साजन राइ ‘उपेक्षित’ – समय
थाह छ ? उनीसँगै हामी हुन्थ्यौ ।
मेरो बाल्यकालको सखी
कति कुराहरुको भलाकुसरी हुन्थ्यो ।
बयेली खेल्थ्यौ हामी एक डाँडा र अर्को डाँडा
समय एकनाशको हुँदैन रहेछ ।
हुदो हो त संसार सबैले आफ्नो अनुकुलमा कब्ज गर्ने थिए होला ।
हामी पनि हुत्तियौ ..
बहकियौ समयको परिवर्तनसँगै …….
चैत्रमासको हुण्डरीले…….
साउन भदौको दर्के झरी र भेलबाढीसँगै…
अथवा पौष माघको चिसो सिरेटोसँगै ….
खै समयको कुन शक्ती थियो त्यहाँ
जसले हामीलाई लापत्त बनाईदियो ।
सम्झनै नसक्ने गरी……… .
समय…….. समय……… समय…….
सबै आफ्नै समस्या र आवश्यकता
सबैको आफ्नै सँघर्ष,
दिनरातको चक्र जस्तै त्यो दिन पनि आयो कि
फेरी पनि हाम्रो भेट ….
बितेका कुरा…बाल्य कृयाकलापको अतितानुभुतिहरु
तर त्यहाँ भएर पनि त्यो थिएन ।
समय सँगै उनको गज्जबको परिवर्तन भएछ ।
आह ….!सखी
तिम्रो भागमा परेको लखपतिको नौटंकीसँगै
हाम्रो मित्रतालाई बिर्सिदिएछौ ।
सुख र सम्पन्नताको चरमोत्कर्षसँगै
हाम्रो सम्बन्धलाई कुल्चीदिएछौ ।
सोच्छौ होला के फाईदा होला र
बितेका कुरा सम्झेर ……
तर विगत बिना वर्तमानको सम्भव नै छैन ।
मलाई तिम्रो सम्पत्तिमा लोभ छैन ।
मलाई तिम्रो उन्नतिमा आँखा लागेको हैन ।
मैले तिम्रो भाग खोस्नु छैन पनि ।
मैले लामो अन्तरालपछिको हाम्रो भेटलाई
सम्झनाको तरेलीहरुसँग सँगाल्दै
सुदामा र कृष्णको झै बनाउन खोजेको मात्र हुँ ।
दिदिङ-१ बर्देउ संखुवा-सभा