Kumar Simkhada – Ye Naran NRN

कुमार सिंखडा – ए नारा’न एनआरएन

ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल
दिनभरिको नूनको सोझो साधु,
साँझ परेसि त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
लत्ता, भत्ता, र सत्ताको खेल।

ए नारा’न,
यहाँ पनि जत्थाको खेल
ए नारा’न,
यहाँ पनि आत्थाको खेल
हप्ताभरि सोझा, त्यागी, परिश्रमी
हप्तान्तमा त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
आत्था! मत्ता जत्थाको खेल।

ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल।

(अनेसास जापानद्वारा आयोजित भानु जयन्ती २०६५ मा वाचित)

Kumar Simkhada – Kalle Bhanchha Sani Timro Khera Go Jawani

कुमार सिंखडा – कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी

काँडा नहुँदा फूल ठुँग्न चुच्चेहरुको ताँती
चर्क्यो छाती छड्क्यो मुटु तरङ् नानाभाँती
पीडा होला आँसु होला यही हो जिन्दगानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी

आसा थियो रहर जोश माया बुन्नु थियो
इन्द्रधनुष संसार जोड्ने हात जोडी थियो
मायाको घर जगमै फुट्यो छातीभरि भाला
च्यातिएको मन सिउने पाइनौ झुम्रो टाला
काल फिरे साल फिरे मन फिर्ला सानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी

लुक्यो घाम हाँगा झुक्यो सुनसान वनपाखा
एकनास बजिरह्यो पिरतीको भाखा
रात रहे अग्रासै हो, फिर्ला अरु गीत
रोदीघरको दोहोरीमा गाए संगीसित
घाउ सुकी खाटा लाग्ला भुल्ने सबको बानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी

Kumar Simkhada – Tan Ke Gardai Chhas Yahan

कुमार सिंखडा – तँ के गर्दैछस् यहाँ?

उशाका शीतका लहरले रातका चारै प्रहरले
आफैंलाई सोध्छन् सधैं आफ्नै हजार रहरले
तँ के गर्दैछस् यहाँ?

यो वर्षात पनि छ बढो पक्षपाती
भिजाउँछ यो ज्यान सुख्खै छोड्छ छाती
हरपल उर्लिएर आँधी दिन्छ चुनौती
उसै त टुक्रा मन खडा छ करौंती
अनकन्टार एक्लो रातिले निर्बल आफ्नै छातीले
एकै प्रश्न सोध्छन् सधैं मेरा नौला साथीले
तँ के गर्दैछस् यहाँ?

यो अपरिचित भीड़ एक्लै छिचोल्न
मन त कहाँ थियो र इच्छा आफ्नै चिथोर्न
आडम्बर बोकी हिंड्छु दोषी अरू देखाउँछु
मनमा बार बाँधेर कमजोरी छेकाउँछु
पराई रूखा भाकाले निर्जीव सुखा पाखाले
बिहानीमै सोध्छन् सधैं भीडका हजार आँखाले
तँ के गर्दैछस् यहाँ?

उकालोमाथिको एकलास चौतारी
मेरै बाटो हेरी बस्छन् मेरा शैशव दौंतरी
आँखा चिम्ली हेर्दा चरी झैं छ यो मन
आँखा खोल्दा देख्छु उही उराठ जीवन
घरखेत गोठ टौवाले गाउँका पाटी पौवाले
एकनास सम्झाइरहन्छ ठुटे काले कौवाले
तँ के गर्दैछस् त्यहाँ?

Kumar Simkhada – Raati Uthne Gaun

कुमार सिंखडा – राति उठ्ने गाउँ

घाम डुब्छ क्षितिजपारि उठ्न थाल्छन् आत्माहरू
एकै रातलाई फेरि जीवन बोकी
अशान्तिमा कुञ्जिएका, सबका अघि सुलिएका
रहस्यमै लुकाइएर कालन्तरमा भुलिएका
बन्द ढोका झ्यालहरू खोली

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

मिरमिरेमा पानी भर्न आइमाईको लहर
त्यै हुलमा मिसिनलाई बांगिनीको रहर
आफ्नो पिंढी नपोतेको वर्षौं भएछ नि
कुरिरा’छन् बालबच्चा लोग्ने घरमा पानी
पँधेरीमै गाडिएका, संगीबाट छाडिएका
बाँच्ने रहर हुँदाहुँदै जीवनबाट टाढिएका
रुन्छन् सँगसँगै डाँको छोडी

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

झरी झरी साउनझरी पाँचभाइलाई पीर
सिम्ले खेतमा खोला पस्ला, बास खोलैतिर
जुगौंदेखि बाँचिआए यही खेतको भरमा
यो नभए एकै गेडी अन्न हुन्न घरमा
खोलाखोलै बगिएका, पहिरोभित्र पुरिएका
अरुलाई जोगाऊँ भन्दा आफूआफैं लुटिएका
आफ्नो जीवनको अर्थ खोजी

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

कोही भन्छन् किचकन्नी छन् कोही भन्छन् राँके
यो गाउँभरि भूतप्रेत बस्छन्
कोही गाउँछन् हावासँगै कोही एक्लै नाच्छन्
अन्धकारमै भए पनि केही प्रहर बाँच्छन्
आफ्ना रहर इच्छाहरू सम्झी

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

Kumar Simkhada – Teej Ki Badhu (Nepali Gajal)

कुमार सिंखडा – तीजकी बधु (गजल)

आफ्नै आँगन डिल पनि आफ्नो हैन अर्को लाग्यो
कौवा केही बोल्न खोज्यो, न्यास्रो हैन झर्को लाग्यो।

आवाजहरु आज नौलो मिरमिरेको पँधेरीमा
बधुसंगी कुर्दै थिएँ चेलीबेटीको लर्को Continue reading “Kumar Simkhada – Teej Ki Badhu (Nepali Gajal)”

Kumar Simkhada – Bihana (Nepali Bal Kabita)

कुमार सिंखडा – बिहान
(बाल कविता)

उठ उठ साथी हो !
हेर आकासमाथि हो!
घाम झुल्केको देखेर
भाग्यो टाढा राति हो।

आकास हिमाल सूनौलौ
बादल रातो रमाइलो
झलमल्ल चम्केर
घामले छर्यो ज्योति हो।

तल खोंचमा कुहिरो छ
माथि बादलको धुइरो छ
निलो सेतो पहेंलो
संसार कति जाती हो।

गौंथली पार ताप्दछन्
भँगेरा बिस्कुन ताक्तछन्
सुगा ढुकुर रमाउँदै
गाउँछन् नानाभाँती हो।

मकै सिरौंला चपाउँदै
तारे माले धपाउँदै
गैरी खेतमा जाँदैछन्
दँगेरेका ताँती हो।

घामले हतार गर्दैन
ढिलो पनि हुँदैन
चहार्छ एकै दिनमा
आकासको छाती त्यो।

हामी पनि हिंड्नुछ
बाटो गहारो काट्नुछ
मिलिजुली धैर्य गरी
लक्ष्य पुगौं साथी हो।

Kumar Simkhada – Awahan

कुमार सिंखडा – आह्वान

देखें
यो धरातलको छाती देखें
घामको पहिलो किरण देखें
दिनको अन्तिम गोधूली देखें
भेटें
मनका धनी मित्र भेटें
पसिनामा रम्ने भेटें
आँधीसँग लड्ने भेटें
तैपनि
फर्कन्छु यही टाकुरामा
सुनगाभाको फुलबारीमा
मृग भुल्ने वन घारीमा

तराई हिमाल पहाडमा
मेची महाकालीमा
शिखर फेदी बेंसीमा

जीवन यो
ज्ञान खोज्ने कहानी हो
हरपल फुल्ने जवानी हो
बगिजाने पानी हो
त्यसैले
अमरज्ञानको ध्वनि बजाऊँ
पलपल गति जगाऊँ
शान्तिको सन्देश फैलाऊँ
मिलिजुली
आँसु झर्ने कोसीतिरमा
तोरी फुल्ने फाँट र भीरमा
धरतीको यो उच्च-शीरमा

तराई हिमाल पहाडमा
मेची महाकालीमा
शिखर फेदी बेंसीमा

आऊ
यी माटो मल्ने हात मिलाऊँ
अटुट अमर साथ मिलाऊँ
तिम्रो मेरो शक्ति मिलाऊँ
फुलाऊँ
प्रीत फुल्ने फूल फुलाऊँ
सदा खुसी मन फुलाऊँ
पौरखताले सुन फुलाऊँ
मिलिजुली
मधेशको फाँटफाँटमा
कर्णालीको गोठगोठमा
मुस्ताङ्को खोंचखोंचमा

तराई हिमाल पहाडमा
मेची महाकालीमा
शिखर फेदी बेंसीमा

Kumar Simkhada – Mera Samjhana Ka Reel Haru

कुमार सिंखडा – मेरा सम्झनाका रिलहरु

मेरा सम्झनाका रिलहरु
एक पछि अर्को
अर्को पछि अर्को
दोहोर्याउँदै तेहर्याउँदै
कुनै प्रदर्शनीको फोटो हेरे झैं
प्रत्येक हाउ-भाउलाई
प्रत्येक भावनालाई
टोलाउँदै
मुस्कुराउँदै
म हेरिरहेछु
मेरा आँखाभित्रका
मेरा सम्झनाका रिलहरु।

मेरा अतीतका चक्काहरु
पहिलोपछि दोश्रो
दोश्रोपछि तेश्रो
अन्तिमपछि फेरि पहिलो
कुनै उत्कृष्ट गीति एल्बम सुने झैं
प्रत्येक ध्वनि
प्रत्येक शब्दसँगै
स्फुराउँदै
सुसेल्दै
म सुनिरहेछु
मेरा अतीतका चक्काहरु।

सम्झनाका रिलहरु
अतीतका चक्काहरु
न त बात गर्छन
न त घात गर्छन्
न त वर्तमानलाई लात गर्छन।
बरु,
भीडबिचको एकान्तमा
अनि कोलाहलको सुन्यतामा,
मेरा हर प्रयासलाई साथ गर्छन्
कदम-कदमलाई राहत गर्छन्
हर हिंडाइमा आहट भर्छन्।

म जिउँछु तर
मेरा अतीतका चक्काहरु सास भर्छन्
म हिंड्छु तर
मेरा सम्झनाका रिलहरु साहस थप्छन्।
हरपल
हरक्षण
ढोकामाथिको परदेशीका तस्वीरलेझैं
अटल मलाई पछ्याइरहन्छन्
मेरा प्यारा सम्झनाका रिलहरु।
भोल्युम बिग्रेको थोत्रो रेडियो झैं
लगातार बजिरहन्छन्
मेरा अमूल्य अतीतका चक्काहरु।

Kumar Simkhada – Ko Doshi Chha

कुमार सिंखडा – को दोषी छ?

‘देश अन्धकार भो
गाउँ निष्पट्ट भो ‘

‘यो धमिलो गाउँ
यो अँध्यारो ठाउँ
कसरी हिँड्ने? ‘

‘अँध्यारैमा सल्बलाउनेहरुबिच
अँध्यारैमा निदाउनेहरुबिच
कसरी जिउने?’

भन्ने हामी,
भाडाका ट्युवलाइटले आँखा देख्नेहरु!
अन्धकार देख्नमा को दोषी छ?
अन्धकार देखिने देश?
या, अन्धकार देखाउने हाम्रो कालो चश्मा?

(अनेसास जापानद्वारा आयोजित भानु जयन्ती २०६५ मा वाचित)

Kumar Simkhada – Jindagani

कुमार सिंखडा – जिन्दगानी

जाने हुन्छन् फेरि फर्की आउने हुन्छन्
आफ्नो आफ्नो बाटो हजुर
लड्ने हुन्छन् संघर्षमा मर्ने हुन्छन्
जिन्दगीको सत्य हजुर

महलभित्र बस्नेलाई पीर छ महलसरी
झुप्रो कुर्ने सान्नानीलाई जीवन झुप्रैभरि
महल झुप्रो के कुरो भो पीर छ सडकमा नि
दुखभित्र हाँसो खोज्ने खेल हो जिन्दगानी

दिए खाने भन्नेहरु आज दिनेपट्टि
अमूर्त हौं भन्ने पनि गए सडी-गडी
खुसी फुल्ने पहाडभरि बेहोसीको पहिरो
सत्य बोके जीवनभरि सन्तुष्टिको ओइरो

बाटो कुर्ने बुढी आमालाई परदेशीको आस
बाटो भुल्ने परदेशीको कहाँ हो गाँस बास
बाटो होलान् लाखहजार रोज्नुपर्ने एउटा
स्वर्गलाई पछि छोडी खोज्छौ कहाँ देउता