Bishwa Sigdel – Ekkai Chhin Sano Paridhi Malai

विश्व सिग्देल – एक्कैछिन सानो परिधि मलाई

हेर है !
नछोए नि मेरा कविता
नसँगाले छरिएका पन्नाहरु
भुईं/टेबुल/किताबका पत्र/गोजी
रहन दिए
यथास्थान

सडक
राता हरिया बत्ती
आदेश दिन्छ
म लुरुक्क हुन्छु

अफिस
करेन्ट चरो, पाले
आदेश दिन्छ
म लुरुक्क हुन्छु

चामल पसल
बाँकी बक्यौता
आदेश दिन्छ
म लुरुक्क हुन्छु

अरु त अरु
तिमी
भान्छा,सयनकक्ष
आदेश दिन्छेऊ
म लुरुक्क हुन्छु

अब
आदेशमाथि आदेश सहेर
सधिएको गोरुको पिठ्यूँ
सिधा गर्न
छर्न/बढंगी बनाउन/भत्याङ भूतुङ गर्न
मैले नपाउने लेख्ने बेला ?

म छरिन्छु
सेता सूर्य किरण पन्ना
लुकाउँछ
अन्तर कुन्तर घाम
मात्तिन्छु/लड्खडाउँछु ,हदयको छाल
ठोक्किएर लड्छु, छरिएका कविता
चिप्लिन्छु, हिलो कविता
उ कमल…पख ! पख !

एक्कैछिन
सानो परिधि
तिम्रो के जान्छ ?
बरु ढोका लगाउँछु नि हुन्न !

हेर है !
नछोए नि मेरा कविता
नसंगाले छरिएका पन्नाहरु
भुईं/टेबल/किताबका पत्र/गोजी
रहन दिए
यथास्थान

Bishwa Sigdel – Andhyaro Ma Basanta

विश्व सिग्देल – अँध्यारोमा वसन्त
(मधुपर्क बैशाख, २०६७)

हामीले सिर्जेको अँध्यारो
हाम्रा कुमकुमसम्म आइपुगेको छ
र आइपुगेको छ भर्खर
खर्पनभरि प्याजका बेर्ना बोकेर
वसन्त बूढो !

बाल्टिनमा पानी ओसार्दा-ओसार्दा
चाउरी फुलेको
डल्लेठोले माटाका डल्ला फुटाउँदा-फुटाउँदै
आफैँ क्रमशः
माटामा घुलेको
वसन्त बूढो
मट्टतिेलको लाइनमा एक मान्छे थप्न
आइपुगेको छ भर्खर
र आइपुगेको छ हाम्रो हातमा
टाढाबाट अनदाने झारी
पानी पटाउन जूनकीरी फूलमा
र झलमल्ल पार्न घर

सदा झैँ,
आङभरि उज्यालो उमारेर बग्दा-बग्दै
हाम्रो पानी
अन्धकारमा बिलिन हुन्छ
र समाप्त हुन्छन्
हाम्रा घर गोठका वसन्तमा फल्ने चाहना
हाम्रा आँखाका नानीका बल्ने चाहना

…………..र पनि
कसलाई प्यारो हुन्न र सिर्जना !

हामीले सिर्जेको अँध्यारो
हाम्रा कुमकुमसम्म आइपुगेको छ
र आइपुगेको छ भर्खर
खर्पनभरि प्याजका बेर्ना बोकेर
वसन्त बूढो !

हालः देहरादुन

Bishwa Sigdel – Anshu

विश्व सिग्देल – आँसु

कुनै समय
आँसु हाम्रो शृङ्गार थियो
हामी धुन्थ्यौं आफूलाई
सफासँग
र हामीबीच खुल्दथ्यो
एउटा घमाइलो दिन

दिन, महिना, वर्ष बित्दै गए
हामीले सिक्यौं धेरै कुरा
हाम्रो संसारबाट
हाँस्न Continue reading “Bishwa Sigdel – Anshu”

Bishwa Sigdel – Rujheko Majheri

विश्व सिग्देल – रुझेको मझेरी

टाढा यात्रामा गएका
एकजोडी गौंथली
हिजै राती दलिनमा
वास बस्न आइपुगे

मैले चुलो लोटाउँदा
गग्रेटोमा बसे
बत्ती कात्न लाग्दा
मूलथाम वरिपरि घुमिरहे

म तिम्रो यादमा रमाइरहेथें
गौंथलीले दियो घरमा बसेर
साउतीको स्वरमा खै के–के भने
लाग्यो
तिमीलाई सोधिरहेछन् !

अघिल्लो हिउँदमा
हामी
यही अगेनाका छेउमा
सुत्थ्यौं नि हो गि ?

कटुसका काँढा त
खुट्टामा मात्र बिझ्छन्
ऐसेलुका काँढा त
हात मात्र कोपर्दछन्

हाल: बार्लोगञ्ज,मसुरी

Bishwa Sigdel – Purna Mrityu Ko Tayari

विश्व सिग्देल – पूर्ण मृत्युको तयारी

घरको जर्जर भित्तोले सोध्यो मलाई
अब अझै कति मैले
ठडिनुपर्छ ?

मैले भनेँ
पख केहीक्षण,
हावामा अझै दुश्मनको गन्ध फैलिसकेको छैन
पानीमा रङग चढिसकेको छैन
माटो मन्द Continue reading “Bishwa Sigdel – Purna Mrityu Ko Tayari”