Bhupi Sherchan – Sanai Huri Ma Bainshako Sapana

सानै हुरीमा वैशको सपना
सिमलको फूल झैं झरी गयो
तिमी के गयौ खुशीले पनि
मलाई आँखा तरी गयो

धेरै हाँसे साच्चि नै रुनु पर्दो रहेछ
हाँसोलाई आँशुले धुनु पर्दो रहेछ
बिर्स भन्ने निष्ठूरी बिर्सु कसरी
पहिले Continue reading “Bhupi Sherchan – Sanai Huri Ma Bainshako Sapana”

Krishna Prasai – Lendup Haru

देशमा विभिषणहरु ज्यूदैं छन्।
देशमा जालन्धरहरु पनि छन्।
जे जति अर्जुनहरु छन्–
ती अव कुनै हालतमा,
कृष्णको वहकाउमा,
युद्ध लड्न चाहादैनन्।
र पश्चतापको भाषामा–
उल्टै सम्झाइरहेछन् कृष्णलाई,
फेरि अर्को युद्धको तयारी–
अव कसैगरी गर्नु हुन्न भनेर।
अझै जिकिर छ कृपाचार्यको –
उनले चाहेका भए ,
विगतमा पनि –
युद्ध टल्न सकिन्थ्यो भनेर।
निरीह धृतराष्टहरुले –
पहिला पनि कहाँ सिमाना देखेका थिए र!
यसर्थ,
सञ्जयहरु पनि हड्तालमा जुटेका छन् –
उनीहरु अव,
कुनै अन्धाको पाउभक्तिमा,
आफ्नो समय उत्सर्ग गर्र्न चाहादैनन्।

चाहादैनन्–
पुत्र मोहको नाउँमा,
एउटा सिंगै सभ्यता नासियोस्।
दाउको राजनीति छोडेर,
सकुनी पनि सुधि्रएका छन्।
सभ्यता टिकिरहनु पर्छ भनेर–
दुर्योधन सत्संगमा भिजेका छन्।
इच्छा छैन कसैलाई–
अव कुनै युद्ध चम्कियोस–

खरानी बनोस कुरुक्षेत्र।
म चौतारीमा वसेर,
तल हेरिरहेछु –
मेरो देशमा,
हस्तिनापुरमा नभएका–
केही लेन्डुप हरु छन्–
केही लेन्डुप हुन खोज्दैछन्–

भरखर जन्मेका केही लेन्डुपरुलाई,
साना नानीहरु–
पुतला बनाएर जलाउदैछन्।

Manoj Bogati – Ghau Ka Rang Haru

… अझसम्म पनि
सिञ्चेलले
आफ्नो अनुहारको रङ देख्न सकेको छैन।
त्यहॉं टल्किएको छ
कान्तिहीन घामको पुरुषत्व।
तरूणी चियाका पातहरूका
फैलिएका अङ्गालो देखेर पनि
उत्तेजित हुन नसकेका
घामका जुङ्घाका रेखीहरू जस्ता लाग्ने युवा किरणहरू
निभ्दै गइरहेछन्‌।
आँगनमा गजधम्म बसेको छ
खड़ेरी।
*
•युवाहरूको माथ्लो ओंठमा
जुङ्घाका जस्ता किरणहरू प्रष्ट छन्‌
जसले बोकेका छन्‌
बलजफ्ती
गह्रौं स्वाभिमानको नरकंकाल ।
रातो माटोमा चिप्लिने खेल्दा-खेल्दै
हुर्किएका ती युद्धहरू।
प्रत्येक युद्धको अनुहार माटोसित मिल्छ।

माटोले जो लुकाएको छ
युद्धहरूका उज्याला ती सपनाहरू
छातीमा।

खेत जोत्दा-जोत्दै ढलेका
ती पसीनाहरूको सम्झनामा
हल्लिबस्ने लुङदरको टुप्पोमा
बस्न सजिलो छ गिद्धलाई।

खड़ेरीको मौसममा
सपनाहरू
गर्भपात गर्दै बस्छन्‌।

माटोको आँखालाई
रतन्धो सङ्गीत सुनाउँदै बस्छ
समय।

•अझसम्म पनि
झरेका ती टोपीहरूको सम्झना लुकाएर बॉंचेको
देउरालीमा
ब्वॉंसोहरू आउँछन्‌
नन्दीग्रामको निम्ति कुन्नी के-के लेख्छन्‌
दार्जीलिङतिर फर्किएर।

त्यहींबाट शब्दहरू
आफु लुटिएको वैराग गाउँछन्‌।

त्यो गीतलाई विद्रोह हुरीले आङमा बोकेर
गाउँ पुर्‍याउँछ।

सबैले नै सुन्छन्‌
मृत्युवाचकले सुनाएको
आफ्नै अनुहारको समाचार।

छाम्दै बस्छन्‌ गाउँहरू
सिमाना लुटिएको अनुहारको डील डॉंड़ा।

औंलाहरूले छाम्छन्‌
भॉंच्चिएका घाउका टुक्राहरू
जो
अक्षरहरूका पाप्रा भएर छन्‌ निधारमा।
कस्तो कहाली उठेको छ
गाउँहरूको गाउँमा
अँट्‌दैन त्यो
देशको चश्मामा।
*
•नयॉं जिल्दमा आएको छ अहिले
छातीहरूको संस्करण
जसको पृष्ठैपिच्छे
कालो अनुहार पारेर बोल्नै नसक्ने गरी बसेका छन्
‌लुते शब्दहरू।
आफ्नै अनुहार थेग्न नसकेको पीड़ा गाउँदै
सर्कस देखाउन सधाइएको हात्ती जस्तो
कुन्नि कुन इमान्दारिता देखाइबस्छन्‌ शब्दहरू।

अझसम्म
के के भन्न नपाएको
गाउन नपाएको
के के खोल्न नपाएको
मादलको धिङताङ थुनिएको छ
छात्तीमा।

कस्सैले देख्दैन त्यो(?)।

शब्दहरूका ती काला अनुहार पछिल्तिर लुकेको अँध्यारो विम्ब
अझसम्म झरेको छैन
भूँइमा।
अहो!किन फर्केनन ‌ एकसाथ
क्राइष्टलाई अङ्गालो मार्दै हाम्रो कृष्ण?
*
•कृष्ण जस्तै काला रातहरू जो
कालै काफन ओढ़ेर छन्‌
अन्धकारबाट आफुलाई बचाउन।
सन्त्रासित छन्‌
असुरक्षाको साइरन बजिरहने
झॉंक्रीहरूको देशमा
हाम्रा उज्यालाहरू।

कुनै जोखाना टिप्न नसकेको बाध्यता
बल्झिबस्छ जहिलेसुकै
चुहुने छानुमुनि बॉंच्दै आएका
बोनबोहरूको गाउँमा।

उज्यालो जति चुहिसकेको कागज जस्तो सेतो
उभिन्छ
कञ्चनजङ्घा
समयको साक्षी दिन।

किन टिप्न सकेनन्‌ त्यसलाई क्यामेरामा
कालो गगल्स टाउकोमा झुण्डाएर आएका
आफ्नै राज्यका टुरिष्टहरूले?
*
•आतंगवादी अन्धकारहरूबाट लुकाएर अचेल
घाम जस्ता सयपत्रीहरूले
पर्चा बॉंड्न थालेका छन्‌
गाउँमा।
(घाम लाग्छ अब ?)

के के लेखेका होलान्‌
घाउहरूले
जब दुख्नै छोड़ेपछि।
रगतले लेखेको देश
मुट्ठीमा बोकेर
बॉंच्दै आएका ती कोपिलाहरूले
जब हॉंस्नै पाउँदैन।

धेरै वर्ष ओथ्रा बसेका सपनाहरू
अब फुट्‌ने हुन्‌ कि!

जब देश हिँड़ेर गाउँ आउन सक्तैन
तब देश विकलाङ्ग कि गाउँ?
जब कि गाउँले बाटेको दोरीले नै
बॉंधिएको छ देश।
*
•सुनाखरीको छातीमा लागेको
धोकापूर्ण कॉंड़को तीखोबाट
चुहिरहेको छ
इतिहासको रङ।

त्यही रङ छालामा दलेर
बॉंचेको छ
लालुपातेको पातमा आमैको आँशु।
*
अन्धकारको सुरूङ खन्ने
मिर जफरका औंला काट्‌न
हातमा लिएका छन्‌ सिरूपाते
शब्दहरूले।

शब्दहरूको पनि धार पलाएको छ।
धेरै वर्षको भूमिगत यापन पछि
कविताको पाखुरामा पनि बल पलाएको छ।
कविताले त्यो कोमलतालाई गालेर
तयार पारेको
चट्टान छाती
अहिले
गाउँका सबै युवाहरूको कमिजभित्र लुकेको छ।

उज्यालिँदै आएको छ
गर्भवती हिमालको निष्कलंक अनुहार।

आँगनको डीलबाट नै टॉंगिएको तारमा
पहरा बसेका फाटेका चौबन्दी-फरियाहरू
गाउँदैछन्‌
अनुहारको नयॉं गीत
…. आइज घाम यो माटोको घाउ सुकाइदे
रोइरहेको टिस्टाको पीर गहमा लुकाइदे।

चुल्ठोमा गुरॉंसका सपनाहरू खिलेर
हत्केलाका घाउहरू कोट्याइरहेका छन्‌
बस्तीका फुटेका खालीखुट्टाहरू।
ओंठको रातो रङ त्यो
लिपिस्टिकको हो र
लालुपातेको?
केशको त्यो पहेंलो-सेतो रङ
गार्नियरको हो र
चमेलीको?
(मल्टिकलर्ड विज्ञापनहरू गाउँ चढ़ेकै थिएन जब।)

जतिबेला चियाका पातहरूले
आफ्नो मौसम मागेको थियो
सुन्दरता मागेको थियो देशलाई।
कुलैनका फुलहरूले
वसन्त मागेको थियो देशलाई।
पहाड़को ओंठमा जुन खड़ेरी झरेको थियो
एक लहर मुस्कान मागेको थियो।
बड़रको रूख अनि दार्मी गाईको थुनले
ती ओंलाहरू मागेका थिए
जसले लेख्न सक्थ्यो
नेपाली अक्षरमा माटोको सुवासलाई।

माटोको सुवास जो
बज्न चहान्थ्यो शिरको टोपी हल्लाउँदै
मचुङ्गाको धुनमा।

-त्यो सपना मात्र थिएन
आँखाहरूले अनिंदो बसी-बसी ओथ्राएको
विपनाको एक-एक चिङ्‌ना थियो।
हुन त सपनाको कुनै भूगोल हुँदैन
इतिहास हुँदैन।
सपनाको रङ पनि हुँदैन, आकार पनि हुँदैन
त्यसैले सपनाको घर पनि हुँदैन।

एवोर्सन गरिएका सपनाहरूको पनि
एउटा पहाड़ै छ।

जहॉंबाट बग्छ
एउटा आत्महारा दुर्गन्धको विरक्त गीत।

पर्खिरहेछन्‌ अझ्झ
सड़कहरू
टोपीहरूका कलिला पदचिह्नहरू।
वसन्तहरू
गुप्तवासमा छन्‌
सुनाखरीहरूलाई रातो फरिया सिउँदै।
शिशिरहरूले आँगनको डील-डील
रोपेका छन्‌
बाबरी फुलको बोट।
( कुन पर्व आउँछ अब ?)

लाटा गाउँहरू भने
खबरकागज लिन शहर पसेका छन्
‌बुढ़ी आमालाई
उसको अनुहारको समाचार सुनाउन।
(अखबारका शब्दहरू जो
कॉंपिरहेका छन्‌।
खाममा थुनिएका
जवान छोरोको मृत्युको सूचना हातमा बोकेर।

शब्दहरू
यसरी कठोरिँदै आएको कति भयो?

गाउँहरूको सपना
कति चोटी खसिसकेको छ गुलाबको फुलबाट
भुईंको धूलोमा।

अलिखित छ सपनाको इतिहास।
(किन गाउटग्रस्त छन्‌ शब्दहरू?)

लुती चियाको पात
ओड़ेको घुम अलिकति उचालेर हेर्छे
कञ्चनजङ्घामाथि चिच्याइरहेको
कालो बादलको अनुहार।

क्रोध हो कि त्यो
ग्लानि हो कि!
नबुझेर चियाका फुलहरू अलमल्ल पर्छिन्‌
छोरा-छोरीलाई
त्यही अन्योलता सुनाएर
सुताउँछिन्‌।
चियाका फुलहरूले सपनामा देख्छन्‌
आँगनसम्मै आइपुगेको घामलाई।
मलेरिया लागेको कुलैनको पहेंलो पात
रातभर आमा1 पढ़ेर बस्छन्‌।
उज्यालो भइसक्दा सुकिसकेको हुन्छ
हत्केलाको रगत।

खण्डहर जस्तो कुलैन फ्याक्ट्री
लेखोकेको एकोहोरो आवाज
रातभरि फैलिबस्छ
चेतनाको सिमाना छुन।

पुनारावृत भइबस्छ
यो कथा
गाउँले सभाहरूमा।

बस्तीहरू सब्जी बेच्न शहर झर्दै गर्दा
बन्दको चपेटमा परेका सपनाहरूको बिल्लिबॉंठ
बाटैमा सुनाउँछ
आधा बाटोबाट नै फर्किएका लुते विपनाहरूले।

खेत, बारीको आङमा
कतिवर्षदेखि खोप्दै आइरहेको छ
आतंककारी राजनीतिको शिलालेख।

हात्तीको खुट्टा जस्तो बलियो हुकूमको डरले
भुटेका मकै र डल्ले खोर्सानीहरू गुनासो साट्‌छन्‌
खेतालापातमा।

गाउँलाई सेप्टिक जस्तै दुख्छ लाटो घाउ।
नदुख्ने घाउको त भाषा नै हुँदैन।2

लाटो हुनु भाषा नहुनु त हो।
दुख्दा-दुख्दै पनि नदुखेको हुनु
कसले सिकायो घाउहरूलाई?
घाउ हुनु दुख्नु हो र?

घाउहरू फुटाएर निस्किएका छन्‌
अक्षरहरू। अहिले।

घाउका रङहरू टल्किएको छ
रगतको उज्यालोमा।
घाउ फुटेको आवाजले
ब्यूँझिएका छन्‌
शहीद वेदीहरू

शब्दहरू
घाउ च्यातेर आएका छन्‌ बाहिर।
आमाको काख भोग्न नपाएका ती बालखा सपनाहरू
यसरी चर्किएको छ
निस्कन तयार छ विपनाको अनुहार।

त्यो शब्दको अनुहार
सयपत्रीसित मिल्छ
चौबन्दीले पोको पारेर राखेको मानचित्रसित मिल्छ

जुन मानचित्र फाटेको चौबन्दीबाट
निस्कन खोजेको युगौं भयो।

27 जुलाईहरूले चुटेका नीलडामहरूसित नै
बॉंचेको
बाजेको धुलो लागेको सपना
शहीदवेदीलाई ढोगेर जो निस्किएको छ अब।

त्यो प्रत्यागमन
बाइबल, महाभारत वा कुरानको
कुनै स्वैरकल्पना होइन।

टिस्टाको पानीले अनुहार धोएर आएको सपनाको विम्ब
शहीदको आमाको मनको गॉंठोसित मिल्छ।

भर्खर उम्रन थालेको मकैको बोट
छोएर आएको हावाले
के को सुगन्ध छर्छ?

अब मैदान उत्रेका शब्दहरूले लेख्छन्‌ यसलाई।

दिनहरू अहिले
अँध्यारो ज्याकेट खोलेर बसेका छन्‌
टिस्टा-सुनकोशको बगरैबगर।
रातहरू
मनभरि पीरको रङ दल्दै बसेका छन्‌
समयको क्यान्भसमा
टल्किएको कञ्चनजङ्घा लेख्न।

एकान्तमा
सितार बजाउँदैछ
गाउँहरू सुन्छन्‌।

माटोको सतहबाट बगेर आउँछ
अनुहारको गीत।

सुकेका खेतका ओंठहरूमा भन्किएका
हरिया झीङ्गाहरूको जुलूस छ।

घाउहरूको पीढ़ागीत सुन्दै अझ पिउँदैछन्‌
मीरजफरहरू
चियाको पातबाट चुहेको गाउँको रगत?

गाउँका घाउहरू टेक्दै आउने
पर्यटकहरूको ह्याण्डिक्यामले समात्न नसकेका जीवनका विम्बहरू
एक्लै फुल्छ, झर्छ। यो जङ्गलमा।

टिस्टाले दुवैतिर बाटेकी किनाराबाट
मग्मगाएर आउने
इन्द्राणी र गङ्गामायाहरूको काखीको गन्ध
मीठा मात्र लाग्छन्‌ बजियाहरूलाई।

बिहानै कचेरा पुछ्‌दै पहरामा बसेको
कञ्चनजङ्घाको बाङ्गिएको टोपीको फोटो खिच्छन्‌ मोराहरू।

आफ्नो दूधको मूल्य तोक्न नसकेकी
बज्यैहरूका चाउरीहरूमा
लुकेर बसेका लाटा शब्दहरू
चौरस्तामा बज्ने घोड़ाको टापबाट निस्कन्छ
अनि बतासेको लुपमा हराउँछ।

कति राम्रो कथा हगि यो?

वद्माश गणतन्त्रले पट्टी बॉंधेको छ टाउकोमा
युग जस्तै लामो पालेको छ केश
र बगलीमा छ छुरी।

निर्धाहरूको आङमा नीलडामहरूको घर बढ्दै जान्छ
घाउहरूको गाउँ बढ्दै जान्छ।
सातो हराएका छिप्पट शब्द
चुपचाप बारी खनिबस्छ
हातमा बीऊ नबोकी।

अहो!
किन उज्यालिँदैन शब्दहरूको झोपड़पट्टी?

डॉंड़ामा समय खपेर बसेको चिलाउनेको रूखपछि
लुकेर हेर्छ जुनघाउहरूको लुब्दो इतिहासको वंश।

जुन इतिहासमा युद्ध छैन
माटोको सुवास पनि छैन।

खुकुरीले लेखेको तासपत्ताको इतिहास
भत्किँदो रहेछ हगि?

हुरीहरू आफ्ना नहुँदा रहेछन्‌
हुरीको विश्वास नहुँदा रहेछन्‌।

हुरीमा विश्वासको कुरा नै पो के कुरा र हगि?

जब घाउ फुटाएर बाहिर आए शब्दहरू
छातीको आँखामा चमक आएको छ।
कानून लगाउन सकेन सरकारले
शब्दहरूलाई।

सरकारले
हिमाललाई टल्किनबाट रोक्न सकेन
टिस्टालाई बग्नबाट छेक्न सकेन।
पहाड़हरूको बीच भएर बग्ने कुइरोलाई
गोली ठोक्न सकेन।

हिमालबाट झर्ने झरीमा
जहिले पनि मुसा जस्तो भिज्छ सरकार।
च्यातिएको अस्तव्यस्त चियाबारीको चोली
पसीना पुछ्‌दा रङ हराएको कुलैनबारीको टोपी
भोक्कै टोयट्रेनमा ओहोर-दोहोर गरिरहने
तिनीहरूका सपना भन्दा ठूलो
हुनै सकेन
सरकारको राजनीति।

1986 को हातबाट लगाइएको कोर्राको दागसितै
जवान भएका घायल ती कलिला अक्षरहरूसित
किन आह्रिस गर्छ सरकार?

गोलीले भेटेका शहीद अक्षरहरूको सपना फुलेको
किन रिस्‌ गर्छ सरकार?
आखिर
हिलोमा झरेको बीऊ उम्रन्छै-उम्रन्छ
हिलो खुनकै होस्‌ न चाहे।

बले-बिरेको अनुहारको चाउरीमा
घाम लागेको
मन नपराउने सरकारको त्यो कालो अनुहारको ब्ल्याकबोर्डमा
चमेलीले जुन मानचित्र कोरी
त्यसलाई नै अनुत्तीर्ण किन बनाइयो मुख्यमन्त्री?

वार्षिक परीक्षा नजिक पठाइएका पाठ्य पुस्तकबाट नै बटुलिएका अक्षरहरूले
जुन आवाज लेखियो
अब त्यसलाई मेट्‌न सक्छौ र राज्य सचिव?

चियाका पातहरूले गीत गाएको
मन पर्दैन सरकारलाई
भाइचुङ भोटिया मादलमा नाचेको
मन पर्दैन सरकारलाई।

टोपीले
पसीना होइन
भाग्य पुछ्‌दै बॉंचेको इतिहासले
घर बनाएको मन पर्दैन सरकारलाई।

सरकारले हिमाललाई सपना देख्न त रोक्न सकेन
विपना देख्न पनि रोक्न सक्तैन।

आमाको फरिया च्यातिन्छ, तर
फरियामा लुकाएर राखेको सपना च्यातिन्न।
हिमालको मन
पैह्रो पीढ़ितहरूलाई बॉंड़िने प्लास्टिक होइन
जो सरकारको षड्यन्त्रले च्यातियोस्‌।

हिमालको मन हिमाल नै हो जहॉं
सबैभन्दा पहिले चुम्छ
इमानको घामले।

सरकार सयपत्रीको फुलसित हारेको छ
सुनाखरी र धुप्पीसित हारेको छ
अरू त के
कुइरो र जाड़ोसित हारेको छ
खोल्साको पानी र रूखसित हारेको छ।

सरकार त डॉंड़ा जत्रो अग्लो पनि छैन
झर्ना जस्तो सङ्लो पनि छैन।

…. हुन त सपनाको कुनै रङ हुँदैन
सिमाना र आकाश पनि हुँदैन।

शहीदले भन्दा पनि धेरै मृत्युलाई
छातीमा सहेकी आमाको सुकिसकेको स्तनले मागेको सुरक्षा
शहीदले भन्दा पनि धेरै रगतआँखाबाट झारेकी
उजाड़ सिउँदोमा कञ्चनजङ्घा थामेकी
बुहारीको अपुताली कोखले मागेको मूल्य
सपनाका यी नै रङहरूले त लेखेर राखेको छ
आँखामा।

बॉंच्ने उत्साहमा नै त
सपनाहरू अस्तित्वमा छन्‌।
मृत्युको सपना हुँदैन।
सपना आफैमा कति घायल छ।
सबै घायल सपनाहरूले
बुद्धको काख पाउँदैनन्‌।

सपनाको कुनै कविता नै हुँदैन
आकार र आयतन हुँदैन।

कविता नै नभएको
आमाको अनुहार
र सिउँदो कस्तो हुन्छ?
शब्द नै नभएको
बाबुको छाती कस्तो हुन्छ?
नाती-नातिनीको निधार कस्तो हुन्छ?

कारागारमा बसेका
सपनाहरूले
झेलेका छन्‌
विपनाको तिर्खालाई।
(माटो नहुनु, कारागार भन्दा ठूलो हो र?)

निधारले उन्यू फुलाएको धेरै भयो।
बुढ़ो कृषकको आँखा फुला परिसकेको छ।
पसीना फुलेको छैन।

पसीनाले पनि माटो पायो भने मात्र
उम्रन सक्छ फुल्न सक्छ।

पसीनाको सुवासको लोककथा
पसीनाको दुःखहरूको आदिकथा लेख्ने
कविलाई पनि त चिहान चाहिन्छ।

जसको आँगनमा पसारिएर युगौंदेखि पुरानो इतिहासको घाउ
अझ चाट्‌दैछ
कुकुर समय।

घामखैनी माड्दै बस्छ
चिसोमा कक्रिएर मरेको अँध्यारो छेउमा।
अन्धकारको निम्ति
जुनकिरीहरू आए, गए।
आफै लाई मात्र बाटो देखाउने जुनकिरीहरूको
विश्वासमा
औंसीहरूले कहिल्यै देखेनन्‌ रामको उज्यालो अनुहार
न देखे उज्यालोको रामराज्य।
अँध्यारो भनेको
कालो मात्र होइन।

कालो र सेतोबीच युद्ध नै हुँदैन।

दुख्न जान्यो भने मात्र
घाउ, घाउ हुन्छ।
नदुख्नेलाई छाती के हो?
दुख्नु भनेको मर्नु होइन
दुख्नु भनेको
सम्हालिएर बॉंच्नु हो
हिँड्नु हो।

लड्यो भन्दैमा लक्ष्य भाग्दैन।
लड्नुहरूको अधिकार हो लड्नु
जीवनमा।

जीवनमा लड्दै नलड्नुलड्दै नलड्नु के हो जीवन?

रून जान्यो भने मात्र
आँशु, आँशु हुन्छ
हार्नु जान्यो भने मात्र
युद्ध, युद्ध हुन्छ।

दुख्न घाउ चाहिन्छ
घाउलाई छाती।

घाउका रङहरूले टल्किएको हिमालले
साउँ अक्षरले लेख्न थालेको छ आफ्नो अनुहार।
(यो इतिहासमा गन्हाउने रगत
ती नै कलिला अक्षरहरूका हुन्‌।)

घाउहरूले भाषा पाएको छबोल्न सक्छन्‌
अब संविधानलाई सिकाउने छन्‌ अधिकारको पाठ।

आँगन-आँगनमा भेला भएका छन्‌
गाउँभरिका ठेलाहरू।

धेरै वर्ष नबोलेका गन्हाउने सासहरूले

रङ पाएको छ।
भुकुल्ले बिहानी खेलिरहेछ माटोमा।

अहिले कमसेकम शहीदवेदीको टुप्पोमा बसेर
काग कराउन त छोड़ेको छ।

अहिले जुन तरङहरूको भेल उर्लेको छ
त्यसको कुनै सिमाना छैन।
त्यो भेल मुट्ठीमा बोकेको गीतले
के-के भत्काउँछ अब।

गीतलाई रिस्‌ उठ्‌दा
कत्रो भूकम्प हुन्छ भने
देश पनि ढल्छ।

बॉंध नै फुटेपछि
शब्दको आँधी उठ्‌छ।

शब्द फुट्‌दा
कस्तो पैह्रो चल्छ भने
कारागार नै पुरिदिन्छ।

त्यो आँधीले मुट्ठीमा बोकेको आवेगले
के-के बिगार्छ अब।

माटो नहुनेलाई
कृष्णचुँढ़ाको बिजनको माने हुँदैन
न कॉंस फुलेको थाहा हुन्छ।

जब गीत लाटो बन्छ
गाउँ लाटो हुन्छ
लाटा गाउँहरूको हात समातेर
कति माथि उठ्‌छ र देश।

देशको माया अझ बजाउँछ रामसिंह
अनि गाउँछे लता।

नलेखिएका इतिहासको दस्तावेज बोकेर
शब्दहरूले
ती नै गाउँहरूको गाथा सुनाइरहेछ अहिले
देशलाई।

अहिले आफ्ना अनुहारको मानचित्रमा
छर्किरहेछन्‌ विद्यार्थीहरू
घाउका रङहरू।

Laxmi Prasad Devkota – Pokhara

माछापुच्छे!’हिमशिखरको बादशा’ पोखराली !
देखेँ तिमै्र वरपर सबै पश्चिमा राज्य खालि !
डाँडाकाडाँ वन नद दरी सम्थली औ कराली
साराका छौ प्रभु सरि तिमी दिव्य श्रीपेच डाली !

राजा ! तिम्रो बगल महिषी अन्नपूर्णा हिमाल
नीला गादी उपर डटिँदा हुन्छ शोभा कमाल !
राजारानी ! हृदय कविको तृप्त कैल्यै हुँदैन !
नेपालीले हुकुम दुईको छातिले बिसर्िदैन !

हाम्रो राष्ट्र प्रकृति रचना छन् प्रधानै हिमाल !
चूली राजा बहुविध जहाँ सत्यका नीतिपाल !
सेतो छापा सकल दिलमा पर्छ आदेश सार !
हाम्रै हाम्रै प्रकृतिसँगमा मन्त्र मीठो बहार !

सान्दर्यैको चलपल हुँदो पोखरीझैँ छ देश !
थुम्काथुम्की सरस हरिया राखिए बेस बेस !
माछामाछी सदृश दुनियाँ क्यै सुनौला रँगिन !
सेतो माछो प्रमुख पुछेर, राज गर्दो छ मीन !

डुङ्गा शायद् यस शिखरमा सृष्टिको बाँधिएथ्यो !
शायद् चीरा यिन गिरिविषे चक्रले काटिएथ्यो !
मान्छेको हो प्रथम सृजना कल्पिएका यिनैले !
पैला शक्ति प्रकृत अझ छन् लुीलिँदा देख्छु मैले !

कल्ले शिल्प्यो अवनितल यो लाख बुट्टा कुँदेर?
शोभाको यो घर अजमियो पोखरा नाम हेर!
पन्ना झुक्यो चपल सरितालाई दी नागबेली?
डाँफे रङ्ग्यो? चिरबिर भर्यो? छिर्बिराएर बेली?

स्रष्टा यी हुन् यस जगतका विष्णु लक्ष्मी समान !
साथै बस्छन् शुचिकर महान् उच्चतामा सुवान !
भाले पोथी प्रतिम सकल सृष्टिका प्रीति जोडी !
छाती फुल्दै दरशन गरी उभ्भिएँ हात जोडी !

छर्लङ्गै छन् वरपर दिशा नीलिमा मुस्किँदी छ !
हावा उड्दा हरर वनकी श्री खिची जिस्किँदी छ !
टड्कारो यो शिखर हिउँको क्या उठेरै चिहायो !
कल्लाई ए युवती ! जलमा फूल फ्याँक्छयौ त्यहाँ त्यो !

तिम्रा आँखा यस गगनका प्रीतिका तारका ती !
लाल्पातेझैँ तन रस भए भूमिका भारका ती !
हावा तिम्रो मन गिरिसुता ! व्योमले नील नानी !
सेतो छाला तुहिन जसमा रश्मि चढ्छिन् बिहानी !

कोही यौटा पुरुष-सपना टाकुराको प्रदान
पाई राती शिखर प्रतिभालाई यो पुष्पदान !
गर्दी छौ के प्रथम दिलको सत्प्रतिज्ञा उचाली
सेतो प्रीति प्रकृत हिउँझैँ थाह भै आज खालि

हो, हो, यो हो, मिथुनरसको गीति गुँज्ने प्रदेश !
डाँफे डाँफी नवरँग बुटे कल्पना कूँज देश !
मीठो चूली वयस-रसको गीति-खोला-मुहान !
बोल्दा भन्दा अमुखर तिमी गीति छौ दिव्य जान !

दोटा कोही यिन शिखरमा सुन्छु खेल्दा जुहारे
बेनामी छन् ! मिरमिर कहीँ अर्थ खुल्दो छ क्यारे !
लीला खेलौँ तरल उछलौँ चिल्बिले हौँ बनेली !
हाम्फालूँ क्यै ! खुसखुस गरौँ ! सुस्तियौँ ! भन्दछन् ती !

दोटा खेल्दा समुह धरती बन्दछिन् यी हरीलो
आली-खोला वन-खलबला धोबिनी भै सुरीली !
चाँदीपत्ती जलदचयकी छाउनी चल्न थाली
वर्षा वर्षी दिल उपर भो कल्पनाच्छाद-जाली !

लक्ष्मी ! लामा लहलह हुँदा फाँटका स्वर्णभार
तिमै्र माया वरपर कुदी बेलिँदा भै तयार
साँचेका यी हँसमुख मिठा बन्धुकी पोखराली
रानी बन्छयौ प्रकृत अभिधा अन्नपूर्णा हिमाली !

नामै मीठो ! शरद रजनीले थिइन् यो कहेकी !
सेतीद्धारा सलिल छिनु ली जो यहाँ छन् बहेकी !
भनछन् चूली जसरि चुलियो उत्तिकै हुन्छ बाली !
बाली काट्दा हँसमुख तिमी मुस्किँदप् हौ उज्याली !

द्यौता बस्ने वरपर सभा गोलझै क्यै त्यहाँ छ !
खोदेको झैं हिउँ अलिकता आसनी झैं जहाँ छ !
सल्ला’ होला सुरवर बसी काजमा पोखराली !
सच्चा नीति प्रकृत कसरी चालिएली उज्याली !

माछापुच्छे!यस जगतको सभ्यता शुभ्र कान्ति !
शिल्पै मीठो ! युवति सुकला ! दिव्य सन्देश शान्ति !
चट्टानै छन् युवक महिमा ! छन् नदी काव्य-दान !
नेपालीको रस-मुटु यही भारतीको मुहान !

नेपालीको प्रथम कविता छैन यसबाट दूर !
यो पानीको प्रथम गतिको गीति हो विश्वनेर !
यो भूस्वर्ग प्रकृति रचित प्रौढ सम्भावनामा
होला यात्रास्थल रसिकको विश्वमा फस्टिँदामा !

फेवामा गै प्रतिदिन यहीँ सम्झना ली डुबुल्की
बिसे्रली यो कलह जगको मत्स्यको पुच्छ झल्की
नीलो होला ज्वर समरको, चट्ट सुस्केरिएर
सम्झे ताराजडित जलको शान्तिको कान्ति हेर !

ओढीछन् लौ अब त बदली अन्नपूर्णा लुकेर !
माछापुच्छ्रे अलि अलि टुपो देखियो मिर्मिरेर !
झस्काएका मकन दिलमा झ्वास्स आएर आज !
लौ ! लौ छोपे मुख दुइ जना बल्ल लागेछ लाज !

Bhanubhakta Acharya – Ek Man Chitta Lagai Chakari Garya

एक् मन् चित्त लगाइ चाकरि गर्याँ
खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया
कैल्यै नछुट्न्या गरी।

रोज् रोज् दर्शन पाउँछू चरणको
ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी
ठूला Continue reading “Bhanubhakta Acharya – Ek Man Chitta Lagai Chakari Garya”

Harihar Dahal – Ko Kasori Pagal Hunchha

जब म सानै थिए,
अत्यन्तै खुशी हुन्थें।
हाँस्नु मेरो दिनचर्या थियो।
मट्याङ्रा र गुच्चा सगै बिताइदिन्थे दिनहरु।
बल्छी हान्नु साह्रै मज्जा हुन्थ्यो ।
जब-जब उमेरले गती लियो,
दिनचर्या मा पनि अदल-बदल पक्कै जरुरत थियो।
किन नभै रहन्थ्यो र त्यो वास्तविकता,
म आकुल भए,ब्याकुल भए।
प्रतिक्षा गर्नु कस्टप्रद ब्यथा रहेछ,
कसैको प्रतिक्षाले निरास तुल्यायो।
शारिरिक असन्तुलनमा ब्यापकता ल्यायो ।
मानसिक रोग थियो त्यो,
डाक्टर साहेबले पल्टा खाए।
जब- जब उनको माँयामा निकटताको आभाश हुन्थ्यो,
तब- तब आराम र सुखको भान हुन्थ्यो।
बिबशता र बाध्यताले उनको प्रतिक्षा निरर्थक भयो।
अप्राप्ती साह्रै हृदयविदारक हुदो रहेछ,
म अर्ध – पागलमा साबित् भएँ।
अन्धो समाजको कहाँ छ र चेतना
उ ठम्याउन सक्दैन,
को कसरी पागल हुन्छ!

Lakshmi Mali – Sarangkot

सारङ्गकोट
पोखरा बिउँझिन्छ
तिम्रै मधुरो मुस्कानको आभाषसँगै
तिमी कुहिरोसँग लुकामारी खेल्दै
न्यानो आतिथ्यमा ढोका उघार्दै
पोखराका पाहुनाहरुलाई
माछापुच्छ«े र धवलागिरीहरुको संघार बनी
सूर्योदयको प्रतीक्षामा
सधैं–सधंै मायाप्रितिका लहरहरु बोकेर
तरेलीहरुमा
मुसुक्क मुस्काएर
पाहुनाहरुको विश्वास सँगालेर
पर्खिरहेकी छौ
प्रकृतिका सौन्दर्य सिर्काहरुले
हार्दिकता पस्किरहेकी छौ ।
सारङ्गकोट
शरद ऋतुमा पनि
चिसा–चिसा सिरेटोहरुले
पाहुनाहरुलाई ढपक्क ढाकेर
एउटा जीवनलाई ताजापनमा घोलेर
सुन्दर भावना छर्किरहेजस्तो
न्यानो सत्कारमा तल्लीन छौ
सूर्योदयको शाश्वत सत्यको नमूना बनी
उभिरहेकी छौ ।
सारङ्गकोट
तिमी पोखरामा हराएर
फेवा र माछापुच्छ«ेसँग माया साटेर
हाँसिरहेकी छौ
तिम्रो माया र सद्भावलाई
न्यानो आतिथ्यको स्पर्शलाई
सम्झिँदै, तरङ्गित हुँदै
तिम्रो सुन्दर सेरोफेरोलाई बिर्सन नसकेर
तिमीसँग फेरि भेट्ने धोको छ ।
सूर्योदयको किरणसँगसँगै,
एउटा ताजापनको आभाष भएको क्षण
हिमालहरुले रुप फेरेको दृश्य
स्वप्निल तरङ्गहरुझैं
कताकता रङ्गहरु भरेको क्षण
ए सारङ्गकोट !
कसरी बिर्सन सकिन्छ तिमीलाई ?

Gopal Prasad Rimal – Timi Ra Ma

भैगो भन्या’ भैगो;
तिम्रो दया मलाई चाहिन्न;
बरु तिमीले दिएको जहर सिनित्तै म रित्याइदिउँला
तर तिम्रो दयार्को क थोपा पनि मलाई ताहिन्न ।
जब संसारबाट उप्केर मेरा आँखा
आकाशतिर हेर्न लागेका हुन्छन्;
जब Continue reading “Gopal Prasad Rimal – Timi Ra Ma”

Nawaraj Subba – Yo Kasto Badhyata

मौसम न हो
झरी धेरै परे पनि डराउनु पर्छ,
बगाई न हो
नदीले आफै लगाएको साँध पनि
कुल्ची बग्ने गर्छ,
तर किन दुई मन मिलेर बाँधेको बाँध
जस्तोसुकै आँसुको भेलमा पनि
एक्लै सम्हाल्नु पर्छ
आफै सम्हाल्नु पर्छ Continue reading “Nawaraj Subba – Yo Kasto Badhyata”

Laxmi Prasad Devkota – Hami Nepali

क.

एशियाली जागृति–युग–शिशु
हामी उषासुत नयपाली
हामी हिमालय–तनय पिपासु
चढेन चुचुरा करमाली ।

ख.

हामी बुद्धका भूका उद्भिज
जानकी–फूलका मधु–आली,
अरनिकोका अङ्गुल–ज्योति,
पृथिवी–नारायण बाली ।

ग.

त्रिभुवनका हौं स्वप्न सुनौला,
महेन्द् उपवन पौधाली
बाघहरुका जोरी–पारी हुँ,
प्रजातन्त्रका पहराली ।

घ.

मानवताका ढुक्कुर–कुर्लन,
कल्पन डाँफे–रङ्गजाली,
मुनिका समाधिहरुको कुसुमको
सुगन्ध लहर हुँ हैमाली ।

ङ.

घनी विपिनका चिडिया हामी,
प्यार कुर्लिंदा जगडाली,
मानवताका पर्वत–मन्दिर,
स्थायी शान्तिका सञ्चाली ।

च.

भारत–पोषक हिमगिरि–उरिका
उदार द्रव हुँ नग–जाली,
हामी पूर्वका देवदूतका हुँ,
प्रथम रश्मिका देशाली ।

छ.

भूमण्डलका गोल–सदनका
अंशियार हुँ, एक थाली
न्यौछावरका पुजारी हुँ
विश्व–मानव नयपाली ।

Bhupi Sherchan – Ghainto Bhitra Bata Brikchha

साँघुरो घैटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझै
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ
र म ओइलाएँ
आफ्नो वरिपरि निसािस्सदो पर्खाल पाएर
अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच ओटा औंलाहरु पट्याएँ
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्काएँ
र आज म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु
तर कुनै दिन
तिमीले चिन्न सके आफुभित्रको बतासलाई
र प्रकाशलाई तिमीले
जान्नेछौ कि बाहिरबाट जतिसुकै
कठोर भए पनि भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्र हत्केलाझैं !

Gopal Prasad Rimal – Dantya Katha

दन्त्यकथाकी राजकुमारी र एक गरीब
कसरी तिनका ठूला लाम्चिला आँखाहरु
एक जोडी ताराझैं माथिबाट तल झरे
र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ?
फेरि कसरी हिलोको कमलमा परेका
दुई थोपा शीतजस्ता गरीबका आँखामा
स्वर्गले आफ्नो छाया देख्यो ?
ताज्जुबको कुरा छ,
तर यो मीठो कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ
दन्त्यकथा खालि यत्ति भन्छ
उनीहरुको प्रेम प¥यो !
हो, पानीझैं प¥यो होला
अनि आगोझैं बल्यो होला ।
राजपथको छोटो हेराहेरमा
मर्यादाशीला राजकुमारीको हेराइ, चलाइबाट तेरो भोक मेट्न
जलन सेलाउने के कुरा पाउँछस् र तँ
स्वर्गको ढुकुटी नै पाएझैं गरेर शरद्को बादलझैं
शिर उच्चा गर्दै हिँड्छस्, ए गरीब !
के तँ फेरि साउनको बादलभैmँ निचोरिन्नस् ?
भेटको असम्भावनाले पत्थर भएर तेरो मुटु किच्तैन ?
आँधीको बिजुली भएर
तेरो बादलझैं बर्सने छातीलाई कोपर्दैन ?
यस्तो मीठो दर्दको कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ ।
कथाको गरीब गम्भीर छ,
जादूले अर्कै भएजस्तो छ
ऊ हावाजत्तिकै हलुका भएर राजकुमारीको खोपीमा पुग्दछ
उनीहरुको बिहे हुन्छ ।

Abhas – Bhugol Mathi Ubhiyeko Jaitun

(नेल्सन मण्डेलालाई समर्पित)

मण्डेला
भूगोलमाथि उभिएको
एउटा जैतुन

सिङ्गो पृथ्वी ढाकेका छन्
यसका हाँगाले

फैलेका छन् यसका जरा
अनन्त गहिराइसम्म
भूगोलको अन्तर मुटुसम्म
मस्तिष्कसम्म
चेतनासम्म

जहाँ
लाभा उम्लिरहन्छ हरक्षण
र भुइँचालो गैरहन्छ हरपल ।

Gopal Prasad Rimal – Hosh

म मानिस आफ्नो खुशीले जन्मेको होइन,
आफ्नो खुशीले मर्ने पनि होइन ।
यो ज्ञान कसलाई भएको हो साथी ?
यो संसार सपना हो,
जीवन पानीको फोका हो,
यहाँ कोही पनि आफ्ना छैनन्,
जो छन् तिमीजस्तै नै जन्मेका हुन् ।
तिमीजस्तै नै मर्ने हुन् ।
यो वैराग कसलाई भएको हो साथी ?
म सर्वसम्पन्न अर्थात् ईश्वर हुँ,
म भोगी हुँ,
म सिद्ध हुँ,
मजत्तिको अरु कोही छैन,
म मोज गर्छु ।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाइृ भउको हो साथी ?
म मानिस न त आफ्नो खुशीले जन्मेको हुँ,
म आफ्नो खुशीले मर्ने हुं ।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाई भएको हो साथी ?
कामी क्रोधीहरु आफ्नो मनोकामना
पूर्ण गनका लागि अन्यायपूर्वक
धन जम्मा गर्ने चेष्टा गर्छन्,
काम, क्रोध र लोभ यी तीन तमेद्वार हुन्,
यो होश कसलाई भएको हो साथी ?
म त न आफ्नो खुशीले आँखा खोल्ने हुँ,
न आफ्नो खुशीले आँखा चिम्लने हुँ, साथी !
यो होश कसलाई भएको हो साथी ?

Bikram Subba – Shanti Daridrata

धेरै दिनपछि चिया पसलमा
मनमिल्ने साथीहरूसँग आज भेटेँ
छुट्टिँदा उनीहरूबाट पाएको शान्ति
घरसम्म पुग्ने गाडी-भाडा तिर्दै सिद्दियो
र फेरि शान्तिविहिन दरिद्र भएँ ।

पुस्तकालयका तृपिटक पढेँ
पन्ना-पन्नामा Continue reading “Bikram Subba – Shanti Daridrata”

Laxmi Prasad Devkota – Rani Ban

क.

यिन गिरिमा, हो
सभ्यताका नीला, गाढा, प्रकृत गढमा,
फरफर पताका, शाखा !
बल्लीहरुको दरबाजामा,
फूल छन् पहरा लाखाँ !

ख.

शीतलताको दरवार बनाई
वन–रानी,
वायु–पङ्खी अख–परीसँग,
सुन्छिन्,
सुन्दर बादल–कहानी !

ग.

वृन्दावनका मुरली सम्झी
दल नाच्छन् !
महेश खोलो, पाषाण तरङ्गी
ओर्लिरहन्छ, ओर्लिरहन्छ,
त्रिशूली, त्रिशूली बोलिरहन्छ, कुर्लिरहन्छ,
भेट्न सधैंभर, नअघाई,
उर्लिरहन्छ, उर्लिरहन्छ !
अगणित भेट र अविरल ध्वनिहरु,
प्यारका जोडी, युगयुग, तटमा,
साँच्छन् !

घ.

पर छन् ईँट, पर छन् चून !
बोधा, अन्धा !
रानीवन छन् अविकृत युगकी
मिरमिर कहानी सानी–
जसकी दिदी हुन् वृन्दा !

ङ.

होला कोही मिरमिर कहानी–
कसरी कुनै दिन क्वै नानी,
यस वनकी फूल, उटज फुलेकी,
भइन् जगतेकी रानी !

च.

यिनका दिल छन् ढुक्कुर, ढुक्कुर !
यिनका बोली, जुरेली !
भरखर बोली एक हाँगामा
एउटी प्यार–सुरीली !

छ.

यस खोलाका लहराभित्र
लाग्छन् चिचिल्ला मन–रसका !
प्रकृतिरानीको राज्य पवित्र !
शहर–उपल्ला यी स्तरमा छन्
चोखा कुसुमहरु दिल–खुशका !
झुठा हाम्रा व्यापारहरुकन
छन् झल्का !

ज.

ए खोला ! दे करले लेखी
सुन्दर एक शिलापत्र !
एक बटुवाको नागरिकताको
इच्छा एक विचित्र

Shreeshisha Rai – Achanak

घूनहरुको अधिनस्थ हुन्छ मकैवारी,
हूरिको वेगमा फूत्किन्छन् छानाहरु,
दौरा काटिन्छ मूसाको प्रत्येक चिच्याहटमा ।
त्यसपछि हुनहुनाउँदै बग्न थाल्छन् खोलाहरु-
भल बोकेर पाखोभरि प्यास र डोकोभरि सपनाहरुको

चाहको घूम्तीमा टेकेको तोक्मा,
तोक्माले थेगेको जिन्दगी जस्तो भारी,
भारीलाई मायालूको चोट सम्झेर खेपेको धनमान
स्मृतिमा रुझ्दै
विहान र बेलूकीको हूरि जस्तै
हात र मूख जोरिन नसकेको
छोरा छोरीका आँखाको रंग हुँदै बग्छन् ।
सँधै किनारा खोज्ने खुशीहरु
बियोगान्त प्रेमकथाको अस्पष्ट शीर्षक बनेर
अक्करे भिरको पाउमा थुप्रिएर
अन्त्य हुन्छन् ।

कुनैवेला निधारमा खोपेको
वाग्मति खोला र पूलको तस्विर
आज आफ्नै शवयात्राको अघि लाग्छ ।
अनिष्टको संकेत स्वरुप आस्था रित्तिन्छ पाईखाना जस्तै
अचानक कोलाज हराउँछ जिजिविषाको ।

Laxmi Prasad Devkota – Chara Ko Bhajan

क.

पङ्खमा फ्यार फ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा
बिउँझी चलेका पन्छी हामी हरहर बतासमा !
चुँचुँको स्पन्दन, चींचींको क्रन्दन हर्ष र अतासमा
यो वायुमण्डल गिरीको अर्को चढ्दछौं विश्वासमा
उज्यालो लेकको सुनौला मन्दिर भज्दछौ उच्छ्वासमा,
उक्लन्छौं कहिले, लच्कन्छौं कहिले पङ्खका प्रयासमा,
गलाको शङ्ख चामेर पङ्ख ज्योतिको उकासमा ।

ख.

सुन ए पन्छी ! नकराऊ चींचीं
आशाले उक्ल पङ्खलाई सींची,
बोल सधैं रे आशाका चूँचूँ,
ज्याति नभेटे राख रे छूँछूँ,
शिवजीले पिए गरलको भय,
संसार–मन्थनमा अँध्यारा गए,
कृष्णले अमृत–चुलीलाई दुहे,
चार दिशा नुहाई उज्याला भए,
सत्ययुगका कथा ऋषिले कहे,
यस्तो छ हुँदो, यस्तै छ हुने,
रात यौटा पिउँछ, प्रातः यौटा दुहुने
आजको बिहान उड्नु छ हाम्लाई उडानको विश्वासमा
शून्यको छाती चिरेर होहो ! ज्योतिको निकासमा
पङ्खमा फ्यारफ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा
बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ।

ग.

बचेरालाई पङखको पत्यार
दिलाउन उठ्छौं पूर्वको उत्तर,
चुलीका भज्दै फिलिङ्गा सुन्दर,
संसारभन्दा माथिका मन्दिर, यस दिनका आकाशमा,
स्वर्ग र धरा गानाले डोर्न,
स्वर्गको आगो जातिलाई चोर्न
उडानको सीमा हिजोका फार्न बिउँझाउँदो बतासमा,
“कनिको भन्दा उपरको धावा
क्या मीठो हुन्छ,” भनेर “बाबा ।”
वेद पुराणहरुका दावा राख्नलाई विश्वासमा,
पङ्खको फरफर पङ्खलाई तान्छ,
उमार्ने पङ्ख ज्योतिको थान छ,
धर्मको यात्रामा मर्मको कान छ,
विजयैभित्र विजयको शान छ, फर्कन्नौं हताशमा ।
बादल च्यारच्यार, शून्यलाई घ्यारघ्यार उडानको मिठासमा,
कलाका वारी चुलबुली चाली ज्योतिको आभासमा,
फरफर फुँफुँ ज्योतिको बन्धन हृदय–आकाशमा,
कृष्णझैं हुँहुँ शङ्करझै पिऊँ पिऊँ गरल विनाशमा !
पिलाऊँ पहिलो कृष्णको सिर्को हिउँको प्रकाशमा,
उडानको ध्येय उडानै भनी उँचाइको उल्लासमा,
पङ्खमा फ्यारफ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा
बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ।

Bikram Subba – Shir

अति प्रज्वलनशील
विचारहरूको प्याकेटजस्तो लागे पनि
काटिएका शिरहरू बिनागिँड दैडिरहेछन्
बुझिनसक्नुको मगज
चुपचाप कतै षडयन्त्रमा व्यस्त छ
जोर-टोडका भित्रबाट दु:खिया संसार हेर्दै
बसेकाछन् निसन्तान भाले-पोथी आँखाहरू ।

वताससँगै मिस्सिएर विरक्तलाग्दा सम्चार
फुर्लुङे-कानमा ठोक्किँदै भित्र पस्छन्
र मुटु फुटेर आमाको आँखाबाटै पहिरो झर्छन्
बहु-स्वाद फड्फडाउँने पुर्ख्यौली जिव्रो
दर्दनाक कथा वाचन गरेर थाकिसक्यो
अचेल ऊ, लाटो मृत्युको मुहानजस्तो अनुष्ठानबाट
ताजा रगतको पञ्चामृत चाट्न स्रापित छ
हाँसि नअघाउँने दन्त, ओँठ र स्वाशप्रस्वाशहरु
शिरकै भू-आकृतिमा
रैथाने आदिवासी र वातावरण हुन्
जसलाई रातभरि सकेट बमको त्रासमा कुहाएर
दिनभरि सुरक्षा-फौजको
असुरक्षित घाममा सुकाइन्छन्

शिर, सिंगो शरिरको नेता हो
जो सृष्टीमा सबैभन्दा पहिले टुसायो
र सबै मारिसकेपछि मात्र हार्नेछ यो शिर !
हाल यो शिर
हरेक युद्धभूमिदेखि विद्रोहका च्यासल चोकसम्म
देशको शिर उचो बनाउँने विशिष्ट संघर्षमा सामेल छ
जिउँदो-जाग्दो शिर मात्र सदा उचो रहन्छ
आफ्नै देशको शिरभन्दा उचो शिर
संसारमा कुनै शिर हुँदैन ।

Bhimnidhi Tiwari – Kamyo Lug Lug Tyo

मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने
भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने,
धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा,
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै,
खुट्टाका अउँलाहरु, नङहरु नीला भएका सबै,
पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि
कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी,
काखीभित्र घुसारी हा ! कर दुबै छोपेर ‘स्यूः स्यूः’ गरी
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्,
आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्;
निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै
काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को !!!