Shyamal – Antim Yuddha

चमेराहरू झुन्डिइराखुन् रूखका हाँगाहरूमा
आकाशलाई पाताल र पाताललाई आकाश बनाइरहुन्
ढोईलाई लगाएर अघि–अघि
अभयारण्यमा लम्किरहोस् मत्त हात्ती
बघिनीहरू घुमफिर गरून् आफ्नो प्रिय जङ्गलमा
र स्नेह गरून् आ–आफ्ना डमरुलाई
हिउँदको चिसोमा
माटाको न्यानो गर्भमा
गुप्त बास बसुन्
या घाम ताप्न निस्कुन् सर्पहरू
स्यालहरू कुदून् बेतोडले
म्याराथुन धावकझैँे
पण्डितहरू मन्दिर जाऊन् या पादरीहरू चर्चतिर
प्रार्थना गरून् वा वर मागुन् आ–आफ्नो ईश्वरसँग
मलाई आपत्ति छैन शासकहरू हो !
यो संसार सबैको हो ।
तर राति झ्यालबाट पसेर चोरझैँ
मेरा जुँगा चाट्न हुन्न चमेराहरूले
मन्त्रीको आदेशमा डाँकाले झैँ
सुकुम्बासी गाउँ नउजाडुन् हात्तीहरूले
खोरका घारहरू फुकालेर
सुत्केरी बाख्राको कल्चौँडो खान हुन्न बघिनीहरूले
सानो दुधे शिशुलाई आँगनमा सुताएर
काममा गएकी छ उसकी आमा
फर्केपछि देख्नु नपरोस्
आफ्नो प्रिय शिशुको छातीमा
सर्पदंशका डोबहरू
कुनै किसानले पालेको कुखुरा
सुटुक्क चोरेर
खोल्सामा लगेर आफ्नो भोक तृप्त गर्न पाइँदैन स्यालहरूले
पण्डितहरू पनि बुझून्—मानिसको बलि दिनु हुन्न
पादरी वा मौलवीहरू पनि बुझून्—
अर्काको आयु ताछेर
आफ्नो आयुमा थप्न पाइन्न
यो संसार सबैको हो ।
संसार सबैको हो भने
मेरो पनि हो संसार
तर मेरो भाग खोसेर कसैले खायो भने
म तयार छु अन्तिम युद्घ गर्न
अन्तिम युद्घ अर्थात निर्णायक युद्घ
जसले फैसला गर्नेछ हारजितको
ए जङ्गल शासक र शिकारी शासकहरू हो !
मेरो सबैभन्दा तीखो हतियार
नैतिकता हो ।

Laxmi Prasad Devkota – Raat Ki Atma Prati

क.

रातकी आतमा झकीझकाउ,
आऊ !
स्वर्गकी रानी !
स्वपना–खानी !
मन्त्रमुग्ध छन् प्राणी !
प्रकृतिलाई नश–नश छोई
सपनाऊ

ख.

श्रमको अभिशाप परेको पृथ्वी
हिप्नोसिसले सपनिन्छिन् !
विश्रान्ति–विलासका शान्त कुसुमका
कुड्मल सुवासी
मृदु हाँसी

ग.

चढिरहेछन् काढाँमा,
तिनका फुल्दा पत्ती टेकी,
दिनको चर्को उज्यालो छेकी,
यथार्थ कटुमा छायाढाली,
विस्मृतिको मृदु मिरमिर डाली
दूरवर्ती डाँडामा,
आऊ निशीथिनी ! रत्नधनी तिमी
गिर्दो तिमिरको मधुरो, मधुरो
बर्षिरहेको नीलकमलको कल्सेंदो कण केशरमा !

घ.

दिनको द्रुतलय थामी चल्दछ
समयको प्रहरी–बीनामा,
सुन–लहरीकी अन्तर मूर्छा
ओर्ल अगोचर झीनामा,
राख जादूको चाँपे पाउ !
रातकी आत्मा सुन्दरी ! आऊ !

ङ.

दुइ शत कोटि दृगकन पारी, कुवेर, पुजारी,
व्योमश्री !
दर्शन देऊ ! मोती–फूलले स्वर्गको बारी
ढकमक पारी,
मूक बनाई, सौता गी !
आश्चर्यमौन छन् विद्युन्माला परिमण्डित रे
भू–नगरी !
रुन्छ जगत्को आत्मा, पातमा,
प्रेम गरी !
जलकण तारा–झिलमिल पुष्कर
टोह्लायो !
शान्तिपरीले पोल्टो थपाइन् उसलाई
टुहराई,
‘रत्नहरुको शोला यो !’

च.

जगत्हरुका बर्तुल बीजन
एकलासमा बोई,
निशीथिनीका आत्मा गाऊ
‘प्रलय भनेको खोइ ?’
दुई तीन, दुई तीन ज्योति छरिन्छन्
नेबुलाका ?
बुझिन सारा रोपाइँको
तर भाका ?

छ.

ए मुनिकी घर । बोधिवृक्षकी
फूल–छाना !
यति धनी ता देखिन कोही !
सुर–उपवनकी जनाना !
केशफुका ए ! मुस्कुरी, मोहिनी,
रत्न कुमारी !
सपनाकी ए रानी ! आऊ
डरमा अल्पी प्यारा !
जुहार–परीझैं ढल्की थोरै
छातीमा,
‘ भएँ म तेरी’ भनिद्यौ मेरी
फेरो मारी,
मरुँ अनि वरुँ, अमृत मृत्यु !
स्तब्ध प्राण !
सपना–बारी चारौंला
स्वर्गोद्यान !……

Laxmi Prasad Devkota – Daal Bhaat Duku

दुःखको लामो सडकमा
पीरको केही छडकमा
चल्दथे ‘टुक टुक टुकू !’
आफूजस्तै लाख हेरी
बेला-बेला
पार्न साजा ध्येयध्वनि नै मानवी डरबाट फेला
जसको आत्मा रस-घुट्को
पथमा चल्दै’टुक टुक टुकू !
‘टुक टुक टुकू!’

डाक्टरहरुले Continue reading “Laxmi Prasad Devkota – Daal Bhaat Duku”

Yuddha Prasad Mishra – Prawasi Awaz

नेपाली हौं विदित जगका वीर हामी लडाका
जानेका छौ समर बीचमा शक्तिको बोल्न भाका
हाम्ले ठाडो गरन अरुकै आजसम्मन् पताका
पोख्यौ धेरै रगत अब ता खुल्न गो बल्ल आँखा
आफ्नै देशमा जिउन जिविका पाउनु आश मारी
बन्नू हामी कति दिन अरु देशमा गैं भिखारी
माग्दा इन्साफ कसरी सहने ? हत्कडी नेल फाँसी
एकै गाँठो हुनु अब प¥यो आज हामी प्रवासी

Nawaraj Subba – Jeevan Ko Mulya

मर्नु भन्दा बाँच्न गाह«ो भो
यो के भन्छौ तिमी
धत्, किन रुन्छौ सम्झेर सबै
हाँस, सबथोक बिर्सेर हाँस
छैन काम यी आँखाको ।
नसँुघ सुवासहरू
केवल सास फेर
डाक्टरद्वारा मृत घोषित
नभएसम्म ढुक्क
शीतनिद्रामा आराम गर
बिर्को बन्द गरेर चेतनाको
चिम्म गर आँखा र शान्त होउ
मृत घोषित नभएसम्म
सम्झ जीवित छौ ढुक्क होऊ
बस् यसैमा गर्व गर
धत्, किन रुन्छौ सम्झेर सबै
हाँस, सबथोक बिर्सेर हाँस
छैन काम यी आँखाको ।

Bindo Khadka – Bhok

एक निरन्तर सत्य
अटुट विश्वाश
कहिल्यै नमेटिने
अथक प्रयाश ।

बिहानीमा आयो दिनमा पनि आउँछ
दिनमा आयो साँझमा पनि छाउँछ
समय सीमा तौल केही छैन
अमिर गरीब उचनिच भन्दैन ।

उपचार एउटै हो अर्कोले चल्दैन
खानै पर्ने बाध्यता,विकल्प हुँदैन
भोक मेटाईको आकार हुदैन
तैपनि मान्छे लालच छाड्दैन ।

भोकसंग लड्दै भोकसंगै बड्दै
भोककै लागी जीउँदै चल्दै
शताव्दीसम्म जीउँछ मान्छे
भोक नै नमेटी मर्छ मान्छे ।

अघाएको भ्रममा पर्दा पर्दै
अघाएको अभिनय गर्दागर्दै
बिहानै भोको साँझमै भोको
खाँदा ठाँन्छ पुग्यो अब धोको ।

आफ्नै भोक मेट्न नसक्नॆ
मुक्तिको भाषण छाट्दै हिड्छ
भोकै भोकले जेलिएर पनि
भोकका विरुद्ध पछि हट्छ ।

भविष्यको भोकका लागी
लड्दै रहन्छ दिनदेखी राती
पूरा जीवन भोककै लागी
सपर्मण गर्छ मान्छे जाती ।

भोकविनाको आहार थुप्रो
आहारविनाको भोक उफ्रदो
थुप्रो आहारले भोक ल्याउँदैन
विना आहारले भोक मेटिदैन ।

भोकले
भ्रष्टाचार जन्माउँछ
आविष्कार गराउँछ
विकाश निमत्याउँछ
विनास पनि ल्याउँछ
त्यसैले
भोक कसलाई लाग्यो
परिणाम त्यसैमा जान्छ ।

छुच्चाको भोकले
लुकाएर खाने सस्कृति ल्याउँछ
एकलकाटे बनाउँछ

दुष्ट नेताको भोकले
अन्याय र अत्याचार बढाउँछ
मालिक र दास जन्माउँछ

दुष्ट न्यायदाताको भोकले
न्यायको हत्या हुन्छ
निर्दोष दण्डित हुन थाल्छ

भ्रष्ट कर्मचारीको भोकले
सरकारी राजश्व खुमचिन्छ
विकास निर्माण गतिहिन हुन्छ

कालो व्यापारीको भोकले
रोग व्याधि निमत्याउँछ
जनशक्ति निर्बल हुन्छ

ढोङ्गीको भोकले
छल कपट उमार्छ
जालझेलले गति लिन्छ

दयाविरको भोकले
दीन दूखीको भोक मेटाउँछ
शान्ति र मेलमिलाप छाउँछ

त्यसैले
भोक कसलाई लाग्यो
परिणाम त्यसैमा जान्छ ।

बाँडेर खानु खुसीले जीउन
एक्लै नखानु शान्तिले बाँच्न
अवमूल्यन नगर्नु भोकको कहिल्यै
आकार नदिनु भोकलाइ कहिल्यै
समान ठान्नु सबैको भोक
भोकका विरुद्ध भ्रष्टाचार नगर्नु ।

Gopal Prasad Rimal – Ek Geet

केही आहझैं केही चाहझैँ
सौरभ छरी वरिपरि
तिमी प्रतीक्षामा झैं कसको
भन न भन कली !
जब भिखारीको हातसरि
फुक्नेछ तिम्रो सुन्दर तन
के ठानी के दिऊँ तिमीलाई
भन न भन कली !
समीप छ हेर्छु देख्छु
तिमी फुले झरेमा
रोए हाँसेझैं गर्छु
तर यै हाँसो यै आँसु
यै समीपताको जीवन–जलमा
तिमीले प्रतिबिम्बित पायौ आफूलाई
भन न भन कली !
सन्देह चियाउँछ जब यो विश्वबीचमा
तिमी दूर हुन्छ्यौ ताराझैं;
दूर हुनाले चाह गरेको
त्यै तारासित तर फिराद यही छ—
किन त्यो मेरो कलीझैं
रोइने हाँसिने भएन
समीप भएन ?
भन न भन कली !
क्षणभरको छोटो जीवन
वसन्त लाख फुलाउँछ !
शिशिर लाख सुकाउँछ !
अनादि भूत अनन्त भविष्यको
कहालीलाग्दो फैलावटबीचमा
कस्तो यो जीवन–काल कली ?
भन न भन कली !

Gopal Prasad Rimal – Aamako Bedana

रात अज्ञानझैँ अँध्यारो थियो;
स्वर्थजस्तै चिसो बतासको हुरी थियो;
अहङ्कारझैँ मेघ गर्जिरहेको थियो;
कुच्रिँदाकुच्रिँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झिलिक्क भो ।
एउटा आगो,
एउटा रश्मिपुञ्जको उदय भइदिए कस्तो हुन्थ्यो,
जसले यस तमलाई ज्योतिर्मय तुल्याइदेओस् !
कस्तो हुन्थ्यो !!

अनि एक झिसमिसे बिहान,
जब सूर्यले आप्mनो पहिलो सुनौलो तीर
अन्धकारतिर हानेका मात्र के थिए–
मलाई मीठो थाहा भयो ।
मभित्र एउटा आगो जन्मेको छ,
जो बिस्तारै रूप पाउन लागिरहेछ ।
यस ज्ञानले मेरो मस्तिष्कमा
सपनाको वसन्त ओइरिदियो,
आशाको साउने भेल पोखिदियो;
मेरो खुट्टा भुइँमा रहेन ।
साथसाथै त्यस आगाको आहारा भएर बेह्रिनुपरेकाले
म संसारको निम्ति
पलमा देखिने पलमा हराउँने
बिजुलीझैँ भएँ ।

त्यसले रूप पाउन थाल्यो;
घाम–जून, जल–थल, आकाश–समीर सबले
त्यसको स्याहारमा सगाइदिए ।
कैयौँचोटि थाहा पाएँ ।
मेरो मुटुको ढुकढुक
सिर्जनाको स्पन्दनसँग दयालु भएर चलिरहेछ ।

त्यो जन्म्यो ।
मैले थाहा पाएँ, संसारमा किन पूmल फुल्दछन् !
त्यसको निम्ति मेरो स्नेह दशधारा भएर बह्यो ।
ताराहरूले
रातमा सुतेकी वसुन्धरालाई जगाउँने
झोलुङ्गे गीत मलाई सिकाइदिए ।
त्यो हुक्र्यो ।

म आमाको आशिष्
आकाशजत्तिकै प्रशस्त छ–
उता जीवनको औँसीमा कल्पित त्यो आगाको झिल्को
मेरा मनका लहरहरूसित खेल्दै
शुक्लपक्षको
चन्दमाजस्तै भएर बढिरहेछ ।
यता त्यसलाई जन्माउँदा हुर्काउँदा भोगेको
सारा वेदना
छातीभित्र रहीरही चिच्याइरहेछ ।
के त्यो भनेजस्तो होला !!

Binod Khadka – Kewal Shanti Ra Sushasan Ko Ash Gardai

गरिवी र अभावको छेउछाउ हुँदै
चक्का जामहरुको वाटो पार गर्दै
बन्दै बन्दहरुको श्रृखलाहरु माझ
धेरै पटक लुटिदै र धमक्याईदै
धेरै जंघारहरु पार गरिेयो
केवल शान्ति र सुशासनको आश गर्दै ।

भाषणका मीठा शव्दहरुमा लरबरिदै
झुठको संघारहरुमा ठेस खाँदै
महंगो विजुलीका साथमा लोड्सेडिङ झेल्दै
कार्यकर्ता कार्यकर्तामा नै सीमित हुँदै
नेतालाई महानताको पगरी भिराउदै
सबै दूख पीडा झेल्दै आईयो
केवल शान्ति र सुशासनको आश गर्दै ।

अहाँ कस्तो मीठो भाषण सुन्दा सुन्दै
तालीको गडगडाहट पस्कदा पस्कदै
खुल्ला मन्च अगाडी दिउसै तारा गन्दा गन्दै
कल्पनाको महल क्षणमै बनाउदै
झुठै झुठैको विमान धेरै चढियो
केवल शान्ति र सुशासनको आश गर्दै ।

वीस सालदेखि उही नेताहरु भोग्दै
सालौ सालदेखि तीनै पार्टीहरु झेल्दै
मृगतृष्णाको सिकार भई परदेश भासिदै
परदेशमा अनेक कष्ट भोग्दै झेल्दै
स्वदेश फिर्तीको योजना बनाईयो
केवल देशमा शान्ति र सुशासनको आश गर्दै ।

Abhas – Pratistha

जाडोमा ओढ्न नमिल्ने
भोकमा खान नमिल्ने
आफैँले काँधमा बोकेको
एउटा कुकुर
न यसले शिकार खेल्ने
न यसलाई छोड्नै मिल्ने ।

Parijat (Bishnu Kumari Waiba) – Juni Katnu Euta Baaji

धमिरा लागेको धरतीमाथि उभिएर
माटोको माया ?
एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्यक्त गरुँ ?
मैले जमिन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जब रमाइलो दिन र रंगीन भ्रमहरुको
जुवा फुकेको थियो
शायद म अनुपस्थित थिएँ
आफ्नै स्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हारमाथि हार खाएको हुनुपर्छ
म बाजी मार्न बिर्सन्छु
म बाजीलाई अर्थ दिन बिर्सन्छु
मान्यता दिन बिर्सन्छु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होइन
अप्ठ्यारो इतिहास होइन ।

Nawaraj Subba – Shabda Haru

समान रुपमा
हामीले बोल्ने बुझ्ने भाषा
अनि एउटै अर्थ लाग्ने शब्दहरू
जब माकुराहरू जाल बुन्छन्
ब्याकरण र शास्त्र कोर्छन् पंडितहरू
तब शब्दार्थ तन्काइन्छन् चेप्टाइन्छन्
काखा पाखा लगाइन्छन् अर्थहरू
उभ्याइन्छन् भेदभावका पर्खालहरू
बन्दी बनाइन्छ शब्दावली
निर्वश्त्र चुटिन्छन्
छानी छानी शब्दहरू
न्याय नपाई शब्दहरू
सडक पाखा भौंतारिन्छन् ।
चपाइएका शब्दहरू
धरातलबाट धकेलिएका शब्दहरू
कविता, गीत र सडकमा
अटाई नअटाई ओइरिरहेछन्
संगीत र धूनमा पछारिएका छन्
मसीमा रुपान्तरित भएर
शब्दहरू पाना खोजिरहेका छन्
रगतमा अनुवाद भएर शब्दहरू
जीवन खोजिरहेछन्
शब्दहरू
खोसिएका अर्थ खोजिरहेछन्
जीवन खोजिरहेछन् ।

Bhupi Sherchan – Madhyanna Din Ra Chiso Nidra

अखबारको ‘वान्टेड कालम’ –मा
म आफ्m्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु—
नयाँ बजेटको ओठमा
खोजिरहेछु आश्वासन
रेडियो–घोषणासँग Continue reading “Bhupi Sherchan – Madhyanna Din Ra Chiso Nidra”

Sarubhakta – Thyasafu

स्वप्नदैनिकीः चुङगुत्सुका सपनाहरु
डे जाभू एक्सपिरियन्सयुक्त छन्
स्वेच्छिक मृत्युधिकार
सायनाइडका नदीहरु वगेका छन्
माइटोकाड्रियाः दुगुर्णित गुणसुत्रहरु
क्रायो – केप्सुलहरुमा बन्दछन्
कस्लाई थाहा, हिमित Continue reading “Sarubhakta – Thyasafu”

Laxmi Prasad Devkota – Darjeeling Ko Baghchuli Ma

क.
कञ्चनजङ्घा लेक भरिभर
ब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर,
आँग जोरी भेडा उँग्छन् दलका दल,
पाठा, माउ सब, बादलका,
निश्छल !
भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जल
मेषभूत, विभूति रङ्गका
बादल !
निशिभर हावाघरका सुतेका
बिउँझिन लागे पलपल !

ख.
पहिले बिउँझ्यो निद्रित समीकरण,
हल्ले निद्रित पत्रहरु,
त्यक्त–तरु,
फुत्त झरेका पँखेरु–उरले, उत्सुकतासँग हुर्रा धकेले,
अलि गतिबाधा तर उच्चालक
छालहरु ।

ग.
विभा खुशीले भइन् उज्याली,
मौन प्रतीक्षा भो बादल !
स्वर्णिम, उर्णिम जीवन, जागृति,
परिणति पाउन,
पर्खिरहेको जस्तो जल !
उषा–किरणका भक्तहरुको
वाष्पिल आत्माको झैं जल !
दर्शनको मृदु भावस्फुरणका
ध्यान–निद्रा बनेझैं सजल !

घ.
छिक्र्यो गुलाफी क्षितिज किनारा,
प्रथम उषाको लाली सरि !
पहिलो छिर्का लागी फुटेका,
सृष्टिका कुड्मल–जाली सरि !
अथवा बिउँझिरहेको कविको
मुटुका बुबुल्के प्याली सरि !

ङ.
छिर्दै आयो भुवा, भुवामा,
कवि–स्वपनाको धस्लीभरि !
साक्षात्कृता क्वै सुन्दरताको
स्मितिको गुलाफी लचक सरि,
खुल्दछ पूर्व किनारा लम्बिई,
भू–सगरी !

च.
सृजनधूलीमा रङ्ग छिरबिर भो !
स्रष्टा चल्थ्यो !
उसका हात चलेझैं लागी,
आँखा घुमीकन लरबर भो !
छोएजति सब जिउँथ्यो, बल्थ्यो
सुन्दरले सब,
सुन्दर भो !

छ.
कोही रँग्थ्यो तरलाकारी, भाव–भुवामा
बल्दो क्षणको जल्दो रङ्ग ।
ज्वाला–तरङ्ग !

ज.
सिँगार्न थाल्यो प्रकुति पुरुषले,
शर्मी प्रकृति बन्थिन् दङ्ग !
ब्रीडा जन्मी जपाकुसुममा,
उत्सव बोल्थे विहङ्ग !

झ.
यस्तो रङ्गिएको आकाश !
हरेक ठाउँमा अद्भुतताले
चुम्बित,
होइन, सेता तपस्या–चूली
उपर खुलेको स्वर्ग हि खास ?

ञ.
माला कहीं क्या विवाहोत्सवका !
क्या लच्के !
कहीं, परीहरु हातेमालो,
नाची मनोहर, क्या मस्के !
स्वर्ग र पृथिवीको छ विवाह !
वाह !
इन्द्र आफैं ऐरावतमा
क्या लस्के !
आए उ ! उ ! वनमाली ती, मुरली अधर ती,
निस्के !
सजग चराचर रङ्गमा नाच्यो, मीठो सुर ली, मीठो सुर ली !
दिल उर्ली !
कलपुर्जा सब मेरा,
चुम्बक अगाडि झस्के !

ट.
मानव कल्पना भरखर बिउँझी,
आँखा मिचेझैं, जिल्ल परी !
सारा प्रथम पुराणकथाका,
आत्मा लागी बुभूmँ अलिकति
चौकीवरी ।
वेद जन्मियो कमलपत्रमा उ त्यो कुनामा !
उ त्यो कुनामा !
ज्ञान वैरियो किरणहरु झै धन–तनमा उ !
आँसु–बुनामा !
शिवले गरल पिईकन तमको, उम्ल्यो अमृत !
उम्ल्यो अमृत !
यो के ?
माया उपर परेको सत्चित्, सच्चित, !
आनन्द हो ए !
हयग्रीव छन् गाइरहेका काहीं, करलहरीमा, करलहरीमा !
चित्रकला छन् जन्मिरहेकी स्वर्गधुरीमा, स्वर्गधुरीमा !
सारा कलाको अभिनय देख्दछु
अप्रत्याशित, यो अनमोल,
जीवन घडीमा ! जीवन घडीमा !

ठ.
कञ्चनजङ्घा कञ्चन भो,
आयो हिरण्मय, आयो किरणमय !
अमृत बनाई सकल मरणमय !
मृत्युको एक छिन लाञ्छन् भो !

ड.
तब देखें एक सेतो कचौरा
हिउँको !
त्यसले अगणित युगभर पिएथ्यो,
यस्तो मदिरा,
यस्तो मदिरा,
त्यसको आत्मासाथ मितेरी लाउन पाऊँ त
एक छिनको !
प्रभात पागल भनीकन हेर्थे, आँखा चकित
रे सब जनको !

ढ.
फर्के !
फर्के, फर्की नजरले हेर्न, फर्की, फर्की,
अद्भुत हिमाल !
दृश्य कमाल !
अद्भुतताको आदिम सदन त्यो,
काञ्चनजङ्घा गिरिको भाल !
प्रकुति त्यहाँ छन् प्रदर्शिनीमा, कल्पनाका सब धन ली,
नवसृष्टिधूलिका घन ली !
बाघचूली चढेकी देवी,
त्रिभुवनसुन्दरी, बल्दी, जल्दी,
देखें केही, सुने पनि केही,
छाड्थ्यो शरीर यो एक छिन देही !
एक दर्शनमा ज्ञान अनन्त छ,
एक वाणीमा वेद हजार !
धर्म यसै गरी जन्मे होलान्,
साहित्य, कला, औं संसार !

Laxmi Prasad Devkota – Shukrabar Eghara Baje Raati

क.
आज शुक्रबारको भो एघार राती
धन्य ! मुक्रि जाती !
सानो यो निर्वाण मेरो,
एक घडीको साथी !
सकल प्राणी सुत्दछन्,
दिन छ मेरो जाती ।

ख.
हृदय पुग्छ आर्को जगत्, नित्यको, विलास
झ्याल खोलूँ, प्रकृति–रानीको छ राज्य खास
यो बतास, अमृत सास, जिउँदो राख्छ भूतल,
यो भिजेको दूर वनको दलका जलको शास,
फड्किएका जलदचयको शिल्पी उड्छ खास,
यो स्वतन्त्र, सुखद अतिथि, स्नायुवन–विहारी
जीव–मम्र्मचारी,
पातलो गन्धर्व मधुर छ भारी
आ अदृश्य अतिथि प्रवर, भन् कथा रे जूनको !
कसरी जालमा फसिन् ती प्रेमी मनसस्नको ।
आ हवा रे, भन् कथा, मधुर, मधुर, जाति ।

ग.
पूर्व रै’छ धुँधलो, कुइलो नील मिरिमिर,
दक्षिण सेतो, सेतो, कुहर, पक्षिम गाढा नीर नीर,
बोलाइथ्यो प्रकृति तिमीले, डाकिरहिथ्यौ दिनभर
केही देखिन, केही सुनिन, काटी अन्ध चक्कर,
सुन्छु बल्ल, हेर्छु बल्ल, मौन बोल दिलभर,
एक सहस्र रजनी सुन्छु यस घडीमा जाती

घ.
सम्झना छ, दुइ पटक जलको झारी झारयौं,
साँझतर्फ बिजुली मुस्की चदर च्याती फारयौं,
तीक्त व्जर शिकार देखी कवि मृतक यो दिक भएकी,
डर थियो कि घर्षण ?
बल्ल पाएँ, बल्ल आएँ, आऊ, देऊ, दर्शन !
छ–उपास्य लास्य तिम्रा बहुल भाँति भाँति ।

ङ.
दूर पूर्व–दक्षिणी खेत उपर बाफ,
भूपरीले जूनको ऐनामा फेरेझैं सास,
गहुँका झुम्का पहेंला फाली, हरियोको ली प्यास,
गरुँ सिगार भन्ने भावमा,
तरङ्ग अल्छी क्यै स्वभावना,
भूपरी ती सुँघ्दछिन् हेर, जुहीको वास !
स्वर्गका परी बसे सब रुवी काती काती ।

च.
यस्तो घरमा राख्नेलाई धन्य, धन्य’ भन्छु,
सब अभाग मर्छ आज, अमृत पी म रुन्छु,
हप्ताभरको ज्वर हराउँछ , हुन्छ अमित सन्चो,
बाटुलेर हाँस्छ कोही यो विशालतामा
फेन–फूल पारी भारी,
मनका मेरा स्वप्न–लहरीका मधुर लतामा,
हेर परमानन्दको बल्छ हिउँमा बाती ।

छ.
यत्ति छिरबिर चित्र जिउँदो बादली सिमलमा,
ओइलिंदो र बान्किंदो होस्, भाषा बस्छे जलमा,
प्रतिनिमेष हेरफेर, चाल औ बिकास
के नसम्झुँ कबिको दिलले
क्वै जरुर काम गर्छ घुम्टो हाली खास ?

ज. एक घडी म कोही सँगमा, मौन बात बोले
एक विशाल घरको झ्याल हृदयभित्र खोलें,
एक अमृत–लहरउपर पङ् ख फोई चालें,
एक मुक्ति पाई, उड्दै, जुन–भुवामा डोलें,
यत्तिले धनी छु आमा , स्वर्ग पाउँछु धरामा,
सतचालीस रङ्का वर्ष आज रत्न पाई
‘धन्य’ भन्छन् प्रकृतिरानी, ‘धन्य तिमीलाई !
एक घडीको चर्को जिउनु, शत घडीको थाती !

Gopal Prasad Rimal – Fool Ra Kschhan

“फूल झर्दछ, फुल्दछ
फुल्दछ, झर्दछ”
तर त्यो फूल जसले
छाती थापी फक्रेथ्यो
त्यो थोपालाई तृप्ति दिने
जब जगमा अमृत झरेथ्यो
के त्यो फूल फुल्यो ?
“क्षण आउँछ, जान्छ
जान्छ, आउँछ”
तर त्यो क्षण जसलाई
भाग्यचक्रले विरही दिनमा
सात समुद्रपारिकी
परीलाई झैं ल्यायो
के त्यो क्षण आयो ?
स्वर्गयुगझैं अङ्कित स्मृतिमा
त्यो क्षण कृष्णयुगझैं फर्केन
अमृत–प्यालाझैं पाएको त्यो फूल
हलाहलझैं बारबार मिलेन !

Harihar Dahal – Samjhana Ma Ama Haru

मैले आमा को आबाज भुल्न थालेको छु
मैले आफ्नै आमालाई पिरोल्न थालेको छु
आमा सँग लुट्पुटिदाका स्‍मृतिहरु
दिन दिनै क्षिण हुँदै जाँदै छन

कती सुन्दर थिए ति भोगाइहरु!
बिर्सि नसक्नुका ति संबन्धका सम्झनाहरु!

जबरजस्ती घ्यु थप्ने दयालु हात
अनि- ज्वरो,खोकी र पखालाहरुमा
सुम्सुम्याउने कोमल स्पर्शहरु!

ओभानो ढुँगामा बसाएर
घाँसका भारिहरु भरिदिन्थ्यौ
र मुक्त कन्ठले सुनाउथौ –
मोराले बिछट्टै घाँस काट्यो आज|
कती आत्मिय थिए ति पुल्पुल्याँईहरु !

मेरा छुल्याई र हुर्मत हरुलाई
सपक्क शब्दले ढाकिदिन्थ्यौ
र निशंकोच भन्थ्यौ- उसले तेसो कदापी गरेन|
कती उत्कृष्ट थिए ति ढाकछोपहरु !

अभाब र गरीबिले बिरक्तिएका मनहरुलाइ
मुटुभित्र दबाउथ्यौ र संपन्नता को ढिंडों पस्किन्थ्यौ|
कती स्वादिस्ट हुन्थे ति भोकहरु !

थर्थरी काँप्ने हीउँदे जाडोहरुमा
आफु जाडोले चिसिन्थौ
र मलाई छाती भित्र गुट्मुट्याएर न्यानो दिन्थ्यौ|
केशरासि भित्र लिखा र चम्कानाहरु खोज्दै गर्दा,
म भुसुक्कै निदाउथें|
कति निस्फिक्री थिए ति निदहरु!

घाँस, दाउरा,मेलापत र चुला-चौका संहाल्दै
उकाली ओरालीहरुमा निरन्तर कुदिरहन्थ्यौ
सहनशिलताकी नमुना थियौ तिमी|
कती निर्मल मुस्कुराउथ्यौ अभाबहरुमा !

आफु भोकै बस्थ्यौ र पोल्टा भित्र खाजा उबार्थ्यौ
रक्तअल्पता ले गलेको आफ्नो जिर्ण शरीर भुलेर
मेरा भोकहरुमा फिक्री गर्थ्यौ|
कती महान थिए ति समर्पणहरु !

मनै- मन ले भरिएको
सगरमाथा जत्रो मन बोकेर
आफु भित्र- भित्रै रुन्थ्यौ र अरुलाइ हँसाउथ्यौ
कती सहजै हाँस्थ्यौ पिंडाहरुमा !

माया नै मायामा लपेटिएर पुल्पुलिएको
मेरो बाल्य जीवन का भोगाइहरु
स्‍मृतिको मानसपटल बाट
दिनदिनै बिलाउदै छन आजकल|
हो आमा,
दिनदिनै बिलाउदै जाँदै छन हरपल|

तिम्रो त्यो पुल्पुलिएको, लाचारी छोरो
बिबेक शुन्य भएको छ भिडहरुमा |
खालि-खोक्रा मनहरु बोकेर
“हाउ मे आइ हेल्प यू” को यान्त्रिक आवाजहरुमा
क्रिस्टिना र जुली हरुलाई
लाचारी- फिक्का मुस्कान बमन गर्दै
कहिल्यै नभरिएको मन- भर्न
कहिल्यै नकमाइएको धन- कमाउन
अहोरात्र लागिपरेको छ|
आउछु र फर्कन्छु को तारतम्य मिलाउदै,
पराधिनता को जीवन बिताउदो छ|
गन्तब्यहिन यात्रामा लम्कदो छ|

Lakshmi Mali – Anubhuti

मलाई लागिरहेको छ
बगरदेखि शिखरसम्म
लालीगुराँस नै लालीगुराँस फुल्छ
किनकि
पहरा पहरामा
कन्दरा कन्दरामा
खोंचको कुनाकाप्चामा
फाँट र बगर बगरमा
झरझराउँदो
लालीगुराँस
ओइलिन नपाउँदै
झरेको छ
झारिएको छ
यो Continue reading “Lakshmi Mali – Anubhuti”

Laxmi Prasad Devkota – Neel Kanta Ko Awaz

क.

छीः छीः दूरदूर गरिएको हुँ !
सबले आँखा तरिएको हुँ !
आदिम मनुको बदमाशीले
तर पृथिवीमा बरिएको हुँ !
दिव्य शल्यको दैनिक साधनमा
स्रष्टाले दरिएको हुँ !

ख.

बेकार सराप्छौ तिमी मलाई
सुन रे मेरा शठ भाइ !
मुनिको मनको काँढा मै हुँ,
खोल्ने दोस्रो लोचनलाई !
फूल–अन्धा छन् दुनियाँ सारा
तिनले घृणा खूब गरिएको हुँ !
वीर, शहीदहरुको पथ तर,
निर्माण हवस् भनी, विरिञ्चिकरले
जीवन वनमा छरिएको हुँ !

ग.

तिमी भुलौला जब, जब मृत्यु
सत् भारा ।
तिमी हिंडौला उत्ताउलो बनी
गल्ली गन्दा अँध्यारा ।
झल्याँस्स जगाउन च्वास्स म ठुँग्दछु,
मानव प्यारा ।
फूलका कविता लेख्छन्, लेखून्,
काँढाको अझ काम छ तीखो,
अझ ठूलो अभिभारा !
गूढ तत्वले भरिएको हुँ !

घ.

स्वर्गमा छ क्या मधुशाला !
बाटुला छन् सुनका प्याला !
फूल सुगन्धी खूब उज्याला ।
एक अभावले तर त्यो झुक्छ,
झुक्छ तल !
कण्टक–विजय त्यहाँ छैनन् !
उत्पीडनको छैन परामर्श !
तडपनबीचको आत्मबल !
स्वर्ग जित्न नै छरिएको हुँ !

ङ.

तारा झकीकन, सश्रद्ध भूतिर
शवनम भेटी चढाई निशिभर,
आदृत टुप्पो भरिएको हुँ
नरले, सुरको सुन्दर पराजय
गर्न भनीकन बरिएको हुँ !
भूलशूलको तत्वले पृथिवी,
स्वर्गभन्दा रुचिर, विचित्र
पार्न कल्पना गरिएको हुँ !
छिः छिः दूरदूर गरिएको हुँ !
सबले आँखा तरिएको हुँ !