Shiva Prakash – Sahamati

सहमति !
सहमतिका लागि
सहमतिबाट सुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ ।

सहमति !
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो ।

सहमति !
सरकार बनाउँन चाहिन्छ
सरकार चलाउँन चाहिन्छ
सरकार बचाउँन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ ।

सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ ।
सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ ।
सहमति !
नेता-नेताबीच हुन्छ
सहमति वेश्या-वेश्याबीच
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।

सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ ।

चलेको छ –
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पुर्ण सहमतिमा !

Shiva Prakash – Dubai Chhan Manchhe Ko Prakhai Ma

उस्तै अवरूद्द
उस्तै अनियमित
उस्तै दूर्गन्धित
उस्तै भएछ वागमती
सिंहदरबार जस्तै !
ह्वालह्वाल्ती दूर्गन्ध पिएर
बगिरहेछ सकिनसकी
तर बग्दैन पानी
वागमतीमा !
आहल खेलिरहेछ
अनैतिकताको भेलमा
मान्छेको अनुहारमा
तर Continue reading “Shiva Prakash – Dubai Chhan Manchhe Ko Prakhai Ma”

Shiva Prakash – Sukha Ko Paryaya

मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो Continue reading “Shiva Prakash – Sukha Ko Paryaya”

Shiva Prakash – Beiman Ti Sadakharu

शिव प्रकाश – बेइमान ती सडकहरु … !

ती सडकमा
अरु नै हिड्छन्
तिमीले बनायौं,
तर ती सडक
तिम्रा लागि हैनन् ।

तिमीसँग
रामे, श्यामे र हर्केहरु थिए
पातली, सुन्तली र चमेलीहरु थिए
र, मसँग थिए-
झक्सु, बन्झडु र खेरुवाहरु
राधो, कलावती र मैयासरीहरु
ती सडक ….
तिमीले र हामीले बनायौं
तर ती सडकहरु
तिम्रा हाम्रा गाउँघरतिर जाँदैनन्
ती सडकहरु अन्ततः
महलमा गएर टुङ्गिन्छन् / हराउँछन्
बेइमान सडकहरु …. !

हरदम स्वागत गरिरहेछन्
कालो ओढेका ती काला सडकहरु
कालो मन भएका मान्छेहरुलाई
कालो रङ भएका गाडीहरुलाई
बेइमानीको विम्व / प्रतिविम्व
बेइमान ती काला सडकहरु … !

Shiva Prakash – Rawan Kaurav Yuddha

शिव प्रकाश – रावण कौरव युद्ध

कुरुक्षेत्रको धर्मयुद्ध होइन, र्
धर्मसस्थापनार्थ लडिएको
त्रेतायुगको सत्ययुद्ध पनि होइन,
असत्यमाथि सत्यको विजय भएको
यो युद्ध !
अधर्मको युद्ध/असत्यको युद्ध
अहंकारको युद्ध/आदिम संस्कारको युद्ध
घमण्डको युद्ध/क्रोधको युद्ध
लोभको युद्ध/मोहको युद्ध
अज्ञानताको युद्ध/अन्धकारको युद्ध !
रावण-कौरवको युद्ध हो,
यो युद्ध !
यो युद्धमा
रावण र रावणगण एकपक्षमा हुन्छन्
कौरव र कौरवगण अर्कोपक्षमा हुन्छन्
गणनायकहरु युद्धको दुन्दुभि बजाउछन्
गणहरु आपसमा शस्त्रअस्त्र वर्षाउछन्
यो युद्धमा
युद्धको दुन्दुभि बजिरहन्छ
युद्धको संक्रमणमा मारकाट चलिरहन्छ
रगतका खोलाहरुले धरतिलाइ बगाउन थाल्छ
सन्त्रास ! कोलाहल !
आर्तनादका शब्दध्वनीहरु मच्चिइरहन्छ
रावण-कौरवगणहरु
यसलाई मंगलधून ठान्छन्
अधर्मगामी र असत्यमार्गी
रावण-कौरव एउटै सिक्काका दुइपाटा हुन्
त्यसैले रावण-कौरव युद्धमा
युद्धको कुनै नियम हुदैन
त्यहाँ निशस्त्र स्वतन्त्रताहरु मारिन्छन्
अस्मिताहरु बलत्कृत हुन्छन्
विचारहरु ढालिन्छन्
आस्थाहरु किचिन्छन्
आदर्शहरु बाँधिन्छन्
निष्ठाहरु भत्काइन्छन्
सभ्यताहरु लुटिन्छन्
विवेकहरु बन्दी हुन्छन्
विश्वासहरु धाइते हुन्छन्
अधर्म र असत्यको
रावण-कौरव युद्धमा
जसले जिते पनि
जित अधर्म र असत्यकै हुन्छर्
धर्म र सत्यको जित त अब
तब मात्र हुन्छ
जब राम र अर्जुन फेरि जन्मछ ।

हरैंचा/मोरङ , हालः बोष्टन/अमेरिका

Shiva Prakash – Manchhe Bhitra Ko Manchhe

बुद्धिमान प्राणी !
मान्छे भनेर चिनिने
मान्छेभित्र
अर्को मान्छे हुँदो रहेछ,
बाहिरको मान्छे
मान्छे जस्तो देखिए पनि
मान्छे भित्रको मान्छे
बिल्कुल फरक हुँदो रहेछ ।

मुखले मान्छे बोले पनि
उही मान्छेभित्र Continue reading “Shiva Prakash – Manchhe Bhitra Ko Manchhe”

Shiva Prakash – Budho Simal

ख्वामित !
छत्तीस वर्ण यो फूलबारी उजाडिदैछ !
उजाडिदो यो फूलबारीलाई
फेरि सिँगार्नु छ, सुरम्य बनाउनु छ
शान्ति सिंचन गरेर रगतले साँधिएको
फूलबारीको माटो पखाल्नु छ
भावनाका बिरुवाहरु रोपेर
यहाँ विश्वासको फूल फूलाउनु छ
आदर्शका बारहरुले घेरेर
निष्ठाका कुटो कोदालीले
यो फूलबारी गोडमेल गर्नुछ ।
तर ख्वामित ! यहाँ त उल्टो भयो
भावनाका विरुवाहरु हैन,
यो फूलबारीमा एउटा भयानक
बूढो सिमल पो गाडियो !
रिसानी माफ होस्, ख्वामित !
हजूरबाट किन यस्तो उल्टो कदम चालियो –
ख्वामित ! म यो फूलबारीको मालिक हैन,
एउटा मामूली मालीमात्र हूँ
ख्वामित ! सानो मुख ठूलो कुरा नठानियोस्
त्यो बूढो सिमल सारेर र्सर्दैन, ख्वामित !
कहिल्यै र्सर्दैन ।
किन भने त्यो बूढो छ, जिरण छ
जतिसुकै शक्तिशाली
मल हाले पनि यो हुर्किँदैन
जतिसुकै कालो लेदो भरिएको
जल हाले पनि यो झाँगिदैन
ख्वामित ! यो बूढो सिमलमा
न त चुरो छ / न मूल जरो छ !
भोलीको हावाको झोक्कामा र्
गर्लम्म ढल्न सक्छ !
त्यतिबेला सायद यसले
भयानक दुष्परिणाम निम्त्याउछ
हजारौं बिरुवाहरु किच्न सक्छ
उजाडिदो यो फूलबारी
त्यसपछि झन् उजाड हुनेछ , ख्वामित !
हो, त्यस पछि झन् उजाड हुनेछ
र , यो बूढो सिमल
मात्र दुष्परिणामको प्रतीक हुनेछ ।
ख्वामित ! यो आदिम रुखले
परम प्रभुत्वका चाहना राखेको छ,
भयंकर रुग्ण स्वरुप भए पनि
असिमित विस्तारको उत्कण्ठा राखेको छ
तर ख्वामित !
कपोलकल्पित शून्यताको फल बोकेको
यो बूढो सिमलमा
म विकृत प्रतिविम्ब मात्र देखिरहेछु
यसमा न सद्भावको पालुवा पलाउँछ !
न भावनाको फूल फूल्छ !
न विश्वासको फल फल्छ !
न आदर्शका हाँगा फैलाउन सक्छ !
न यसले झरीमा ओत दिन्छ ,
न टन्टलापुर घाममा छाहरी !
न यो वर-पीपल जस्तो
श्रद्धा र आस्थाको कल्पबृक्ष हुन सक्छ
न त यसका पात बेलपत्र जस्तो शुद्ध छन्
न त भेडाबाख्राले नै खान्छन्
ख्वामित ! यो बूढो सिमल
न त हजूरको महलको खाँबो नै हुन्छ
न त अग्नि हवन्का लागि
यसको समिधा नै चल्छ !
न त यो कसैको चिता जलाउन नै काम लाग्छ !
ख्वामित ! हजूरको हुकुम नमानौ
मृत्युले मुख बाउँछ
मानौ, आत्माले धिक्कार्छ
हो, ख्वामित ! यो बूढो सिमललाई
मलजल गर्नु भन्दा उखेलेर फ्याक्नु नै वेश हुन्छ ।
ख्वामित ! गल्ति भए सहस्र क्षमा होस्
बूढो सिमल सारेर र्सर्दैन, ख्वामित !
सारेर र्सर्दैन !

हरैंचा/मोरङ , हालः बोष्टन, अमेरिका ।

Shiva Prakash – Antarang Ko Rang

तिमीभित्र
तिमी जस्तै
तिमी नभए
मभित्र
म जस्तै
म पनि नहुन सक्छ !
तिमी,
तिमी जस्तै हुन
म,
म जस्तै हुन
तिमीभित्रको तिमी
मभित्रको म
सायद उस्तै हुनु पर्छ !
एकाकार भए पनि
तिमी र म
तिमीभित्रको तिमी
मभित्रको म
एकाकार नभएसम्म
मनले मन नचिन्न सक्छ,
शरीरले शरीर चिने पनि

मनले मन नचिने
एक मनले
अर्को मन कटक्क खान सक्छ !
तिमीभित्रको तिमी
मभित्रको म
तिमी र म भन्दा
फरक भए
अन्ततः
तिमी र म पनि
फरक बाटो
हिड्नु पर्ने हुन सक्छ !
के थाह,
मान्छे जस्तै
तिमीभित्र
अर्को तिमी
मभित्र
अर्को म पनि त हुन सक्छ !
रंग उस्तै भए’नि शरीरको
अन्तरङ्गको रङ्
फरक पनि त हुन सक्छ !

(अश्रृगांर कविता अभियान…)

Shiva Prakash – Shasak

शिव प्रकाश – शासक !

पेट भर्न
गाँस मागे
गोली दियौ

शरीर ढाक्न
कपास मागे
नेल दियौ

टाउको ओत्न
छानो मागे
जेल दियौ

स्वतन्त्र बाँच्न
अधिकार मागे
मृत्यु दियौ

मैले सुनेको
हो, तिमी यस्तै हुन्छौ
किन भने
तिमी त शासक न हौ !

Shiva Prakash – Rupantaran

अस्तिसम्म
मान्छे थियो
उ पनि,
हिजोदेखि
सिंहदरबार
छिरेछ,
आज
अचानक
जनावरमा
रुपान्तरण भएछ !
अस्तिसम्म
पाठ पढाउथ्यो
उ पनि,
नीतिका,
न्यायका,
निष्ठाका,
नैतिकताका,
इमानका
हिजो
सिंहदरबार
छिरेपछि
आजै सबै
बेचेर खाएछ !
संचार माध्यममा
भोलीपल्ट
जताततै
अन्तर्वार्ता
उसैको आएछ
“समय अनुरुप
हामीले
आफूलाई
निरन्तर
रुपान्तरण
गर्न सक्नु पर्छ !”
उ अझै भनिरहेछ ।

(अश्रृंगार कविता अभियान ……)

Shiva Prakash – Andho Chha Ishwar Aja Pani

बाँचिरहेछन्
शकुनीहरु मान्छेभित्र
फैलाउँदै पासापाजा कुटिलताका
लेखिरहेछन् झूठो कथा महाभारतको
मरेका छैनन् दूर्योधन दुशासनहरु
चिथोर्दै द्रौपदीहरु
हाँसिरहेछन् भारी सभामा
बनाउँदै लाक्षागृहहरु
मान्छेका वस्तीमा
गर्जिरहेछन् आज पनि ।
जिउँदैछन् रावणहरु
नांगो नाचिरहेछन् मान्छेभित्र
किचिरहेछन् निर्धाहरु
अत्याचारका गदाले
निरिह हेरिरहेछन् हनुमानहरु
वैदेही हरण
जटायु मरण
टुलुटुलु आज पनि ।
दुन्दुभि कोहालहको बजाउँदै
घुमिरेहछन् कंशहरु
मरेका छैनन्
मान्छेभित्र हाँसिरहेछन् आज पनि
नदेखेको ईश्वर
ग्रन्थका मिथकहरु
अन्धाधुन्ध मानिरहेछ मान्छे
आज पनि ।
ईश्वर !
किन बाँचिरहेछन् शकुनीहरु !
किन नाचिरहेछन् रावणहरु !
किन हाँसिरहेछन् कंशहरु !
किन गर्जिहरेछन् कौरवहरु !
अदृश्य छ ईश्वर !
कि ईश्वरभित्र भ्रम छ
कि भ्रमभित्र ईश्वर !
कि बाँचेर पनि
अन्धो छ ईश्वर आज पनि ।

बोस्टन, अमेरिका

Shiva Prakash – Asat Dristi

शिव प्रकाश – असत् दृष्टि !

म अहिले जहाँ छु
त्यसैलाई राम्रो मानिरहेको छु
राम्रोमात्र हैन,
अति राम्रो !
तर जहाँ सधैं
नराम्रोको खोजी भइरहेको हुन्छ
जस्तो कि
एटम बम !
अहिले म जहाँ छु
त्यसैलाई सुरक्षित मानिरहेको छु
सुरक्षितमात्र हैन,
अति सुरक्षित !
तर जहाँ सधैं मानवीय विनासको
उद्योग चलिहरेको हुन्छ
जस्तो कि
आणविक भट्टी !

Shiva Prakash – Aparibhasit Yo Jindagi

जति सोचे पनि
केही सोच्नै नसिकए जस्तै
गर्दा गर्दै पनि
केही गर्नै नसकिए जस्तै
हेरिरहँदा पनि
केही देख्नै नसकिए जस्तै
निरन्तर खोज्दा पनि
कहीँ केही नभेटिए जस्तै
केही नहराए पनि
सधैँ केही हराए जस्तै
केही नपाउँदा पनि
कति धेरै पाए जस्तै
पाउँदा पाउँदै पनि
कहिल्यै केही नपाए जस्तै
हुँदाहुँदै पनि
सधैं केही नभए जस्तै
केही नहुँदा पनि
अलिकति केही भए जस्तै
जति हिड्दा पनि
गन्तव्य कहिल्यै नटेकिए जस्तै
संसार देख्दा देख्दै पनि
आफैंले आफैंलाई नदेखिए जस्तै
जति लडे पनि
कहिल्यै नजितिने युद्ध जस्तै
जीवन्तता छँदाछँदै पनि
अस्तित्व नै नभए जस्तै
उपस्थिति रहँदारहँदै पनि
शून्यतामा सधैं हराए जस्तै
यस्तै रहेछे जिन्दगी
अर्थात यस्तै-यस्तै
अपरिभाषित परिभाषा जस्तै
जिउँदा जिउँदै पनि
जिन्दगी, जिउँनै नजानिए जस्तै !

Shiva Prakash – Manchhe Manchhe Jasto Chhaina

अभिश्राप तँलाई त्यो ईश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही ईश्वरको वरदान
धन्य तँ
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो
निष्ठा छ तँभित्र
विष्टा Continue reading “Shiva Prakash – Manchhe Manchhe Jasto Chhaina”

Shiva Prakash – Virtuous Maanchhe !

शिव प्रकाश – भर्चुअस मान्छे !

धेरैलाई उस्तै देख्छ
थोरैलाई आफू जस्तै
आफू धेरै हुन सक्दैन
धेरै, थोरै हुन चाहदैन
खुम्चिएर बसेको हुन्छ-
थोरै,
चेतनाको विशाल आयतनमा
एउटा मान्छे जस्तै !

उन्नत छ-
सफेद झूठको खेती
सम्मुन्नति ल्याएको छ –
मान्छे जस्ता देखिने
धेरै मान्छेको जीवनमा धेरै
उ जान्दैन-
धेरैले गरेको खेती
कर्महिन बसेको छ –
एउटा सानो कित्तामा
थोरैभित्र
एउटा मान्छे जस्तै !

बतासमा आकार देख्छ
पानीमा रंग देख्छ
तर केही देख्दैन-
मान्छे जस्ता देखिने धेरै मान्छेभित्र
एउटा भर्चुअस बुद्ध जस्तै
एउटा भर्चुअस मान्छे !

(अश्रृंगार कविता अभियान…)
बोस्टन, अमेरिका

Shiva Prakash – Baulaha Ko Bakhan

प्रभु ! म गरीव त छदैं थिएँ
हुँदा हुँदै अहिले तन्नम्‍ भएँ
मेरो सर्वस्व हरण भयो
खोसिदाँ खोसिँदा
अलिकति स्वतन्त्रता बचेको थियो
त्यो पनि हरण भयो,
अलिकति मौलिक हक बाँकी थियो
त्यो पनि निर्मूल भयो
एक त्यान्त्रो जनअधिकार बाँकी थियो
त्यो पनि प्रभुको कृपाबाट चुँडियो
गरीव नै भएता पनि
नागरिक भएर बाँच्न पाउँदा
केही बिषेक थियो,
दर्जा विहिन रैतीमा झरेपछि
त्यो पनि समाप्त भयो ।
प्रभु ! अब बाँच्ने इच्छा
अलिकति बाँचेको छ
त्यो पनि कतिन्जेललाइ हो ?
प्रभुकै हातमा छ !

प्रभु ! हजूरले भरखरै रोपेको
त्यो बुढो सिमलको रुखलाइ
हजूरका दूतहरुले सीधा देखे पनि
म त्यसलाइ बाङ्‍गो देख्दैछु
प्रभु ! किन हो थाह छैन ?
मेरो गर्धन चिलाएर हो कि,
म बौलाएर हो ?

प्रभु ! मैले पनि त्यही ‘कखरा’
त्यही देबनागरी
त्यही राष्टि्रय गीत पढेको हूँ,
आज कसरी म,
अराष्टि्रय शिक्षाको विद्यार्थी भएँ !
थाह छैन प्रभु !
म बौलाइसकेको मान्छेले
राष्ट्रवादी शिक्षा कसरी पढ्‍ने हूँ !

हो, प्रभु ! म बौलाए जस्तो लाग्दैछ
पानी देख्दा भाग्न मन लाग्छ,
आगो देख्दा जुध्न मन लाग्छ !
तन्नम भएपछि मर्नुभन्दा पहिले
बहुलाउनु नै पर्दो रहेछ ।

प्रभु ! अहिले म हजूरलार्इ देवता होइन,
दैत्य जस्तो देख्न थालेको छु
प्रभुहरु जस्तो देवतालार्इ देखेर
बौलाहा कुकुर जस्तो भुक्न थालेको छु
हो प्रभु ! म बौलाएकै हो,
नत्र देवतालार्इ किन दैत्य देख्छु ?

हरैंचा/मोरङ, हाल : बोष्टन/ अमेरिका ।जून १३, २००५।

Shiva Prakash – Maanisharu Ko Jangal

बस्ती छैन
उजाडिसकेको छ
मान्छे छैन
मरिसकेको छ
मानिसहरुमात्र उम्रिरहेछन्
मानिसहरुको जंगलमा ।
मान्छे बिनाको बस्ती
बस्ती हुदैन
र बस्तीमा जहाँ मान्छे हुदैन
त्यो जंगल हुन्छ
मानिसहरुको जंगल !
चितुवाहरु
ब्वाँसाहरु
बाघहरु
भालुहरु
गोहीहरु
अजिङरहरु
छेपाराहरु
सबै छन् त्यो जंगलमा
मानिसहरुको जंगलमा ।

फरक छ
मान्छे र मानिसमा
मानिस यावत् छन्
मान्छे थोरै
गान्धी मान्छे भए
टाल्सटाय मान्छे भए
मान्छे कृष्ण ईश्वर भए

न गान्धी, न टाल्सटाय, न कृष्ण
न एउटा नयाँ बस्तीको निर्माता
मात्र बाँचिरहेछु
मानिसहरुसँग
मानिसहरुको जंगलमा ।

बोस्टन, अमेरिका

Shiva Prakash – Julus Haru Ko Pathshala

जिन्दावाद ! मुर्दावाद !
नारा, जुलुसको पढाइ……..
रत्नपार्क, रत्नराज्य, रानीपोखरी
सुविधसम्पन्न प्रयोगशालाहरु …
इँटाढुङ्गा, लाठीचार्ज, टियरग्यास
भीषण प्रयोगात्मक परीक्षा !
रङ्गहिन चित्र
आकृतिहिन मूर्तिको
अपरिभाषित विम्वात्मक भविष्य
क्षतविक्षत आकृति
फुटेको एैना हो
मान्छेको अनुहार
अँध्यारो इन्द्रेनी
छैन नौलो कुनै बिहानी
अनौठो लाग्दैन अब
मान्छे हराएको सूचना !
जुलुसहरुको पाठशालामा
निरन्तर जुलुलहरुको जुलुस पढ्दै
अघिबढिरहेछ नाराजुलुसको पढाइ !
बलैक्वाक क्षमताधारी
सि‌हदरबारका पागल इन्चार्जहरुका
भरपर्दो सहारा हुन्
टोटे ति बाँदरका वंशहरु
निमग्न मोहित जपिरहेछन् तन्त्रमन्त्रहरु
नाराजुलुका बटुकहरु !
सिंह, मान्छे हैन
जनावर हो
विश्वास छैन मान्छेलाई
दरवारभित्र मान्छे हुदैन
शासक हुन्छ
बन्द छन् सधै‌ पाठशाहरु
खुल्ला छन् वरिपरी
वधशाला, मदशाला र यौनशालाहरु
मान्छे त्यहाँ पशु ठानिन्छ
खुल्ला यौन सम्पर्क गरिरेहेछन्
निर्लज्ज जनावरहरु
तर मान्छे हाँसिरहेछ ….. !
अन्धाकर विरुद्द
टायरको कालो तुवाँलो
अनन्त अँध्यारो शहरभित्र
बाँदरको वंश निरन्तर पढिरहेछ
जुलुसहरुको जुलुस,
ढुङ्गामुढा तोडफोड निरन्तर धोकिरहेछन्
जुलुसहरुको पाठशालामा
पढाइ निरन्तर छ ।

Shiva Prakash – Kaida Kanun

यो कस्तो काइदा कानून !
यसको अर्थ तिनैले जानुन्,
जसका लागि जसले बनायो
‘कानून’ भनेर न्वारान गरायो ।
कुन काइदाको कानून यो !
कसैलाई देखेर हरदम भाग्छ,
कसैको यसले गर्धन भाँच्छ ।
कसैसंग यो कानून
लरलरी काम्छ
लग्लगी डराउँछ,
उही कानून कसैलाई
थरथरी कमाउछ,
धरधरी रुवाउँछ ।
त्यही कानून
कहिले अति लूते बन्छ
टाङ्मुनी छिर्छ,
ठालूका सामू तालू टेक्छ ,
उही लुते कानून
कहिले साँढ बन्छ
सोझासाझा लालू/कालूलाई
छेर भालू छेर बनाउँछ,
टाउको टेकाउछ,
तोरीका फूल देखाउँछ ।
त्यही कानून
लाटा/निर्धाका लागि
पिंडुलामा बजाउने भाटा भा’छ,
बाठा/बलियाका लागि
शिरमा ओढाउने छाता भा’छ ।
यो कस्तो काइदा कानून,
जस्ले बनाए तिन्ले जानुन् !