Nawaraj Subba – Tyo Birkhe

आफ्नै दाजुभाइबाट
सुकुम्बासिएपछि
यो बिर्खे
जसलाई जहाँ भेट्छ
आफ्नो कथा सुनाउने गर्छ
आफ्नो ब्यथा सुनाई हिड्ने गर्छ
आफ्नै भाइले घरबाट निकाले पछि
धनीपूर्जा देखाउँदै न्याय माग्छ
“बाबु म कहाँ न्याय पाउँछु Continue reading “Nawaraj Subba – Tyo Birkhe”

Yuddha Prasad Mishra – Dushman Haruko Lash Nikala

भ्रष्ट प्रशासन व्याप्त अशान्ति
क्षुब्ध लोकमत उन्मुख क्रान्ति
पोथी पत्रे दण्डित दण्डित
महल अटारी खण्डित खण्डित
तरुण रगतले आँखा हे¥यो
युगले आफ्नो कोल्टो फे¥यो
वचन नपाई आत्तिन थाले
देश चुसाहा नृपका Continue reading “Yuddha Prasad Mishra – Dushman Haruko Lash Nikala”

Bhupi Sherchan – Mero Chowk

भूपी शेरचन – मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

Sarubhakta – Jadoo

देश परिवेशः पुरातनपन्थी थकाइमा
मस्त निदाइरहेको बेला
एकथरी देशहरु
कालापहाड तर्फ लागेका छन्
मुटू कलेजो हराएर
बूढा सुब्बाका जोखनाहरु मूच्छित छन्
सर्वत्र विद्रोही र छापामारका कुरा
भूकम्पीय क्षतिका भविष्यवाणीसहित
आह Continue reading “Sarubhakta – Jadoo”

Bhupi Sherchan – Hallai Halla Ko Desh

यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्

Continue reading “Bhupi Sherchan – Hallai Halla Ko Desh”

Nawaraj Subba – Yatra

समयको गतिशील प्रवाहजस्तो
गति छ कि छैन तिम्रो जीवनमा
हेर यो यात्रा हो,
एक दिन डार्विन कुर्लिएझैं
यो प्रतियोगिता हो जीवनको
जीवन हार र जीत हो
रात र दिनजस्तै
कोही हिड्दाहिड्दै हराएका छन् यहाँ
कोही खोज्दाखोज्दै हराएका छन्
जीवन दाउपेच र राजनीति गर्छ
निर्धक्क नहुनु समयसित
जो कोही लुछिन र लुटिन सक्छ
अलिखित इतिहासको पात्रझैं
बेहिसाव धुलोमा मेटिन सक्छ,
ल ट्वाल्ल नहेर छक्क नपर
यो चौबाटोमा सालिकझैं
आशाका किरण भर आँखामा
अनि साहस भर्नुपर्छ मुटुमा
तयार होऊ यो यात्रा हो ।

Krishna Prasai – Basanta Barsha

संयोग नै भनु,
तिमीसंगको पहिलो भेटमै–
तिमीले मलाई बशन्त हुनु भनेकी थियौं।
बशन्तको पर्याय–
मलाई काफल र कोइली मनपरे पनि,
राताम्मे गुरासे पाखाले मन छोए पनि,
वर्षाऋतु मन पर्नुमा–
मेरै कमजोरी हुन सक्थ्यो।
हामी Continue reading “Krishna Prasai – Basanta Barsha”

Bikram Subba – Ek Din

थकित बूढो घाम
गोधुली-क्षितिजतिर जब पस्छ
जिन्दगीको हाँगाबाट
मेरो उमेरको एउटा पात
अँध्यारो नदीमा खस्छ…

Krishna Bahadur Chhetri – Timro Shubakamana Bokeko Postcard

तिम्रो हातको वसन्तले रचेको
सुन्दरताका सघन हरियालीहरु
तिम्रो मुटुको सास फेर्दे
पोष्टकार्डको नरम ओच्छ्यानमा
मेरो हृदयलाई सिरानी बनाई
गहिरो निद्रामा सुतिरहेछन्
म तिनलाई बारम्बार हेर्दै
आफ्नो एकान्तलाई रमाईलो पारिरहेछु

Krishna Bahadur Chhetri – Banchna Birsera Pani Sochnu Parchha

सधैं गरिरहेको काम पनि
गर्दा – गर्दै कहिलेकाहीँ
म भुसुक्कै बिर्सिन्छु
र त्यसै – त्यसै अलमलमा परिरहेको हुन्छु
त्यसको आरम्भ खोजिरहेको हुन्छु
लाग्छ यसरी नै-
जीन्दगी बाँच्दा-बाँच्दै एकदिन
चटक्क म बाँच्न बिर्सिनेछु
र मर्नेछु
अनि अदृश्य भएर कतै चिहानको सुनसानमा
मृत्युपछि पनि म आफ्नो जीन्दगीको आरम्भ खोजिरहेको हुनेछु
समाधान हुन नसकेका थुप्रै
समस्याहरुको बारेमा सोचिरहेको हुनेछु
सोचिरहेको हुनेछु
फगत् म सोच्न सक्छु
त्यसैले जहिले पनि जहाँ पनि सोचिरहेको हुन्छु।

Krishna Bahadur Chhetri – Anautho Nata

टाढा छु सम्झिन्छन् सबैले
सम्झना गरेका छौं भन्छन्
प्रतीक्षामा बसेका छौं
कैले आउने ? भन्छन्

नजीक हुन्छु बोल्दै बोल्दैनन् क्वै खुलेर
म बन्छु अतृप्त भित्रभित्रै छट्पटिएर

टाढा हुँदा माया हुँदो रहेछ
नजीक हुँदा हेला
म त अल्झिरहेछु
हेर्दै जीवनको अनौठो मेला

Krishna Prasai – Sano Samjheko Man Parchha

मेरा सारा मौनतालाई चिरेर–
मनै बिथोलिने गरी–
एक पटक त उसले,
आफु सिंगैको मोल सोधी,
मानौ ऊ रेडियो र टेलिभिजन झै भएर,
मेरो घरमा भित्रिएकी हो।
सबै थोक किन्नु पर्ने शहरको संस्कृतिमा,
मानौ उ पनि सौदा भएर
मेरो घरमा किनिएकी हो।
सौदा र उसमा–
फरक यति छ,
जबरजस्ती हक जमाउने छुट छ उसलाई।
पटक–पटक सिमाना नाघेर
मेरै कपाल समाउदै,
मलाई घोडा बनाउने पनि,
छुट छ उसलाई।
उसका एस्ता मनोमानी विरुद्ध,
म विरोध वा आन्दोलन गर्न सक्दिन।
रिसाएर कट्टी गरीरहने उसको जिरह विरुद्ध।
म उसलाई निषेधाज्ञा भर्न पनि सक्दिन।
मैले बरोबर हात्ती भैदिनु पर्ने,
उसको उर्दीलाई कुनै कानून पनि लाग्दैन।
जुन नगर भन्यो, ऊ त्यही गर्छे।
जुन नखा भन्यो, ऊ त्यही खोज्छे।
कहिले काही उल्टो बोलेर–
सुल्टो गराउनु पर्छ उसलाई।
यति हुदा–हुदै पनि,
म उसलाई सजाय दिन सक्दिन।
म उसलाई अयोग्य ठान्न पनि सक्दिन।
ऊ रुनु मेरो कम्जोरी हो भनेर,
तपाईले विश्वास गर्नु भएको छैन भने,
ऊ अरु कोही नभएर,
म भन्दा उमेरले चालिस वर्ष कान्छी–
मेरी सात वर्षे छोरी प्रविधि हो।
मलाई उसको हासोमा मेरो सृष्टी मुस्कुराएको मन पर्छ।
दिनहु कलम र कापी समातेर उसले– प्रश्न सोधेको मन पर्छ।
र कहिले काही,
मेरो उमेर स्वातै घटाएर,
उ जस्तै सानो सम्झेको मन पर्छ।

Manoj Bogati – Kathe Sambedana

तिम्रो संवेदनामा काठ पस्दै गइरहेछ।
••
अब कुनै पनि शरीरबाट उड़ेर जानेछ लाजको सह
मरूभूमि मात्र हुनेछ शरीरको बालुवा।
तिर्खा-तिर्खा-तिर्खा
तृप्तिको हाहाकारमा बॉंच्ने छ संवेदना।

मृत्युको त्यो कालो भयले खोल्न सक्दैन
आँसुको ताला
प्रेमको त्यो कोमलता
सुक्नेछ
फूलमा।

-त्यसपछि कहिल्यै पुनरावृत हुनेछैन सृष्टिको वचन।

म तिम्रो खस्रो ओंठ छोएर भन्नसक्छु
त्यसलाई कोमलताको मातको सुगन्ध आउँदैन।

कति पातलो छ तिम्रो मनको पाप्रा
जहॉं आमाको मृत्युको एक थोपा शोक अड़िन सक्तैन।

तिम्रो आँखाको सुरूङबाट छिर्ने
संसारको वासनाको त्यो सौन्दर्य
कुनै कम्पनीको ब्राण्ड जस्तो टॉंसिएको छ
शहरमा उभिने होर्डिङहरूमा।

त्यो यान्त्रिक यौनको गर्मीमा
भटाभट मर्दैछ अनुभूति।

तिमी नै भन
च्याटिङमा आउने
टुक्रिएका अक्षरहरू
तिम्रा स्वास्नीको ठूल्ठूलो सासभन्दा अर्थपूर्ण छ?
••

तिम्रो संवेदनामा काठ पस्दै गइरहेछ।

Nira Sharma – Timi Ekli Bana

कुमारीहरुलाई बिहे नगर्ने सल्लाह छ
सिन्दूर पुछिइरहने यो समय
सिउँदो उजाडिएको यो क्षण
अब सिउंदोमा कुनै रौनक छैन
जुनसुकै बेला सिनित्त पखालिन सक्छ
सिन्दूरको, अहं कुनै भर छैन

ढकमक्क फूलेको फूलको पात
अनायासै खस्न सक्छ
धपक्कको बैसको पहिलो रात
कालरात्री हुन सक्छ
भो कुमारी, बिहे नगर

बरु बिबाहित छौ भने
बाँझै बस अब तिमी
गर्भे टुहुराकी आमा हुन
गर्भधारण नगर भो,

हो अब नगर गर्भधारण
बाँझै बस बरु तिमी
निर्बाध भोग्नु पर्छ यदि भने
पिडाहरु एकपछि अर्को गर्दै
बाबुको छत्रछायाँबाट बञ्चित
टुहुरा टुहुरी हुर्काउनुको पिडा
एउटा अबोध शिशुको
बा खोई ? प्रश्नको पिडा
भो सहने आँट नगर

बाँझै बस बरु तिमी
हिंसाले हिंसा नै जन्माउँछ भने
हिंसाको बेला सृजित सुक्रकिटलाई
आफ्नो डिम्बमा स्थान नदेऊ
सिउँदो पुछिएका, काख उजाडिएका
हजारौं अवलाहरुको उजाड बस्ती
भो, अरु फैलन नदेऊ

हिम्मत गर, नारी तिमी
बिहे नगरेर, आमा नबनेर
एकचोटी सृष्टिलाई छेकीहेर
सृष्टि चक्र नै रोकी हेर
यदि जीवनमा शान्ति हुने
झिनो पनि आशा छैन भने
मातृ वात्सल्यको लिप्सा नगर
नारी तिमी बाँझी बन
बरु तिमी एक्ली बन ।

काठमाडौं, हाल: अमेरिका ।

Laxmi Mali – Ujyalo

ए द्र उज्यालो खोज्न हिँडेको मान्छे
उज्यालो कुवाभित्र खोज्ने होइन
ओठभित्र पनि होइन
चार दिवारीभित्र छैन
उज्यालो त
स्वतन्त्र आकाशमुनि हुन्छ
जहाँ घाम लाग्नसक्छ ।

Laxmi Prasad Devkota – Fagun Fulchha Sansar Sara

क.
फागुन फुल्छ संसार सारा
अत्तर छिटी ऐशको ।
रङ्गमहल यो कसको होला ?
परी–रानी बैंशको ।

ख.
रुपको शरम लाल लाल हुन्छ
फुस्केको छाती सँभाल्न ।
चुलबुल गुलाफ–कोपिलाले
सकिन सप्को बसाल्न ।
ग. लुक्ने कोशिश मोहिनीको
हावाले आधा तोडेर,
मुजुरा सब उचालिदिन्छ
बास्ना अबोला छोडेर !

घ.
नाइँ नाइँ गर्छे थुँगा राम्री
वृन्दावनलाई दोहराई ।
पुरुषले प्रकृति रँग्छ
पिचकारी क्वै छहराई ।


प्यारको बोट छ निबुवाको,
सेतो पत्ती, हरियो शूल !
शीतको दाना कसका निम्ति ?
जूनलाई हो कि ? आकाशफूल ?
च. आजको दिन छ चरी–दिलको,
सुस्काए आलुबखडा !
आरु तिम्रो लाली राम्रो,
हावा म, केको झगडा ?
छ. आजको दिन हो चुच्यौलीका
चिल्लो पल्लव पर्दामा !
नझस्कन गुलाफ मानी,
केशरको दाना झर्दामा !
ज. संसारको आङन पुरानोमा
यही चिर नयाँ कहानी !
दाडिम ओठ चिल्लाबाट
चिप्लिन्छ मनको सपना नि !
झ. हरियो, चिल्लो रेशम लगाई
झुप्पा सुन्दर कार्चोबी ।
बैंश उभिन्छिन् फूलको हाँगा
पक्री, स्वपना मनसूबी !
ञ. यै इतिहास हो जीवनको रे !
यही वृन्दावन–कहानी
टुङ्गिनसक्ने, जुगजुगभन्दा,
सुन ए ! छिरबिर ढिस्कामाथि
जूर–जलपमा बैंश–रानी !

Lakshmi Mali – Raat Lai Chyatera

अतीतका कालखण्डहरुमा
बल्दै छोटिँदै गएको मेरो
जीवनरुपी बत्तीमा
फर्केर हेर्दा
खल्ट्याङ्ग खुल्टुङ्ग बाटोमा छोडिएका समयका अवशेषहरु
पैतालाका डोबहरुलाई समयको प्रवाहले मेट्दै
बाँच्ने र बचाउने भूमिकामा
धेरै Continue reading “Lakshmi Mali – Raat Lai Chyatera”

Laxmi Prasad Devkota – Saalpate Fatyangro Lai

क.

चिल्लो ताजा हरियो सुन्दर
सालको नकली पात !
दुरुस्त रेखा, धर्सा, शिरा छन् !
विशालताका साल विपिनको
तरु शाखाको ए सुन्दर पतङ्ग !
अभिनवजात !

ख.

रुपकी माउ, इच्छाशक्ति,
जादूगर्नी खासा !
प्रकृतिको यो संरक्षक रङ्ग
बीच बोल्दछे क्या वाचाल
युग–भाषा !

ग.

कस्तो सफल वाह ! तेरो समाधि
यो अङ्कुर,
सहस्र संवत्सर भर विकसिस् !
जिइस् तँ,
व्यापी क्षणभङ्गुर !
पतङ्ग मरे कति, पतङ्ग मरेन,
त्यसको विकस्यो अङ्कुर !

घ.

अभीष्ट आवश्यक भावुक जो
कवि हो यस जन–वनमा रे !
जादूको या परिणति दिनमा
दूर नसक्ला ?

Binod Khadka – Desh Tira

बन्दै बन्द छ रे
हडतालै हडताल छ रे स्कुल कलेजहरु
खुल्नै सकेका छैनन रे कलकारखानाहरु
चक्काजाम छ रे राजमार्गहरुभरी
जुलुसै जुलुस छ रे सहरभरी
टायरहरु बल्दैछन रे सडकभरी
के यो साच्चै हो ?

राजतन्त्र पनि हट्यो
प्रजातन्त्र पनि देखियो
गणतन्त्र पनि भेटियो
तर नेता फेरिएका छैनन रे
महान नेताहरु
जनताका भाग्यविधाताहरु
अति व्यस्त छन रे
संविधान जन्माउदै छन रे
कहाँबाट कता चिर्ने
कतावाट विभाजन गर्ने
चिना टिपन बनाउदै छन रे
के यो साच्चै हो ?

जलश्रोतको धनी हाम्रो देश
राष्टिय योजनाकारहरुको
बलियो पकड हाम्रो देश
टेलिभिजनका अन्तर्वार्ताहरुमा
विदेशका उदाहरण दिदै
आफुलाई ठूला मान्ने
तथाकथित बिषेशज्ञहरुको भीड हामो देश
केवल योजना नामका
ढड्डाहरुमा कुंजिएका छन रे
दैनिक सोह् घण्टाको लोड्सेडिग
उपहारमा बाँडेका छन रे
के यो साच्चै हो ?

भविष्यका कर्णधारहरु
विना उज्यालोमा पनि
उज्यालो आकाश नियाल्दै छन रे
वत्ति नभएर के भो
पूर्खाले छाडेको टूकी वत्ति त छदैछ
त्यसैमा भविष्य चिहाउदै छन रे
के यो साच्चै हो ?

कर्मचारीहरुको तलब बढेको छ रे
भाउबेसा उकालो लाग्दै छ रे
कर्मचारीहरुको टोपी पछाडीको पछाडी नै
टेवुलमुनि हात पसार्नेको दिन जागेको छ रे
लुटेराहरु हौसिएका छन रे
फिरौती लिनेहरु चम्केका छन रे
चन्दाको किस्ता तिर्दै जानेलाई
डराएर बाच्नु पर्दैन रे
के यो साच्चै हो ?

पानी खान नपाउनेले
पानीको पाईप नै काटिदियो रे
जागीर पूर्नबहाली नहुनेले
राजमार्ग नै बन्द गरिदियो रे
भनेको नमान्ने हाकिमलाई
सानै कर्मचारीले पनि ठीक लगायो रे
अरबतिरबाट फर्केको चाउरे लाहुरेलाई
एयरपोर्टको भन्सारले खिस्स पार्यो रे ।
के यो साच्चै हो ?

जग्गा जमिनको भाउ बढ्यो रे
एकको दूई दूईको चार हुन्छ रे
दलालीको दिन जागेको छ रे
चिकेन तन्दुरीको साथमा
देशी रक्सीको बोतल जम्छ रे
यत्रो पैशा कहाँबाट आयो
सीधै कर तिरे पुग्छ रे
के यो साच्चै हो ?

सपना बाड्नेहरु
गाँउ गाँउ पुगेका छन रे
सरकारले प्रतिबन्ध लगाएर के भो र
ईराक र अफगानिस्तानका सडकहरुमा
दाज्युभाईहरु अलपत्र परेका छन रे
गरीबी र लालचको पन्जाभित्र
अपराधीहरुको सिकार भएका छन रे
घर फर्कने टिकट नपाएर
विदेशी जेलमा पडेका छन रे
के यो साच्चै हो ?

Bimal Nibha – Hatyatantra

यो हत्या
एक्कासि भएको होइन
सबभन्दा पहिले
चिन्तन–मनन गरियो
एक हुल वेतनभोगी विचारकहरु
आआफ्नो आसनमा
कापालिक मुद्रामा समाधिस्थ भए
केही समयपश्चात्
उच्च डिग्रीधारी विशेषज्ञहरुद्वारा
सन्तुलित योजनाको रेखाङ्कन भयो
के गर्ने
र कसरी गर्ने
स्वदेशी र विदेशी सुपरम्यानहरु
गोप्य परामर्शको प्याकेट बोकेर
हतारहतार
काठमाडौंबाट न्यूयोर्क
न्यूयोर्कबाट नई दिल्ली
र नई दिल्लीबाट काठमाडौं उड्न थाले
यसबीच नेपथ्यमा आकर्षक शब्द
शिष्ट वाक्य
र जिम्मेदार भाषाको
भीषण आदान–प्रदान भयो
क्रमशः सभा, सेमिनार र गोष्ठी चले
न्याय, अधिकार र जनकल्याणको
उच्चारण गरियो
बहिराहरुले समेत सुन्नेगरी
क्यासेट टेपमा भरियो
र खुल्ला बजारमा वितरण गरियो
दिनरात कसैलाई फुर्सद भएन
भेटघाट, वार्ता र सम्झौता
सम्पन्न गरियो विधिपूर्वक
रहस्यमय सङ्केतहरु साटासाट भए
आयोगहरु बने
टेलिफोनका घण्टीहरु बजे
मोटरका पाङ्ग्राहरु गुड्न थाले
अभूतपूर्व दृश्य उपस्थित भयो
हेर्दाहेर्दै यत्र, तत्र, सर्वत्र
पर्चा, पोस्टर, पत्र प्रकाशनले
तीव्र गति समात्यो
केन्द्रीय भाट, विदूषक र चारणहरु
विभिन्न स्थलहरुमा खटिए
नारा, वक्तव्य र भाषणको
लहरमाथि लहर उठ्न थाले
भव्य जुलुस प्रदर्शन भयो
समयको नाजुकपनालाई ध्यानमा राखेर
अनुभवी ००७ हरु
आज्ञाकारी ब्ल्याकबेल्टहरु
र तालिमप्राप्त बुलडगहरु
तैनाथ गरिए चारै दिशामा
पूर्व, पश्चिम, उत्तर, दक्षिण
र सबैभन्दा आखिरीमा
हतियारको चयन गरियो
पुराना मोडलका बन्दुकहरु
रद्द गरिए एकमतले
यसको विकल्पमा
आयातित राइफलको प्रयोग गर्ने
साझा सहमति भयो
सबैले ठूलो सन्तोषको सास फेरे
कुनै बाधा–व्यवधान रहेन
यस प्रकार सम्पूर्ण तयारी भइसकेपछि
साहूकार, सुन्दरी र सेवकसहित
अर्थात् सदलबल
सद्भावना–यात्रामा निस्के
लोकतन्त्रका लोकप्रिय नायक
त्यसपछि गोली चल्यो
ड्याम–ड्याम
र हत्या भयो
जस्तो कि देखिने गरिन्छ
त्यति सरल छैन
हत्या गर्नु
(२०५०)