Manu Lohorung – Upasana

मनु लोहोरुंग – उपासना

खण्डवृष्टिको
सुगन्धित अत्तरको
मोहमा लट्ठिएर
निशाले नछोडेका

बादशाहहरुको
भीड कुल्चेरै
यो पवित्र-भूमिमा
अनुरागको तोरण टाँग्न
आउँनु पर्छ
जसरी पनि
तिमी आउँनु, प्रिय !

अभ्यर्थी भएर
तिमी मार्फत
अमरलोकमा
यो हृदयउद्गार चढाउँछु
सबै अनुयायीहरुको
आलिंगनमा हरदम बस्नु
युग-युग,
अश्मिभूत भएर
प्रिय ! म यही चाहन्छु

एक बराबर
हजारौं सपनाहरु
टुटेर के भो र ?
जीवन्त मानव-मनोहर हाँस्न
प्रतिबोधी लोकलाई
अलौकिक अप्सानी
चढाउँन चाहन्छु।
प्रिय ! म यही अर्जी गर्छु

युगान्त पछिको युग
फेरि मधुमास बोकेर
निहारिका उदाँउदो छ l
इज्जतका निशानीहरु
उत्खनन गर्न,
उराठ खडेरीमा
सागर उरालेर
गोधुलिको असिम प्रेम
लिएरै आउँनु प्रिय !

त्यसैले असमिपक
युगिन सहगामी हुन
तिम्रै समीभूतमा राख्न
दर्शन कुँद्ने हतियार
बोकेर तिमी एकलव्य,
जगको अभिमुख रहन,
तिमी आउँनु पर्छ
जसरी पनि आउँनु !
प्रिय !
म यही उपासना गर्दछु !!!

रचना समय :- ३१ जेष्ठ २०६७ – सोमबार
शितलपाटी – ६, संखुवा-सभा

Manu Lohorung – Pagal Shakti Ra Punarsthapana

मनु लोहोरुंग – पागल शक्ति र पुनर्स्थापन

छाँट मिलेको कोट
एक टकले हेरिरहँदा
धेरै आँखा र मानव मनहरु
शक्तिहीन भएका छन् l
पिच सडकमा पजेरोबाट ओर्लिंदा
अनुहारको छायाँ देखिने
जुत्ताको चुरुम-चुरुम आवाजले
हजारौं कानका श्रव्य शक्तिहरु
भित्र भित्रै धसिंदै गएका छन् l

रुग्ण स्वातन्त्रमा
नैतिकताको धोती मात्र
पहिरेर अस्तित्व खोज्दा
क्रोधको क्रान्ति आगमनले
शान्तिको फूलमा
आगो सल्केर
ध्वंशको धुवाँले
सागरमाथ मक्किएर चोईटियो l

बेथितिको उत्थापन हुँदा
विजयको महसुसमा
अस्तित्व पराजय हुँदैछ l

रक्तलेपन सडकहरुले
दाग पखाली माग्दा
अमानक इप्साका आहारी,
अवधूत नाङ्गा मान्छेहरु
लाज टाउकोमा सिउरेर
नैतिक अपक्षयतिर
एकोहोरो लम्किन्दै छन् l

मान्छे माथि गरिएको
अवज्ञाको खातिर
म ग्रहको अरिष्ट
स्वस्तिशान्तिको लागि
अविभाज्य तोरणको जोहो गर्दैछु l

रुढ यो जिवलोकमा
अस्वास्थ्य कल्पनाले
पागल शक्तिहरु जन्मिए l
विप्लव कुल्चेर, विपुलमा
उद्दीपन विभाव

राष्ट्र-प्रेमको उद्वेगमा
म तिनलाई…”मानसिक”
पुनर्स्थापन गर्छु-गर्छु l

इतिहासको बयानलाई
अब ! म सुरक्षित राखेर
अवनतिको सतहमै
डाहाको शोकज्वाला निभाउँदै
इन्द्रियको जन्जिरबाट
चेतनाको झुलो चकमक बोकेर
सराबरी मानव सरोवर उन्नतिको
चोमोलोङ्मातिर उक्लिन्छु/उकाल्छु l

शितलपाटी-६ संखुवासभा

Manu Lohorung – Jiundo Murda Ko Atmosarga

मनु  लोहोरुंग – “जिउँदो मुर्दा”को आत्मोत्सर्ग

उकालो मसानघाटबाट
सगरमा बदलिँदो
निलिमाको उद्बोध हेरेर
अब “जिउँदो मुर्दा”
आत्मोत्सर्गको
संजीवनी पिउँदैछ l

उसले उद्घोष गर्दैछ…..

म आत्माभिमानी हुँ !

उदयगिरिबाट
मृतसंजीवनी बोकेर
युग उन्मेषको लागि
गाउँको गौंडा-गौंडा हिन्छु l
जहाँ अतिक्रान्त पसिना
अझै लुटिईएका छन्,
अभावको कोर्राले
बिनाकसुर चुटिएका छन्
तिनीहरुको मोचनको निम्ति
युग क्षेपक ओकाल्दै हिड्नेछु l

शहरको कोलाहल छिचोल्दै
गगनचुम्बी भवनहरुमा पस्छु l
जहाँ लालची आँखाहरु
झुण्डमा झुण्डमा
यश भजाउदै गरेका छन् l
तिनीहरुको बिचैमा पसेर
भूतल भोग-चलनको
किराय असुल्नेछु l

मातृबलात्कारको अभियोगमा
नाङ्गो सडकमा उभ्याएर
सद्धामको मृत्युवरण अंगाल्न
बाध्य नहून् !
बिचराहरु………!!!

सडकको छातीमाथि
यामिक पहरेदार भएर
आध्यांत सम्म हिंडी रहन्छु l
अतीव उदासिनताको
खापैखापमा च्यापिएर
उच्छवृतिमा “जिउँदो मुर्दा”
रहन दिन्न, कसैलाई पनि !

यो सामरिक मरुथलका
जीवित मुर्दाहरुलाई
पैशाची प्राकृतबाट उम्काएर
सह अस्तित्वको खल्यानमा
जीवनको धिप्कोमा
दिप्ती भरण गर्न
सम्मोहित पुष्प शैय्यामा
रश्मीसंग जीवन सटाउँछु

Manu Lohorung – Arko Hitlerko Janma

मनु लोहोरुङ् – अर्को हिटलरको जन्म

भोक र शोकको सन्तापमा
कहिले सम्म उभ्याउछौ ?
उभ्याउ मलाई आकाश खस्दा सम्म
उभ्याउ मलाई धर्ति फाट्दा सम्म
किन कि,
मेरा पुर्खाले हिम्मत हार्न जानेन,
हरेसका धर्सा गनेन निधारमा
नारीवादको नाराले ढाँट,,सारीवादको पाराले थिच
म बेत्ताल भएर यो ब्रमाण्डमा उत्रिनेछु,
त्यसैले
चाहे मलाई,
फेरी भोकले मार
मलाई शोकको रोगले मार,
तर म एकदिन हरेकको अन्तर आत्मबाट अजिब भएर जन्मिनेछु

हो,म रुकुम रोल्पा र दोरम्भामा,
रगतको खोला बगेर मर्दिन,
हो, ठाकुरद्वार र गोदावरीमा
सौहार्दको फूल भएर सर्दीन,
काला कर्तुतहरुलाई सेता पर्दाले
छोप कत्ति छोप्छौ….???
कुनै दिन आँधी बनेर आउनेछु,,
त्यत्तिखेर,तिम्रो अस्तित्व उदांगो हुनेछ,
त्यसैले
चाहे मलाईफेरी भोकले मार
मलाई शोकको रोगले मार
तर म एकदिन हरेकको अन्तर आत्मबाट सुल भएर उठ्नेछु

बर्षौं मनको एकाकार तृष्णाको लागि
मैले अग्रखमा त्यसै हात हालेको होइन,
ढालेर रहरको मूल खाँबो हाल्ने हिम्मत बटुल्दैछु
ठोक मलाई,दरबार भित्रै
तरवारले छीनाउ
घरबार उडाइदेउ
सरकार…बिथोलदेउ
मलाई बोलीले किन गोलीले हान
अख्तियारको बनावटी कानुनले बान
छिनाल्न चाहन्छु युगौको लागि
त्यसैले चाहे मलाई
फेरी भोकले मार
मलाई शोकको रोगले मार…
तर म एकदिन हरेकको अन्तर आत्मबाट बज्र भएर निस्किनेछु

कित्ता कित्ता काटेर छुट्टयाउ
मलाई बित्ता बित्ता मनको जाँचेर
लोकतन्त्रको लाइसेन्समा संबिधानको भोट हाल्न लगाउ,
निर्धारित मिती सार्दै जनताको आशामा चोट देऊ,
बस्ती बस्तीमा समावेशीका गस्तीहरुलाई ओत देऊ
जेनेभाको यात्रामा फेरी एक पटक अस्तित्वमा खोट देऊ,
आस्थाका फूलहरु कुल्च,,,चाहे स्वच्छ बिचारका मूलहरु थुन,
तिम्रा झुटा प्रतिबद्दताहरुलाई प्राकृतिक हत्या गर्नुछ,
त्यसैले
चाहे मलाई फेरी भोकले मार
मलाई शोकको रोगले मार
तर म एकदिन हरेकको अन्तरआत्मबाट सुनामी भएर उर्लिनेछु

पुगी नपुगी मन्त्रालयको बल लगाउ
पुरानै कानुनको ठेलीको गल लगाउ
अनुकुल मिल्दा सिंहदरबार र बालुवाटार छीर,
प्रतिकुल हुदा बिशुद्ध नेताको बिल्ला भीर,
पाए सम्म त्यहाँ भ्रष्टाचार गर, नपाए पछी पार्टीमा शिष्टाचार गर,
बेला बेलामा बस्ती भित्र पसेर सम्मानको दृष्टिगोचर गर,
कहिले थोमस अडिसन बनेर कालो कानुनलाई सेतो मान,
कहिले गुग्लेल्मो मर्कोनी बनेर छिट्टै संबिधान बनिसक्यो भन,
तिम्रो मखुण्डोरुपी बुख्याँचालाई यो राज्यमा ध्वस्त गर्नुछ,
त्यसैले
चाहे मलाई,
फेरी भोकले मार
मलाई शोकको रोगले मार
तर म एकदिन हरेकको अन्तरआत्मबाट हिटलर भएर जन्मिनेछु

Manu Lohorung – Sakshyat Bimba

मनु लोहोरुङ् – साक्षात बिम्ब

धरो धर्म
मलाई बिजुलीको
उज्यालो चाहिँदैन,
किनकि,
अँध्यारोमै मेरो पुरानो
भ्रष्टचारको खेती सप्रिन्छ….
त्यसैले
मैनबत्ति बाल्नेहरुलाई
साँचो बक्दैछु…..

कानुनको
कठघरामा उभिएर होइन,
पार्टीको
कूश पानी पिएर
भन्दैछु…..
यो राज्यमा
कोही भोका, नाङ्गा छैनन्
अझै पनि
म टायर बालेको
आगो छोएर भन्दैछु…..
मलाई यो देशको
संविधान बनाउने फुर्सद छैन
किन कि
अझै जेनेभाको यात्रा बाँकी छ
सिंहदरबार र बालुवाटारको
पुराना ठेलीहरु छोएर भन्दैछु….

गाई खाने मलाई,
माटो र मलको चिन्ता छैन,
फूल फुल्नु फुलाउनु पो हतार छ
धर्म निरपेक्ष र
समावेशीको नारा
लाएर भन्दैछु…..

मेलम्ची खोलाको कसम
यो भुमि जलस्रोतको धनि
खाने पानी चाहिंदैन मलाई
मरुभूमि मनले हिंजै
प्यास मेटाई सकेँ
मैले हजारौ सहिदको रगतको
भल सम्झेर भन्दैछु……

शित्तलपाटी-६ संखुवसभा,हाल: इजरायल

Manu Lohorung – Ek Ansha Ujyalo

मनु लोहोरुङ् – एक अंश उज्यालो

मनको जस्केलो
उघारेर हेर्दा
क्षितिजमा पर
उज्यालो देख्छु
चाहा…बढ्छ,
निष्पट अँध्यारो
सिलोटमा
बल्ल इन्द्रीयहरु
घोट्दैछु….

बिचलनको
आँधीबेहरीले
लछारीएर,
खिया लागेको मन
युगको धार टल्काउन,
घर्याक…घर्याक…घर्याक
बेलाको रेतीले
रेटदैछु….

हिजै जीवनको
भोगाइ खण्डमा
एक चोटी दृष्टीपात
गरेको भए….
आँखाको बलेनीबाट
पश्चातापको शीत
तप तप खस्छ,
संगै ब्रमाण्ड देख्ने
आशाको दिउल
फुट्छ,,,बिस्तारै
उत्तरआधुनिक
ग्रीनहाउसमा
सार्दैछु….

एक एक दिमागी
चारकोसे भित्र
चेतन, अर्ध चेतनका
ऐजेरु काँट छाँट हुदैछन,
अशल र कमसलका
सत्तीसालहरु….
युगिन जलवायु
परिवर्तन भित्र
म पनि
ग्लोबल वर्मिङको पाठ
सिक्दैछु….

सितलपाटी-६,संखुवासभा; हाल: इजरायल

Manu Lohorung – Awahan

मनु लोहोरुङ् – आव्हान

समथरबाट पहाड चढ्दैमा
सगरमाथा पुग्न सग्दैनौ
पहाडबाट तराई झर्दैमा
मेरिआना देख्न सक्दैनौं
अहंकारको बायुपंखी घोडामा
आफ्नै गोहोमा अल्मलिदैछौं
हामी एउटा मूलबाटो निस्किने
गोरेटो मै अटेस मटेस गर्दैछौं ।

इतिहासको पाना च्यातेर
गर्‍याम् गर्‍याम् चपाउँदैछौ
हिजोको थोरै उज्यालोको
आकृतिको भित्तालाई
गर्ल्यामगुर्लुम ढाल्दैछौं,
समावेशीको बिगुल फुक्दै
आफ्नै संस्कृति र समाजमा
ध्वनि प्रदूषित बनाउदै छौं,
आफ्नो रंग खोज्ने निहुँमा
आरोपको हिलो छ्यापा छ्याप् गर्दैछौ ।
देउता पुज्ने गरेका ढुङाहरुलाई
बेकामे भनेर अहिले नफ्याकौं,
काम लाग्छ ढुंङ्गा-माटो दुवै
किनकि
यो धर्तीको श्रृजना एउटाले मात्र हुदैन
म,अनि हामी सबै यसमा रहनुछ
खडेरी मनको मरुभूमिमा कहिले
एकता र राष्ट्रियताको बीउ उम्रिदैन
चाहे पूर्वको कञ्चनजङ्धा होस या
पश्चिमको मानसरोवर-
हाम्रो लागि उत्तिकै
सङ्लो र अग्लो हुनु जरुरी छ
अनि मात्र सगरमाथा चिनाउन सक्छौं ।

शित्तलपाटी-६ संखुवसभा,हाल: इजरायल