मैले पाएँ
नीलो निम्ता–पत्र
तिम्रा छालहरुको
र बादलु कछारलाई क्षितिजमा
झुण्ड्याएर— मैले
हाम्फालें तिम्रो जलमाथि
डुबुल्की मारँे तिम्रो
गहिराइभित्र आकाशजस्तै
सिङ्गै आकाशजस्तै नाङ्गै
समाविष्ट ग¥यौ तिमीले पनि
सम्पूर्ण मलाई आफुमा
आफुभित्र
कुहिरोहरु पन्छाएर
छालजस्तै उर्लिएर
तालजस्तै उदाङ्गिएर
नाङ्गिएर
कति सन्तुष्ट हाँसो छर्दैछ अब
मेरो ज्वरमुक्त सूर्य तिम्रो अँगालोमा
अब मलाई मेरो चट्याङ चुटुङहरुले पोल्दैनन्
बिलाइसके तिम्रा अज्ञात कुराहरुभित्र
तिम्रा चन्चल माछाहरु
अब तिम्रो शीत जललाई उनीहरुले
छिचोल्दैनन् ।
उठेर फर्किनुपरे अनि मैले आफ्नो
पूर्वस्थानमा अब म अशान्त हुन्नँ
असन्तुष्ट हुन्नँ,
कि म स्पष्ट देखिरहेछु
तिमीभित्र मैले कुँदेको
मेरो आफ्नो प्रतिबिम्ब
चल्मलाईरहेको
मेरो आफ्नो छाया
सल्बलाइरहेको ।
Tag: Nepali Poems Website
Nawaraj Subba – Pardeshi Ko Sapana
मनमा बिछ्याएर
उनेका मायाका पोतेहरू
तिम्रो गलामा बिसाएर
तिमीसँग बिदा माग्दा
धेरै बेर रोएथ्यौ तिमीे सपनीमा
अहिले ब्यूँझेर हेर्दा पो देखें
तिमीले मेरो छातीमा झारेका आँसुहरू
मेरै सिरानीमा झरेछन्
यस्तो लाग्यो
नौ डाँडापारिकी मायाले
आज मलाई बल्ल संझिछिन् ।
Bimal Nibha – Police Ra Kavita
पुलिसले कविता पढ्यो
र भन्यो
राम्रो छ
पुलिसले कवितालाई राम्रो भन्यो
कवितामा लेखिएको थियो
के लेखिएको थियो कवितामा
पुलिसलाई थाहा छ
पुलिसलाई राम्ररी थाहा छ
किनभने
पुलिसले कविता पढ्यो
र भन्यो
राम्रो छ
पुलिसहरु पनि
कविता पढ्छन्
(२०४१)
Nawaraj Subba – Dubo
बगरको छातीमा
जन्मैदेखि म दूबो
रहर समाइ
लम्किरहेकै बेला
नाता नटुर्टाई माटोसँग
शून्यताविरुद्ध
शिर उठाइरहेकै बेला
उज्यालोको तिर्खामा
आकाशतिर चियाइरहेको बेला
कसैका निर्मोही हातले मलाई
टपक्कै टिपे
सुम्सुम्याएझैँ गरी
निर्दोष गाला चिमोटे
टाँसिएका माया मेरा
माटो टक्टक्याउँदै जराहरू पिटे
साँच्चै उनीहरूले मलाई हिजो
पैतालाले कुल्चे र गला निमोठे
अझ यतिले नपुगेर
उँधोतिर बगाएर मलाई
उँभोतिर खोजिटोपले
साइत तिथि समय बद्लियो
क्या अचम्म !
उनीहरूले मलाई साँच्चै उँभोतिरै भेटे
घरको मूल ढोकैमाथि देखे
अनि स्वयम्बरमा दुनियाँले मलाई
मायालु मन जित्नेलाई भनेर मालामा उने
बेहुलीका सिङ्गो वरमालामा गाँसे
अन्ततः उनीहरूले मलाई आज
बेहुलाको गर्विलो छातीमा हाँसेको देखे ।
Binod Khadka – Kandha
मार्ने र मर्ने खेल
कहिल्यै सकिएन
शान्तीका कुरा गर्थे
कहिल्यै देखिएन।
सत्ताको गुलियोमा
सबै लठृ पर्ने
कहिले भित्र कहिले बाहिर
उनकै खेल चल्ने।
चक्का जाम र बन्दले
देश नै खाने भयो
आरोप र प्रत्यारोपले
कान नै टट्यायो।
मण्डले प्रवृत्ति
देशकै नासो भयो
आसेपासे पाल्ने चलन
मौलाउन थाल्यो।
निमुखा जनताका
दिन कहिल्यै आउला
सोचेका होईनन बिचराले
फेरी आतंक नै छाउला।
अब कसको भर पर्ने
कसलाई असल मान्ने
पलायन नै निर्णय
कहिल्यैसम्म चल्ने।
बाहिरतिर साधु हुन्छन
भित्र पुगे साँढा
यस्तै चले जनताले
फालिदिन्छन काँढा।
Sarubhakta – Khatara
मृत्युपर्वत
हिमयुगदेखि हिमयुगसम्म
आफ्नै भारले नुहेका चुलीहरु
साइवरयुगीन महाभारत रच्दैछन्
अन् लाइन च्याट्का हिमावर्तनहरु
नियति सञ्जालग्रस्त छन्
चतुर्थ महाकल्पका आविर्भावहरुदेखि
किन मानवता एक अन्त्यहीन युद्धमा
होमिएको छ ?
हेर ! हेर ! जीवाष्महरु
वटिकाष्म उपकरण बोकी डायनासोरस र
महागजहरुको सिकार गर्दैछन्
ब्रिडिङ वल ः अभिलक्षित राज्योत्पति सिद्धान्तहरु
इतिवृत्तमा हराएका छन्
विकसित वन्यजीवन प्रजातिहरु
कुन भष्मासुर अहंकारमा व्यस्त छन् ?
युगीन पासो ः जिन्दगीका युद्धयात्राहरु
रेनेसाँ मनका अनेक धुमकेतुहरु छन्
शान्ति कहाँ छ ? भए जीवाणु÷विषाणुहरुको दुनियाँमा छ
माउन्ट फुजीदेखि किलिमाञ्जरोसम्म
खतरामा परेका जीवहरु छन्
आह ! खतरामा परेका ईश्वरहरु
अझैपनि ईश्वरहरु जन्माइरहेछन्
आउ, फराउनका पिरामिडहरु हेरौं
एथेन्सका पार्थिनोनहरु घुमौं
दासविद्रोहका लाभाहरु पिऔं
अनि ग्लेडियटर भई रोमको कोलोजियममा
एउटा वर्वर मृत्यु मरौं ….
आह ! धर्मयुद्धहरु
चीनको महान पर्खाल कहाँ छ
सिवाय मान्छेको मनमा ?
Laxmi Prasad Devkota – Bihana Ko Akash Lai
क.
आकाश ! तँ लुकी पालिरहेछस् आफू खाने केवल अँध्यारो !
ए चोरीको ए रे अँध्यारो !
बिक्रीको,
हुँडारहरुको उल्लूकहरुको
षड्यन्त्रीको
दुःस्वपनीको, निशाचरको,
निर्भीकताको साम्राज्य !
ठुक्री, टुक्री, टुक्री Continue reading “Laxmi Prasad Devkota – Bihana Ko Akash Lai”
Sarubhakta – Ishwar Ballav Ka Aama Harule Atmahatya Garchhan
सुकुटीभेडाः चिलाएका गर्दनहरु
घिन्टीका माला उनेर हिड्छन्
जीवन सम्वेदना – त्यो राक्षसहरुको वस्तीमा
कहाँ हुन्छ ?
वन्द असिलेशनः टुकुचामा डुवेका धरहराहरु
तेत्सिमोकाई – स्वः ममीकरण वाँचेका छन्
शान्त जलका अशान्त गैंडाहरु
कर्मापाहरुको सिकार खेल्दैछन्
दुम्सीकाँडा सौन्दर्यः अनवरत् सृष्टि व्रह्माण्डहरु
प्रणयका स्वार्थहरुमा
यौन सफलता विमुक्त छन्
ग्यालिलियो – मनका टोड्काहरुमा
रातका आँखाहरु उँघेका छन्
वन्यजीवनः वालुवामन्तिरका विश्वहरु
मृत्युका खेलहरु मञ्चित छन्
नेता जीन – वचेरा भोक
आजभोलि हामी देश भाड्ने राष्ट्रिय
मेलमिलामा ब्यस्त छौं
इन्क्राइप्टेडः हारमोन्सका गीतहरु
अरोरा – ध्रूवीय प्रकाशमोह संरचित छन्
देशमा रगतको खोला बगेको छ
जाऊँ, विदेशतिर दोहोरी खेलौं
त्रासदीगाथाः एक असामयिक प्रश्न
‘देश कस्ले विगा¥यो ?’
ईश्वरवल्लभका आमाहरु आत्महत्या गर्छन्
पोइलो जाँदैनन्
उफ् !देश आमा हुन्
हामीमध्य को को विरुपाक्ष होइनौं
हाँ ?
Lakshmi Mali – Belagam Ghoda
उन्मत्त बेलगाम घोडा
दिनदहाडै
रातविरातै
हरिया घाँसे मैदानहरुमा
नौरङ्गी फूलका फूलबारीहरुमा
अन्न लहलहाएका फाँटहरुमा
मनपरी कुल्चिँदै
उखेल्दै खाँदै
प्रकृतिविरुद्ध
विध्वंश गर्दै
नरसंहार गर्न
पानीको साटो
रगतको खोला बगाउन आतुर
त्यो बेलगाम घोडा
हिनहिनाउँदै छ
बेरोकटोक कुद्दैछ
बेहिसाब कुद्दै गरेको
त्यसको टापको आवाज
विश्वलाई संत्रासको शिकार बनाएर
सारा वैभव लुट्न
शान्तिको अभिमतमाथि टेक्दै
नियम–कानूनलाई बलात्कार गर्दै
अन्याय शब्दको
अर्थबोध गराइरहेको छ ।
के हिरोशिमाले बिर्सियो होला
उसका हिंस्रक खुरहरुलाई ?
के भियतनामले माफ ग¥यो होला
उसका तीखा दाह्राहरुलाई ?
तेलकुवाबाट निस्केका आगोका लप्काहरुले
डढेका मनहरु पलाएका छैनन्
प्यालेस्टाइनको घाउमा
खाटा बसेको छैन
अफगानिस्तानमा बगेको रगत
सुकेको छैन
फेरि त्यो बेलगाम मिचाहा घोडा
मानव सभ्यता ध्वस्त पार्न
गिद्दे आँखा तर्दैछ ।
Gopal Prasad Rimal – Prashna
नेपाली तिमी यहाँ किन आयौ ?
गो–रखाली हौ,
गो–रक्षाको भार लिई
बढ्दैबढ्दै आयौ ? नेपाली…
तिम्रै गुफा कन्दराहरुमा
देखेथ्यो जगले पहिलो सपना,
तिम्रै वनमा पलेटी कसेर
सफल भएथ्यो ऋषिहरुको जपना,
पाएथे अन्धजगत्मा
बल्दो उज्वल दीप—
के त्यही दीप लिई तिमी
बढ्दै आयौ दुनियाँमा ? नेपाली…
आदर्शझैँ उच्च,
विस्तृत विशाल हृदयझैँ,
सत्य छुन बढेका,
या सतयका रुप भै उठेका
मनका लहरझैं सुन्दर
हिमालको रुपमा
अमरापुरीको पथ तिम्रै–
के सबैले स्वर्ग पुगेर
स्वर्गको सुन्दर कहानी भनेर,
फूलको माला लिन
घुम्दै आयौ यहाँ ? नेपाली…
या बिजुलीका कणझैं प्राण वरिपरि
पञ्चभूतको आवरण बेह्री
तिमी बर्सने बादलझैँ
आह्र्लँदा कर्म–जगतमा,
कुनै विपरीत हुरीले
फेरो मार्यो र पथमा ?
नेपाली…
Lakshmi Mali – Aama Lai Man Parchha
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तानले
सँगै खाएको
आफूले पनि बराबरी भाग लगाइदिन पाएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तानलाई
आफूले काम भाग लगाइदिएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तानहरुमा
आपसमा मेलमिलाप भएको
एकले अर्कोलाई प्रेम गरेको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तानहरुले
एकैनासको लुगा लगाएको
आफूले एकैखाले कपडाका लुगा बनाइदिन पाएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तान
रोगमुक्त भएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तान
आफ्नै घरमा बसेको
आफूले सबैलाई आफ्नै घरमा मिलाएर बसाएको
मेरी आमालाई मनपर्छ
आफ्ना सबै सन्तान
ज्ञानी, गुणी बनेको
आफूले पनि सबैलाई ज्ञान बाँड्नसकेको ।
Bimal Nibha – Chappal
धेरै दिनपश्चात् मलाई
स्मरण भयो बाबुराम भट्टराईको
कुन्नि, कहाँ छन् कहिले उनी
र यहाँ म आफ्नो
चुँडिएको चप्पलको फित्ता
सिलाउन खोजिरहेछु यस बखत
यही चप्पल धारण गरेर खुट्टामा
पुग्नु छ मलाई कार्यक्षेत्र
अखबार कार्यालयमा
(आज फेरि बिहीबार हो)
र गर्नु छ थुप्रै–थुप्रै काम
मलाई पूरा गर्नु छ लेख
(जो मेरो ड्रअरमा अधुरै बन्द छ)
खोज्नु छ राजनीतिको जङ्गलबाट
ताजा समाचारहरु
र लेख्नु छ पेट्रोलियम पदार्थको
मूल्यवृद्धि भएकोमा
एउटा सम्पादकीय जोडदार
अन्त्यमा सबै कामहरु सिध्याएर
फर्कनु छ बेलुकीपख घर
जहाँ मेरो प्रतीक्षा भरहेछ अधैर्यपूर्वक
(एउटा पति र पिताको
प्रतीक्षा भइरहेछ त्यहाँ)
आजैको एक–दुई खबरकागत
र चूरचूर थकान झोलामा बोकेर
जब म फर्कनेछु हतार–हतार
पीपलबोटनेर भेट हुनेछन् मेरा कवि मित्रहरु
र सोध्नेछन् मसँग उनीहरु–
के खबर छ सम्पादकजी ?
म भन्नेछु उत्तरमा–
ठीकै छ
देशमा संसद् र लोडसेडिङ
दुवै एकसाथ चालू छ
कांग्रेस सरकार भित्र छ
र बाहिर माले र एमाले उभिएका छन्
सर्वत्र संक्रामक कीटाणुहरु
बढेका छन् वेगले
कराइरहेका छन्, पहेंला भ्यागुताहरु
शीतघरमा थुपारिएको
आलुको भाउ दोब्बर भएको छ
र आजै बिहानै चुँडिएको छ
मेरो चप्पलको फित्ता
मेरो कुरा सुनेर
कवि मित्रहरुले प्रस्ताव राख्नेछन्–
ल त भइजाओस् एक–एक कप चिया !
तर सधैंझैं ‘कवि कर्नर’मा चिया खान
मलाई मन हुनेछैन
अबेर हुनेछ आज मलाई
यो निश्चित प्रायः छ
(सूर्य ढल्नेछ
रात पर्नेछ)
किनभने बीचबाटामा चुँडियो
मेरो चप्पलको फित्ता
(निकै पुरानो भएर थोत्रिइसकेको छ यो)
र मलाई स्मरण भयो हठात्
कमरेड बाबुराम भट्टराईको
जो कतै व्यस्त छन् जनयुद्धमा
र म आफ्नो चुँडिएको चप्पल
लतारेर सोचिरहेको छु–
जस्तो कि अन्य थुप्रै छन्
म एक सामान्य मानिस हुँ
खबर र कविताहरु लेख्ने
र चिया खाएर दगुर्ने
अर्थात् इमानदारीपूर्वक र सश्रम
हाँस्ने र रुने एक कामदार
(असामान्यता केही छैन मसँग)
के म जनयुद्धमा सामेल छैनँ कमरेड ?
(२०५५)
Shyamal – Islamabad
चारैतिरको आवाज हराउँछ
यहाँ आइपुगेर ।
यातनाले कराइरहेको छ देश
र पुरै निलिएको छ मानिस
मस्जिदको मौन प्रार्थनाकक्षमा
अल फजल मस्जिदको भव्यता
भोको मानिसको दुब्लो शरीरमाथि
बजारिएको छ
ओहो ! यहाँ मौसम भन्ने कुरै छैन
केवल तानाशाहले ओढाइदिएको छ
आफ्नो अनुहार
अरुको अनुहारमा
र सबैको अनुहारमा लागेको छ पर्दा !
यात्रा शून्य
सडकमा यात्रा गर्छ
एउटा भयावह शून्य ।
फजल मस्जिदको छेवैमा
पहेरझैं वास बसेको छ एक तानाशाहको चिहान
जहिले पनि सहरभित्र पस्न सक्छ
मरी पहाडको चितुवा
यो एक गजबको जङ्गल हो अरुणा !
पाइतालामा किला ठोकिएका
मानिसहरुको आवाजको जङ्गल !
जहाँ गायब भएको छ हाँसो
मानिसहरुको अनुहारबाट
र मौलबीहरुको जडान गरेका छन्
हाँसो आफ्ना ओठहरुमा !
के भन्छ कुन्नि डाक्टर मेहदी
आफ्ना भुताहा सहरको
यात्राको कुरा गर्दा !
मानिसहरु नबोल्दा—नबोल्दै
गन्हाएको सास बोकेर
सडक सडक डुल्ने हावाको राजधानी
रक्सीका भूमिगत नदीहरु बग्ने
तर
खुला बजारमा बियर नपाइने
अनौठो राजधानी
विश्वविद्यालयहरु भएको तर
पढ्न नपाइने राजधानी
केही कुरा छ जसले थिचेको छ मानिसलाई
केही कुरा छ जसले अझै जितेको छ मानिसलाई
केही कुरा छ जसले अझै कोर्रा बर्साएको छ मानिसलाई ।
कुन्नि के भन्छ खालिदा
उसका भुताहा नगरको
उत्खनन गर्दा !
हेर्न जाओ साथी हो !
मानिसहरुका हाडहरुको पवर्त शृङ्खला
र रगतको विशाल सिन्धु नदी
आँसुको सागर
र थेग्रिएका आवाजहरुको रावल ताल
उदास इन्द्रिेनी भाँचिएको हेर्न
इस्लामावाद जाओ !
तैपनि क्रुद्ध शब्दहरुसँग
खेलिरहेको भेटिने कुनै अहमद फराज
र पिर बख्स कलवार
जाओ इस्लामावाद !
Nawaraj Subba – Diyo Ra Putali
यो दियोमा
खोजेको उज्यालो
रोजेको आस्था
यंही हो भनेर
झुम्मिएर डढेका
हजारौं पुतलीहरूको लास
दियोको वरिपरि देख्छु
भावनाका पखेटा जलेका
कतै चाहनाका खुट्टा बलेका
आस्थारुपी शरीर
खरानी भएका अवशेष
म मेरै पूजा कोठामा पाउँछु
उज्यालो खातिर जल्ने पुतली
सुगन्धका लागि जल्ने अगरबत्तीका
बाँकी रहेका गन्धहीन खरानी
मेरो पूजाकोठामा छन्,
स्वभाविक रुपमा
पूजाकोठा सफा गर्दागर्दै
मेरो र पुतलीको नियति
उस्तै पाएँ
अचानक
आज मैले मेरै दर्शन पाएँ
म स्वयं
पुतलीको चोलामा छु ।
Nawaraj Subba – Mero Hangpang
कसैले नदेखुन् भनेर सायद
त्यत्ति माथि हिउँमा जाडो नमानी
कंञ्चनजंघा र कुम्भकर्ण हात समाई
धान नाचेको देखेर
कम्मरमा तम्मरको पटुकी कसेर
मेरो हाङपाङ
चाँगे र छिन्ताङसँगै
मरक्कै धान नाचिरहेछ
थाहै नपाई मेरो हाङपाङले
मसित मीठो माया साँटेछ ।
Harihar Dahal – Naya Barsha Yesto Hos
अन्यायका बिरुद्ध बुलन्द आबाजहरु चर्कियुन
गरीब र असक्तहरुका आशा फर्किउन|
भात्किएका संरचनाहरु बन्न सुरु गरुन
समान्तबाद र तानाशाही सबै मरुन|
सरकार माथि जनताको भरोसा बढोस
देस द्रोहीको योजना कुहेर सडोस|
अपहरण र हत्याका स्रिंखलाहरु सकिउन
बिछोडमा तड्पिएका मनहरु फकिउन|
शरिर,मन र बिचार स्वस्थ्य रहुन
सबै नेपालि एक्-अर्काका मित्रु होउन|
गाउ, शहर र बस्तिहरुमा शान्ती छाओस
नेपालीले नेपाल माथि गर्ब गर्न पाओस|
Nawaraj Subba – Jeevan Mero Sabdakosh Ma
जीवन मेरो शब्दकोशमा
गीत, कविता, ओठ, पानामा
पोखिएर कहिल्यै नसिद्घिने
मानवता, भाईचारा, समानता हुन्
फूल, पात, जून, तारामा
अभिब्यक्त हुनै नसकेका
मानवीय दृष्टि, स्पर्श, स्वाद, गंध हुन्
जो अन्तर्हृदयका अनुभूति हुन
र जीवनमा अनुवाद हुन चाहन्छन्
आज जीवन
शब्द, अर्थ र आयाम विस्तार गर्दै
धड्कन्मा प्रतिध्वनित हुन खोज्दछ
मेरो जीवन
मेरो शब्दकोशमा ।
जीवन कवि बन्छ कहिले गायक
छिया छिया भएर पनि जीवन
बाँसुरीझैं बज्दछ नायक
ब्याकरणले बाँधिने शब्दावली
मात्र नठान यो जीवन
अशुद्घै सही मलाई मनपर्ने
शब्दकोश हो मेरो जीवन
जीवन मेरो शब्दकोशमा ।
हातमुख जोर्ने कला सिक्दासिक्दै
कतै बिर्सन लागिएको अर्थ हो जीवन
एक सर्को पिङ दोहोरी नमच्चाँउदै
उमेर ढल्केको पछुतो पनि जीवन
दुखे पनि सबै सामु नसुम्सुम्याई
निकोपार्नु पर्ने घाउ पनि जीवन
लगाउन नमिल्ने फाल्न नसकिएको
चिनो उही पुरानो कोट
मेरो जीवन
जीवन मेरो शब्दकोशमा ।
जीवन जिउने नाममा
कतै जुध्नु, जित्नु, हार्नु जीवन
रुनु, हाँस्नु, हाँस्नु, रुनु जीवन
हार्नुको दोष अरु नै कोही जुम्राहरू
आफ्नै भैंसीले आफू सिध्दिएको नदेख्नु
आफू सधैं दिग्भ्रमित, दोधार, दोमन,
न यता न उता पनि त जीवन
यसैले आज म
आफ्नै शब्दकोशमा जीवनको अर्थ
थपिरहेछु, मेटिरहेछु भेटिरहेछु र लेखिरहेछु,
शब्द, भाव, स्वाद, सुवास, धड्कन
सबै आकांक्षा अट्ने शब्दावली
हुनुपर्छ यो जीवन
यही मलाई मन पर्ने
शब्दार्थ मेरो जीवन
जीवन मेरो शब्दकोशमा ।
Binod Khadka – Manchhe Nirdayi Pani Rahechha
जेठको उन्मत्त आकाशलाई सोधे
बर्षाको निवस्त्र झरीलाई सोधे
हिउँदको त्यो लुरे घामलाई सोधे
अनि चैत्रको अन्धो हुरीलाई सोधे ।
जीन्दगी के हो सबैलाई सोधे
अन्तमा फेरी आफैलाई सोधे
जवाफ के पाए थाहा छ?
त्यो त केवल अन्धो यात्रा हो ।
सुख र दूखसंग लुकामारी खेल्दै
पीडा र मस्तीसंगै गुटमुटिदै
बाल्यपन यौवन र बुढयौलीमा हराउदै
जीन्दगी आफैमा ढुन्मुनिदै चल्दो रहेछ
चीत्ताको अनन्त यात्रामा
चीरनिन्द्रामा हराउदै
जीन्दगी आफैमा बिलाउँदो रहेछ ।
तर पनि मान्छे
मान्छेलाई नै हाक्दो रहेछ
तर पनि मान्छे
मान्छेलाई नै थिच्दो रहेछ ।
खुसी बाड्न सक्ने मान्छे
पीडा पनि बाड्दो रहेछ
माया र दया बाड्न सक्ने मान्छे
आतंक र त्रास पनि बाड्दो रहेछ ।
मान्छे निर्दयी पनि रहेछ ।
Lakshmi Mali – Ama Timro Nam Ke Ho
हजूरबा छोरी भन्नुहुन्छ
मामा दिदी भन्नुहुन्छ
बाबा श्रीमती भन्नुहुन्छ
म आमा भन्छु
आमा तिम्रो नाम के हो ?
म विद्यालय गएँ
महाविद्यालय गएँ
त्यहाँ तिम्रो नाम चाहिएन
धेरैलाई आफ्नो परिचय दिएँ
कसैबाट तिम्रो नाम सोधिएन
म बालिग भएँ, मताधिकार पाएँ
मेरो परिचयपत्रमा
तिम्रो नाम लेखिएन
म नागरिक भएँ
बाबुकै नामबाट
म जागीरे भएँ
बाबुकै नामबाट
म बेनाम आमाकी छोरी
भन आमा तिम्रो नाम के हो ?
कसैबाट सोधनी नगरेको
कतै उच्चारण गर्न नपरेको, तिम्रो नाम
सार्वजनिक गर्न चाहन्छु म
धर्ती भन्ने उपनाम होइन आमा,
मलाई तिम्रै नाम चाहिन्छ
भन आमा तिम्रो नाम के हो ?
Bhanu Bhakta Acharya – Ghansi
भानुभक्त आचार्य – घाँसी
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति