Nawaraj Subba – Najaau Bhamara Bhai

माया पनि
बिरानो लाग्छ ।
यी बाटा र हिलाम्मे पाइलाहरू
छरपस्ट हराएका आफन्तहरू
तापनि
जीवन यहाँ
अझै बॉकी छ जस्तो लाग्छ,
आऊ साथी
भमरा भई नजाऊ !
यो माटोमा अझै
कमलको पातझैं सफा
अनि फूल झैं स्वच्छ
जीवनको Continue reading “Nawaraj Subba – Najaau Bhamara Bhai”

Yuddha Prasad Mishra – Masaan Ko Awaz

डढेको लाश चिच्याई चितादेखि उठ्यो फेरि
जलेको देशवासीको कदम चर्को उठ्यो फेरि
रगत सिंगान गरी हाम्रो जगाएको बगैंचामा
मरुभूमि गर्न सामन्तीहरूको दल जुट्यो फेरि
सबैले न्याय पाउने बनाएको थियो देश
खरानी त्यो Continue reading “Yuddha Prasad Mishra – Masaan Ko Awaz”

Bhupi Sherchan – Raata Kathmandu Praata

बाग्मतीपारि स्याल,
र वारि कुकुरहरु कराउँदा
सशङ्कित पोथी कुखुराझैं
घिच्रो तन्काएर
हेर्छन् देवलहरुले
वरिपरिका खोरहरुलाई
पखेटा झारेर
र अन्धकारले तिनलाई डोकोभित्र छोप्छ ।
अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
र विष सर्दै–सर्दै धरहराको टुप्पोनिर पुग्छ,
गल्लीहरुका नसाभित्र रगत
कालो हुदै जान्छ
एक्कासि अदृश्य कुनै धामीको
मन्त्रमा बाँधिएर
मुग्ध सर्प नयाँ सडक
सल्बलाउँदै आउँछ
आङभरि धामीले फालेका
मन्त्रबद्ध सेता कौडाहरु टाँसेर
र चुस्छ, चुसिरहन्छ रातभरि
बेहोश काठमाडौंको शरीरबाट आफ्नो विष
बल्ल–बल्ल प्रातःमा
चल्मलाउँछ काठमाडौं पीडामय बेहोशीबाट
—बिउँझेर
र बोली फुट्छ अनि स्तब्ध धाराहरुको
र हाँस्न थाल्छन् उम्मुक्त झ्याल र ढोकाहरु ।

Bikram Subba – Katha

सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा –
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे
खान-पिन र स्याहार पुगेकोले
बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो’रे
एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन
तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो’रे
र दंग परेर, राख्यो’रे शिर्षक – ‘देवता !’

कालान्तरमा त्यो नावालक ‘देवता’
छातीभरि अनेक महत्वाकांक्षाहरूसँगै छिप्पियो
जतिजति आकांक्षाहरू झाँगिँदै गए ‘देवत्व’ घटदै गएछ
र एक दिन सम्पूर्ण देवत्व त्यागेर ऊ राजा भएछ

ताहाँ उप्रान्त राजाले
कहलिएका सामन्तहरूलाई आफ्ना भारदार बनायो’रे
गाउँ-ठाउँका परपिडकहरूलाई प्रशासनमा नियुक्त ग-यो’रे
थुप्रै सेना र हातहतियार जोडेर उसले दसतिर युद्ध थाल्यो’रे
चारजात छत्तिसै वर्णका लाखौँ मानिस काटिए
रगतको खोलामा
अनेक स्वतन्त्र राज्यका अनुहारहरू हराए
युद्धहरू जिते पछि त्यो राजा बन्यो’रे – महाराजा !

यी सबै ईतिहास हेर्दै पाको भएको उही चित्रकारले
महाराजाको रंगीन चित्र बनाउँदा क्यानभासमा
मनुष्यको छनकदिने एक क्रुर तस्बिर उत्रेछ
र चित्रकारले राखिदियो’रे शिर्षक – ‘दैँत्य !’

कथाको अन्तिम अध्याय पनि आमाले सुनाउँनु भयो –
परन्तुमा ‘देवता’ र ‘दैँत्य’का चित्रहरूसँगै टाँगिए’रे
र प्रदर्शनीमा लाखौँले ती दुई चित्रलाई गजबले हेरे’रे
आफ्नो तस्विरको शिर्षकले महाराजलाई रातभरि निद्रै लागेन
‘शिर्षक-अपराध’मा चित्रकारलाई जेल कोचेछन्
आफुले बनाएका चित्रहरूको विचित्र शक्तिको सम्झना गर्दै
जेलमै एक दिन चित्रकार म-यो’रे
तर, ती दुई चित्रले सुनाएका कथा कण्ठ भएर
चित्र हेर्ने लाखौँ मानिसको मन-मस्तिस्कमा बसेछ ।

त्यसपछि –
त्यो कथा बा-आमाहरूले छोरा-छोरीहरूलाई,
र, छोरा-छोरीहरूले –
फेरि उनका छोरा-छोरीलाई सुनाउँदै ल्याउँदा
एक दिन मेरै आमाको पनि पालो आयो
आमा बितेर गइसके पछि
अब मेरो पालो आएकोछ –
‘दैँत्य’हरूबाट मानिसलाई मुक्त गर्नेभए
यो कथा धेरैलाई सुनाउँनु पर्छ
जस्तो कि तमीलाई म यो कविता सुनाउँदैछु ।

Namrata Guragain – Hariya Chura Ra Gahiro Khojai

हेलो
मेरो सपनाको राजकुमार !
किन मलाइ सपनामा मात्र जिस्क्याउँछौ
म हरियो चुरामा सजिएकी छु
तिमी चाहन्छौ भने म
हरियै पहिरनमा बसिदिउँला
तिम्रो खुशीको लािग
हरियै क्रिम पाउडर धसिदिउँला

उराठ लाग्दो महिना सम्हाल्दा सम्हाल्दा
बल्ल बल्ल साउन आएको छ
हातका चुरामा साउन बोकेर
मेरो धराने मन
कहिले भानुचोक त कहिले छाताचोक पुग्छ
कहिले बांझगारा त कहिले भेडेटार पुग्छ
मिल्ने जोडी भेट्न साच्चै गाह्रो रहेछ
मनको रहर फुकाउन साच्चै साह्ो रहेछ
कोही छैनौ त मेरो चुराको आवाज सुन्ने
ठीकै छ
खुट्टा थाकेर के भयो र
तिमीलाइ भेटन
मन अझै उत्साही नै छ ।

हो
राजकुमारहरुको बजारमा
धेरै आकार प्रकारहरु पाइन्छन
उध्रिएका च्यातिकाहरुको भीडमा
स्वस्थ त्यसै त्यसै हराएको हुनसक्छ
म सग्लो-सग्लो र अग्लो खोजिरहेछु
मलाइ
स्वस्थ्य निर्भिक र जेहेन्दार चाहिन्छ
मेरो जिन्दगी समर्पित गर्ने
एउटा मिठो संसार चाहिन्छ ।
कसैले सुन्यौ कि ?


अमेरिका

Lakshmi Mali – Bonsai

म लहलहाउँदै,
कलकलाउँदै,
हुर्कंदै थिएँ
अनायास मेरो स्वच्छन्दता
बाँधिन पुग्यो
मेरा हातहरु
पाखुराहरु
र गर्दन
उसको तारमा बेरिएर
बाङ्गिन पुगे
उसको इच्छामा
उसको निर्देशनमा
मैले आफ्नो आकार बनाएर
उसकै Continue reading “Lakshmi Mali – Bonsai”

Laxmi Prasad Devkota – Pagal

लक्ष्मी प्रसाद देवकोटा – पागल

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !

Lakshmi Mali – Rani Pokhari

कोलाहल शहरबीच
चुपचाप रानीपोखरी
कुनै अभिलाषा नभएको
कुनै प्रतिकार नभएको
तैपनि
पौराणिक पात्र कुम्भकर्णजस्तै
निदाउन सक्ने

सूर्योदय हुन्छ
चराहरु रमाउँदै गाउँछन्
सूर्यास्त हुन्छ
चराहरु आत्तिँदै गुँडतिर लाग्छन्
तर
रानीपोखरी चुपचाप छ
रानीपोखरीले बिहान र रातमा फरक देख्दैन

ऋतुहरु बदलिन्छन्
फूलहरु फुल्छन्, झर्छन्
मानौं त्यो सरोकारको विषय नै होइन
कति अचेत ?
पारखीहरु रानीपोखरीको सौंन्दर्य
हेर्दाहेर्दै मख्ख हुन्छन्
कोही एक्कासी ढुङ्गा हान्छन्
अहँ, कुनै प्रतिकार छैन
कोही रानीपोखरी वरिपरि घुम्छन्
आनन्द लिन्छन्
कोही पानी धमिल्याउन आउँछन्
कोही जिस्किन आउँछन्
तर रानीपोखरी मौन छ

ए द्र निस्तब्ध रानीपोखरी !
कति सहने ? किन सहने ?

Nawaraj Subba – Beni Ko Bazaar Jata Heryo Udas Nazar

चैतको उराठ दिन
ऑधी चलिरहेछ
ढोका थुनेको छु
झ्याल, भेन्टिलेसनबाट
हावा धुलो आइरहेछ ,
ऑखा ठोक्किन्छन्
छतका चिराहरू नियालिरहेछु
तै कोठाभित्र सुरक्षित हुन खोज्छु ।
झुम्रोले रेडियोको धुलो पुच्छु
रेडियो भने घन्कंदैछ
“बेनीको बजार, जता माया, उतैछ नजर”…
माया गुरुङ्गको गीत बज्छ
तर, आज यो गीतमा मोहनी छैन
मायाप्रितीका बाबरी बास्ना छैन
कठै के भए होलान्
यो गीत गाउने र नाच्ने
माया गुरुङ्ग र उनका साथीहरू
रेडियो घरीघरी समाचार दिन्छ
पॉचसय जना मरे मारिए
आज गीतको लय नै बेग्लै लाग्छ
मायैंमाया फूल्ने
मायाको त्यो बेनी बजारमा
आज हिंसा फक्रिएछ ।
यता म भनें आज,
आफ्नो घरको भुई,छत, भित्तामा
चर्किएको चिराहरूमा चिरिन्छु
सिमलको भुवा मलाई नै पछ्याउँछ
पोईला जान पनि खै मनै छैन
भैगो लौ मोहनी फुकाई देऊ ‘माया’ !
यस पालिको चैत उदास उराठ छ ।

Siddicharan Shrestha – Mero Pyaro Okhaldhunga

सिद्धिचरण श्रेष्ठ – मेरो प्यारो ओखलढुंगा

तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो वन-कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा!

जब म चढेर भावको डुंगा
सैर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशीतल जल
सुख-स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा!

कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति
मृग सावकहरू उफ्री-उफ्री
अरु लतिकाहरू हल्ली-हल्ली
मेरो प्यारो ओखलढुंगा!

ती अविरल परिश्रमी पतकार
द्रुतगामी निर्झर तुल्य चपल
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ
मेरो प्यारो ओखलढुंगा!

तामाकोसी त्यो सुनकोसी
त्यो गिरी फोरी बहने रोसी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र
मेरो प्यारो ओखलढुंगा!

भाग्य लहरमा लहरी लहरी
पुगें म यस मरूस्थलमा कसरी
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि !
मेरो प्यारो ओखलढुंगा!

Bimal Nibha – Patan

यो कानुनी गोली हो
असह्य दुःख, भयावह वेदना
निरन्तर चित्कार,
र विह्वल मन
सबै जनहिंसा हुन्
जोस, आक्रोश, विद्रोह
र अन्यायको विरोध रोक्का गरिएको छ
आज्ञापत्रमा
हत्या नियमबमोजिम भएको छ
तिमीहरुको छातीबाट बगिरहेको
रातो रगत
अराजकता हो
आँखाको तरल आँसु ध्वंसात्मक कारबाही
र स्थिर पीडा उग्रवाद
रगताम्मे विश्वास राज्यविप्लव
चेतना असंवैधानिक शब्द हो
सहन गरिने छैन अब
कुनै पनि प्रकारको छटपटी
पाटनबासीहरु हो !
तिमीहरुको जीवनलाई गैरकानुनी
घोषित गरिन्छ
(२०४६)

Bimal Nibha – Khur Ko Taap

उद्दण्ड घाँसहरुले
घेरिएको छ
खेत
तर माटामा भएका
बालुवाका कणहरु
चम्किरहेका छन्
घाम तरल भएर
पग्लिरहेछ
पसिनासँगै
हलोमा जति फलाम छ
सबै प्रचण्ड गर्मीले
तातिएका छन्
हावा टक्क अडेको छ
गोरुको
तीखो
सिङमा
एकछिन Continue reading “Bimal Nibha – Khur Ko Taap”

Lakshmi Mali – Nachhen Galli

भँगेराको चिरविर स्वरसँगै
नछेँ गल्ली ब्यूँझिन्छ
सुनधारा, संकटा र भद्रकालीको
चहलपहलसँगै
प्रत्येक बिहान मेला लाग्छ
नछेँ गल्लीमा ।
बढारकुँडार,
लिपपोत, पानीपँधेरो
ग्वारामरी, चतांमरीको लस्कर
पसल पसलमा मानिसको ओइरो
दगुरादगुर, हस्याङ्गफस्याङ्ग
मर्निङ्ग वाक
हरेक बिहान मानिसहरु यसरी
ओहोरदोहोर
मानौं मेला लागिरहेको छ
नछेँ गल्लीमा ।
एउटा परिवार हो नछें गल्ली
जहाँ आपत विपतमा एकैढिक्का हुन्छन् मानिसहरु
कुनै चाडपर्व आउनुअघि नै
चहलपहल शुरु हुन्छ
हरेक चाडपर्व उल्लासमय बन्छ ।
हरेक दिनको मेलामा
हुनेखानेको बाहुल्यता हुन्छ
हरेक चाडपर्वमा
नयाँ लुगा उनीहरु नै लाउँछन्
मिठा मिठा परिकारको भोज
उनीहरुकहाँ नै बन्दछन्
यसरी
हरेक दिन
हरेक वर्ष
हरेक मेला, जात्रा
चाडपर्वहरुले
गरीवको उपहास गर्छन्
नछें गल्लीमा ।
यसरी थिचिएका
गरीव बच्चाहरुका आँखाहरु
टुलुटुलु हेर्छन्
आफ्नै साथीहरुले
लगाएका नयाँ लुगाहरुमा
टलक्क टल्किने जुत्ताहरुमा
थुक निल्छन्
रछ्यानमा मिल्काएका भोजका लपेसहरुमा
लपेसमा बचेका दुईचार सिता चिउरा
र हाडका टुक्राहरुमा
यसरी
मैयाँसाहेब र काजीसाहेबहरुबाट किचिएका
हाकुचा, सियुचा, भुयुचा र मैंचाहरुले
दशैं आएको चाल पाउँछन्
घोडेजात्रा आएको थाहा पाउँछन्
मेरो नछेँ गल्लीमा ।
आफ्ना साथीहरु
हातमा किताब च्यापेर
स्कूल गएको देख्दा
टोलाउँदै हेर्छन्
अनि
आफूहरुले पनि
हातमा किताब च्यापेको
स्कूल गएको
सपना देख्छन्
यसरी
हाकुचा, सियुचा, भुयुचा र मैंचाहरु
पाङ्ग्रा गुडाउँदै
फोहोरी शब्दमा गाली गर्दै
कुस्ती खेल्दै
जवान हुन्छन्
नछेँ गल्लीमा ।

Nawaraj Subba – Bhir Ra Goreta Haru

उ त्यो भीर
उहिल्यैदेखि डरलाग्दो थियो
हरेक यात्रुलाई तर्साउने
किच्लाझैं अड्किएको
ठूलो ढुङ्गा छेवैमा थियो
दिनहुँ हिड्नै पर्ने
चुनौतीको फेदैमा
एउटा गोरेटो थियो,
ए ! झन्डै भुलेंछु
डराई डराई
हिड्ने म थिएँ ।
धेरै बग्यो पानी तम्मर खोलामा
पहिरा धेरै गए भीर छातीहरूमा
नातिनातिना काखमा च्यापेर
म कथा सुनाउ‘ंदै छु
मृत्यु प्रतिध्वनित हुने
त्यो भीर र ढँङ्गु ा
जहाँको त्यहीं छ
जस्ताको त्यस्तै छ
गोरेटो उही छ
केवल हिजो कोही थियो
आज मसँग तिमीहरू छौ
भोलि तिमीहरूसँग
अरु कोही हुनेछन्
नदीमा पानी उही बगेझैं
शरीरमा रगत उही रातै हुनेछन्
मनमा मृत्युको भय कालै हुनेछन्
फरक केवल पात्र र पाइलाहरू
सायद,
उही हुनेछन् भीर र गोरेटाहरू ।

Nawaraj Subba – Salik Bina Ko Sadak

सालिक विनाको सडक
कस्तो हुन्छ होला भन्थे सबै
आज त्यहीँ सालिक ढलेको छ
सबैलाई देब्रे पार्ने सालिक
आज गिरेको छ
बीच बाटोमा दिउँसै यात्री तर्साउने
सालिक आफै तर्सेर भागेको छ ।

आज मान्छे िहंड्न
सडक सानो भएको बेला
सडक ढाकेर बस्ने अिन
यात्रुसँग घरिघरि निहुँ खोज्नेलाई
मालिक बन्न खोज्नेलाई
ठेगान लाएका छन् यात्रीले
हिड्ने बाटो फराकिलो भएको छ
सालिक विनाको सडक ।

सबै बटुवा
लठुवा सधैं
कहाँ हुन्छन् र !

Laxmi Prasad Devkota – Atithi Haru

क.

दूरदेशका आए अतिथि
भारत–सागरका यी दूत !
लच्की आए, मुस्की आए,
चिरपरिचित झैं, किरणप्रसूत !
पथ जानेका मेरा घरको
नील अचलका चुली वार !
आए, आए !
मेरा स्वदेशी नीलिभ वनतिर
जल कोमल छन्, चुहिन तयार!

ख.

ज्येष्ठ मासको ज्वलन निभाउन,
ताप सियालन आए ती
क्लान्त मेरो एकान्त मिटाउन,
समय बियालन आए ती
चढ्छन् हात्ती, चढ्छन् घोडा
सहृद् सुकोमल बहु–आकार !
पुष्प–पीडा दिलका बुझ्छन् !
पङ्ख फिंजार्दा,
हृद्रस झार्दा,
वाष्प–रुपिणी करुणाका यी,
पानी–भार !

ग.

के, के ल्यायौ ? सलिल–सँगी हो !
कोमल, कोमल ऊन सरि !
रत्ननिधिले सम्झन्छन् के
स्थल–दरिद्री पापीहरुकन,
शुष्कहरुकन, माया गरी ?
अध्यात्म–जगत्का प्रखर खडेरी,
वर्षी, मेट !
मानवताका शुष्क जराहरु
मर्नै आँटे यस उपवनमा,
घुस्दै भेट !
शुष्क र निर्धन जगत् धनी गर,
पन्ना किन्ने मोती फाल !
सधूली नभ यो रुग्ण छ, नग्न छ,
धोऊ, पखाल !
साँझ–बुना पोशाक उज्यालो,
सुन्दर शैली,
यसमा हाल !
ज्वलित जगत्का ए उद्धारक !
वरुणदेवका करुण छाया !
समवेदना ए थलसँग जलका !
मानवताझैं कवि हृन्नभमा
छाउँदा हलुका !
ऋतु–क्रम स्मृति ए अतट विपुलका !
युग–चक्रका झैं ए झिल्का !
कोही परम करुण छ उतातिर !
क्या माया !
ए जलट हो ! फैली, फैली,
छाया डाल !
दायाँ बायाँ !

घ.

अतिथिहरु हो पाद पवित्र
कविदृग–जलले धुन देओ !
कोमलका ए आत्माहरु हो !
कल्पनाका हात नरमले
नरम पखेटा छुन देओ !
अरुका दुःखका पग्ली मिट्ने !
दर्शन पाएँ, रुन देओ !
कसरी अस्थि पवि परिणत छन्
सङ्घर्षहरुमा भनिदेओ !
कसरी पुनरुद्दीपित भू हुन्
गाई, ताली गनिदेओ !
महापुरुषका नाटक गर, झर !
प्रेरक भावका जुनि लेओ !

ङ.

दृश्यपटमा कलिलो रङ्गले
छोई आयौ बादल हो !
करुणा जन्मी तिम्रा सँगमा !
वसुन्धराले घायल हो !
शहीदहरुका हृदय तिमी होऊ,
बलिदानका ए पागल हो !
स्वर्गका हे श्रृङ्गारहरु हो !
दिवसप्रभाका गाजल हो !

च.

आज मुजूर भो मन बहुरङ्गी !
त्यसमा वाणी मुदित चढिन् !
रोमहर्ष भै, प्रकृति तिम्रो
सन्देश गीतिका निम्ति अडिन् !
बोल, बोल, ए मेरा अतिथि !
पुनरुद्दीपन राग ! झर !
मर–मिटको जल–सङ्गीत मनोहर
कवि–आत्माको तृप्ति गाराई
छर न, छर !
अविश्लेष्य, अनिर्वचनीय, अनुपम,
आनाकधरा, व्यापक, महान्,
महामधुर एक सङ्गीत जगत्को,
जो हो अविरल, निश्छल, अविकल,
विकास–उज्यालो बलिदान !

छ.

अतिथि तिमीहरु घर घर गर्दै
जल बन्दिन्छौ पग्ली प्राण !
शून्य गगनमा सब कुर्वान !
बर्षिरहन्छौ, बर्षिरहन्छौ,
मानव दिलमा तर हे निरन्तर !
बर्षिरहन्छौ अनजान !

Lakshmi Mali – Meri Chhori

सिमलका भुवाहरुजस्ती
मेरी छोरी सुकोमल भइन
मेरी छोरी सहनशील भइन
पुराना इच्छाहरु विपरीत
मेरी छोरी
आगोलाई निषेध गर्ने
पानी र हिउँका ढिक्काहरु भइन
म उसकी त्यस्ती आमा हुँ
जसले गृष्मकालीन घाममा आगो निलेकी छ
यतिखेर सोध्दैछु म आफैलाई
मेरै दशधारा दूध पिएकी मेरी छोरी
आवाज र आगोका यामहरुका विपक्षमा
कसरी मौन र हिउँका ढिक्काहरु हुन्छे ?
मुटुभरि सियो
र पैतालाभरि काँडाहरु बोकेर
आधा रातमा पीडाले बर्बराउँथें म आमा
सास फेर्नका निम्ति हावामा
मेरो निम्ति धुलो र धुवाँहरुमात्र थिए
ठीक त्यही याममा
मेरो गर्भभित्र दश महिना बसेकी मेरी छोरी
गर्भबाहिरको यो संसारमा
धुवाँ र काँडाहरुविरुद्ध विद्रोह गर्दैछे
मेरा उहिलेका इच्छाहरु विपरीत
मेरी छोरी फूलको थुङ्गोजस्तो भइन ।
मेरो चेतनाको क्षितिजलाई हल्लाउँदैछन्
उसका आवाजहरु
ऊ मलाई भन्दैछे
म तपाईका प्राचीन इच्छाहरुमा आगो सल्काउँछु
र हाम्रा इच्छाहरुका निम्ति लड्न तयार छु
ऊ यत्तिको कठोर हुन्छे भनेर
अहँ ! मैले सोचेकै थिइनँ
मैले निलेको आगोको ज्वाला भएर जन्मी ऊ
मैले पिएको धुवाँको बारुद भएर हुर्की ऊ
मैले खपेको अपमानको प्रतिफल भएर बढी ऊ
उसको नशा नशामा रगत होइन
आगोका नदीहरु बगेका छन्
उसका आँखाहरुमा प्रतिशोध
घृणा भएर बसेको छ ।
पिठ्यूँमा भारी र
गर्भमा छोरी बोकेर
सहस्र साहूका बातहरु खाएकी
श्रमशील आमाकी छोरी
सहनशील हुनै नसक्ने रहिछ
सुकोमल हुनै नसक्ने रहिछ
एउटा जीवन्त शिक्षा भएर
प्रस्तुत भएकी छे मेरो अघिल्तिर
भविष्यकी प्रतिमूर्ति
मेरी छोरी ।

Indra Kumar Shrestha Sarit – Atur Chha Jindagi

यूग भयो धर्तीमूनि दबिएको
आगो बोकेर पनि पानी पानी बनेको
एक एक पल सम्झना छ उसलाई
असिनाले चूटेको, बर्षात्ले रुझाएको
पन्छीभैंm उड्दै उड्दै
खुल्ला आकाशमा उडने सपना
सधैं सधैं ज्वालामूखीभित्रै दबिएको ।

पूरानो चिहानसरी अपहेलित ज्वालामूखी
मान छैैन, मर्यादा छैन
समयको अगाडि सधैं महत्ताहीन ज्वालामूखी
अपमानको अनल पिई पिई बनेको हो ऊ ज्वालामूखी
अब चरी बनेर उड्नू छ उसलाई पनि बादलमाथि माथि
पृथ्वी घूम्यो कि सुर्य घूम्यो
कून ग्रहले कसलाई चूम्यो
बेअर्थ छन् उसका लागि यी सबै अर्थहरु
अर्थपुर्णा छन् त केवल
आप्mनै अस्तित्वको निरन्तर खोजी ।

राष्ट जापान होस् कि अरु नै
जहां पगे पनि ज्वालामूखीको एउटै कर्म हून्छ
फुट्नू फुट्नू केवल फुट्नू …… ।
असिना, पानी र झरीको सहेर अत्याचार
कति सहनू उडन्ते पञ्छीहरुका् बिष्टा, अन्त्यहीन चीरबीर
सून्नू छैन अब उसलाई मान्छोको चीत्कार
पूmट्नू नै ज्वालामूखीको धर्म हो
मच्चिए मच्चियोस् यूगौं यूग हाहाकार….. ।
नाम ज्वालामूखी, सिंगो परिचय नै ज्वालामूखी
नचाहेरै पनि धर्तीभित्रै दबिएको छ ऊ
नचाहेरै पनि साइनो छ धर्तीसंग उसको
तर अब चाहिने नचाहिने साइनोहरुले
उसलाई सक्ने छैनन् छेक्न
नसके पनि घडी, पला र दिन तोक्न
धर्तीले दबाएर राखेको ज्वालामूखी
एउटै छ लक्ष्य, एउटै छ उद्धेश्य
विष्फोट.. विष्फोट..विष्फोट…….।

Krishna Bahadur Chhetri – Dharti Ko Bardan Napayeko Jeewan Abhishap Bhairahechha

भित्र बस्छु-­­
ठिहिर्याउंछ आफ्नो वास्तविकता
बाहिर निस्कन्छु-
पोल्छ समयको अजेय असमानता

बिउँझेर पनि आफूलाई
मस्त निदाईरहेको अवस्थामा पाउँदा
लाग्छ –
कहिल्यै जागा नहुने
निद्रामा मस्त म महाकुम्भकर्ण बनूँ
ताकि चेतनशील हुनुको बाध्यतामा
आफ्नै आकांक्षाहरुको प्रहार सहन नपरोस्
समानताको खोजमा आफ्नो स्तर
गल्लीको भुस्याहा कुकुरको तहमा
रुपान्तरित भएको सत्यता हेर्न नपरोस्

मानवीय स्वभावको विपरित
किन-किन अचेल
मायामा पनि अर्थ खोज्न मन लाग्छ
स्वार्थ पो टांस्सिएको छ कि भनी
माया कोट्ट्याई हेर्न मन लाग्छ
कसैबाट विश्वास पाए
अनायासै नाकले अविश्वासको गन्ध खोज्न थाल्छ
सोझो बाटोको मार्ग – दर्शन पाए
अनेकौं डरलाग्दा दुश्चिन्ताले डांवाडोल भएर
पाइला जञ्जालपूर्ण बाटोमा बढ्न थाल्छ
यो चलिआएको खराब संस्कार होइन
आजको हावामा मिस्सिएको स्वार्थपरक परिवर्तनको चमत्कर हो

समयले सिर्जेको यस्तो दुर्भेद्य दुरावस्थामा
आफू चक्रव्यूहभित्र परेको भान हुन्छ
समयको जटिलतामा आज
धर्तीको वरदान पाएको जीवन
अभिशाप भईरहेछ
यस्तो नबांच्नु बांच्नु परेपछि
आफ्नै जीवन खरानीको थुप्रो लागिरहेछ
आफैंभित्र आर्यघाटको चीता गन्हाईरहेछ ।

Bikram Subba – Goreto

हिम्मतका सकृय पाइलाहरूले टेकेपछि
गोरेटो टुसाएर धर्तीमा लहराझैँ फैलिएछ
ईतिहासको कुनै साइतमा
छेउबाट सियोझैँ पस्यो गोरेटो
र त फले फुले फैलिए
जङ्गलको छातीमा जुन-ताराका छाँयाझैँ
जातजातका घर-बस्तीहरू Continue reading “Bikram Subba – Goreto”