Bikram Subba – Khutta Haru

आमाकै गर्भको सुपरमार्केटमा किनेको
साबिकका एकजोर पुराना खुट्टा बाहेक
अण्डरग्राउण्ड स्टकमा खुट्टा
दुनियाको कुनै धनी मानिससँग पनि छैन
खुट्टाहरू हिँडिरहनु…
नमरिसकेको जिउँदो प्रमाण हो
जिउँदो छौ !
र त हिँडिरहनु…लगातार हिँडिरहनु तिम्रो नृत्य हो !
हिँडिरहे मात्र, ताकेको ठाउँमा पुगिन्छ
जस्तो कि –
तेन्जिङका पाइलाले लागातार हिँडेर सगरमाथा टेकिएछ
बुद्धको एक-चित्तले मात्र भावनामय प्रञ्या देखिएछ
गान्धीको लठ्ठीले हरदम यात्रा गरेर मात्र स्वधीनता लेखिएछ
जुनकिरीजस्ता घामका वीउ छर्दै
माओजेदुङले लङमार्च गरेर नै पूर्वमा रातो सूर्य उदाएछ
असंख्य जेलयात्राले मण्डेलालाई महान उचाईमा उठाएछ ।

तसर्थ, खुट्टाहरूले
हिँड्न कदापि रोक्न नहुने रहेछ…हिँडिरहनु पर्ने रहेछ
काममा पुग्नलाई होस् या जुलुसमा सामेल हुन
मलामी जानलाई होस् या युद्ध क्षेत्रमा पुग्न
आफ्नै जिन्दगीलाई फेर्न होस् या समाजलाई बदल्न
हिँड्नु एक पूर्वशर्त रहेछ
तसर्थ हिँड्न किमार्थ नरोक्नु…
हिँडिरहनु… हिँडिरहनु… सिरिफ हिँडिरहनु…
नत्र आजसम्म हामी पुग्न नसकेको
स्वर्गभन्दा पनि सुन्दर शान्तिको कैलास पर्वतमा
देउताभन्दा महान हाम्रा केटाकेटीहरू नपुग्लान्

Bhupi Sherchan – Kathai Bichara Bhupi Sherchan

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपि’ शेरचन !

Laxmi Prasad Devkota – Ek Sundari Beshya Prati

छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव !
फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् !
सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी !
ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ?
रसाल भार रेशमी विचित्र चित्र Continue reading “Laxmi Prasad Devkota – Ek Sundari Beshya Prati”

Gopal Prasad Rimal – Sapana Ma

मेरो हरघडीमा जपना,
तिमी आज सपनामा आए !
यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अललिउँला,
केही छैन,
तिमी मेरो पुग्ने ठाउँझैँ एक्कासि देखा मात्र परे,
तिमी आज मेरो सपनामा आए !
सपनामा तिमी सुरुसुरु आउन सक्छौ,
न पर्खान, न पहरा–
बिपनाको पखेटा सपना न हो !
चाहन्छौ भने उडेर आऊ न, को रोक्छ ?
मन लागे तिमी दुष्यन्त भएर आऊ,
म शकुन्तलाझैँ फूलको सुसारमा हुन्छु ।
अथवा कथाका राजकुमारझैँ देशभूमण गर्दागर्दै
राक्षसले लुटिएको सुनसान शहरमा आयपुग,
एकलासको बगैँचामा सुतिरहेकी मलाई एक्कासि फेला पार,
मलाई बाबु–आमा भन्न कर परिरहेका राक्षसहरुबाट
छुटकारा दिन कम्मर मस,
म राक्षसहरुलाई आँसुले छकाएर
तिनीहरुको काल पत्ता लगाइदिन्छु,
तिमी उनीहरुलाई मार, मलाई हर !
अथवा मलाई झुक्यानमा पारेर यस्तो बेलामा आइपुग
जब म मेरो लाज र सङ्कोचको
पातलो घुम्टो र सप्को हाल्ने बहनासम्म गरुँ;
बल गनै नसकूँ !
तिमी आऊ—
बिपनाको हराएको मणि नै सपना न हो !
पृथ्वी पनि त निद्राजस्ता गहिरा समुद्रको पानीमा
स्वगैको दौलत चन्द्रमा र तारा पाउँछिन् ।
मेरा राजा !
मेरा परेला निद्राले भारी हुँनै लाए,
तिमी आज सपनामा आए ।

Lakshmi Mali – Mamata

आमाको हृदयको एक छेउमा
राहत पाउन
बास बसेर हेरें
भत्किएका सपनाहरु आफसेआफ बुनिन थाले
चाहनाहरु फुल्न पुगे
प्रेमको
ममताको अथाह सागर
उर्लेर आयो र नुहाइदियो मनलाई
धन्य ! म आफै पूmल बनेर
सुवास फिँजाउन पुगेँ ।

Gopal Prasad Rimal – Gunaaso

म अहिल्यै त नमरुँ, नमरुँ !
मेरो यही एउटा इच्छा, यही एउटा पुकार
एउटै यो जिउँदो गुनासो, रहीरही ठुँग्ने यो
एउटै पीर—
म नमरुँ, अहिल्यै नमरुँ !
मैले नहिर्काई चित्तै नबुभ्mने गरी थाहा पाएँ—
मेरा यी पाखुरामा कुन बल लुकेका रहेछन्—
म वालिजत्तिकै बली रहेछु—मलाई हटाउन रामले जस्तै
लुकेर प्रहार गर्नुपर्ने रहेछ ।
त्यसैले मेरो यो भुजाको बलले,
मेरो हृदयमा जागेको जहरिलो घृणाले,
मेरो धारिलो मस्तिष्कको चोटले
मेरो दुश्मनमाथि म आफ्नो पनि माया मारेर
निस्फिक्री नबज्रेसम्म,
मलाई मारेर आजसम्म बाँचिरहेका दुश्मनलाई
लम्पसार पार्दै—
हत्ते देखाएर उसको मन पगाल्नपट्टि नलागेर
साथै उसले सोझै मसँग मागेको प्रहार
नदिएसम्म
म नबिलाऊँ, नडगूँ !
म अहिल्यै त नमरुँ !
मेरो एउटै यो जिउँदो गुनासो
नमरेको यो धोको, यही एउटा धीत
म अहिल्यै त नमरुँ, नमरुँ !
अहिल्यै त नमरुँ !

Krishna Bahadur Chhetri – Udas Anuhar Ko Samjhana Aaunda

मेरो आँखामा यस बेला
एउटा अनुहार झल्झली आईहेछ
म सम्पूर्ण आफ्नो ध्यान
त्यसैमा लगाईरहेछु
लुगामा टाँक लगाउने कामदार
एउटी युवतीको उदास अनुहार
त्यसै-त्यसै धेरै दिनदेखि सम्झिरहेछु

एकान्तको गहिरो Continue reading “Krishna Bahadur Chhetri – Udas Anuhar Ko Samjhana Aaunda”

Laxmi Prasad Devkota – Fool Ki Kopi Prati

क.

अनलशिखाझैं कलिली सुन्दर !
मधु–ज्वाला !
यो दृगपथमा पक्राउ बसे सरि,
भन तिमी को ? ए ! बाला !

ख.

मधुर रहस्यको मुसमुस ग्रन्थि,
रेशमी–तहले बाँधी,
वाणी तिरस्कारिणी ! बोल्छयौ
सुगन्धका के शव्द–कणीहरु
सम्मोहनले साधी ?

ग.

आत्मप्रकाशमा नै के भन
तिम्रो ब्रीडा–लाली ?
संसारी यो स्तरमा उत्रन
शरमिन्छयौ कि ?
सुकुमारी !
किनकि छ तिम्रा भावहरुको
अतिशय मृदुल, अलौकिक, मसिनो,
जाली ?

घ.

तैपनि मलयानिलका लहरले
फेर उछाल्दा तिम्रा,
ओर्लन, बोलन, पर्शनको मन !
इङ्गित छर्दछ राम्रा !

ङ.

जीवन–कणी सब झलमल बत्ती
बली, कसैसंग जाति,
मदिर क्षणमा, शादी स्वपनी,
उत्सव–चुली कल्पी, मुस्क्यौ ?
बैंस–सदनमा, काँच रङ्गको बहुभाँति ?

च.

अथवा प्रियतम तिम्रो कोही,
मीठो आँखमिचौनीले
मेरो मुटुको गहिरो दरीमा
आई लुकेको छ कि अहिले ?

छ.

लाई मधुरतम क्षणभङ्गुर यो
अमरताको सारी,
एक झलकमा, विश्व बुझाउन,
झर्यौ जगत्को वारि ?

ज.

अपरिचिता ए ! परिचय कुन यो
आदिकालको, दिन्छयौ ?
मुरलीकणीमा वृन्दावनमा
सदन लिएझै लाग्दछ कहिल्यै,
मिरमिर युगमा,
तिमी निकट जब हुन्छयौ ?

Shyamal – Waripari

देशे बेचेर आफ्नो छोरालाई घडेरी किन्नेहरु छन् वरिपरि
अर्काको काँधमा चढेर सगरमाथा आरोहण गर्नेहरु छन् वरिपरि
जोताएर तमाम मानिसहरुलाई किसान बन्नेहरु छन् वरिपरि
भोक्दै छु एकनाससँग
मलाई लुछ्दै गइरहेका किर्ना, जुम्रा र बिच्छीहरु झैं
केही बाबुहरु छन् वरिपरि ।
हावामा झुलिरहेछन् प्लाष्टिकका रङ्गीन फूलहरु
र जबरजस्ती चुँडिएर
पूजाकोठाको मूर्तिमा चढाइएका छन् सृष्टिका सुन्दर शिशुहरु
परन्तु निःशब्द मानिसहरुको लाटो भीड छ वरिपरि
निहत्था आमाहरुको जमात छ वरिपरि
र ग्रह घुमिरहेका उपग्रहहरु छन् वरिपरि
केही बाबुहरु छन् वरिपरि ।
यो कहाँ हो ?
कहाँ छु म ?
र कहाँ छ यहाँको मानवबस्ती ?
कतिहजार कोष टाढा फैलिएको छ यो अँध्यारो जङ्गल ?
को सँग सोधूँ, कहिले पुगिन्छ मानिसहरुको बस्तीमा ?
यहाँ त केही ताजमहलहरु छन्
जो बनाउँदा काटिए हातहरु कर्मीका
केवल ठुटा हात भएका कलाकारहरु छन् वरिपरि
इतिहास बन्दै गएका केही मानवकृतिहरु छन् वरिपरि
अकुत सम्पत्तिको समुद्रमा पौडिरहेका केही बाबुहरु छन् वरिपरि ।
छद्म समाजसेवीहरु छन् वरिपरि
मृत्यु—घण्टाको रालो अँठयाएर
जबरजस्ती बाँचिरहेका सिकारी चितुवाहरु छन् वरिपरि
सधै घातक खेलमा व्यस्त
व्यूह रचना गरिरहेका केही दुष्टहरु छन् वरिपरि
आगो चोरेको आरोपमा मानिसलाई सजाय दिन सधै उत्सुक
सिकारी द्यौताहरु छन् वरिपरि
केही बाबुहरु र उनका
प्रिय नातेदारहरु छन् वरिपरि ।

Shreeshisha Rai – Desh Bahadur Bhariya

अढाई सय वर्ष पुरानो ढुंगाको भारी
बोकेर उभिईरह्यो ठिँगै
विसौनीमा आईपुगेपछि
भारीको संस्करण फेरिएको छ
यो अब संघियताको भारी हो
छदैँछ पिठ्युँमा
गह्रौँ भारी ईतिहास–फलामको

समयसँगै पिठ्युँमा घोप्टिने भारीहरु
सवै बोक्नुपरेको छ देशबहादुरले
छोटा र खुकुला
पाखुरी र कुर्कुच्चाहरु
जीवनमा पहिलो पल्ट
भारी विसाएको अनुभव छ उसँग
त्यै भारी घरी घरी हेर्दै उ
टोल्हाईरहेछ
उ चाहन्छ– त्यस्तो भारी अब कहिल्यै बोक्न नपरोस

र जीवनमा पहिल्यै पल्ट
भारी विसाए लगत्तै
अजङ्गको भारी उठाउनुपरेको छ उसले
नयाँ भारी
असुरछित वर्षाले निरन्तर भिजिरहनु
यसको संस्कार हो
दिनहुँ गह्रौँ बन्दै जानु विशेषता हो
यो भारी बोकेर देशबहादुरले
कोशीमा वाँसको धराप पुल भएर
लोडसेडिङमा हिँड्नुपरेको छ

देशबहादुर आफै
जीउभरी बर्ड फ्लुका भाईरस बोकेर
हिँड्ने भरिया हो
ऊ आफै
भारी जीउ भएको भरिया हो

Acharya Prabha – Ama Timi Samundra Hau

आमा —
तिमी समुन्द्र हौ
त्यसैले त —,
शान्त लहर भै बगिरहेछौ
सुस्त —सुस्त,
न त कहिल्यै थकानको महसुश गर्यौ
न,त उर्लिदो भेल बनेर तिमीले
साराको सपना बगायौ ,
बरु —आफु निश्चिन्त बनेर
किनारालाई Continue reading “Acharya Prabha – Ama Timi Samundra Hau”

Krishna Bahadur Chhetri – Sakar Mero Sapana

बिहान भएपछि तिमीसंग
भेटेर कुरा गरुंला भन्ने
मेरो रातभरिको सपना थियो
ऐले तिमीलाई भेट्दा
मेरा आंखाले निद्रा त्यागे
म अब मुक्त भऐं
निद्राको बोझिलो बन्धनबाट
अब म तिमीलाई नै भेटिरहेछु
आंखाभरि सौन्दर्य तिमी छौ

लाजले हो कि मायाले
वा हो हृदय जोडिएर
म आंखाले बोलिरहेछु तिमीसँग
ए हावा ! सर्सर नगर्
नछोडेस है निश्वास आँधी अब
ए दिन ! अँध्यारो नछर्
नबोलाएस् है रात अब
हृदयको चाहना मेरो
वासन्ती फूलको मुस्कान जितिरहिछिन्
तपस्यामा लीन ऋषि के भए हुन्
जगको कल्याण सारा म तिमीमै पाईरहेछु
संसारमा तिम्रो र मेरो भेट नै सृजना नौलो
तिमी र ममै विश्व विशालतम् पाईरहेछु

Sarubhakta – Parajiwi Atanka Ra Desh

आप्तकामः जीवनका कार्निवलहरु
पदार्थहरुको सम्वेदनामा
घडीको सुई रोपिएर
उल्कापातका “ऋत” जन्मन्छन्
अन्धो इतिहास
धृतराष्ट्रहरु जन्माउँछ
कार्निभोर – वहुला मान्छेका डायरीहरुमा
श्रापित पदचिन्हः पातलो हावाका उच्चताहरु
हिमयुगीन गाथाहरुमा
यतीका खुट्टाहरु टेकिएकाछन्
कङ्कालहरुको उत्खनन्ः विगलित मनका पहराहरु
मानवयन्त्र यन्त्रणाहरुमा
कम्प्यूटर चिप्स भावनाका आइसोटप्स
जमेका छन्
यूटोपियामा हराएका मान्छेहरु
धारिला क्षितिजहरु ओर्लन्छन्
खोई हिमालमा हराएका म्यालोरीहरु
अद्यापि इदी अमिनका भूतहरु
जिउँदैछन्
लाभा घडी जिन्दगी
एकछिन खुलेको आकाशजस्तो
समयको कोर्रा लागेर अचेत छन्
कार्टुन प्रजातन्त्र
पोखरीका हिमालहरु हल्लिएका छन्
उप्m ! के म अझै कार्टुनहरुकै देशमा छु ?
साइलेसस्वप्न ः सिनेमाई प्रेमम्यानियाहरु
परजीवी आतङ्कग्रस्त छन्
युगहरु काँचुली फेर्छन् तर किन फेरिदैनन्
मनुष्यताका विषाक्त दाँतहरु ?
सम्सुद्दीनहरु, नेपाल लुट्न नआए हुन्छ
आजभोलि हामी आफै आफ्नो देश लुट्न काफी छौं
वैकुण्ठेहरु, जाऊँ लिगलिगकोटतिर
इन्द्रजात्राहरु मदहोस छन् –
‘नक्या व्यू छ्वेला वजी अँ !’
आह ! अभागी हुन्छ त्यो देश
जहाँ कसैलाई देश दुख्दैन !

Bimal Nibha – Jutta

देशलाई बदल्छु भनेर
कसम खानेहरुले
एकाएक बदलेका छन्
आफ्नो जुत्ता
जुत्ताको रंग छ कालो
विश्वासघातको रंग पनि
कालो नै हुन्छ
र काला रातहरुमा
उत्सव मनाउँछन्
दलाल, पाखण्डी, भाट,
बेइमान र जुवाडेहरु
दुष्ट Continue reading “Bimal Nibha – Jutta”

Sarubhakta – Akhet Parba

सर्पदंशित समय
मृत्युको जन्मदिन मनाउँदै छ
कफ्र्यू लागेका मनहरु
हत्याका कन्सर्टहरु सुन्दैछन्
सांग्रिलाभरि
राष्ट्रिय डाँकाहरु
मान्छेका विस्कुनहरु सुकाएर
वैकल्पिक देश खोज्दैछन्
ग्रहण लागेको वेला
प्रायश्चितमा Continue reading “Sarubhakta – Akhet Parba”

Gopal Prasad Rimal – Sapana Ma

मेरो हरघडीमा जपना,
तिमी आज सपनामा आए !
यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अललिउँला,
केही छैन,
तिमी मेरो पुग्ने ठाउँझैँ एक्कासि देखा मात्र परे,
तिमी आज मेरो सपनामा आए !
सपनामा तिमी सुरुुसुरु आउन सक्छौ,
न पर्खान, न पहरा–
बिपनाको पखेटा सपना न हो !
चाहन्छौ भने उडेर आऊ न, को रोक्छ ?
मन लागे तिमी दुष्यन्त भएर आऊ,
म शकुन्तलाझैँ फूलको सुसारमा हुन्छु ।
अथवा कथाका राजकुमारझैँ देशभूमण गर्दागर्दै
राक्षसले लुटिएको सुनसान शहरमा आयपुग,
एकलासको बगैँचामा सुतिरहेकी मलाई एक्कासि फेला पार,
मलाई बाब्ु–आमा भन्न कर परिरहेका राक्षसहरुबाट
छुटकारा दिन कम्मर मस,
म राक्षसहरुलाई आँसुले छकाएर
तिनीहरुको काल पत्ता लगाइदिन्छु,
तिमी उनीहरुलाई मार, मलाई हर !
अथवा मलाई झुक्यानमा पारेर यस्तो बेलामा आइपुग
जब म मेरो लाज र सङ्कोचको
पातलो घुम्टो र सप्को हाल्ने बहनासम्म गरुँ;
बल गनै नसकूँ !
तिमी आऊ—
बिपनाको हराएको मणि नै सपना न हो !
पृथ्वी पनि त निद्राजस्ता गहिरा समुद्रको पानीमा
स्वगैको दौलत चन्द्रमा र तारा पाउँछिन् ।
मेरा राजा !
मेरा परेला निद्राले भारी हुँनै लाए,
तिमी आज सपनामा आए ।

Sarubhakta – Trasadi Gatha

चिसो मरुभूमिमा
ध्वजावाहक काला जादुगरहरु
इन्क्युवेटरमा वालुवाका सपनाहरु
कोरल्दैछन्
अपधर्मका पैगम्वरहरु
कुहिरोको सुरुङभित्र पसेर
मरुद्यान – ओयसिस तृष्णाका पूmलहरु
फुलाउँदैछन्
ठिंगुराभित्र
वालुवाका Continue reading “Sarubhakta – Trasadi Gatha”

Abhas – Roti

यो कुनै प्रतिष्ठित बिम्व होइन
जसलाई
न घाम झैँ कवितामा सजाउँन पाउँ
न जून झैँ गीतमा गाउँन पाउँ
यो कुनै गुराँस होइन
यो कुनै पलाँस पनि होइन
न मन्दीर पुज्नै पाउँ
न प्रेमीकाको हातमै थमाउँ ।

Bimal Nibha – Gulabiya

म तिम्रा बाख्रालाई खुवाउँछु
नरम–नरम घाँस
म तिम्रा आँखाबाट हटाउँछु
गम्छाले आँसु
म तिम्रा लागि मेलाबाट ल्याउँछु
रातो रंगको चुनरी
म तिम्रा बाटाका काँडाहरु पन्छाउँछु
विस्तारै खुर्पीले
म तिम्रो सुगालाई दिन्छु
हरियो–हरियो खुर्सानी
म तिम्रा बाबालाई ल्याउँछु
बजारबाट दमको औषधि
म तिम्रो कुवाबाट निकाल्छु
गर्मीमा शीतल जल
म तिम्रो आँगनको देउतालाई चढाउँछु
बेलपत्र र गेंदाको पूmल
म तिम्रो चुलोका लागि बन्छु
दनदनी बल्ने गुइँठा
म तिम्रा लागि टिप्छु गाछीबाट
पाकेको मालदह आँप
म तिम्रा सुन्दर नयनका लागि ल्याउँछु
परको सहरबाट सुरमा
म तिम्रो हँसुलीलाई छुटाउँछु
दुष्ट साहूकारकहाँबाट
म तिम्रो लागि जे पनि गर्छु
कसम खान्छु म
ओ मेरी चन्द्रमाझैं प्यारी–प्यारी गुलबिया !
म तिम्रो जोबनलाई सम्झन्छु आफ्नो जीवन
(२०५१)

Laxmi Prasad Devkota – Mero Dharma

क.
सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनाले
क्या फीँज निकाले !
किरण छरी दी तब कल्पनाले !
लडका–दिलमा रहने कविले धरम निकाले, कथा सँगाले !

ख.
पुजारी डर भो, औ भक्त भो,
अज्ञातलाई अज्ञेय पारी
रचेर मन्दिर, कुँदी बसाले !
अनेक बान्की दिई छिनाले !

ग.
बालक ऋषिका कथा मीठा छन्,
म सुन्छु सुन्छु !
यो कल्पनाको परी जगत्मा,
म रसले घुम्छु म रसले घुम्छु !
सफा छ खोजी विचित्र मीठो,
म मग्न हुन्छु, सतृष्ण हुन्छु !

घ.
बगिरहेको मलाई जल देऊ !
सुकोस्, पुगोस् वा पयोधि दूर !
मलाई केवल समुद्र तृष्णा
छचल्किएको, ध्वनि प्रचुर !

ङ.
मलाई शङ्का सँगी रहन्छे !
मभित्र थोरै छ भित्रको ज्ञान
तथापि घुम्दो छ नागबेली,
तरङ्ग मेरो, समुद्रको गान !
यता छ लरबर,
उता छ आह्वान !

च.
विदित चिरेर किनार पारी, लगाउँदो छु म फूलबारी !
नभेटिएको, नछोइएको,
प्रवाहको तर छ प्राण जारी !

छ.
म गर्तमा गै, “समुद्र छैन”
भनें बराबर, अडी शिथिल प्राण !
बराबर निस्कें, नभेटिए त्यो,
मीठो छ भन्दै मनुष्यनिम्ति
मरुमा कुर्वान !

ज.
म आफूभन्दा अगाडि खोज्छु,
म आफूभन्दा पछाडि गाँस्छु !
म जलहरुमा झझल्किएको
सतृष्णताको गति मिठास छु !

झ.
यहाँ छवि छ, वहाँ छाया,
झिमिक झिमिकमा धधप्प, झप्प !
जो भेटिएको त्यहीं अडेर
यही हो भन्ने हठ प्रदर्शन
म लिन्न,
बग्छु, भजी अलभ्य !

ञ.
‘फटिक’ को मन्त्र लिई बगेथें,
जहाँ छ माटो !
म एक निर्मल पछाडि ‘कलकल’–
ले लिन्छ बाटो !

ट.
कहिलेकाहीं किरणको कर ली
कदम छ दुइचर !
टिपी झलक त्यो बनाऊँ ठेली !
म बग्छु लाचार !

ठ.
त धम्र्म के हो ? सदा पिपासा,
र त्यसको भाषा, र तृप्ति–आशा !
अनन्त पाए, घुसेर उरमा,
सँगेटी सब धार
निदाउनु एकबार !