Sabina Sindhu – Cup Ma Ubhiyeko Asthipanjar

सबिना सिन्धु – कपमा ऊभिएको अस्थिपन्जर

साँच्चै किताब पढ्दै थियौ नि !
कति अध्याय पढ्यौ र जाँच्यौ आफ्नै हालत ?
शुन्य – शुन्यमा निर्वाह गर् यौ शब्दको प्रहार
र चपाउँदै चेतनाहिन एकाग्रता चर्कियौ समयको छातीमा ।

बत्ति निभेको एक साँझ
धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा श्रङ्खला
र जम्दै गएको धुजाधुजा शब्दलाई सोहोर्दै
सिरानमा राख्यौ मैन भन्दा धेरै पर
मेरो तस्विरमा पोखिएका रङ्गलाई ।

भिन्दा- भिन्दै थिए प्रत्येक उतारचढावका किस्ताहरु ।

तैपनि फेर् र्यौ आत्मियताको श्वास तर जित्न सकेनौं मलाई
र गन्तब्य हराएर निस्सासियौ मेरो पच्छ्यौरीको किनारमा ।
अन्ततः च्यातियौ धुजाधुजा भएर ।

वा भनौं
घिसियौ नियतिका डोबहरुमा पहिरोका छिटाहरुसँगै

……अनि गहभरी भिजायौ हगी
एक ढिक्का सम्वेदनसिलतालाई उही रैथाने आँसुमा ।

ठिक
त्यसैबेला
मेरो नजिकै डुब्यौ तिमी
मेरो…………कफिको………… कपमा
एक ढिक्का संझना भएर ।

‘उभियो’ कफिको झोलमा
………तिमी होइन तिम्रो अस्थिपाजर ।

सोचेँ यतिखेर तिमी किताब पढ्दै हौला ।

काठमाडौं

Sabina Sindhu – Chihan Uthchha

सबिना सिन्धु – चिहान उठ्छ

क्रान्तिको रक्तरन्जित खोलो
फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ
र चिहान उठ्छ, हतियार बोकेर
मान्छे मान्छे भएर उठ्छ ।
न्यायको खातिर
मान्छे इतिहास भएर उठ्छ
सत्यको खातिर !
पाखण्डी इजलास
फेरी विस्थापित हुन्छ

जे होस् चिहान उठ्छ ।

ढुङ्गा जस्तै साह्रो पारेर मुटु
समयको सम्पूर्ण अधिकार
बिद्रोहको तुफान भएर उठ्छ ।
सिङ्गै कथा जन्माउँछ
बज्रिन्छ छातीमा असन्तुष्टिका भाग्य रेखा

अन्तमा
शरीरबाट रगतका छिटा
उच्छिट्टिएर आकार बन्छ देशको
आकार बन्छ मुस्कानको

चिहान क्रान्तिका लागि उठ्छ
चिहान शान्तिका लागि उठ्छ

जे होस् चिहान उठ्छ ।

Sabina Sindhu – Ghantaghar Ra Sapana

सबिना सिन्धु – ‘घण्टाघर र सपना’

प्रत्येक दिन नयाँ प्रणयसाथ
म उभिन्छु घण्टाघरझैं
समयले अँगाल्छ मलाई ।
र रातमा पोल्टटाभरीका
जून निलेर निदाउँछु ।
घण्टाघरले फेरी
रातको बाह्र बजाउँछ
म झलमल्ल
घामको सपना देख्छु
निन्द्रामै छट्पटिन्छु
जीवनका कलिला हाँगाहरुमा
फेरी
उभिन खोज्छन् मेरा रहरहरु
मेरा नपुङ्सक सपनाहरु
फेरी घण्टाघरको घडिसँगै
पछि दौडन खोज्छन्
म नबोली नबोली
मिठो सपनी देखिरहन्छु
जीवनहीन जीवन बाँचिरहन्छु
मृत्युपत्रमा
हस्ताक्षर गर्न नचाहेर ।

व्यँुझिएर घडि हेर्छु
एउटा सङ्ग्तिमय सुरुवात
फेरी सम्प्रेषित हुन्छ

म केही होइन
संसार केही होइन
टेबुलबाट घडि उठाउँछु
कैद गर्छु
मेरो नाडीमा कैद हुन्छ
ठिङ्ग उभिएको घण्टाघर ।

Sabina Sindhu – Akroshit Shahid Gate

सबिना सिन्धु – आक्रिशित शहिदगेट

आँगन भत्काएर चिहान खन्नू
कसैको विरोध गरेर
उप्काउनू रक्तरन्जित ज्वारभाटा
बलि चढाएर कुनै मन्दिरमा
घाँटी रगेड्नू उसको
फुटाउनू उसको खप्पर
च्यात्नू मस्तिष्क
र गाड्नू उसका आँखाहरू
सुकिला घामहरूका अगाडि
कोदालो बोक्नू र खन्नू खाडल
ताकि चिप्लिएर लडून्
निरही तिनका सप्तनदीजस्ता
कल्कलाउँदा सपना
दन्दन्ती बाल्नू उसका इच्छाहरूलाई
सल्काउनू उसको शब्दको पीडा
आक्रोशित उसका आँसुहरूलाई
बल्न दिनू औपचारिक सङ्कीर्णतामा
शक्तिशाली रहेछन् भने
उसका शब्दहरू
पीरो धूवाँ ओकलेर
तस्बिर उतारिहनेछन्
हिमालको अग्लाइमा,
नाप्नेछन् शब्दका गहिराइहरू ।
लात्ती हानेर आफ्नै घर भत्काउनू
भन्नू, “समयको गतिसँगै चलेको छु”
ढाल्नू घण्टाघर, ढाल्नू सहिदगेट
यदि यस्तै हो भने नलेख्नू इतिहास
नउम्याउनू सहिदगेट
नसम्झनू सहिदका सपनाहरूलाई
यदि यस्तै हो भने
आफैँ पस्नू आफूले खनेको खाडलहरूमा
आँगन भत्काइरहनू
चिहान खनिरहनू ।
बिर्सनू आफैँलाई
बिर्सनू देशलाई
र, सहिदका सपनाहरूलाई ।

Sabina Sindhu – Kunai Kal Khanda Ma Nyayalaya Aghadi Ubhiyera

सविना सिन्धु – कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर
(मधुपर्क साउन, २०६७)

श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,
विचारको कारोवार गर्छन् ।
आस्थाको पुनर्योग गर्छु र ठम्याउँछु
दुई सुकाको माया धेरैअघि उनले मसँग साटेको ।
विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान् !
सर्जककी स्वास्नी हुनुको पीडा दाउराहरुमा मिसाएर
आगोसँगै बाल्छु ।
तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।
सम्पादकबाट अस्वीकृत उनका विचार
टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।
घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।
पढेकी छु दुई-चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।
कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तकदेखि ईष्र्या लाग्छ ।
आफैं टाँस्सिउँजस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा
ताकि उनले
एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्
र महसुस गरुन् ।
घरी-घरी सम्पादकबाट अस्वीकृत विचार देखेर
अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।
अँगेनाको डिलनजिकै बसेर
फरियाको सप्कोले पुच्छु आˆनो आँसु,
थाहा छ, श्रीमान्,
म उनको शब्दलाई होइन उनलाई प्रेम गर्छु ।

Sabina Sindhu – Ujyalo Bihana Bokeki Sundari Keti

सविना सिन्धु – उज्यालो विहान बोकेकी सुन्दरी केटी

झिस्मिसे हुने अगावै उठेकी तरुनी केटी
स्वयम् निस्सासिएर घैलाहरूसँगै
नदीले हुत्याउन खोजेका रहरलाग्दा छालहरूमा
बुनिरहन्छे पसिनाका नीला सपनाहरू,
बाटोभरि निमोठिएर जूनका कृत्रिम
आँखाहरूबाट,
यज्ञको रापिलो अग्निकुण्डमा
चिरकालदेखि होमिएकी
बलिरहेकी शरीरका शून्य मुस्कान बोकेर ।

उज्यालो बिहान बोकेकी सुन्दरी केटी
आफैलाई बलीमा झुण्ड्याएर
उभ्याउन चाहन्छे सभ्यताको सुन्दर विहान
सिंगै गोलो पृथ्वी भएर घुम्न चाहन्छे
शताब्दीको पीडा पन्छाउन
एकलास अन्धकारमा बारुद झैं पड्कन्छे र्
इश्वरको आराधनामा चिरकालसम्म
समर्पित गर्छे आफूलाई
स्वार्थको साँघुरो परिधिभन्दा धेरै टाढा
रगत बगाउँछे, लड्छे आगोका लप्काहरूसँग
आखिर खरानी बन्छे
नयाँ सभ्यताको खातिर
नयाँ कालखण्डको खातिर ।

जब फूलहरू फुल्छन्
ऊ निदाइसकेकी हुन्छे
निख्रिसकेकी हुन्छे
सुन्दर कविताहरू धरहरा भएर उक्लन्छन्
इतिहासले कोल्टे फेर्छ
पखेटा फट्फटाउँदै चराहरू उड्छन्
सधैं यस्तै हुने गरेको छ
उज्यालो बिहान आउनु अगावै
हराउने गरेकी छे, बिलाउने गरेकी छे
उज्यालो बिहान बोकेकी सुन्दरी केटी ।