Lakshmi Mali – Pratifal

यसपालिको तिहारमा
कजीनी दंग पर्दै भन्न थालिन् ‘रातै राम्रो’
गोमा बज्यै छक्क पर्दै भन्न थालिन्
‘रातो भनेको त सौभाग्य हो !’
किनकि
बारीको सयपत्री फुल रातो रंगमा फुलेछ
गोदावरी पूmल पनि रातै रंगमा फुलेछ
काजीसाबले त सेतो गोदावरी
सार्नु भाको थियो ।
पण्डितले पनि पहेंलो सयपत्री
लगाउनु भाको थियो ।
रातो भएर कसरी फुलेछ ?
माटोको धर्म
कजिनीलाई थाहा छैन क्यारे
गोमा बजैलाई पनि थाहा भएन क्यारे
गएको साउनमा
लेकबाट बगेको पानी रातै थियो
मल भएर पानीसँगै बगेको
पतकर पनि रातै थियो
रातो मलजल खाएको माटोले
सेतो र पहेंलो फुल
कसरी फुलाउन सक्ला ?

Bimal Nibha – President Clinton

प्रेसिडेन्ट क्लिन्टन
मसँग भेट गर्न चाहन्छ
तर फुर्सद छैन मलाई
मलाई लेख्नु छ एउटा कविता
कविता मन पर्दैन
प्रेसिडेन्ट क्लिन्टनलाई
त्यसैले मेरो कविताको विरोधमा
केही भन्न चाहन्छ मसँग
प्रेसिडेन्ट क्लिन्टन
तर कविताविरोधीसँग कुरा गर्न
इच्छुक छैनँ म
म प्रेसिडेन्ट क्लिन्टनसँग भेट गर्न सक्दिनँ
आज सबेरैदेखि
कविता लेख्न व्यस्त छु म
थरीथरीका विचारहरु
मभित्र आइरहेका छन्
गइरहेका छन्
र प्रेसिडेन्ट क्लिन्टन
मसँग गर्ने कुराको विषयमा
आफ्ना जासुस, राजनीतिक सल्लाहकार,
बमवर्षक सैनिकहरु,
खतरनाक भाडाका हत्यारा
र विश्वभरिका दलाल राष्ट्रप्रमुखहरुसँग
निरन्तर विचार–विमर्श गरिरहेछ
यहीबीच मैले सोचिसकें
कविताका केही पङ्क्ति
मानवजातिको अदम्य साहसको
समापन हुनैसक्दैन प्रेसिडेन्ट क्लिन्टन
यो फेरि–फेरि बिउँझनेछ
भियतनामजस्तै
युद्ध लामो समयसम्म चल्नेछ
प्रेसिडेन्ट क्लिन्टन
जबसम्म न्यायको विजय हुँदैन
तिम्रो ह्वाइट हाउस, पेन्टागन
र सीआईए व्यर्थ छन्
असल संसारको जित
सुनिश्चित छ अन्ततः
यो एउटा कविको बयान हो
जसका साक्षी छन् असंख्य कविताहरु
कविताहरु भूmट बोल्दैनन्
प्रेसिडेन्ट क्लिन्टन
तिम्रो अवश्यम्भावी पतनबारे
कुनै शङ्का छैन मलाई
थुप्रै–थुप्रै हारहरु
तिम्रो प्रतीक्षामा छन् प्रेसिडेन्ट क्लिन्टन
यही मेरो कविताको विषय हो
जसलाई म हजारौं वर्षदेखि लेखिरहेछु
र हजारौं वर्षसम्म लेख्नेछु
म कविता लेख्न छाड्दिनँ
प्रेसिडेन्ट क्लिन्टन
यही कविताको विरोध गर्न
प्रेसिडेन्ट क्लिन्टन मसँग भेट गर्न चाहन्छ
तर मसँग समय छैन
म कविता लेखिरहेछु
(२०५५)

Krishna Prasai – Ma Ra Mero Hatiyar

सृष्टिकर्ताले शुरुवात्बाटै,
केही मिल्दो–
केही बिल्कुलै उल्टो बनोटमा–
म नारी,
र तिमीलाई पुरुषको प्रमाणपत्र दियो।
पुरुष हुनको दुर्भाग्य–
पुरुषार्थहरू कतिखेर नुहिन्छन्–
यो मलाई राम्ररी थाहा छ।
यसर्थ तिमी हुनुका कमजोरीहरू पनि मैले बुझेकी छु।
जसरी,
आदर्श हुनुको बहानामा–
सीता हुनुको नामबाट,
म रामायणकी युद्ध पनि भएँ।
पोथी नाथे भनेर के गर्छौ र?
पाञ्चाली हुनुको प्रतिशोधले–
महाभारतकी विजेता पनि बने।
मेरो इतिहासले त्यही भन्छ―
मेरा स्वार्थका लागि,
विषकन्या हुनुको दाँतहरूबाट–
कैयौं बादशाहहरू डसिएका छन् –
थुप्रै जोइटिङ्ग्रेकी स्वास्नी हेलेनहरूबाट–
धेरै कोतहरू पनि रचिएका छन् –
र निर्दोष मान्छेहरू मारिएर,
सिंगै राष्ट्रहरू रगतले भिजेका छन्।
अनर्थ किन सम्भि्कनु मैले–
क्लियोपेट्राजस्ता पनि मेरा पूर्वजहरू छन्।
कैकेयी जस्ता पनि मेरा अग्रजहरु छन्।
अनि मेरा समुदायमा –
स्वर्गबाट बारम्बार,
धर्तीको तपस्या बिच्क्याउँदै–
कामोत्सव मनाउन हिंड्ने,
कामाग्नि मेनकाहरू पनि छन्–
अथवा आवश्यक ठान्दा,
श्रापैसमेत कस्न सक्ने–
तिमीले वाइफाले भन्ने गरेका
सहस्र उर्वसीहरू पनि छन्
यसर्थ म सगर्व भन्न सक्छु–
मेरा हत्केलामा अहिले पनि सिंगै संसार नाच्न सक्छ।
तिमीले गिल्ला गरेर केही फरक पर्दैन मलाई–
मेरो एउटै ओठको मुस्कान मात्रै–
यथेष्ठ हुन्छ सम्मोहन गर्नमा अहिले पनि,
पर्याप्त बन्दछ जादू भर्नमा अहिले पनि–
अन्यथा मान्नुपर्ने केही छैन,
तिमी पुरुषभन्दा–
जन्मदै अस्त्रले सुसज्जित भएर,
म नारी अन्मनु भनेको–
वरदान हो, आविष्कार हो
मेरो आविस्कारले युद्ध जित्न सक्छ–
यस अर्थमा म,
संसार जित्ने योद्धा पनि हुँ–
म त फेरि पनि भन्छु–
ढाल म स्वयंमा रहेकाले,
तिम्रा सम्पूर्ण क्षेप्यास्त्रहरू ढल्नेछन् मेरो हतियाराका सामु।
यसैले याद राख!
आफ्ना प्रक्षेपणहरूबाट म धर्ती पनि टुक्र्याउन सक्छु।
सबै हतियारहरूभन्दा बलियो हतियार चलाएर,
संसार जुनसुकै बेला ध्वस्त पार्न सक्छु।
संसार जुनसुकै बेला नष्ट पार्न सक्छु।

Bhupi Sherchan – Jiwan Ko Andhyaro Sadak Ma

भूपी शेरचन – जीवन को अँध्यारो सडक मा

जीवनको अँध्यारो सडकमा
जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रूक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ।

Laxmi Prasad Devkota – Basanta Purnima Prati

क.

प्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल !
जादू झार्दी सब जलथल !
गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी,
तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की !
देखी, पश्चिम आशाले दीप सुनौला निभा’की !

ख.

यथार्थताकी हे उपहासिनी ! ललितकलाकी धाई !
रससलिलाशय पारी फेरि नागह्रद यो, तुहिनकिनार,
माछो बन तँ सुनौला भन्छयौ ?
मुस्की, मलाई बोलाई ?
आदिकालको रसमा लग्छयौ ? केलि–कुतूहल बनाई ?
जादू जलपी हिउँका बार ?े

ग.

अमरत्व दिंदी छौ दिवस दिवंगतकन पनि,
अझ चिरनूतन, जीवन ।
प्रकाश–तपस्विन ! सती तिमी के कञ्चन !
सान्ध्यद्धन्द्धमा ध्वानभिध जो महादानवसँग दुर्दान्त
हार दिवाकर, शहिद सुनौला,
सकल चराचर नाम बने जब, बलिदान पयोधिप्राणान्त ।
उरमा प्रेमालिङ्गनले तब सुस्त उठायो दिनेश सती ।
प्रेमाऽमृतले जीवित पारी आफ्ना पकडमा मृत ती पति ।
तुषारस्तनी ए ! सजला ! शान्त !

घ.

दिन–मथनको गरलपानले छाती कलङ्कित सुन्दरी ! तिम्रो !
अमृत शेष भो संसार !
चन्दनशीतल शान्तिमहलको विभाविशिल्पित खुल्दछ द्धार !
स्वर्गको सन्चोको छ किनार श्रमले शिथिल पतबार !
स्वप्नकुञ्जका बास्ना सुमधुर मुसमुस चल्छन् विपनावार !
मस्ती खेल्छन् सुरेली तिम्रा कराली किरणमा पृथिवीवार !
जूनकीरी झिम्किन लाने नन्दनवनमा नीलाकार !
विश्रान्ति ओर्लिन् बादल–भुवामा भ¥याङ बनेको शैलकिनार !
कालो रेशम चोलि डाली,
जादूगर्नी, निद्रा जाली,
कालिकाठको डन्डा चाली, ओर्लिरहिछने मन्त्र प्रणाली
सम्झी सम्झी,
थोरै बिर्सी तिम्रा प्रभावले खालि !
उँग्दछ अनिल कुसुमदल माथि, फेर नफर्की, लट्ठ परी !
काँढा मर्छन् पृथ्वीका अब, फूल बन्दछ रातभरि !
श्रमको श्राप छ बरमा परिणत !
भू छन् स्वर्ग अपेक्षा उन्नत !
धमिला जलमा संलग्नजस्ती मानवजीवनमा आयो !
एकलासकी रानी ! उदायो !
बजाइरहिछौ मानो तिमीले
अश्रुर–झङ्कृत मधु बेला ?

ङ.

मौनी धवल हिमाल–समाधि भित्र फुरेकी ज्योतिसरि,
विष्णुवदनकी छवि मधुरी !
मृत्युभन्दा परतिर लग्ने तिम्रो मोहन, मृदु मुसकान !
औषधिका बिरुवा छछयौं रसले भिजाई
हिमालभरि !
ज्वर जजैर यो जगमा दी अमृतमय वरदान !
अमृतवनकी मालिनी, मुस्क !
संसार निदाउँछ निर्भयतामा मृत्युलोकमा सुधा स्वपनी !
तिम्रो छहारीमनि !
चिन्ता हुन्छन् सब सुनसान !
उपल उज्याला पुलकी पलपल,
फूल बनाई, तिनका मुटुमा दिन्छयौ बुलबुल !
शैलकराली नेपालीमा कहिले देखें
स्वप्न–सोपान रचिरहेकी,
करले कलकल !
देखिनँ यस्ती राम्री कहिल्यै,
फुल्दी धरामा हाँस्दी कोमल !
कोमल खिलखिल !

च.

यात्री बनाउँछयौ मानव–आत्मा,
रसको सुदूर क्वै तीर्थतिर !
कविको हृदय दुगुर्दछ फेरि,
अतीत युगका, आँसुहरुले प्यार फुलेका कुञ्जनिर !
अनङ्गसुतको स्वपना देखी उषामा स्तन चढ्छने, झर्छन् !
यथाथइलाई, प्यारकी देही, स्वपनाबीच निचोर्छिन् !
तिम्रा किरण जब मुखमा पर्छन् !
एक समरको कालो चदरको लामो फेर लतारी,
उनका सँगमा हेलेन दुगुर्छिन्,
बादलमा !
बादलस्पर्शी बुर्जाहरुमा अनुपम, अनुपम, विन्दुदृशी
तारा गन्दै, मधुर वेदना, गीतमा झर्छन्,
उडुमालाझैं लच्की, टुट्दै,
बरबरमा !
होला तिनका छायाँ परेको, कतिका उरमा,
घर, घरमा !
किनकि तिमी छौ प्यास जगाउँदी,
प्रेमकी रानी,
कथाकी खानी,
भाव उछाल्दी, सागरजस्तो,
सुन्दरमा !

छ.

सुन्दर, सुखकर उपहास सिकाऊ कुटीहरुकन साना ।
जलप परालका छाना !
मलम तिमी ए ! गिरिब्रणकी
विजय तिमी ए ! दिन–रणकी !
दरिद्रताको सिंगार मुहार ! खुश पार !
समानताको तन्त्र फिंजार !
रङ्कहरुकन राजकुमारीहरुका सपना देऊ ।
दिनको खील झिकी लेऊ !
गरीबहरुको दरबार रच !
भविष्यको स्वयं फोटो खिच !
इच्छावरदे ! शूल फूल छन् तिम्रा सुन्दर शाासनमा !
आधा जीवन वैकुण्ठ बनाई, विराज स्वप्नका आसनमा ।
सुखकी ए हाँस्दी गजूर !
कसको अब ए कसमा उजूर ?

ज.

अद्भुतताकी अप्सरा तिमी ! केश बदल्न सिपालु !
विविधकलामा चालू !
कहिले घूंघटपट– अभिरामा !
बादलवनका पुष्पलतामा, देखें मैले तिमीलाई !
कहिले, अहिले जस्तै फेरि,
बेहोशीझैं वदनखुला, सुस्त चलेकी मुसकाई !
लुक्छयौ कहिले नीलोत्पलको विशाल दलमा भित्र घुसी !
शीत विन्दुको झूल कसी !
फूलसँगमा प्यार कथाका पाना मृदुल फुहेर,
पढिरहन्छयौ राति कहिले,
निश्चल, नुहेर !
कहिले दुगुर्दी देखें तिमीकन, हतपत खूब भएर !
कहिले देखें जलक्रीडामा–
अमृतसिन्धुमा विश्वकी छायाँ ए रजनी !
यथार्थभन्दा तिमी छौ धनी !
कला–जगत्झै सुन्दर बन्छिन्
अवनी !
मेरा पनि छन् उपासनाका हिउँका चुली,
हिमगिरिवन !
अमृत सिंची, औषधि बिरुवा भरभर फुलाऊ
जगतज्वरका ताप निवारक,
कान्त सुमन !
शैशवदेखिन् कर फैलाई माग्थें तिमीकन,
स्वर्गकी फूल !
दृगले पिइयौ, मुटुमा लिइयौ
सिंच सुधाले भावका मूल !

Sarubhakta – Time Bomb Mathi Baseko Desh

देश मृत्यु शैयामा छ
माफ गर, यो कुनै समाचार होइन
सुनाखरी नफुल्ने देश
धतुरीमैयाहरु बेचिएका छन्
भ्याकुमक्लिनर जिन्दगीका हलसाराहरुमा
बाबुहरु भैंसीसित छोरी साट्दैछन्
मुहनोचवा – आतङ्ककारी कीराहरु
एन्थ्राक्स आतङ्क ग्रस्त छन्
ए हिमालका जुनकीरीहरु ! के हामी डाइमिथाइल
मर्करीका ताण्डवपूर्ण मिनामाता रोगका खाडीमा छौं ?
हाराकारीधुनः रक्तपिपासु जीन
झड्केला बिम्बहरुको सतीगएर
भाइसभर्साउत्सवः
वाढीपीडितलाई अग्निपीडितको सहायता
अग्निपीडितलाई बाढीपीडितको सहायता
वेलिपुलहरु टुटेका छन्
पिलोले थलिएका राजागजहरु
इन्टरनेटमा साइवर आमा र वेवसन्तानहरुका करतुत हेरिरहेछन्
टाइमवममाथि वसेको देश
सुनका मृगहरु लखेटिन्छन्
ए लौहभष्मपुरुषहरु ! के हामीसित परिकल्पित जिन्दगीमात्र
वचेको छ ?
साटिएका आकाशहरुः थाकेका बिम्बहरु सिर्जना गर्छन्
छापामार आत्माहरु राष्ट्रिय तस्करी उद्योगहरुमा
कर्मचारी बोक्ने एम्वुलेन्स निर्माण गरिरहेछन्
लघुमानवहरुको वस्तीः खप्परहरुको जुलुस चलेको छ
आजभोलि मृतहरुको हत्याकाण्ड रचिदैनन्
त्यसैले एनटीसियसका शवपरीक्षा विधिहरु चल्दैनन्
संविधान कोमामा छ ?
त्यसोभए आउ, हटेरुहरुको भीड चिरेर
हुस्सुप्रदेशतिर प्रस्थान गरौं
विस्फोटक ताराहरु र च्याखुरे लेक
काकाकुल जिन्दगीका आइकनहरु
यहाँ प्रत्येक मान्छेभित्र एउटा तानाशाह वसेको हुन्छ
अभागी देशः जनताहरु सबै मरिसकेका छैनन्
ए ! उनीहरुमात्र किन सजिलैसित मरी ÷ मारिइ
भाग्यमानी बनेका छन् ?

Bhupi Sherchan – Yo Nepali Shir Uchali

भूपी शेरचन – यो नेपाली शिर उचाली

यो नेपाली शीर उचाली संसारमा लम्किन्छ
जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ

चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन
चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन

एकातिर तराईको चारकोसे झाडी छ
अर्कोतिर उच्च शीर ठुल्ठुला पहाडी छ

जन्मे यहीं गौतम बुद्ध शान्तिका अग्रदूत
सगरमाथा बिजय गर्ने यही देशका हुन सपूत

 

Nira Sharma – Ama Haru Ho Buddha Janmau

आमाहरु हो जाग अब
आँशु बगाउन छोडेर आऊ
थाकिसकेका कोख रसाउंदै
फेरि एउटा बुद्ध जन्माउ
बम र बारुदको धुंवा भित्र
तिम्रै सन्तानहरु निसास्सिएका छन्
हिंसा, कोलाहल र चित्कार भित्र
कलिला मनहरु तर्सिएका छन्
वातावरण कहालिएको छ
हराएको छ घामको न्यानो अनि
छेकिएको छ जुनको उज्यालो पनि
खोसिएको छ शीतलता
मौलाएको छ उच्छृंखलता
पानी बग्ने खोलाहरुमा
रगत बग्न थालेको यो परिवेश भित्र
तिमी कसरी मौन छौ आमा ?
वन, पाखा र भन्ज्यांगहरुमा
बन्दुकहरुको बिस्कुन लागेको छ
माया खेल्ने आँखाहरुमा
रगतको आँशु बगेको छ
त्यसैले आमा,
आफ्नो गर्भमा शान्ति मगाऊ
फेरि एउटा बुद्ध जन्माऊ ।

पैंचो माग्नु परेको छ आफ्नोपन
वर, पर छिमेकहरुमा
शिला खोज्नु परेको छ आफ्नै मन
विध्वंश पछिका भग्नावशेषहरुमा
देबता भनेर पुजेका ढुंगाहरु
आफ्नै टाउकोमा बर्सिएका बेला
माकुराको चाल हुने भए
बरु कोखमा आगो लगाऊ
मार, काटको बाटो नहिड्ने
थुप्रै मनहरु जन्माऊ
सक्छौ भने आमाहरु हो
रावण होइन, राम जन्माऊ
हराएको शान्ति खोज्न
फेरि एउटा बुद्ध जन्माऊ
नेपालीहरुको आँशु पुछ्न
उही गौतम बुद्ध जन्माऊ ।

काठमाण्डौ, हाल: अमेरिका

Sarubhakta – Pida Ka Yaam Haru

मायामन्दिर
ढुङ्गाका मनहरु रोएर
हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं
जिन्दगीका त्रासदीगाथाहरुमा
नरभक्षीहरुको अवतरण छ
पीडाका यामहरु टेकेर भगुवा विश्वासहरु
ज्वालामुखी पर्वततिर लागे
जाउँ, वसाईं सरौं अन्तरिक्षतिर
अहिले नेपालमा बस्नु ठीक छैन
वेवसाइटमा थोत्रिएको देश
सभ्यताका जंगलहरु आवाद छन्
आह ! अहिले हामी हिमाल होइन
हिमालको छाँया आरोहणमा व्यस्त छौं
गेलापेगस टापुका वासिन्दाहरु
व्यर्थ देशका व्यर्थ सम्वेदना वाँच्दैनन्
किन हामी जिन्दगीको मृतसागरमा
पूरै जीवित छौं ?
जिन्दगीको स्पेक्ट्रमः रङ्गहरुले धोखा दिन्छन्
नाथे जिन्दगी – जिन्दगीको अर्थ
खोज्दाखोज्दै सकिदोरहेछ
रछ्यानका स्वर्गहरुः कोकशास्त्रीय हेराइहरुमा ठोक्किन्छन्
आह प्रेम ! रोष्टपरी झुण्डिएका छन्
जिन्दगीका यौन बजारहरुमा

Bikram Subba – Byakaran

जताततै जातजातका जुलुस जागेर
तीरझैँ तेजिला प्रश्न तेर्स्याईरहेछन् –
हतियारकै धन्दा चलाउँनको लागि
युद्धको बजार खोल्ने व्यापारीको गतिविधी
र अमेरिकन मन्त्रीको विदेश यात्रामा के फरक छ ?
दुनियाँ लुट्ने मल्टिनेशनल कंपनीको तमसुक
र अमेरिकाको खुँखार मुनिमजस्तो लाग्ने
विश्वबैँकको व्याजदरमा के फरक छ ?
संसारभरि सुलसुलेझैँ काम गर्ने यूएनका अनुहार
र पेण्टागनका रिपोर्टहरूमा के फरक छ ?
जालोझैँ फैलिएका दातृसँस्थाका आँखा
र ह्वाइटहाउसको खुँखार नजरमा के फरक छ ?
यी प्रश्नवाचक वाक्यहरूमा
वक्य गठन र ह्रश्व-दीर्घ मिलेको छ कि छैन
हेर्नुस् त सम्पादक शर्माजी !

सामन्तहरूले जुवा खेल्ने क्लव
र कांग्रेसको बैठकमा के फरक छ ?
कांग्रेसको पुच्छरको झुप्पा
र बल्खु दरवारको जुँगामा के फरक छ ?
स्वाँठ राजकुमारहरूले जाँड खाने भट्टी
र राप्रपाको च्याँखे दाउमा के फरक छ ?
लठैत र हुल्लडबाजहरूको डाङडुङे ग्याङ
र मिलिसियाहरूको कार्यशैलीमा के फरक छ ?
सबैभन्दा फटाहा मानिसको हरकत
र जासूसहरूको गोप्य बैठकहरूमा के फरक छ ?
कुनै षडयन्त्रकारी अड्डाका अकिञ्चन योजना
र सिंहदरबारको गिदीजिब्रोमा के फरक छ ?
यी जिज्ञासाहरूमा
कला र शैली मिलेको छ कि छैन ?
हेरिदिनोस् त समालोचक त्रिपाठीजी !

जनजाति, महिला र दलितको टाउको देखाएर
क्षेत्री-बाहुनको ह्याकुला बेच्ने मासु पसल
र व्यवस्थापिकाको पटांगिनीमा के फरक छ ?
कानुनी डाकाका हातको हँसिया-हथौडा
र पाखण्डी सरकारी विभागहरुमा के फरक छ ?
खुँखार चोरहरूलाई सुरक्षा दिने किल्ला
र अदालतका पर्खालहरूमा के फरक छ ?
घुस र कमिशनका हड्डी चपाउँने बंगारा
र सरकारी कर्मचारीहरूमा के फरक छ ?
भेडाका गर्धनमा गाडिएका ब्वाँसाका दाह्रा-नंग्रा
र देशवासिले तिरेको कर खाएर
मोटाएका विधायकहरूमा के फरक छ ?
कर्णाली र लिम्बुवानको गर्धनमा हान्न
निरंकुस काठमाण्डुले उचालेको खुँडाको धार
र यो संविधानका नियतहरूमा के फरक छ ?
यी सोधनीहरुमा
व्याकरण मिलेको छ कि छैन ?
हेरिदिनोस् त भाषाविद पोखरेलजी !

Bimal Nibha – Kyuriyo

हिटलरले प्रयोग गर्ने गरेको
निजी रिभल्भर प्राप्त भयो भने
खुसीले पागत हुनेछन्
क्युरियोका धनाढ्य संकलकहरु
फराओनको राजछत्र,
सिकन्दरको घोडाको खुट्टाको नाल,
सुन्दरी क्लियोपाट्राका गहनाहरु,
चङ्गेज खाँको खुनी तरबार,
निरोले बजाउने गरेको बाँसुरी
र प्रथम पोपकालीन पोसाकहरु
यी सबै जम्मा गर्नुपर्ने
अप्राप्य चीजबीजहरु हुन्
जसको खोज गरिँदैछ
मरलिन मुनरोको ब्रेसियरको पनि
ठूलो माग छ
चन्द्रमामा पहिलो पटक पठाइएको
कुकुर लाइकाको रौं
सरलक होम्स सिरिज जासुसी उपन्यासका
मौलिक पाण्डुलिपिहरु
प्राचीन डाइनोसरका जीवाश्म पनि
कम महत्वपूर्ण छैनन्
प्रिन्सेज डायनाका गुप्त प्रेमपत्रहरु
जोन केनेडीकी श्रीमतीले
विवाहका बखत लगाएको स्यान्डल
हेनरी फोर्डले आफ्नो युवावस्थामा
चढ्ने गरेको गाडी
आदि–इत्यादि
आफ्नो संकलनमा राख्न नपाएर
खिन्न छन्
विश्वप्रसिद्ध क्युरियोका संकलकहरु
संसारमा संकलन गर्नुपर्ने सामग्रीहरु
अनन्त छन्
पचास वर्षपछि
जर्ज बुसको हाड,
गोर्बाचेभका बङ्गाराहरु
र मार्गरेट थ्याचरका
पालिस गरिएका नङ्ग्राहरु
सबै क्युरियोका पदार्थ
भइसकेका हुनेछन्
(२०४८)

Nawaraj Subba – Akar Jeevan Ko

सुरक्षित राखिनु पर्छ
जिन्दगी भन्दा पनि
यो जिन्दगीको आकार
जो ठोक्किएर नकुच्चियोस्
जाडोमा नकक्रियोस्
नपग्लियोस् गर्मीमा,
सुरक्षित राखिनु पर्छ
यात्रा भन्दा पनि
गन्तव्य लक्षित आशा
जो वातावरणको रापमा
मौसमझैं Continue reading “Nawaraj Subba – Akar Jeevan Ko”

Bimal Nibha – Mero Sansad Mitra

मेरो सांसद मित्रलाई
अचेल के भयो ?
ऊ दुवै आँखा चिम्लेर मुस्कुरायो
अहिले पनि यो देशमा केही हुनसक्छ
ताराहरु झरेर आकाश रिक्त भयो
उज्यालो हरायो
कम्युनिष्ट पार्टीहरुलाई
यसको कुनै खबर छैन
सबै महत्वपूर्ण Continue reading “Bimal Nibha – Mero Sansad Mitra”

Shyamal – Layabraham

आमाले लोरी सुनाउँदैनथे
आफ्ना शिशुलाई
गीत नभएको भए,
नीरस हुन्थ्यो प्रेम
र भुत्ते खुकुरीझैँ काम नलाग्ने
हुने थिए शब्दहरू
सङ्गीत नभएको भए
प्रणाम, लयका पिताहरू ।
जीवन हिउँदको नाङ्गो रूखझैँ
हुने थियो
गीत नभएको भए ।
गाउँछन भोको पेट हुनेहरू
खोक्रो सारङ्गीको नसाबाट
धुन निकाल्दै
र गुन्गुनाउँछन् नाङ्गहरू पनि,
फरक छ
कसैले गाउने भजन छ
र कसैले निकाल्ने
पीडाको सुस्केरामा
जति फरक छ
ब्रुनाइ सुल्तानले रुचाउने गीत
र सुकुम्बासी युवतीले
सुनाउने गीतमा
प्रणाम लोकगायकहरू हो !
कसले सुनिरहन सक्थ्यो
रेडियोको सरकारी समाचार
सङ्गीत नभएको भए ?
त्यसो त सुनिन्छन् कति
कीर्तन र अश्लील गीतहरू पनि
दरबारको नृत्यशालामा गाइने गीत
र जुलुसले गाउने क्रान्ति गीत
छन् फरक–फरक
शाही कविले रचेको गीत
र सडकमा यात्रा गरिरहेको
गाइने दाइको गीत
छन् फरक–फरक
म्याडोनाको मादक स्वर
र हरिदेवीको तीजको गीतका अर्थ
छन् फरक–फरक
तैपनि कहाँ सुनिन्थ्यो
राजबन्दीको स्वर जेलबाहिर आइपुगेको
गीत नभएको भए
प्रणाम, लयका ब्रह्महरू !
प्रणाम, लोकस्वरका जननीहरू !
हामीले कहाँ गाउन सक्थ्यौँ
महान् ‘इन्टरनेशनल’
साँच्चै, गीत नभएको भए !

Sarubhakta – Tandav Nritya

स्वप्नसम्वोधिः विवर्तित वाँदरहरु
वमका गिदीहरु बोकेर
माधे सक्रान्तिको मेला भर्छन्
ढुङ्गे साँघुतिर
फाटेका धर्तीहरु
जिन्दावाद !
तुहिएका युगहरु
परावैजनी स्पर्शहरुमा
ओजन छिद्रित छन्
धमिराका जनप्रसादतिर
कमिलाहरुले धावा बोलेका छन्
काँचुलीमा हराएका जिन्दगीहरु
हुस्सुका सुरुङ्गभित्र
भोका अजिङ्गरहरु जन्माइरहेछन्
हिमालहरुको देशः ताण्डव नृत्य चलेको छ
ढाड भाँच्चिएका पहाडहरु
वसिवियाँलो गर्दैछन् –
‘हामी कहाँ एटना र भिसुभियसहरु छैनन
त्यसैले मान्छेहरु विस्फोटित छन् !’
अग्रिम युद्धमोर्चाः मनका प्रक्षेपाश्त्रीय भूमिहरु
आउ, हिमालका आँसुहरु पिएर
फोसिल उत्खनन् गरौं
शुम्भ निशुम्भका
किरातार्जुनीय तपोभूमिः छलनाहरु वर्जित छन्
आउ, हाकाहाकी मनको खेती गरौं
मान्छेको आधा मन देउताको जीउमा छ
आधा मन राक्षसको जीउमा छ
प्रकोपप्रकृतिः किन जिन्दगीको गतिलो पाठ वन्दैन ?
यहाँ जड पदार्थहरु दङ्ग छन् किन
चेतनपदार्थहरु वर्गीकृत छन् ?
सक्रान्तिप्रतीक्षाः वनवास गएका राजनीतिहरु
हेर, हामी नक्सा देशका बासिन्दाहरु
नक्सा देशमा मरिरहेका छैनौं
अन्ततोगत्वाः देश कस्ले विगा¥यो ?
कुम्भकर्णहरुले देश विगार्दैनन् ।

Bhupi Sherchan – Bed Lamp

भोरको उज्यालोमा उसलाई निभाएर
सधै–सधै म घरबाट निस्कन्छु
र दिन–दिनभरि
सूर्यसरि
यस क्षितिजबाट त्यस क्षितिजमा
भट्किरहन्छु
मानिसहरुको बीचमा
अनि जब रातमा घर फर्कन्छु
ऊ त्यहीँ त्यसरी नै
निभेर झोक्रिएर बसेको हुन्छ
जाग्छ मनको कुनै कुनामा
एक अव्यक्त माया
र हठात् म उसलाई स्पर्श गर्न पुग्छु
ऊ खुशीले धप्प बल्छ
ऊ मेरा कोठाको ‘बेड–ल्याम्प !’
ऊ मेरी ‘धर्मपत्नी’ ! !’

Bhupi Sherchan – Mero Bigatka Sapanaharu

भारी ट्रकमुनि थिचिएर
म¥यो एउटा कलिलो ठिटो
हत्केला खोलेर
उसको आयुरेखा लामो थियो
लामो थियो
मेरा विगत असफल सपनाहरु जस्तै ।

Binod Khadka – Bihani Ko Pratikchhya Ma

बिहानीको प्रतिक्षामा
कैयौ हजुरबाहरु बितिसकेछन
यात्राका जंघारहरु तर्दातर्दै
कैयौ रातहरु छिप्पिसकेछन
न यात्रा टुंगिएको छ
न बिहानी भएको छ ।

बिहानीको सीत
प्रतिक्षा गर्दै
सृष्टीका पालुवाहरु
बिहानीको मिर्मिरेमा
मोती झल्काउने रहर पाल्दै
रातहरु भोग्दै छन ।

शान्तिलाई निमोठ्दै
निस्पट्ट अँध्यारोमा
लाटोकोसेराहरुको निर्वाध चलखेलहरु
रातसंगै मौलाएका छन ।

तर
कालो रातपछि
सुनौलो बिहानी नै आँउछ
अंध्यारोलाई भगाउदै
नवज्योती नै फैलाउँछ ।

अनी
रातभरको स्वपन दूस्वपनहरु
मूल्याकंनको कसीभित्र
सम्झदै बिर्सदै
फेरी एउटा
नित्यकर्मको शुरुवात हुन्छ
त्यसैले बिहानी आउनै पर्छ
बिहानी आउँछ आउँछ ।

Sarubhakta – Nepal Kam Nepal

कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर
जीवनका मृत सागरमा
म रोलर कोस्टरका सपनाहरु देख्दैछु
ढापसुङ वस्तीतिर
कठपुतली आत्माहरु
साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन्
संघात तरङ्गः दन्दनाउँदा रथहरु
भुत्याहा Continue reading “Sarubhakta – Nepal Kam Nepal”

Abhi Subedi – Nichorera Sukayeko Akash

आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।