Laxmi Prasad Devkota – Gaunthali Ra Devkota

क.
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

ख.
यस घाटमा क्या बाघ र पाठो पानी पिउँछ !
प्रकृति बसेर, दुइटैको दिल,
एक धागोमा सिउँछ, सिउँछ !
त्यो तर्सिन्न, म शङ्किन !
मध्यरातमा एक कोठामा
दुइटै जीवको जाग्ने निहुँ छ
तलतिर लागे यस संसारमा
आगो, आगो,
मास्तिर ज्यादा लागेदेखिन्
यशको चिसो हिउँ छ, हिउँ छ !
बीच बासो,
फ्यारफ्यार मध्यम,
रसले जिउँछ, रसले जिउँछ !

ग.
बिजुलीको तार लामो, मसिनो,
तानिएको हेर ! यहाँ छ !
तरङ्ग, लहर क्यै त्यसमा जिउँछ !
त्यसमा गौंथली रातमा रुँग्छ,
कविको मन पनि त्यस्तै उँग्छ !
स्वर्गले रोई हेरिरहेको
भिजेकी पृथिवी मनले सुँघ्छ !
दिनभर, दिनभर,
दिलले, साधन त्यस्तै हिलोमा
प्यारका एउटा महल बनाउन,
ठुँग्छ, ठुँग्छ !
सूनसानमा निशिको, सुत्दा
सारा संसार, जागी, जागी,
कल्पनाको आँखा उँग्छ !

घ.
सुहृद्मधु छन्, कविता, पोथी,
सँगकी ज्योति !
यस जगत्मा खँदिलो बासो
निम्ति, उनको ‘चिउँ’ छ ! ‘पिउँ’ छ !
मधुमास बिताउन नेपाल छान्यौं,
विवाहपछाडि,
स्वस्थ र अग्लो ठाउँ जुन छ ।
गौंथली र देवकोटाको
अध्यात्म मितेरी चुपचाप रुन्छ !
सृष्टिको हाम्रो पीडा देखी,
करुणादृग झैं तारामय नभ,
करयाइँबाट झ्यालमा चिहाई,
एक तारमा गुड्छ गुड्छ !
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

ङ.
वसन्त पछाडि लागी आयौं !
स्वपनाको फुल बिपना हुन्छ !
गौरी–शङ्कर गाना गायौं —
प्रकृति पुरुषको जुहारी परस्पर,
गाना जुन छ !
त्यो चुच्चाको, यस रसनाको,
गाउँदो रचना हाम्रो घर हो !
युगका बच्चा आँखा उघार्लान्,
हेर्दै पर हो !
दिनभर, दिनभर,
जगत्ले कुल्ची हिंड्ने हिलोमा,
हाम्रो नजर छ
त्यही हो हाम्रो घरको साधन !
यस्तो ईँट र यस्तो माटो, नेपालभर छ !
पृथिवीभर छ !
दिनभर, दिनभर, फ्यारफ्यार, भुर्भुर,
माटोको गन्ध नाकले सुँघ्छ !
स्वर्ग रोई, गीला, बनेका हिला चुचाले
उचाल्न खोजी ठुँग्छ, ठुँग्छ
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

च.
बच्चा काढी यस गुँडमा जब
तिनको पखेटा उम्रन्छ !
वनमा लगीकन तिनलाई उडाउन,
हाम्रो मीठो मनसूब छ !
त्यसपछि प्यारा, प्यारी हामी
कविकविताको गौंथली जोडी
उड्छ, उड्छ !
सागर–किनार पुग्छौं, फ्यारफ्यार
एक बार फर्की,
आँसुले हेर्न,
मानिसहरुको जङ्गल जुन छ !
डुब्छौं, दम्पति सागरमा तब,
सुखमा हाम्रो आत्मा बुड्छ !
प्रसव–वेदनाको यो सदनको
पीडा उड्छ !
गौंथली र देवकोटाको,
एउटै गुँड छ ! एउटै गुण छ !

Krishna Bahadur Chhetri – Drishya Pariwartan Ko Chahana Ma

देखें त्यहां एउटा लामो धर्को
बर्को ओढ्नेहरुको लर्को
मलाई लाग्यो उनीलाई नदेख्दा झर्को
मैले हेर्न चाहें दृश्य अर्को

माघको महिना मध्यतिर
तुषारोको छ चीसो ज्यास्ती
कंमाउंदै छ मुटु लग्लग् बिहानको जाडो
पर्खिरहेछु म उनीलाई मानेर यही मस्ती

बाटुलो मुख जूनको रुप
मुस्कान अदभूत लिई आएको देखिन
दिन-रात सधै मनले पुज्ने
ती बाहेक अर्की संसारमै भेटिन

Bimal Nibha – Television

एक थान आयातित बाकस
जसभित्र बन्द छ
इलेक्ट्रोनिक सपनाहरुको
अन्तहीन सिलसिला
रिमोट कन्ट्रोलको बटम थिच्नोस्
तुरुन्तै हाजिर
सेक्सी एल्बमकी पपस्टार मेडोना
अथवा इजरायलको फाइटर विमानचालक
अथवा जापानी सुमोको बृहदाकार च्याम्पियन
अथवा अस्ट्रेलियाको अद्भूत कङ्गारु
अथवा रुसी सर्कसको विशिष्ट विदूषक
अथवा हाम्रै प्रधानमन्त्रीज्यू
छिमेकी भारतीय सिनेमाको गीत–सङ्गीतले
गुञ्जायमान हुन थाल्छ
मेरो कोठाको सङ्क्षिप्त आयतन
अब प्रस्तुत छ
च्यानल टूको राष्ट्रिय कार्यक्रममा
प्रजातान्त्रिक समाजवादको रङ्गीन सिरियल
प्रायोजक मल्टिनेसनल साहूकारहरु
शहरको तापक्रम छ
४९ डिग्री सेल्सियस
अन्तर्राष्ट्रिय न्युजरिलमा देखापर्छ
नियमित रुपमा
मिस्टर क्लिन्टनको क्लिनसेभ्ड अनुहार
जो भरखरै फर्केका छन्
अफ्रिकी देशहरुको भ्रमणबाट
ताजा लासहरु गणना गरेर
जिउँदाहरुलाई डलरको देशबाट सन्देश
गरीब देशका बासिन्दाहरु
कोकाकोला खाऊ
बर्मिङ्घम प्यालेस कस्तो देखिन्छ
युरोपियनहरु डिनरमा के–के खान्छन्
यो हो रेसिङ कारको नयाँ जर्मन मोडल
बोरिस येल्तसिनको स्वास्थ्यमा सुधार
कस्तो योजना छ वल्र्ड ब्याङ्कको गभर्नरको
क्रिश्चियन डेमोक्रेट पार्टीको चुनावी घोषणापत्र
आभिजात्य गोरा महिलाहरु किन कुकुर पाल्छन्
फुर्सदमा के गर्छन् भ्याटिकन सिटीका पोप जोन पल
सबै केही क्षणमा थाहा हुन्छ
पश्चिमा संचार व्यवस्थाले
हाम्रो ज्ञान वृद्धि गरेको छ
टेलिभिजनको दिशातर्फ स्थिर छ
आज सारा संसारको दृष्टि
मेरो देश पनि उतैतिर टोलाइरहेछ एकनासले
खुसी मनाउनोस् नेपाली दाजुभाइहरु
स्क्रिनमा मुस्कुराउँदै छे
१९९३ की विश्वसुन्दरी
कम्मर २२ र छाती ३६ इन्च
(२०५०)

Nira Sharma – Anurodh

आफ्नो वल्लो आँगनबाट
पल्लो आँगन चहारे झैँ
मधेस झर्न सक्दिनँ म
अचेल।
एउटै घर एउटै छानो
तर सोच फरक छ
अचेल।

सोचहरूलाई पर्खाल बनाएर
खै किन कोरिँदैछन् यी सीमारेखाहरू
सिङ्गो एउटा नेपाल नबनेर
किन भाचिँदैछन् आफ्नै भूगोलहरू
विस्मृतिका गर्भमा विलिन
नाता साइनो र आत्मियतासँगै
किन हराएका छन् अस्तित्वहरू?

पहिले पहिले मधेस जल्दा
कति सजिलै पग्लन्थ्यो पहाड
र निभाउँथ्यो आगो हिउँ बनेर
जुर्मुराउँथ्यो एकता एक ढिक्का भएर―
तर आज…..
ज्वालासँगै दन्केको छ मधेस
ह्वार्ह्वार्ती सल्केको छ।
सम्झौता र सहमतिमा मिल्ने हातहरू
भाँचिएका छन्,
काटिएका छन्
पहाड र मधेसका सेतुहरू
लत्रेका छन्,
भत्केका छन् ।

सयौँ वसन्त पार गरेकी मेरी आमा
नाति भेट्ने रहर पोको पारेर
पहाडबाट जब झर्छिन् मधेस,
डराई डराई पाइलाहरु कँपाउँदै
भन्छिन् तराईका सपुतहरूसँग
“बाबु ,मलाई मेरो नाति भेट्नुछ
नखेद,
मेरो बाटो नछेक
मलाई जान देऊ
न मधेसी,न पहाडी
मात्र एउटा नेपाली नाति भेट्न देऊ
मलाई जान देऊ।”

Laxmi Prasad Devkota – Kina Muskaan

क.
किन ? वयसी ! भन
यस जनपथमा,
चोछर्यौ, चिनेझैं, मृदु मुसकान ?

ख.
पल्लव अधर सरस लम्याउँछ, कुन स्वपनाको मधुर उडान ?
दिनको मुटु पनि डुब्दछ जलमा,
प्यार गरेझैं हिम–चूलीसँग,
सुम्पी, जलेको प्राण !
मेरो पनि यो जगयात्रामा नहोस् रुधिरको प्रस्थान !

ग.
के यो पोथी–पयोधि चलीकन छाल छचल्की धुँदो छ किनार ?
—त्यस्तो जमीनको, जसमा वैरी,
आकाश चढीकन, सृजन ागर्ने
उसका मनका सपना–धार ?
आदिम तृषा हो यर रसनिधिको यो !
सूनसान नै आवाद गरीकन,
बिजुली मुस्की,
चम्किनु, वर्षिनु !—
हुन संसार !
भन वयसी ! ए अधजान !
किन यो तिम्रो मुसकान ?

घ.
यो चाँदीको पत्रमा अक्षर काटी दिएको निम्ता हो ?
बिलकुल स्वाभाविक !
बिलकुल स्वाभाविक !
फुलको प्रकृति, अलिको इशारा !
पाप होइन यो !
शर्मिन्छयौ किन ? गाढा लालीद्धारा !

ङ.
प्रथम प्रयोग यो होला तिम्रो,
पोथी शक्तिको आत्मपरीक्षा !
के तन्त्रीको प्रथम लचक हो ?
उषा मुसकान ?
कोपिलाको प्रस्फुटन हो ?
पहिलो आफ्नो पहिचान ?
निसर्ग बुद्धि बोल्छे, ठीक हो !
दुई नभै यो पथ चल्दैन !
चार नभै यो दीप जल्दैन !
वीणा होऊ तिमी, तारहरुकी ?
खोनिरहिछौ झन्कार ?

च.
प्यार भनेको पूmल–काँटा हो !
तीखो, सुन्दर !
तर माटोमा रोपिनुपर्दछ,
जलले यसकन सिंचनुपर्दछ !
सुस्केराका श्वासहरुले
हम्की हरहर !
स्वर्गको बीउ हो पृथ्वी अन्दर !
रोप्न छ आनन्द, बचाउन गाह्रो !
एक तपस्या साह्रो !
पाइसकेको छु ज्ञान !
तर छौ तिमी अधजान !

छ.
सुन्दरले यो गर्दछ आह्वान !
कानेखुशी गर्छन् प्राण !
“हाम्रो धम्र्म हो त्यसमा बलिदान !
त्यसमा बलिदान !”
पुरुष प्रकृतिका हामी मिलन हुँ,
एकमा आर्को स्वपना–ज्यान !
शक्ति तिमी होऊ, प्रयोग प्रथमले
नापिरहिछयौ आकर्षण,
मेरो अनुसरण, अडान !

ज.
एक जनाना, एक मर्दाता,
नाचिरहन्छन् वृन्दावनमा !
जीवन भनेको ती दुईको हो
स्पन्द परस्पर मन, मनमा !
हाम्रो चिर हो पहिचान !
सम्झन, हामी नाचिरहेथ्यौं आदिम कोही पूmलवनमा !
याद छ मुरलीगान ?
तिम्रो शरीरको पछि लाग्दिन !
पुज्दछु आत्मा महान् ! जसले दियो यो याद पुराण !
खोज मलाई युवकमा कोही, प्रत्युत्तर त्यसद्धारा दान !
अहो ! भइछौ अन्तध्र्यान !
अल्पिसक्यौ ए मुसकान ?

Bhupi Sherchan – Bhairahawa

टाढा-टाढासम्म
जता हेर्यो उतै मैलो, फुस्रो धरती
उजाड, उदाङ्ग
आदिदेखि अन्तसम्म एकनास
न कतै गर्वले उठेको छ
न कतै विनम्रताले झिकेको छ
न कतै उन्मुक्त मनले खुलेको छ
न कतै जलाउँदै लुकेको छ
नखदेखि शिखसम्म
वक्ष, नितम्ब केही पनि विकसित नभएको
बाँझी तरूनीको आङजस्तो सपाट,
मुश्किलले तीस-चालिस
घरजस्ता घर
बाँकी कुभिन्डोका गाँड निस्केका
कुप्रा झुप्राहरू, डन्डीफोर झैं
यताउता जथाभावी बेढङ्ग उठेका,
मानिस
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका
यहाँ मानिसहरू कानेखुसी गर्छन्
नोट गनेको कागजे आवाजमा
पुरानो मोहर बजाएको आवाजमा
यहाँ मानिस हाँस्तछन्
यहाँ घाम उदाउँछ
पसलहरूका ढिकभित्रबाट
र बहीखाताका जिल्ला अझै राता हुन्छन्
यहाँ घाम डुब्छ कन्तुरमा
र बहीखाताका पाताहरू पहेलिन्छन्
सन्ध्याकालीन क्षितिज झैं
टाढा-टाढा देखिन्छन्
बुटवलका डाँडाहरू केर-मेर केर-मेर
बहीखाताको सिरानीमा ?शुभलाभ? लेखिए झैं
यो ठाउँ
एउटा यस्तो घरमा बसेजस्तो
जहाँ न त भित्ता छन्
न खापा
न आँखा राख्ने झ्याल छ
न ह्रदय सजाउने गमला
न हाँसो उमार्ने बारी छ
न कतै मनोहर द्रश्य देखिन्छ
सुनिन्छ त फगत
ब्रोङ्काइटिस भएका ट्रकहरूको खोकी,
बस्ने उमेर भएका बसहरूको घ्यार्र घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली ?’अच्छा यार’
र देखिन्छ केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्! यो पट्याइलाग्दो ठाउँ
यो अत्यासलाग्दो ठाउँ,
जता हेर्यो उतै फुङ्ग उडेको
फुस्रो, न्यास्रो
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको-‘भै’
तावाको छुटेर जलेको रोटीको ?’र’
गालीजस्तो नरमाइलो तातो
हावाको-‘हवा’।

Krishna Bahadur Chhetri – Aatma Katha

जीवन-खेल मैदानको
म एउटा सहभागी
चढ्दैछ नशा ममा खेलको
विविधतामय यो जीन्दगी

कैले फुट्ला जस्तो हुन्छ टाउको
कैले चर्केला जस्तो हुन्छ छाती
देख्न्नु के छ ? रुने र हांस्नेको झगडा
लाग्न थाल्छ कलिलो मगजमा Continue reading “Krishna Bahadur Chhetri – Aatma Katha”

Bhupi Sherchan – Asar

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर

प्रत्येक वर्ष
दशैंमा घर फर्कने लाहुरेझैं
ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झुम्दै
नाच्दै गाउँदै
बोटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउदै
हतार-हतार
चुहाउँदै पसिनाका धार
प्रत्येक वर्ष आउँछ असार।

Abhi Subedi – Maya Ko Dhisko

धेरै बगेपछि
आँशु जस्तो पानी
सुकेर गए पनि
आकाशमा कटक्क माया लाग्ने
ढिस्को बनाएर जाँदो रहेछ ।

Laxmi Prasad Devkota – Sankalpa Hamro Falos

लक्ष्मी प्रसाद देवकोटा – संकल्प हाम्रो फलोस

संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ,
लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ,
आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,
भावै मात्र फिंजे तथापि ‘सबको सङ्कल्प हाम्रो फलोस्’ ।

Nawaraj Subba – Ma Naharayeko Suchana

कसैलाई कहीँ पर्खाएर
म यहाँ यसै अल्मलिइरहेछु
वाध्यताको झरीमा रुझिरहेछु
खुट्टा थाकेका छैनन्
ईच्छा मरेका छैनन्
यात्रा टुङ्गेको छैन
कुहिरो नहटुन्जेल
आफैमा ओत लागेको छु
सम्झ झाडी पन्छाउदैछु
गोरेटो Continue reading “Nawaraj Subba – Ma Naharayeko Suchana”

Bikram Subba – Pathak

म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आँखा
जहाँबाट हरदम वर्षने करूणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातिमा आमाले रोपेको
मुलुक माया गर्ने ढुकढुकीको विरुवा हुर्कन सक्दैन
शायद, ऊ नै दरिद्र नागरिक हो ।

मैले पढेको दोस्रो पाठ
लटरम्मै स्नेहील चुम्बन फल्ने
आमाका एक जोर ओँठहरू
जहाँ फलेका फल खाएपछि
करोड दु:खहरू त्यसै निस्तेज हुन्थे
लाग्छ, आमाको चुम्बन
सबैभन्दा पोषिलो आहारा हो
जसलाई अघाउँने गरी आमाले चुमेको हुन्न
शायद, ऊ नै सबेभन्दा कुपोषित बालक हो ।

मैले पढेको तेस्रो पाठ
दूधले भरिएका आमाका स्तनहरू
जसले मभित्र सिंचित गरे –
कञ्चन हिमाली जल र मधेसको तातो जाउलो
पहाडी जडीबुटीका सुगन्ध र कन्दमूलको स्वाद
आमाको दुधले लिखित नोटेशनबाट
अनि, मेची र कर्णालीका लयदार लोरीका धूनहरू
र त मेरा हरेक अंगअंग पुलकित देखिन्छन्
लाग्छ, जसको नसामा आफ्नो देशको हाव-पानी दौडँदैन
शायद, ऊ नै सबैभन्दा रोगी मानिस हो ।

चौथो पाठमा मैले
कञ्चनजङघा, सगरमाथा र माछापुछ्रेझैँ फैलिएका
आमाका हातहरू छातीमै टाँसेर पढेँ
जुन हातहरूले मलाई अँगालो हाल्दा
आफुलाई सबैभन्दा सुरक्षित पाउँथेँ
जुन हातका औँलाहरू समातेर हिँड्दा
मुलुकको महान यात्रामा हिँडेजस्तो लाग्थ्यो
आमाका भरोसायुक्त हातहरू मार्फत
मभित्र प्रवेशित उर्जाकै धूप जलाएर
मैले सबैभन्दा महान पूजा गर्न सिकेँ
लाग्छ, सबैभन्दा ठूलो देवीका रुपमा
आफ्नो मुलुकको मानचित्रलाई
छातीभित्रको मन्दिरमा जसले सजाउँन सक्दैन
शायद, ऊ नै सबैभन्दा पाखण्डी सन्तान हो ।

मुटुमा छल्किँदो रक्तिम ममता
अनि स्नेहको अन्तिम थोपा पनि यहीँ छोडेर
आज चुँडियो आमाको पवित्र रेशमी स्वास
र यत्ति बेला नेपालको लाम्चे-आकृतिजस्तै
लम्पसार आमाको पार्थिव शरीरलाई
महान सूत्रझैँ पढिरहेछु
बिजुली चम्केझैँ क्षणभरमा
टुहुरा हुँदाको विरक्तिलो ज्ञान हासिल भयो
भद्र-भलाद्मी र मलामीहरू उपस्थित
यो दीक्षान्त समारोहजस्तो मातृ-मृत्यु उत्सवमा
दुनियामा बाँच्न योग्य भएको प्रमाण-पत्र
सेतो टोपी, खौरेको शिरमा थापिरहेछु
लाग्छ मानिस टुहुरो नहुञ्जेल
समाज र देशलाई माया गर्न असमर्थ हुन्छ
शायद, रुँदै आमाको लासमा
दागबत्ति दिने क्षणबाट नगुज्रेको मानिस
हरफ-हरफमा आमा र मुलुक मिस्सिएको
एक महान गीत गाउँन पनि असमर्थ हुन्छ ।

Laxmi Prasad Devkota – Ek Bihana

क.
उषा चढिन् रे सल्लो !
स्वर्ग भयो आकाश उपल्लो !
त्यसको मछाया,
ताल धरामा, तल्लो !
सुन्दरताले झस्केको, वायुमण्डल
हाल्यो !
प्रतिस्पर्शले क्या बादल बल्लीे ,
फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो !

ख. Continue reading “Laxmi Prasad Devkota – Ek Bihana”

Sarubhakta – Darun Nadi Ra Himal

साइवरपीडाः तारकयुद्ध सञ्जालहरु
जिन्दगीका मिथकयात्राभरि छन्
खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ
र आनिकहरु ?
अफिमखेतीः च्वेस्याङ र फाहियानहरु
श्रापित विरुपाक्ष भूमितिर
आजभोलि वाढीग्रस्त छन्
मितेरी साँधुहरु
ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर ?
आजभोलि हामी हिँसाहरुको उपासनामा व्यस्त छौं
फरार मानवता – पतझडका वैसहरु बोकेर
वख्तरवन्द प्रजातिः खिया लागेका न्यूरोनहरु संरचना गर्छन्
मानव वंशवृक्षमा अद्यावधि जीवित छन्
महान कपिश्वरहरु
नेपोला निपार निपर नेपाल
भूपरिवेष्टित आँसुका सरोवरहरु
जहाँवाट बग्छन् दारुण नदीका
महापीडाहरु
साँग्रिला सम्वोधिः फालाफाल रुप्सेहरु
खोई कहाँ छन् साँढेम्यागुताका
आतङ्कहरु ?
शङ्कास्पद नेपालीहरु शङ्कास्पद नेपालीहरुको खोजीमा छन् …
कस्ले बुझ्नसक्छ, संसारको सवैभन्दा शक्तिशाली भूँडीवम
यहाँ उहिल्यैदेखि विस्फोटित छ !
उः ! हाम्रा हिमालहरु कति आग्ला छन्
हामी किन यति होंचा छौं !

Gopal Prasad Rimal – Gopal Prasad Rimal Le Boliraheko Khas Kura

हाम्रो छाती कत्रो ? हिमालजत्रो
हाम्रो बारीको नाउँ के ? नेपाल
हाम्रो गाउँको नाउँ के ? नयाँ नेपाल
त्यसको सेरोफेरो कति ? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि
हाम्रो देशको नाउँ के ? खसमीर, खुशी, खसियाशैल ।
हाम्रो उचाइ कत्ति ? नोर्के थुम्कोजति ।
हाम्रो आदर्श के ? गोरखा—
तर गाई र ब्रह्माले जस्तै ढाँट नबोलेर
बलभद्रले जस्तै साँचो बोलेर ।
हाम्रो जुक्ति के ? सकेसम्म छलफल
अनि छल
दामोदरको, भीमसेनको, जङ्गबहादुर खसको जस्तो ।
हाम्रो धर्म के ? लडाइँ—
पृथ्वीनारायण शाहको जस्तो
बहादुर शाहको जस्तो
रणबहादुर शाहको जस्तो ।
हाम्रो कला कस्तो ? अर्निकोको जस्तो
हाम्रो कैदी कस्तो ? भगवान् अरविन्दजस्तो
हाम्रो मुक्ति कस्तो ? त्रिभुवनजस्तो ।

Sarubhakta – Akalpaniya Desh Ko Yatra

‘के इतिहास
चक्रीय सिद्धान्तनिष्ठ छ ?’
पुनरावृत्तिमा लिगलिगकोटे युगहरु
प्रतिश्पर्धा दौडमा छन्
छुमन्तर ! गोर्खाली जिनका रसायनिक भाषाहरु
खोई हुस्सुले छेकेको घाम
कहाँ ‘ब्रेनड्रेन’ भई हिडेको छ ?
युग वदलियोः हामी एक अकल्पनीय
देशको यात्रमा छौं
कायरहरु धेरैपल्ट मर्छन् हामी बहादुरहरु
एक एकपल्ट मर्दैछौं – ‘ भटटटटटट ….’
को मूर्ख ? वर पाउने भष्मासुर कि
वरदिने महादेव ?
गुहेकीरालाई गुहेकीरा के भन्नु
ती स्वर्गीय नर्कका वासिन्दा हुन्
युगीन आवश्यकताः आजभोलि घाँटीमा क्रश
टाँगिन्छन्, क्रशमा यशूहरु टाँगिदैनन्
नाथुरामहरु कहिल्यै गान्धी बन्दैनन्
गान्धीहरु भकाभक नाथुराम बन्दैछन्
ए ! देशमा सवै बहुलाएको वेला
त्यो मान्छे किन सद्दे कुरा गरिहिड्छ
वेफ्वाँकमा ?
हिउँदेयाम
आउ मौकाको घाम तापौं
अनि कत्लापरेका फोहोरहरु सुकाऔं !

Sarubhakta – Asthi Pahad Ra Gilo Brihaspati

गुर्खा न्यूरोनः साइवर स्वस्थानी जात्राहरु
पञ्चवलिका वाजाहरु बजेका छन्
रिकुटेजात्रा – खोइ कहाँ हराए खलङ्गाका
श्वाभिमानहरु ?
मुखुण्डोहरुको जुलुस
अस्थि–पहाडमाथि उभिएर
चेसवोर्डका गोटीहरु चलेका छन्
ए, Continue reading “Sarubhakta – Asthi Pahad Ra Gilo Brihaspati”

Laxmi Prasad Devkota – Bhoot Lai Jhataro

प्रकृतिले जब व्यङ्ग्य रेखिन्
चेहरा तिनका बने
नेपालीको भान लेखिन्
बान् भो हाम्रो भने ।

सब गधाले खुशले ऐंके
भ्यागुताले गाए कें कें
भो भुजङ्गजाति प्रसन्न
मातृभूका पुष्प रोए
धन्य तिनको जन्म धन्य

(हुन त केवल शुक्र-कीरा!)
ज्योतिषीले नाम राख्यो
कोहेनूर! वाह! विश्वहीरा!
नामजस्तो व्यङ्ग्य के छ ?
मणिधर भन्छन् सर्प जो छ
नेपाली रे देश-धमिरा
अङ्ग नै मानिन्छ राम राम
सब खटिरा

व्याकरण मिल्दैन सड्छ
माफ गर्नोस् !
हँस्सी मात्रै लेखिरैछु
आँसु झार्नोस् !
पातालपुरीको गद्य भो
अङ्ग्रेजीको उल्था जस्तो !
हिन्दी वा नेपाली यो !
तैपनि के दालरोटी-
निम्ति कलम नरेटूँ यो ?

गधाका बच्चा हुन्छन् पाजी
भ्यागुताका के हुन् काजी ?
खूब पढाउँथे ती गुरु !
(गुणशील गुरुका पुच्छर थिए
लौरो सीङ?) भो है कथाको
होस् न छिटै पो शुरु !

“ए गधा हो! ‘फ्रग’को माने भ्यागुतो ।
“फ्रगको माने भ्यागुतो ।
फ्रगको माने भ्यागुतो ।”
“के रे? के रे? के रे? के रे?”
“भ्यागुतो
भ्या! भ्या-गु-तो।”

एकादशीको दिन थियो
पशुपति ल्याएछ कालले
एक दिन निज धर्म्ममा
मरन्च्याँसे अक्षता-आशे!
मालिक सम्शेर कोही सम्झे
वेकुण्ठ सुख-टर्ममा
चाकरीका निम्ति आए-
शिवको अनि शेरको औ खीरको

धर्म्मराही धर्मराई
भस्मेश्वरका पासमा
चिता सुँघेछन् आफ्नो है
ढल्को तनको भासमा ।
“हे ठिटा हो!” बोल्न थाले
“भातृभाषा मर्दछिन्
नेपाली बाँच्दैन कहिल्यै
हिन्दीले राज गर्दछिन्।”

मानिस मर्ला भन्ने डर पो
आत्मा भरी छारो चल्यो
वेद तत्पर डग्मगाए
गीता जल्यो गीता जल्यो ।

बोल्न एउटा लाज हो जब
मानिस भैकन साँप स्याँक! स्याँक!
भ्यागुतो क्याँक! क्याँक!
लगुड हाम्रो भै सजीव
बोल्छ हातमा-
‘टाउको टयाक! टयाक!’
(माफ गर्नोस् तीतो लागे!)
सग्लै छन् ती मन्त्र बोलूँ
‘फर्सी फ्याक! फ्याक!’

बाँसमाथि राख नरिवल
काक झुत्रो एक बनाऊ
तीतेपातीले सजाऊ
स्मारक एउटा महापुरुषको
मलको ढिस्कोमा बनाऊ!

मुर्दा बोल्थ्यो नेपालीमा
छक पर्यौं ।
क्या गह्नायो मुखको गन्ध ।
थुक गर्यौ।

सिलटिम्मुर बरफसाथ
ल्याऊ पहेंला चाँवल,
श्याम भाग्छन् रात भरभर
यस्ता मीठा पागल!

हीहीहह हीहीहह
बोल्यो गधा!
छेपाराले मुत्दछन् रे
यस्ता बुज्रुगका चिहानमा
सर्वदा!

खूब झरीमा एक कुकुर
स्याउँ स्याउँ कीरा
सड्थ्यो लाचार! नाम सोधेँ
रै हीरा।
झन्डै झन्डै मै मरेथें
त्यो गह्नाई
बान्ता आई!
तिम्रो बुद्धि! गिद्धलोचन!
यस्तै लाग्यो है मलाई!

Krishna Prasai – Gham Sanga

कसरी गर्नु युद्ध घामसँग
प्रकाण्ड ताप,
सहश्र शक्तिका,
अजश्र ओज,

अविरल आगोसँगै
अनन्त योजन अग्लाइको,
अग्नि पिण्ड जो छ
सधै तातो भएर बलिरहेछ
माफ पाऊँ
मैले अंश खोजिरहेकै थिइन घामसँग,
करोडौ अंशियारको
बराबर अंश भएर,
छरिएर,
बाडिएर,
मेरो टाउकोमा
अझै आगो लादिरहेछ ,

घाम स्वयं,
मसंग युर्द्धगर्न खाज्दैछ ।
म भागिरहेछु
रापको आतंक झेलेर
ओत खाज्न हिडिरहेछु
कुइनेटाहरु
गुफाहरु
अलिकति जोगाउनु छ,
छाँद हालेर ।
मात्र बस्ने बासको,
मात्र छेलिने छानाको
खोजिमा छु ।

सेप खोज्दै
ताप भन्दा पर कुदिरहेछु ।
यद्यपि पछयाइरहेछ ऊ
पोलिरहेछ ऊ,
युद्ध गर्ने सहास नै कहा छ र
घाम सँग ?
ए, कुनै उपाए भए बताइदेउ,
म कसरी जोगिन सक्छु ?
मैले आफै माया गरेको ,
मेरो पृय घामसँग ।

Manoj Bogati – Tirkha Ra Pokhari

एफ्रोदाईतको
नग्न फोटो मुन्तिर
लागेको छ आगो ।

त्यो तातेको आनन्दस्थानमा छ
ठूल्ठूलो सास ।

पहाडको रंगहरु बिग्रिएको छ
वर्खा लागेको छ पोखरीमा ।

निभ्दै गैरहेको दुईटा जून छ
अनुहारको रातो आकाशमा ।

निद्रा होईन त्यो पीडा त्यो
सृष्टि कम्पन छ ।

निःशब्द ओठभिर
चर्को उठेको तिर्खा सल्केको छ ।

दुर्गन्धहरुको सुवास फैलिएको कोठामा
दौडिरहेको छ तरंग
बिजुलीको नांगा तार भएर ।

बत्ति जलेको छैन ।
भित्र ऊ / बाहिर म
ढोका खोलेको छैन ।

वारि तिर्खा
पारि पोखरी
पुल लागेको छैन ।