Basudev Pulami – Jutta Ra Ma

बासुदेव पुलामी – जुत्ता र म

सधैं एउटा यात्रा हिँडेर
थाकेपछि
रातभरि चुपचाप एककुनामा बसिरहन्छयो।

मैले हिँडन जानेको दिनदेखि
मलाई शिरमाथि थामेर कुनै यात्राहरूसम्म पुर्‍याएर पनि
एक्लो बनाएको छैन यसले।

कति लामो यात्रा मबाट हिँडिसक्यो
कति लामो बाटो मबाट छुटिसक्यो।
यो यात्रामा हिँडदा- हिँडदा
म आफै थाके पनि
अझै
मलाई अघि बडने जोश र जाँगर दिएर
हेरिरहन्छ हरेक यात्रापछि यसले।

मलाई थाह छ
मेरो यो यात्रा एकदिन टुङ्गिनेछ,
कारण मान्छेलाई कहीँ पुग्नु छैन।
तर
त्यो दिन पनि
मलाई चुनौति दिएर
यसले मलाई पर्खिरहन्छ। पर्खिरहनेछ।
एउटा असमाप्त यात्रा शिरमाथि बोकेर।

Basudev Pulami – Sharanarthi

बासुदेव पुलामी – शरणार्थी

एउटा आकास नहुनुको पीडा
कति गहिरो हुन्छ
त्योअनन्तताजस्तो।

आफ्नो
भूइँ/माटो नहुनुको खाडल
कति तल हुन्छ
त्यो अन्धकार जस्तो।

आफ्नो मुलुक नहुनुको पीडा
आफ्नो देश नहुनुको पीडा
त्यो अनकन्टार जङ्गलहरु जस्तो।

यो संसारमा
तिमीलाई म मान्छे हुनुको पीडा
कसरी देखाऊँ हँ?