोफर-कोलम्बस
फेरी नयाँ संसार तिर अन्वेषण गर्दै
भरियाका थाप्लोहरु भित्र
अछुत हातहरु भित्र
निस्सासिएका अबोधित टापुहरुमा
फक्रिएका अँगेरीहरुबाट
रंगिएका दांतहरुले
खत लागेका पहाडहरुमा भेटछन्-
चुँहिदै गरेका शिलाजितहरु
त्येसैले त अङ्कुरिन्छन
विचारका बिजहरु
हाम्रा जफतिएका बेनामि मस्तकका
घुर्यानहरुमा…

– पथरी मोरंग

Deep Raj Neyong-Hang – Samaya Ra Chhayan

दीप राज नेयोंगहांग – समय र छाँया

युगका साँची
अट्टल पत्थरहरुमा
लेउका लेपनहरु पखाल्दै
खोजिरहेछन् मान्छेहरु यथार्थ रङ्ग
समयसँगै
पानी बगीरहन्छ निरन्तर
खियाईएका पत्थरहरुमा
युगका तरङ्गीत ध्वनीहरुका
तस्विरहरु Continue reading “Deep Raj Neyong-Hang – Samaya Ra Chhayan”

Deep Raj Neyong-Hang – Salbalayeka Chepganda Haru

दीपराज नेयोङहाङ – सल्बलाएका चेपागांडाहरु

चेपागांडाहरु संग हुर्किएको मन
धानका गावा गावामा खेल्छ
समय कालखण्डमा धाँजा परेका मृटिकामा सास्ती भोग्दै
पुनारावृतिको आशामा
उभिएका छन् – भ्यागुत्ता बन्न नसकेका मनहरु

आकास झर्ने लागेको छ
धन्य – सयौं हुटिट्याउहरु उत्तानो छन्
ढुक्क एक मन लिएर
सयनी गुम्फ़न भित्र छिरेका तनहरु
एक्कासी आधारातमा हप्सिलो गीतमा
अघोरी बाबाहरु बागमती किनारा किनारा
छमछमी नाच्न थालेपछि
मुटुका तरंगहरु अप्रत्यासि हुइकिन्छन
अनवरत बतासिएर
रित्तो गाग्रो सुसेल्दै
अथक – रित्तो पेट हुनुमा
अथक – पसिना चुहाउनुमा
छुँदै-हुँदै आफ्नै तरंगहरु एकाग्र
भुमरिन्छन झुपडीहरुमा र बन्छ
एक ब्रह्माण्ड

सृष्टिमा माहागुरुहरुको उत्पति हुनुले
तिलहरु पहाडमा अनुदित हुँदै गर्दा
पहाडहरु तिलमा अनुदित हुँदै गर्दा
बिप्लेटिएका सहस्र जिन्दगीहरु
पाताले झरना भित्र पातालिरहेछ
उर्गल भित्र ढुट्टिएका दानाहरु झैं
अध्यारोले पिल्सिएका
जाडोले चिम्सिएका मनहरु
आवाजमा “प्रमिथस” कुर्लिरहेछ्न
कोलोराडो र गिला घाँटीका
मुहान र किनाराहरु
खोटेसिक्कामा लिलामी गर्नु भन्दा
सिंगो शरीर जिजीबिषामा तर्पण गर्ने मनहरु
सहर्स स्विकार्छन- जल्लाह्दहरुलाई
इतिहास र वर्तमानको समिकरणमा
अस्तित्वको योगफल निकाल्न ।

पथरी – ५ किराती चोक
कोशी – मोरङ
हाल आबुधाबी यूएई