Lakshmi Mali – Timro Jastai

तिम्रै जुठो दूध चुसेर हुर्केेकी
तिम्रै जडाउरी भोटो लगाएर बढेकी
तिमै्र औंला समातेर हिँडेकी
तिम्री बहिनी
तिम्रो दीर्घायूको कामना गर्छे
तिम्रो सु–स्वास्थ्यको कामना गर्छे
प्रत्येक वर्ष भाइतिहार मनाउँछे
बिहानीको शीतजस्तै चोखो माया गर्छे
तिमीमाथि इस्पातजस्तै दह्रो विश्वास साँच्छे
बहिनीसँगको सद्भावले
तिम्रो जीवनका दिनहरु सुखमय हुन्छन्
खाने, लाउने, बस्ने बराबरी बाँड
तिमीलाई शान्ति मिल्नेछ
आमा खुलस्त भन्नुहुन्छ ः
तिम्रोजस्तै बहिनीको पनि ममाथि हक छ ।

Bikram Subba – Tasvir

उमङ्गका थरिथरि रङ्गहरु
सुखदु:खको पसिनामा घोलेर
मायाको मुलायम कूचिले
मेरो दिमागमा उतार्‍यो तिम्रो तस्बिर

ढुकढुकीको मिसिलमा नत्थी भइसकेपछि
दसी प्रमाण भएर बस्दो रै’छ तस्बिर
रगतका अणु-अणुमा दाखिल भएपछि
ज्यान गए नमेँटिँदो रहेछ माया…
कुनैदिन चाहियो भने मसँग माँग्नु…
ओ मातृभूमि !
यो हुल्दङ्गाको शहरविच
तिम्रो तस्बिरको गुरुकापी
मेरै शरीरको फ्रेममा सुरक्षित छ…

Laxmi Prasad Devkota – Sawan

क.
आज सावन पावन दिवस, धूमिल, शीतल प्रातः
कलिला, नीला, सलिल–ललित अचल, सगर–स्नात
चुलीकी मोहनी, शोभा सचेत, तानेर जलको जाली
एकान्त स्वर्गमा मुस्किरहिछन्,
नरम–शरम–निठुर मोहिनी, बढाउँदी तृष्णालाई, टाली
तिमिरबाट किरणी–कदम अनिल लहर भरी
भावुक हृदय घण्टध्वनिमा पछयाउँछ विनय गरी,
निदाउँछ घुसेर अन्तस्तलमा मधुर घुन्घुन भरी,
निद्रित आत्मा जागृत गरी,
सिर्जको कुत्कुती छरी !
आज काँचको सङ्गीतमण्डल, लच्केको सगन झारी
आज धरणी–स्वर्गको बिहा बिजुली झिल्कालाई झारी
आज फूल र रेशमको दिवस विहगमालाको लुर्कन
गा रे सावन–बादल पन्छी, परम, पागल मात !
आज सावन० ।

ख.
सबेरै जागी झोपडीद्धारमा जिज्ञासु किसानी बाला ।
हेर्दछे राष्ट्रलाई चामेर डोलेको मकैले श्रमको फल
धोबिनी फुर्केर स्वर्गको धुलाई उद्धार गर्दछे गानमा
बैंशको हाँगामा बयसी सुन्छे स्वपना लिएर कानमा
चञ्चल धानका जमरा लहरे प्रथम मंसीरद्धारा
परको खेतको जलाम्मे पाटामा, रोपिने शौकले सारा
आज पृथिवी कलिली, पङ्किली, स्वपना, सङ्गीत झरझर ।
आज कविको उरमा सुन्दर कल्पवनको चाड
आज करुण सागर गर्दछ ज्यलित धराको याद
आज उपल कलकल मुखर, शिखरहरुको ताल !
आज इन्द्रधनुष दिवस स्वपन–वपन बेला
आज नील सून्य उपर बादलहरुको मेला
बाज् रे तार सदृश चिडिया स्वर्गका रङ्ग ती सात
आज सावन पावन दिवस, धूमिल, शीतल प्रात

Lakshmi Mali – Cactus

शरीरभरि काँडाहरु पालेर
सुरक्षित छ क्याक्टस
विभिन्न थरिका क्याक्टसको समाजमा
विचित्रको अनुभुति हुन्छ
कुनै लड्डूजस्ता
कुनै लट्ठीजस्ता
कुनै चराजस्ता
र कुनै त मान्छे नै जस्ता
तर मान्छेजस्ता भएर पनि
यिनीहरु हावासित लहस्सिन पनि जान्दैनन्
पानीसँग जिस्किन पनि जान्दैनन्
हुरी–बतास, झरी खपेरै बस्छन्
आतंकित पनि छैनन्
हृदय नै नभएकोजस्तो
ढुकढुकी पनि नभएकोजस्तो ।
यति हुँदाहुँदै पनि
अचम्मको सौन्दर्य बोकेर
क्याक्टसमा फूल भने फुल्ने गर्छ
बस् !
केवल समय आउनु पर्दोरहेछ ।

Nawaraj Subba – Jagriti Ka Parewa Haru

आजकल जागृतिहरू रोगाएर
दरिद्रता, अज्ञानता र असन्तोषको अँध्यारोमा
समस्यैसमस्याको गन्धमा सास फेर्दै
मनभित्र सुटुक्क लुकिरहेछन्
कुष्ठरोगग्रस्त चेतनाहरू
जो कुहिन लागिरहेछन्
कुरुप हुन लागेका छन्
यी हाम्रा Continue reading “Nawaraj Subba – Jagriti Ka Parewa Haru”

Binod Khadka – Sabai Sabai Janata Nai Hun

गरिवी र अभावसंग लड्दै हिड्ने
मोजमस्ती र आलिसान महल पनि भोग्ने
तरेली खेतहरुमा गोरु जोत्ने
नयाँ सडकमा पाजेरो पनि हाक्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

धामीलाई मुस्किलले घरमा भित्राई
प्रीयसीको जीवन माग्ने
विदेशको महंगो उपचार धाई्र
स्वास्थय लाभको कामना गर्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

लेकको भेडीगोठमा गोठालो बस्दै
पढ्ने उमेर गुमाई निरक्षरता भोग्ने
शहरका महंगा बोर्डिगस्कुलहरु चहार्दै
शिक्षा र संस्थाहरुमा गुणस्तर रोज्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

दाईजॊ पीडाले जीउदै पोलिने
बिहेको अर्थै नबुझि पारापाचुके भोग्ने
शैक्षिक प्रमाणपत्रको मोलमोलाई गर्ने
दाईजोको बजार चहार्दै हिड्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

समाजसेवाका नाममा नेतागिरी गर्ने
नेतागिरीका नाममा राजनैतिक ठगी गर्ने
भाषणमा मख्ख पर्दै ताली पिट्ने
मतदानमा ढुक्क समाधान खोज्नॆ
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

बन्दुक बोकी गाँउ चहार्ने
घरघर गई जनता थर्काउनॆ
सपना बाँटी युवा लुट्ने
भारी बोकी परिवार धान्ने
सबै सबै जनता नै हुन
आफ्नो आफ्नो यथार्थ भोग्ने ।

Abhas – Maun Barta

(आन्दोलित पवित्र मनहरुलाई)

म समयसित
मौन वार्ता गरिरहेछु
मेरी प्रियतमा
तिमी मौनता भङ्ग नगर

सौम्य छन् तिम्रा आँखा
सागरमा पनि लहर छैन
म समयसित
सुस्तरी साउती खेलिरहेछु
अहिले
म तिम्रो आँखाको शान्तिमा डुबिरहेछु
शान्त सागरमा हराइरहेछु
विन्ति प्रियतमा
तिमी मौनता भङ्ग नगर

आँखामा आँसु बोकेर
एकहुल परेवाहरु
मेरो शीरमाथि उडिरहेछन्
म सुकोमल मखमली रुमाल खोजिरहेछु
आँसुले थाकिसकेँ म
रोदनले थाकिसकेँ

यतिबेला मेरो परिवेश
ममाथि शङ्का व्यक्त गरिरहेछ
औँला ठड्याइरहेछ
मेरो हिम्मतमाथि

तर म मौन छु
त्यसैले आन्दोलित पनि छु

अहिले म
आफैँसित मौन आन्दोलन गरिरहेछु
विन्ति प्रियतमा
तिमी मेरो मौनता भङ्ग नगर ।

Laxmi Prasad Devkota – Bhoot Sawar

लक्ष्मी प्रसाद देवकोटा – भूत सवार

क.

थिए सिकन्दरका जुँघा
क्या बाघका !
करमा कस्तो करवाल !
मुठी कस्ता !
लाख, लाखका !

ख.

झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो,
लहडी एक !
भाग्यो केही ?
सब मोटाए चाटी, चाटी !
विश्वविजेताको छ उदेक !

ग.

“के चाहिन्छ ?”
त्यो भन्छ,
“हा ! हा ! हा ! हा ! घाम नछेक”
शस्त्रअस्त्रको शेखीउपर
हेर ! बुद्धिको कत्रो टेक !

घ.

दीवालाका दान गजब छन् !
स्वतन्त्र दिलको पुजारी
हाँस्दछ, हाँस्दछ मेरा दिलमा
पाजी, पूँजी, लूटहरुमा,
इन्कार तथा धिक्कार
नामका खुट्टा बजारी !

Sarubhakta – Mithak Utkhanan Ra Sambodhi Ma Harayeka Buddha Haru

समय–संक्रमण
युगीन क्रान्तिका अभिछिन्न भ्रान्तिहरु
दुखेको वेला
किराँतचुलीतिर सलामाण्डरहरु
शिकार खेल्दै हिडे
जीवन अल्झेको छ
दुम्सीकाँडैमा
म प्रेमपत्रको मुठो वोकेर
‘यो जाती भागी हिड्दैन’ भन्ने
मिथक Continue reading “Sarubhakta – Mithak Utkhanan Ra Sambodhi Ma Harayeka Buddha Haru”

Hariprasad Bhandari – Shraddanjali

तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल
यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल
चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो
कालो शासनको समस्त जगमा छायाँ परेको थियो।

केही कर्मठ सन्तती र बलिया यो देशका रक्षक
आफ्नो देश बचाउने प्रण गरी पारेर ठाडो शिर
गर्जे हाँक दिदै डटे समरमा उत्साहको भेलमा
‘मर्छु किन्तु म मर्न दिन्न जननी नेपाल’ भन्दै यहाँ।

‘बैरीलाई भगाउँदै जतनले रक्षा गरी देशको
आफ्नो स्वत्त बचाइ गौरव अनि झण्डा र यो देशको’
भन्थे रे― ‘तरवार बज्री शिर यो टुक्रा परे तापनि
हाँसी हाँसी म जाउला जननी यी नेपाल बाचून्’ भनी।

रातो रक्त छचल्कियो शरीरमा अल्छीपना दौडियो
यस्तो शाहस सामुमा दनुजता कापेर थर्थर् भयो
पक्री ब्यर्थ रिसाइ सत्य नचिनी अन्धाहरू वैरिए
चोखो राष्ट्रिय भावलाई सहजै फाँसी चडाई दिए।

आलै छन् पदचिन्ह ती सहिदका टाटा अझै रक्तका
आलै छन् अझसम्म नै उनीहरू लड्दा बनेका कथा
त्यस्ता वीर सुपुत्र जो मुलुकमा बाँचिरहेछन् मरी
वीरैको गति पाउने सहिदमा मेरो छ श्रद्धान्जली।

Abhas – Dristi

मैले टोपी फेरेँ
र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू
सम्यक् भएर यात्रामा निस्केँ

सोचेँ—
मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन्

म विलकुल
वर्तमान झै छर्लङ्ग छु
ताजा छु

दोबाटोमा
पुरानो मित्र भेटेँ
उसको पहिलो वाक्य—
“अरे यार तँ त जस्ताकोतस्तै छस् ।”

Abhas – Hiroshima Ka Parewa

जब म
एकान्तमा बसेर
मुरली बजाउन थाल्छु
हिरोशिमाका परेवा
मेरो सामु आउँछन्
वमले छिया छिया भएका
शरीरका मासु देखाउँछन्
आँसुले भिजेका
पँखेटा फट्कार्छन्
आँसुले सेचन गरिदिन्छन्
मेरो शरीर
जब म
एकान्तमा Continue reading “Abhas – Hiroshima Ka Parewa”

Nawaraj Subba – Bachan

यहाँ फूल बर्सन्छन्
ढुङ्गा अनि तीर बर्सन्छन्
मान्छे मान्छेका मुखबाट
त्यसैले
लाग्नु अघि छेक्ने
लागे सेक्ने
केही हैन आफ्नै मन हो
ढालले नछेक्ने छाती मै ठोक्किने
अरु हैन त्यो कसैको वचन हो ।

Bhupi Sherchan – Mainbatti Ko Sikha

स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैं
चकित–चकित झैं
एक्लै–एक्लै मुस्काइरहेको
अनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको ।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको ।
आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी
मानौं, अप्रेशनपछि
होशमा आएर
घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशुलाई नियालिरहेको
सन्तुष्ट आँखा हो यो
कुनै पुत्रवतीको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प
ढलिरहेछ अश्रुधार ।
मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबतीको ।

Shreeshisha Rai – Andhyaro Ma Mero Akriti

तिम्रो आँखाको ऐनामा
मेरो अनुहार हेर्नकै लागि
म तिमीतिर दौडिरहेको छु

तिम्रो आँखाको ऐनामा
मेरो अनुहार हेर्नकै लागि
म दौडिरहेको त छु तर
सरासर तिमीसम्म आएर
सामुन्ने उभिएर म
तिम्रो आँखामा हेर्न सक्दिन
किनभने Continue reading “Shreeshisha Rai – Andhyaro Ma Mero Akriti”

Krishna Bahadur Chhetri – Sneha Ritteka Ankha Haru

नदेखाऊ, नदेखाऊ
सुख्खा निरस
स्नेह रित्तेका आँखाहरु
मलाई नदेखाऊ
डर लाग्छ –
तेश्रो विश्वयुद्ध पहिले नै त्यहीँ भेटे जस्तो
हाहाकार मच्चिन्छ कोमल मुटुभित्र
कुनै आफन्तबाट हेला पाए जस्तो

Krishna Prasai – Manchhe Binako Shahar

माटाले भयानक युद्ध लडिसकेकाछन् ।
माटाले भयंकर युद्ध खेपिसकेकाछन् ।
माटाले भीषण युद्ध देखिसकेकाछन् ।
पराजयको नाममा –
म गीत गाइरहेछु ,
महाभारत
मात्रै, माटोको युद्ध थिएन –
अजेय शक्ति ठानिएको ,
कौरवराजको अवसान पछि ,
मरुभूमि जस्तै बनेको कुरुक्षेत्र –
चाहेर पनि युद्ध लड्न सक्दैन ,
स्वयं युद्ध लडेर थाकेको ,
कुरुक्षेत्र झै भएको छ कुरुक्षेत्रको मन पनि ।
कुरुक्षेत्रको युद्धमा ,
कंकाल भएका हाडहरु ,
अझै मक्किसकेका छैनन् –
केहीअघि मात्र ,
गिद्धहरु उड्न छाडेकाछन् आकाशमा ।
चारैतिर चकमन्न छ –
सुन्सान छ हस्तिनापुर ,
बाँचेका जे जतिछन् ,
पाएर पनि गुमाएका जस्ताछन् ।
जितेर पनि हारेका जस्ताछन् ।
लिने मान्छे नपाउँदा,
अंशको मूल्य नै कहां हुन्छ र धर्तीमा
भरखरै मात्र धृतराष्टले ,
आफ्नै छोराहरुको श्राद्ध सकेकाछन् ।
केही अस्टचिरन्जीवीहरु,
शीतल ताप्न ,
हिमालयतिर छिरेकाछन् ।
पुत्र शोकमा शोकाकुल द्रौपती ,
पुत्रमोहको नशामा ,
भौतारिरहेकी छिन् –

देशको पुण्य शिखरमाथि उभिएर ,
सांकेतिक घोषण गरिरहेछिन् –
“पुनः एक दिन त्रि्र्रो माटामा,
भयानक गड्गडाहट संगै –
फेरि भूइचालो जानेछ ,

हाहाकार हुनेछ –
सहयोगको / याचनाको ,
सहज भोग्न पाउनेछैनौ मृत्युलाई –
मर्ने मान्छे नभेटेर ,
मृत्युसमेत रुनेछ त्यो क्षण ।

सकिनेछ अध्याय –
कफनको / मलामीको ,
असंख्य अघोषित मृत्युवरणपछि ,
त्रि्रो शहर हुनेछ –
मान्छे बिनाको शहर ।”

अनामनगर, काठमान्डौ

Bimal Nibha – Samalochak

इलाका प्रहरी घरको
रेकर्ड पुस्तिकामा अङ्कित छ
कविताको परिभाषा
भावनाको आवेगलाई
व्यवस्थाको प्रचलित व्याकरणमा
नियमअनुसार ढालेर
कोमल कोमल पदावलीहरु
रचना गर्नु नै
सर्वोत्तम काव्य हो
हृदयमा लँगौटी कसेर
शब्द–साधना गर्नुपर्छ
अनावश्यक तर्क गर्नुहुन्न
र मस्तिष्कलाई च्यापेर मुठीमा
बेस्सरी
सिर्जनाको जगत्मा
सुस्तरी ओर्लनुपर्छ
यही काव्य–व्यवहार हो
दायाँबाट हिँड
टोपीलाई चिन
शान्तिको पाठ पढ
र स्वागतका लागि एक पङ्क्तिमा
शिर निहुराएर उभिऊ
सर्व कर्म सिलसिलाबद्ध रुपले गर
अनि कलम समाऊ
प्रिय कविज्यूहरु
तर आजका कविहरु
किन पटक पटक
काव्यानुशासनको उल्लङ्घन गर्छन् ?
ठानाका पुलिस इन्सपेक्टर साहेब
आश्चर्यचकित छन्
र अत्याधिक क्रुद्ध पनि
(२०५१)

Krishna Bahadur Chhetri – Dharti Prem

तिमी मलाई
सिङ्गो आकाश दिन्छु भन्छौ
मलाई त
शून्य कुराको केही महत्त्व छैन
मलाई त
सम्पूर्ण धर्तीभन्दा बढी केही चाहिएको छैन

आकाश किन
दिन चाहन्छौ तिमी ?
मलाई हावा भएर स्वच्छन्द
फन्को मारिरहोस् भन्ने ठान्छौ तिमी ?
भो, पर्दैन
आकाश आफैँसँग राख
आफैँलाई बिझाउने स्वतन्त्रता पाएर
बाँच्नुलाई म तिरस्कार गर्छु
धर्तीलाई बिर्सेर उड्नुलाई
म औधि घृणा गर्छु

मेरो मुक्ति
मेरो माटोमा छ
मेरो शक्ति
मेरो माटोको भक्तिमा छ

म तिमीलाई भनिदिनु वेश सम्झिन्छु-
तिमीले निश्क्रिय तुल्याएर दिएको स्वतन्त्रता
मलाई माटोले दिने आत्मीयता भन्दा
अति नै तुच्छ लाग्छ
माटोको हुनुमा मलाई गर्व लाग्छ
आफैँ आफ्नो भए जस्तो लाग्छ ।

Laxmi Prasad Devkota – Prarthana Ki Nishi

क.

पलक निमीलित आज निशि,
प्रार्थना छन् सलिलदृशी !

ख.

दुइटा उडुकण ढुल्कन्छन्
बादलपरेला छिचली !

ग.

निश्चल, निस्पन्द !
श्वासबन्द !

घ.

क्षणकन पार्छिन् अनन्त–दर्पण !
अर्पण !

ङ.

निभिरहेछ संसार उनको !
उडिरहेछ नीरव,
दुइटा पखेटा क्रन्दनको !

च.

बज्दछ अश्रुतबीच मसिनो
मनको तार !
अन्तर–श्वसनकनको परी प्रहार !
“ए ! सुन्दर !
एक किरण !
अमृत मुहार ! ……….”

छ.

जीवन घडीजस्तो छ !
व्यष्टि, समष्टि !
घडीका सूईका दुई हात
जोर्छिन् शिरमा, रात !
आँखा मुदी,
माग्छिन् प्रभात !