ऊ बिउँझन्छ
र उज्यालोतिर ढाड फर्काएर
भन्छः
शुभप्रभात !
म तीव्र यन्त्रणामा
जागराम छु
दुई आँखाहरु जलिरहेका छन्
मेरा
र चुप छु
यसरी उसको र मेरो
दिनचर्या
एकसाथ आरम्भ हुन्छ
यद्यपि ऊ मेरो दौंतरी होइन
न हामीले कहिले
एक–अर्कासँग हात मिलाएका छौं ः
के छ, सन्चै छ ?
दुई वर्षपछि
एकाएक ऊ संसद्मा पुग्छ
र पास गर्न थाल्छ
थुप्रै थुप्रै विधेयकहरु
करको
नदीनालाको
विदेशी सम्बन्धको
र शान्ति–सुरक्षाको
म भने आजपर्यन्त
बसको हुलमा थिचिएको छु
दुखिरहेछ मेरो पिँडौलाको
मासु
र थकानले चूरचूर छु म
उसको कैलो रङ्गको
जुँगाका रौंहरु
हल्लिरहेका छन् मजाले
र म अहिलेसम्म
अँध्यारो कोठामा कैद छु
बाहिर सडकमा बन्दुकधारी
प्रहरीहरु
ओहोर–दोहोर गरिरहेका छन् ः
खबरदार ! खबरदार !
अचानक ऊ हाई गर्छ
झुसिलो डकार लिन्छ
र आफ्नो गुप्त प्रदेशमा हात लगेर
कन्याउन थाल्छः
ख्वारख्वार
उसमा र ममा यही फरक छ
ऊ संसदीय अभ्यासमा व्यस्त छ
र म उसको अश्लील तिघ्राको
कापबाट उम्कन
छटपट–छटपट गरिरहेछु
(२०५०)
Tag: Nepali Poems Website
Bhupi Sherchan – Sheet Yuddha Kaal Ka Bandarharu
हातमा फोहर लागेका
बाँदर सदा र सर्वत्र
दुर्गन्धले पीडित हुन्छ
सुन्तलाको घारीमा ऊ
दुर्गन्धले निसासिन्छ
गुलाफ फुलेको देख्ता
उसले नाक थुन्छ
दूषित हात उचालेर
आफ्m्ना अङ्गहरुलाई
बचाउने चेष्टा गर्छ
घृणित Continue reading “Bhupi Sherchan – Sheet Yuddha Kaal Ka Bandarharu”
Sarubhakta – Deshemaru Desh
दूरभिसन्धिमा
रगतका लिपस्टिक लाएर
क्रूरहत्याका उद्योगहरु चलेका छन्
तुहिनाचलतिर
तुइनहरु
र खेलौनाका ग्लोवहरु
निहत्था शब्दहरुका वलि चढ्छन्
काण्डैकाण्डहरुको देश
पल्टनका घाउहरु कोट्याएर
डाँकाहरुको समाजप्रेम Continue reading “Sarubhakta – Deshemaru Desh”
Laxmi Prasad Devkota – Ma Lahara Bhayen
अहा ! म लहरा भए मनहरा हरा भू जरा
चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर,
रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा,
स्वदेश रस बन्न गो तर कवित्व यो वर्वर !
Abhas – Fewa Mathi Dui Chhayan
[छायाँ १]
ए पोखरा !
तेरी फेवा पोइल गई
नपत्याए
डुङ्गा खियाउने माझीलाई सोध्
डिलमा उभिएर
डुङ्गाको दृश्य हर्ने काजीलाई सोध्
पर्यटक महाशयले
फकाएर
छकाएर
उसलाई आफ्नै धुनमा नचायो
आफ्नै गीतमा हँसायो
तेरी फेवाले
सारङ्गीको धुन पनि भुल्दै गई
माछापुछ्रेले लाएको
गुन पनि भुल्दै गई
ए पोखरा !
तेरी फेवा पोइल गई
आजभोलि किन किन
माछापुछ्रे ऐना हेर्न लाज मान्छे
विन्ध्यवासिनी
परैबाट हाँस्छे
भन्थे–
फेवा त गहिरो खाडल र पानी हो
गण्डकीकी चम्किली आँखाकी नानी हो
अब त ऊ
बाजले हानेको
परेवाको आँखा जस्ती भई
विधवाको विरक्त मनको भाखा जस्ती भई
आखिर पानी हो फेवा
सौन्दर्यकी खानी हो फेवा
ए पोखरा !
ऊ तँ नजिकै त छे
फेरि किन परदेशी झैं भई
र पर्यटक महाशयको क्रीडापात्र भई
केवल क्रीडापात्र
न रुन सकी
न हाँस्न सकी
मात्र–
सुस्केरा हाल्दै वाफ बन्दै गई
ए नामर्द पोखरा !
तँ गुफा पसिस्
ऊ वेसहारा भई
पराईको इच्छा मुताविक रही
ए पोखरा !
तेरी फेवा पोइल गई
[छायाँ २]
पीडाले सुस्केरा हाल्दै
वाफ बन्ने पानी हो यो
यो माथि माथि लहरिँदै उड्छे
र भेट गर्छे शीतल
हिमालसित
फेरि रुँदै रुँदै तल झर्छे
शान्त र कोमल
आँखाकी नानी हो यो
यो तल तल डुब्छे
र भेट गर्छे
गहिराइसित
फेरि सुस्केरा हाल्दै
माथि माथि उड्छे
मानौं;
जीवनका तिक्तता
भोग्दै गरेको माझीको
छायाँ हो फेवा
बहनाले
मन हुँडलिरहेको माझीको
छायाँ हो फेवा ।
Krishna Bahadur Chhetri – Spastikaran Chahiyo
कहाँ
कसरी
कहिले
र किन
मसित तिमीले
प्रेम गर्यौ ?
स्पष्टीकरण चाहियो ।
Lakshmi Mali – Rapti Ko Bagar
अस्तव्यस्त जीवन
कोलाहल सडक
धुलो, धुवाँको शहर
कालो तुवाँलोले छोपेको आकाश
प्रदूषित वातावरणलाई थन्क्याएर
राप्ती
तिम्रो शान्त बगरमा
तिम्रो शितल लहरमा
उन्मुक्तिको सास फेर्न
कैयन उकालीहरु नाघ्दै
ओरालीहरु झर्दै
आएको छु तिम्रै बगरमा ।
विश्राम पाएको छ
तिम्रो कलकलाउँदो स्वरमा
कानको थाकेको जालीले
फुर्सत यसैलाई भन्छन् क्यारे
मन यति शून्य छ कि
कुनै हतार छैन
कुनै सम्झनु पर्ने कुरा छैन
बिर्सियो कि भन्ने चिन्ता पनि छैन
कसैको प्रतीक्षा छैन
कहीँ पुग्नुपर्ने पनि छैन
विश्राम ! विश्राम !
तिम्रो बगरमा
दुई ढुंगाको कापमा
खरखराइले
जितपुरको माझी दम्पतीले
बनाएको घर
तिमीभित्र माछा खोज्दै
दिन बिताउने जीवन
गौंथलीले गुँड लाएका प्वालहरु
मैनाको पर्खाइ
गौंथलीको बसाइँ सराइ
क¥याङ्ग कुरुङ्गको जुलुस
यी प्रकृतिका सुन्दर छटाहरुले गर्दा
केही क्षण भए पनि मुक्ति मिलेको छ
यान्त्रिक जीवनबाट
तिम्रो निलो शान्त सगरमुनी
हरियो चिसो पानीमा
नुहाउन आएको छु
राप्ती
तिमीसँग मायाप्रिति लाउन
बिहानीको मिर्मिरेमा
घाम तिमीसँग खेलेको हेर्न
रुखका पातहरु हावासँग नाचेको हेर्न
रुखका हाँगा हाँगामा
टोड्का टोड्कामा
उड्दै गाउने चरीको गीत सुन्न
म फुर्सद लिएर आएको छु ।
गोठालोको सुसेलीमा
गाईको मुरमुर चपाइमा
मेरो सुस्तसुस्त पदचापमा
बल्सी लाएर बस्ने माझीले
शंकालु आँखा लाउँदै
खोलाको पानीभित्र नियालेको दृश्य
मलाई आश्चर्य लाग्छ
मेरो शहरको
यान्त्रिक भाषाका स्वरहरुसँग
तुलना गर्न मन लाग्छ
तिम्रो चिसो पानीमा
मेरो शरीरले स्पर्श पाउँदा
संजीवनी निलेजस्तै
मेरो अंग–प्रत्यङ्ग
रोमाञ्चित हुनपुग्छ
मेरो मन तिमीसँग आत्मसात
हुनपुग्छ
त्यसैले
मेरो व्यस्त जीवनलाई
शान्ति र विश्राम दिन
म फुर्सत बनाएर आएको छु
राप्ती तिम्रो बगरमा ।
Krishna Prasai – Maaf Gara
बिर्सौ भन्दा झन् बढी आइ रहने
सवका सव सम्झनाहरु छन् अहिले पनि
घुर्मौला आँखाहरुमा समेटिएको एउटा क्षितिज
नआओस भन्दा भन्दै आएको मलामी साँझ
र तिमीले आफ्नै चौबन्दीमा बेरेको कोरली रहर
कता गए सवै
तिमी अनुकुल Continue reading “Krishna Prasai – Maaf Gara”
Laxmi Prasad Devkota – Paap Ko Gunaso
क.
‘पाप’ हो है नाम मेरो !
पुरुष बाबा, प्रकेति आमा !
देश नरनारीको घेरो !
मासु मन्दिर, बास खास !
मज्जा खोपी !
मन, चमन !
पन्छी, पशुको छुन्न जङ्गल !
मानवता सिमाना मेरो !
त्यसको इतिहास सेरोफेरो !
ख.
नित्य वाञ्छित !
नित्य निन्दित ! नित्य लाञ्छित !
कम्र्म मेरो !
अधिकांश दिलको ओट पाई,
‘मीठो’ भनाई,
नाउँ एउटा खोट मेरो !
जाँच सब दुनियाँको अन्तर !
राज मेरो !
दिनको उज्यालोले लुकाउँछ,
ताज मेरो !
ओठ झूठाको थकाई
आज मेरो !
‘पाप’ हो नाउँ अभागी !
साथी ! मेरो !
ग.
एकान्तमा पक्री मलाई
भन्न आउँछौ, “आ न साथी !
डुल्न जाऊँ आज राति !”
भोलि बिहान दुनियाँ सामु
गर्दछौ गाली नजाती !
नीचता हो पापभन्दा नीच साथी !
इन्कार गरिदिऊँ साथ चल्न,
लौ त दुनियाँ बाँचोस् आधी !
नेता बाँचून् ! जेता बाँचून् !
साधु बाँचून् !
अपार सहन हो धम्र्म मेरो !
सच्चा साधु कसले हे¥यो ?
गर्दैनन् पूजा रे दिनमा !
‘पाप’ हो प्रख्याति मेरो !
घ.
धम्र्मको गादी चढायौ,
बस्दिएँ !
मम्र्म शठका ठुँग् भनेथ्यो,
डस्दिएँ !
रौंचिरा पण्डितहरुकन
नश दिएँ !
‘सूक्ष्म रुपले !’ जो भनेथ्यौ
रस लिएँ !
बेहोशमा बखर छ दुनियाँ !
खुश रहें !
‘सुष्टिमा बस्, रँगा !’ भनेथ्यौ !
रँगिदिएँ ।
ईश्वर ! मेरो पाप के हो ?
श्राप के यो ?
निन्दा सधैंको ?
ठस्किएँ !
ङ.
मासुको गुलाफ–बागमा
मनु महाराज शैर गर्छन्,
लेख्छन् ढेरी !
परामर्शदाता मैं थिए तब !
मेरो निन्दा आज फेरि ?
गोल अनुभवलाई चिर्दै
धम्र्म, पापै फ्याक पारे !
छाया, उज्याला सृष्टि हो त,
छाया हुनाले के बिगारेँ ?
मेरा निन्दाले बनून् सब !
हे महाजन ! आशीर्वाद
लेऊ घनेरो !
ज्ञान भन्नु, केवल चिन्नु
रुप मेरो !
च.
विधिको रथको बायाँ पाङ्ग्रो !
काम मेरो निन्दा गर्छ
जगत् ग्वाङ्ग्रो !
मै विना अवतार हुन्नन् !
बादल हुन्नन् !
वज्रले भूलाई छुन्नन् !
मै विना, ईश्वर नउठ्छन्,
नित्य सुत्छन् !
उराठलाग्दो हुन्छ दुनियाँ,
रङ्गविनाको बोधो धैरो !
इन्द्रेनीझैं महिमा मेरो कसले हे¥यो ?
पाप, निन्दित अभिधा मेरो !
छ.
दुनियाँ खिचडी खान्छ भाई !
मरे मशीहा चिन्नलाई !
ज.
के उज्यालो मात्र सुन्दर ?
जो अँध्याराले जिलाउँछ ?
सृष्टिमा आत्माले, हेर !
माटोको पोशाक लाउँछ !
कामको हुँ दिव्य छोरो !
घृणित केवल नाम मेरो !
झ.
कामलाई पाप भन्छौ ?
पापका छौ पुत्र सारा
पापविनु यो चल्ला जगतेका
अविरल धारा ?
ञ.
काम जल्दा, शिव, उमाका,
पाचुके भै गो ?
लीला गै गो ?
सन्यास लिए पनि
शठ थिए शिव ?
पुत्र भै गो !
शम्भुलाई पार्वतीले के खिंचिनन् ?
नत्र संसार कसरी सर्छ ?
त्रिकोण यसमा हिल्नैपर्छ !
त्रिशूल यसमा हिल्नैपर्छ !
इन्दिय्र का म्खु पार्छन् बन्द ?
पशुपालक ती मालिकले ?
पापधर्म–बुना छन् प्रकृति !
चिन्छन् मलाई हाय ! कति !
ट.
प्रलयहरुले माया खाए !
सृष्टिहरुले जगाए !
माटोभित्र आत्मा डुलेर,
पाप र धम्र्म छुट्टयाए !
तर दुनियाँमा लटा बढाई
कतिले गाँजा उडाए !
ठ.
पछुताउले छुँदै धरम छ !
आगो निभेर मलम छु !
विरोध दुईले बन्दछ विश्व
समान–अन्तर रेखा मिल्छन् !
तृतीय तत्व, शाम्यको विन्दु,
पुग्दा, सारा पाप र धम्र्म,
एकतामा आई, गल्छन्
घृणित अस्तित्व खै तब मेरो !
कसले हेरयो ?
‘पाप’ अभागी नाउँ हो मेरो !
ड.
धम्र्म बताउँछन् सजिलो गल्ली
विशाल बन के बाटो होइन ?
काँढा, खाडी बीचमा पर्नु
पनि के अनुभव राम्रो हुँदैन ?
बाटा खुला छन्, बाटा अनन्त !
कुन ईश्वरले लाउँछ बार ?
विश्वविद्यालय छ विशाल,
विषय अपार !
निषेधहरु हुन् कृत्रिम बार !
अध्ययन नै कसरी हेय ?
आफु नछकिनु तिम्रो श्रेय !
बलाइरहेछन् तर अन्धाले
मेरो झूठो आकार !
ढ. ईश्वर कहिल्यै बोल्दैनन्
यस्तो गर्नु ! उस्तो नगर्नु !
तिम्रा दिलमा सिवाय !
अनुभवविनाको धम्र्म हुँदैन
अनुभवविनाका पाप !
पछुताउविनाको माप !
ण.
हामी अरुका मानव इशारा
—हरुले मिरमिर केही देख्छौँ !
त.
राजाले तर ऐन तोड्नु
भन्दैन !
मानिस आफैं आफ्नो पुलिस हो,
आपूm आफ्नै न्यायाधीश !
आफु आफ्नो अभियुक्त !
थ.
मानिस भित्र आफु पुगे, यदि
मैनै छैन,
वार फुके !
सम्बन्ध लुके !
जवाफदेही सारा चुके !
द.
आँखा खोल्नु धम्र्म भए यदि,
चिम्लनु पनि ता होला मोज !
तर त्यो कस्तो ?
भोलि बताउला आफ्नो खोज !
ध.
ज्ञान भनेको चिन्दै बढ्नु, चिन्दै बढ्नु,
आफु र अरुको तादात्म्य,
अथवा अन्तर,
कम्र्महरुको पथमा अनन्त !
विश्व हो एउटा वृक्ष विशाल !
न.
रुखका हामी पाप भई,
रुख लडाए पाप !
रुख अडाए धम्र्म !
त्यसका जरामा जो गर्छौ काम,
रसको नाम !
हाम्रो त्यही हो परमै धाम !
ज्ञान सुनाएँ अलिकति हेर !
पाप अभागी नाउँ छ मेरो !
प.
केवल उज्यालो चिनाउने छाया
निन्दा मेरो तर क्या हेर !
दायाँ, बायाँ !
मूर्ख देख्छु जनको घेरो !
‘पाप’ अभागी नाउँ हो मेरो !
Laxmi Prasad Devkota – Nidrit Bhariya
दश धार्नीको बोझा पिठयूँमा,
दोब्री ढाड,
तीन कोश उकाली माघको हिउँमा,
नाङ्गो हाड !
दुई रुपियाँको ज्यान छ जीउमा
हाँक्नु पहाड !
पसिना कालो टोपी धरो छ,
धूजा पट !
जुम्रा उपियाँ जीउमा धुरो छ,
मस्तिष्क शठ !
गन्धक तुल्य छ, तर क्या ब’रो छ
मानव घट !
मुटुको चरो छ भटभट, भुरभुर,
पसिना, दम,
भीरमा झुप्रो, बालक थुरथुर,
भोका गम !
माकुरी माले सिस्नो भ्याकुर
खोज्छे वन !
यो अति मानव पर्वत वीरको
हिमालमुनि
प्रकृति विजेता स्वेदिल शिरको
मोती–धनी
माथि छ केवल निशिको बिर्को
ताराकणी !
यस निशिमा छ निद्रा–धनी !
Namrata Guragain – Tihar Ko Samjhana
उज्यालैमा लक्ष्मीको वास हुन्छ भनेर
धन हुनेहरु अझै थप्न चाहन्छन
धन नहुनेहरु
दुइछाक पुगोस भन्न चाहन्छन्
उत्साहले झिलीमिली मन
पंचक भित्रिएको तिहार
फूलका थुंगासंगै गांसिएको आफन्तको मायां
देउसी भैलोले रंगिएको चाड
ओ हो……..
कस्तो सून्य आज टाढाको वस्तीमा
केटाकेटी बेलुन र चंगासगै उडिरहेका होलान
दिदीबहिनीहरु ढिकी जांतोमा
आफना खुशीहरु छिन्कीरहेका होलान ।
भनिन्छ
पंचक लागेपछि
यमूनाजस्ता चेलीहरु
आफ्ना माइती
शत्रुदेखि सुरक्षित राख्छन्
गलाभरी कहिल्यै नओइलाउने
मखमली फूलको माला लगाइदिन्छन र
मखमलीजस्तै दिर्घायूको कामना गर्छन्
म पनि
त्यही कामना गर्नेगर्छु सात समुद्रपारीबाट ।
समयका उकाली ओरालीमा
भौतारीरहेछु खोजेर नया आशा
जानी नजानी बोल्न खोजिरहेछु
अर्कै नागरिकको भाषा
साघुरो परिवारको परिभाषाभित्र
खै कति होला चेली माइतीको आत्मियता
मेशिन हुन या मान्छे
छुट्याउनै गाह्रो ठाउमा
खै कस्तो होला नाताभित्रको आत्मियता
मात्र
संझनामा तरंगित हुदारहेछन चाडपर्वहरु
तेल लगाएर कपाल सुम्सुम्याउन
कहा पाइदोरहेछ र दाजुभाइ परदेशमा
पंचटिकाले निधार रंगाइदिने
कहां भेटिदोरहेछ र माइती परदेशमा
मित्रताको मापदण्ड
औपचारिकताको भाषामा सिधिने ठाउमा
भाइटिकाको अर्थ बुझेर
म
घरीघरी हुने मेरो अबरुद्घ गलालाई
देउसी भैलोले रंगिएको घर
टपरी भरी भरीका सेल र अनर्सा
फुलमालाले झपक्क
दाजभाइको गलासंग साट्ने गर्छु ।
Gopal Prasad Rimal – Ek Din Ek Choti Aaunchha
एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्कीफर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्
मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन्
खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !
Bhupi Sherchan – Titara Battai Ra Bhakku Ka Rango Ko Santanharu Prati
जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रबडका वनमा होस्
या नेफा र लद्दाखका पराई लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगोजस्तै
अरुको हा…हा….हामा Continue reading “Bhupi Sherchan – Titara Battai Ra Bhakku Ka Rango Ko Santanharu Prati”
Lakshmi Mali – Manmaya
धैर्यशील मनमायाको धैर्य
फुट्न फुट्न खोजेर पनि फुट्दैन
एकनास चलिरहेका छन्
उसका हातहरु
सिमेन्टीको घोलमा पसिना मिलाउँछे
मनको भयानक आँधीबेरीमा
विवश छे मनमाया
डकर्मीको अश्लील ठट्टा पचाउँदै
छातीभरि उर्लिरहेको Continue reading “Lakshmi Mali – Manmaya”
Shyamal – Sambhranta
भीडका आँखाहरू सहन सक्दैन
ऊ एक्लो छ ।
ऊ एक्लो छ
र उसलाई कुनै कुरामा विश्वास छैन
उसलाइ विश्वास छैन आफ्नी धर्मपत्नीमाथि
र विश्वास छैन आफ्नो सम्बन्धमाथि
इतिहासले आफ्ना पानाहरूमा
यस्ता तिथिहरू राखेको छ
कि ऊ खस्न सक्छ कुनै पनि बेला
कुनै पनि बेला
उसको अङ्गरक्षकको अनुशासन
भङ्ग हुन सक्छ
र उसको पहिलो शिला
कमजोर हुन सक्छ ।
त्यति नरम ओछ्यान
उसलाई खतरा लाग्छ
कोही चिच्याउँछ कि पलङमुनिबाट ?
उसलाई शङ्का लाग्छ
कुनै पनि बेला
उसका साथीहरू
कृत्रिम चुम्बकमा टाँसिएका आलपिनहरूझैँ
एक
एकपछि अर्को
र अर्कोपछि अर्को हुँदै
झर्दै जान्छन उसबाट
एक्लोपन यसरी दुख्छ
कि उ त्यसलाई दबाउन
क्याप्सुलहरू खान्छ
ऊ एक्लो छ ।
ऊ एक्लो, एक्लो र नितान्त एक्लो छ
यसरी उसलाई
आफ्नो शिरमाथि सुहाउने रत्नजडित टोपीहरूमाथि
त्यति विश्वास छैन
बहुमूल्य पोसाकहरू
र सौखिन पाइलाहरूमा
किञ्चित विश्वास छै,
फगत नसाहरूमा विश्वास छ
जसले छोपेर आफ्नो भयाक्रान्त अनुहार
आफुबाट भगाउँछ
तर ऊ एक्लो छ ।
जसरी झर्दै जान्छन् कुकुर बुढिएपछि
र कुकुरलाई आफुले लुछ्ने गरेको
मासुको टुक्रो असजिलो लाग्छ
त्यस्तै लाग्छन् भीडका आँखाहरू
त्यस्तै लाग्छन्
मानौँ ऊ भीड छलिरहेछ
तर लखेटिएको मानस
नसाले छोप्ने कसरत गर्छ
उसलाई आफुले चढ्ने गरेको घोडासँग
असाध्य डर लाग्छ
ऊ एक्लो छ ।
म भीडमा छु
र भीड स्थुल हुँदै गएको छ ।
Shyamal – Jaado
एक्लै छु म
र दिल्लीको सडकमा गर्मी पस्दैन
म बसेको
पाँचतारे होटेलको
दुई सय चौध नम्बरको कोठामा ।
झुग्गीका मानिसहरुको
जाँड खाने भट्टी होईन
एक्लो छु
एक्लै
टेलिभिजनको पर्दा
टेबुल—लाईट
पङ्खा, एअरकुलर
रक्सीका बोलत
हट डग र ह्याम्बर्गर
सबैसँग आनन्द गर्न सक्छु,
लबी म्यानेजर सुन्दरीका आँखामा
अल्झन सक्छु
खै मेरा ओछयानका उपियाँहरु ?
खै मेरो गर्मी ?
खै मेरो जाडो ?
र र्खै उदास आँखा लगाएर
हिजोदेखि भोकै बसेको मेरो भाइ ?
खै मेरा प्रिय मित्रहरु
जससँग हल्लँदा पनि
अनुभव हुन्छ —म बाँचेको छु ।
बाँचेको छु
तिनै हल्ला र काठमाडौका गल्लीहरुमा
बसेको छु एक्लंै तपस्यारत बुद्धझै
समाधि कसेर दिल्लीको पाँचतारे होटेलमा
र सोच्दैछु
किस्ने छेत्रीले किन माग्यो
मेरो भिजिटिङ कार्ड ?
बाथ टवमा नुहाउँछु
र मलाई सम्झना हुन्छ भक्केमुलाको
लिफ्बाट घरी उक्लेको छु
घरी ओर्लेको छु
र मलाई सम्झना हुन्छ
मेरो घरको लिस्नुको
जसबाट कति पटक पछारिएको छु भुइँमा
बोलेको छु अङ्गेजीमा सिगार च्यापेका ओठले
मलाई कलकत्ते तमाखु राखेर
माइली मैयाँले दिएको
बुट्टेदार सुल्पाको सम्झना हुन्छ ।
बाहिर मानिसहरु मर्दै छन्
तातो हावाको लहरले
र भित्र जाडो छ ।
Laxmi Prasad Devkota – Jyapu
छाती चिरीकन पृथिवीको दूध
चुस्छन् मानिस,
दुहुने मै हुँ ।
धूप झरीमा आत्मा परिशुद्ध
बर्ख यी तनी बीस
नहुँदो भौँ हुँ !
श्रृङ्गार हिलो, नङ्गा फिलो,
आँखा चमचम,
आदिम खनुवा,
शरीर शिला र कलेजा गिलो
चिथरा सिमसिम,
एकलो मनुवा ।
धान धापमा रीप छ टापू,
कुहिँदो छाना,
पत्थर सिरान,
तीन पुस्तातक बन्धक आपूm
पितृ नाना,
बन्धक चिहान ।
सम्पत् पित्तलको यो थाली,
हाँडी काली,
गोल्पूm, घैँटो,
धुजारु दौरा झिलमिल जाली,
चिथ्रे डाली,
गोबर गुँइठो
साथी भन्नु कानो कुक्कुर,
लुते घाँटी,
उपियाँदार ।
मालिक भन्दछ कुइँकुइँ थुरथुर,
भुक्तछ छ राति,
धन–रखबार ।
विवाह स्वपना सरि झैँ पर भो,
वायुको बीज,
टिप्ला काक,
पृथिवी फलाएँ, अरुको घर गो,
बलि हो एक चीज,
ईश्वर अवाक् !
Lakshmi Mali – Ma
म
एउटा स्वचालित यन्त्र
‘स्वीच अन’ हुँदा चल्ने
‘स्वीच अफ’ हुँदा रोकिने
तर
यति नसोच तिमीले सपनामा पनि
कि
मेरो स्वीच तिम्रै औंलामा छ
होइन भने
‘स्वीच अन’ गरेर हेर
मेरो आस्था
मेरो विश्वास
म उभिएको धरातल
हल्लाउन सक्ने छैनौ तिमी
मेरो संवेदनशील व्यवहार
जीवनको एउटा सम्झौतामात्र हो
विवशता होइन
धेरै कुराहरु सहेको छु
समय समयमा
तर बुझ तिमी
कक्रिएको माटो भिजाउने
म पानी हुँ
आफ्नै अन्जुलीभरिको ।
Gopal Prasad Rimal – Anshu
नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण
यही मेरो युगयुगको सञ्चित धन
होइनन् यी प्रिय ! विवशताका चिह्न
नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न
१
म मानव, मानवताको छ सीमा ममाथि
त्यै सीमाको बाहिर पर्छ Continue reading “Gopal Prasad Rimal – Anshu”
Bhupi Sherchan – Dui Seta Kalila Hatkela Ko Parewa Timro Namaste
कौसीमा उभिएर, लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेता कलिला हत्केलाको परेवा ः तिम्रो नमस्ते
दिनभरि
मेरो आँखाको आकाशभरि
तिम्रो कौमार्यको सेता पखेटा फिजाएर उडिरहन्छ
साँझभरि
मेरो हृदयको क्षितिजभरि
तिम्रो Continue reading “Bhupi Sherchan – Dui Seta Kalila Hatkela Ko Parewa Timro Namaste”