Abhas – Man Ko Sara Andhyaro

मनको सारा अँध्यारोलाई कुचो लगाई बढारुँला
साथ पाऊँ विन्ती हजूर जुनी सँगै गुजारुँला

फूल टिपी माला गाँसे दुई दिनमै ओइली जाला
चोखो प्रितलाई देउता भाके सस्तो चर्चा फैली जाला
औँसीको यो मध्य रातमा रुपको झूटो गाथा किन
तिम्रो उचाई मानेँ हजूर अर्को सगरमाथा किन

पारी वनमा आगो लाग्दा दुखी हुन्छ मेरो मन
मनकै तापले जली जाउँला दुखाउँछेउ किन झन्
अब पार पाइँदैन माया बन्धन बुझेकै हो
खेपेकै हो शिरको घाम बर्खायाम रुझेकै हो

Abhas – Pala Pala

पला-पला जिन्दगीको पात खस्दै गयो
गोधूलिको संघारमा रात खस्दै गयो

आफैँलाई बिर्सँदै म पराई माझ पुगेँ
धेरै बिहान झुल्किएँ म धेरै साँझ डुबेँ
मलाई आफ्नै सपनीको प्यास लाग्दै गयो
फूल फुल्दा तिम्रो मात्र Continue reading “Abhas – Pala Pala”

Abhas – Sonu Main Batti Nibhla Hai

आकाशले
भरखर घुम्टो खोलेको छ
क्षितिजबाट
भरखर बास्ना ओर्लेको छ
म गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है
मैले
मैन नजिकै
सपनाको फाइल राखेको छु
फाइलभरि
असङ्ख्य सपना सँगालेको छु
सपना देख्नु
कमजोरी हो भने
मैले
धेरै कमजोरी साँचेको छु
ती सबैलाई पढ्न
आखिर उज्यालो नै चाहिन्छ
अहिले
झ्यालको चुकुल खुलै छ
म गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है
मन
अँध्यारो गुफा हो
यस भित्र
करूणा र घृणा सँगसँगै अट्न सक्छन्
यदि
मनबाट
करूणा हराइ भने
मान्छे पशु हुनेछ
हेक्का राख
मनको कुनाबाट
करूणा हराउली
मनबाट
घृणा हरायो भने
असल र खराबमा भेद रहने छैन
सम्झना राख
मनको कुनाबाट
घृणा हराउला
हेर त !
अहिले कोठामा मैन छ
र त उज्यालो छ
नजिकै
मैनको फेदमै
अँध्यारो पनि सँगै छ
सोनु
यही मैनको जलन, जीवन हो
अँध्यारो
उज्यालो
यो सबै यात्रा हो
सोनु
तिमीलाई थाहा छ
यात्रामा निस्कनेको कुनै टुङ्गो हुँदैन
यात्रा
अनन्त युद्ध हो
म अहिले
युद्धमा निस्कँदै छु
गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है ।

Abhas – Ma Kathor Kavi

मन धराप भएपछि
यसमा केही अट्दैन
तिमी प्रेमको प्रश्न गर्छौ ?
यहाँ त घृणा पनि अट्दैन

त्यही धराप मन बोकेर हिँडेको
एउटा भरिया
म एक्काइसौँ शताब्दीको द्वारमा उभिएको
एउटा आश्चर्य
म कठोर कवि
जसलाई
प्रेममा कुनै चासो छैन
र घृणामा पनि
म सम्वेदना बिहिन हुँदै गएको
एउटा मासुको डल्लो
जसलाई
जताबाट ठुँगे पनि हुन्छ
कुनै दर्दानुभूति हुनेछैन
धराप मनमा दर्दको स्थान हुन्न
दर्दहीनलाई
जसरी चोक्ट्याए पनि हुन्छ
तिम्रो खुसी
तिमी खुकुरी बने हुन्छ
तिमी नै अचानो बने हुन्छ ।

Abhas – Bikshipta Ghodchadhi

घोडचढी
घोडामाथि छ
र ऊ आफैंलाई थाहा छैन
ऊ केमाथि चढिरहेछ
अहिले
चर्को घाम छ या बादल
यो पनि उसलाई थाहा छैन
सडकमा
कालो लम्पसार सडकमा
केको लस्कर लम्किरहेछ
जुलुस, मलामी या जन्ती
आकाशमा
नीलो आकाशमा
चमचम के चम्किरहेछ
चन्द्रमा, तारा या उपग्रह
उसलाई केही थाहा छैन
कहिलेकाहीँ
घोडचढी सपना देख्छ
घोडामाथिबाटै सपना देख्छ
सपनामा–
चिहानमा गडिएको मान्छे उठ्छ
र निर्धक्क उसित बोल्छ
अस्ताएको घाम
फेरि उदाउँछ
र उसलाई पोल्छ
अनि ऊ
बरबराउँछ
बारम्बार बरबराउँछ
जब ऊ ब्युँझन्छ
घोडालाई सन्निपात भएको छ
या ऊ आफैंलाई
ऊ केही थाहा पाउँदैन
आकाशमा
माथि माथि नीलो आशमा
मेघ गर्जिरहेछ
या सडककै
कङ्कलाशब्दको प्रतिध्वनि
अविराम वर्षा भैरहेछ
या उसकै स्वागतमा पुष्पवृष्टि
अथवा
बूढा पातको मृत्युले ल्याएको पतझड
उसलाई केही थाहा छैन
अहिले ऊ
बगैँचाको सुगन्धमा
यात्रा गरिरहेछ
या तबेला भित्रकै जात्रा
यो समेत उसलाई थाहा छैन
घोडचढी
मात्र घोडा चढिरहेछ
घोडा
उसको प्रिय घोडा
सकि नसकि हिनहिनाइरहेछ
विक्षिप्त घोडचढी
मात्र घोडा चढिरहेछ ।

Abhas – Himnadi

जब घामको किरणले
मलाई स्पर्श गर्छ
जब
न्यानोपन भर्छ ममाथि
म पग्लन्छु
मेरा प्रत्येक अङ्गहरु चलमलाउँछन्
बतासले हल्लिएका पात झैं
मेरा जमेका दिन र रात चलमलाउँछन्
म बग्न थाल्छु
अविरल बग्छु
चोइटिएका चट्टानहरु सुमसुम्याउँदै
तल तल मैदान पुग्छु
कतै
बलेको आगोमा होमिन्छु र बाफिन्छु
कतै
बिरुवाका काण्डमा घुस्छु र रापिन्छु
जब म
मेरो यात्राभरि
चुडिँदै र कुडिँदै
महासागर पुग्छु
प्रचण्ड घामले तात्छु
शीतल हावाको बुइ चढेर
अकासिँदै उड्छु
जहाँ मलाई चट्याङ्ले पनि पोल्दैन
म कठाँग्रिन्छु
फेरि हिउँ भएर तल खस्छु
जब घामको किरणले
मलाई स्पर्श गर्छ
जब
न्यानोपन भर्छ ममाथि
म पग्लन्छु
बारम्बार पग्लन्छु ।

Abhas – Maun Barta

(आन्दोलित पवित्र मनहरुलाई)

म समयसित
मौन वार्ता गरिरहेछु
मेरी प्रियतमा
तिमी मौनता भङ्ग नगर

सौम्य छन् तिम्रा आँखा
सागरमा पनि लहर छैन
म समयसित
सुस्तरी साउती खेलिरहेछु
अहिले
म तिम्रो आँखाको शान्तिमा डुबिरहेछु
शान्त सागरमा हराइरहेछु
विन्ति प्रियतमा
तिमी मौनता भङ्ग नगर

आँखामा आँसु बोकेर
एकहुल परेवाहरु
मेरो शीरमाथि उडिरहेछन्
म सुकोमल मखमली रुमाल खोजिरहेछु
आँसुले थाकिसकेँ म
रोदनले थाकिसकेँ

यतिबेला मेरो परिवेश
ममाथि शङ्का व्यक्त गरिरहेछ
औँला ठड्याइरहेछ
मेरो हिम्मतमाथि

तर म मौन छु
त्यसैले आन्दोलित पनि छु

अहिले म
आफैँसित मौन आन्दोलन गरिरहेछु
विन्ति प्रियतमा
तिमी मेरो मौनता भङ्ग नगर ।

Abhas – Dristi

मैले टोपी फेरेँ
र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू
सम्यक् भएर यात्रामा निस्केँ

सोचेँ—
मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन्

म विलकुल
वर्तमान झै छर्लङ्ग छु
ताजा छु

दोबाटोमा
पुरानो मित्र भेटेँ
उसको पहिलो वाक्य—
“अरे यार तँ त जस्ताकोतस्तै छस् ।”

Abhas – Hiroshima Ka Parewa

जब म
एकान्तमा बसेर
मुरली बजाउन थाल्छु
हिरोशिमाका परेवा
मेरो सामु आउँछन्
वमले छिया छिया भएका
शरीरका मासु देखाउँछन्
आँसुले भिजेका
पँखेटा फट्कार्छन्
आँसुले सेचन गरिदिन्छन्
मेरो शरीर
जब म
एकान्तमा Continue reading “Abhas – Hiroshima Ka Parewa”

Abhas – Gufa

हातमा मैन बत्ती लिएर
तिमी
अनकण्टार जङ्गलतिर लाग्यौ भने
अँध्यारोको साम्राज्य
पहाडले थचक्क थिचेको
कुनै मुलुक भेट्ने छौ
त्यसले
तिमीलाई सोध्ने छ–
तिम्रो हातको टल्कने कुरा के हो हँ ?
जवाफमा तिमीले–
यो तिमीलाई नै उपहार हो
भन्यौ भने
उसको खुसीको सीमा रहने छैन ।

Abhas – Sparsha

तिम्रो हृदयबाट
मेरो हृदयसम्म आउने
एउटा पुल छ
तिमी नदि पारि
म नदि वारि
हामी बीचमा
मीठो सौरभ छर्ने
सुन्दर पूmल छ
यो कहिले
हिमाली हावा भएर आउछ
र मलाई छुन्छ
कहिले
नदिको छाल भएर जान्छ
र तिमीलाई Continue reading “Abhas – Sparsha”

Abhas – Anshu Le Yo Man

आँसुले यो मन बहकिन्छ मातले पनि बहकिन्छ
रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

मायाको कुनै भर हुन्न कहाँकहाँ अल्झिदिन्छ
घाउ त बरु निको हुन्छ माया फेरि बल्झिदिन्छ
तलाउमा जून चहकिँदा मुहार उही झल्किदिन्छ
रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

फेवा र रुपा बेग्ला बेग्लै तरङ्ग उही फैलिदिन्छ
आँखा हो यो मनको ऐना पोल सबै खोलिदिन्छ
हत्केलाले घाम कसो’री छेकूँ चर्चा फेरि चलिदिन्छ
रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ

Abhas – Rukh Ko Ghosana

चिलाउनेको रूखले घोषणा ग¥यो
अब सबै रूख चिलाउने बन्नु पर्छ
र फैलाउनु पर्छ आफ्नो अस्तित्व
अर्थात्
हामी सबै चिलाउने बन्नु पर्छ
श्रीखण्डको रूखले इन्कार ग¥यो
र भन्यो–
कृपया !
म त आफु
काटिएर पनि
ताछिएर पनि
चन्दन बन्नु पर्छ
मान्छेको निधारमा दलिनु पर्छ
शीतलता प्रदान गर्नु पर्छ मैले
म चिलाउने बन्ने छैन
म चिलाउने बन्ने छैन ।

Abhas – Suren Babu

सुरेन बाबु
यो सामान्य कुरो हो
रगत रातो हुन्छ
सुरेन बाबु
तिमीले आनन्द लिन
रइफल बोक्ने गरेका छौ
साँझको गोधूलिमा
तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ
तिमीलाई थाहै छ
ढुकुरको रगत रातो हुन्छ
सुरेन बाबु
यो सामान्य कुरो हो
रगत रातो हुन्छ
सुरेन बाबु
तिमीले आनन्द लिन
रइफल चलाएका छौ
र अब सरकार पनि चलाएका छौ
सुरेन बाबु
भरखरै तिमीले
भोका आशालालहरूको भीडमा
आधुनिक मट्याङ्ग्रा चलाएका छौ
तिमीलाई राम्ररी दिव्यज्ञान प्राप्त भएको छ
तिम्रो मट्याङ्ग्राले
छाती छेड्दा निस्केको
भीडको रगत पनि रातो हुन्छ
सुरेन बाबु
अब रगतमा रङ्ग परीक्षण जरुरी छैन
प्राणीको धमनी र शिरामा बग्ने तरल रातै हुन्छ
सुरेन बाबु
यो पनि त निर्विवाद छ
भीडबाट कुनै मट्याङ्ग्रो
तिम्रो छातीमा बज्रियो भने
तिम्रो छातीको भुलभुले पानी पनि रातै हुन्छ ।

Abhas – Andhyaroma Junkiri

अँध्यारोमा जुनकिरीको साथ प्यारो लाग्यो
शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो

बाटोभरी कति भेटें, यात्री सहयात्री
कति छुटे फेदीमा नै, कति चढे माथि
नरोकिए दु:खमा म, नरोकिएं पीरमा
कहिले पुगें देउरालीमा, Continue reading “Abhas – Andhyaroma Junkiri”

Abhas – Rangeen Chara

टाढा धेरै टाढा उडेका रंगीन चरा
धरतीमा कहिले फिर्लान्?
आकासको कालो मैलो हटी
घामजून कहिले खुल्लान्?

सँघारमा कमजोर आमाको छायाँ
हुरी चलेको आवेगमा
यस्तो लाग्छ यो घर-संसार
जलिरहेछ संवेगमा
आज, हामी माझ बल्झेका पीर सारा
बिलाई कहिले झर्लान्?
ओठमा चन्द्र, सूर्य चम्के सरी
मुस्कान कहिले भर्लान्?

यात्रामा बाटो पहिल्याउँदै यात्री
एक दिन पुग्छन् मूलबाटोमा
घरलाई पिर्ने बाधा अड्चन
मन्छाइदिउँला दोबाटोमा
गाढा धेरै गाढा युगौंको भाइचारा
तोडेर तोडिन्न एक दम
पहाड मधेश धून अनेक
नाचौं न मिलेर छमछम

शब्द, संगीत – आभास
स्वर – अमृत गुरुङ (नेपथ्य)
एल्बम – भेडाको ऊन जस्तो

Abhas – Shahar Ma Raat

कुकुरको एकनासे भुकाइ
प्वाल पारिरहेछ मथिँगल
किथ्राको किर्किर्
झमझमाइरहेछ रक्सीको नशा झैँ
विजुलीको तारमा बसेर
खुर्पे जून चपाइरहेछ लाटोकोसेरो
म अँध्यारोले
लथपथ भिजेको छु
मेरा सबै छिमेकी
निथ्रुक्क छन् अँध्यारोले ।

Abhas – Bhugol Mathi Ubhiyeko Jaitun

(नेल्सन मण्डेलालाई समर्पित)

मण्डेला
भूगोलमाथि उभिएको
एउटा जैतुन

सिङ्गो पृथ्वी ढाकेका छन्
यसका हाँगाले

फैलेका छन् यसका जरा
अनन्त गहिराइसम्म
भूगोलको अन्तर मुटुसम्म
मस्तिष्कसम्म
चेतनासम्म

जहाँ
लाभा उम्लिरहन्छ हरक्षण
र भुइँचालो गैरहन्छ हरपल ।

Abhas – Mero Gaun

[बिहान]

नारीका चुरा बज्न थाल्छन्
थुरमाथि बसेर
धोवीचरो
गीत गाउन थाल्छ
मेरो गाउँ
बिस्तार ब्यूँझन्छ
पँधेरा जान्छ
र पानी ल्याउँछ
रातोमाटो घोलेर पोतेरी ठीक पार्छ
र संघार लिप्न
मेरो गाउँ
हरेक बिहान
घामलाई निम्त्याउने गर्छ

[दिउँसो]

आमा
रछ्यान छेउका भाँडा मस्काउँछिन्
र भाँडासँगै
आफुलाई पनि खियाउँछिन्
बुद्ध
स्कुल जान्छ
र स्तुति पढ्छ
अर्जुन
धनुकाण हैन
कलम भिर्छ
र जागीरमा जान्छ
धुर्बे
कोदालीले चपरी उप्क्याउँछ
र आफैंलाई थिच्न थाल्छ
अम्बिका
घाँस काट्न जान्छे
र औंलो पनि काट्छे
आकाशको घाम
जोवनले धपक्क बल्छ
मेरो गाउँ भने
घर्ती बूढाले पिँढी कुरे झैं
पिँढी कुर्छ
र आफ्नै अतीतमा डुब्छ

[साँझ]

जसरी
कुनै तरुनी छोरी
बेहुली बनेर माइतीसित बिदा हुन्छे
त्यसैगरी
दिनभरिका असंख्य डामहरु छोडेर
घाम
यहाँबाट बिदा हुन्छ
गाईको बाच्छो
थुनमा झुण्डिए जस्तै
बुबुमा झुण्डिएको बालक च्याप्दै
आमा
चुलामा आगो जोर्छिन्
र खुईऽऽय सुस्केरा काढ्छिन्
धुवाँ
धुरीबाट बाहिर निस्कन्छ
र सायद
अँध्यारोसित साउती मार्छ
अँध्यारो
झ्यालबाट चोर पसे झैं
खुसुक्क भित्र पस्छ
र गाउँको घाँटी मचक्क कस्छ
यसरी
अँध्यारोले छापामारेको मेरो गाउँ
टुकी छेउ पढ्न बसेको बालकले झैं
टुकी निभाउनै बिर्सन्छ
र भुसुक्क निदाउँछ ।

Abhas – Harayeko Kavita

मलाई सम्झना छन्
मृगका जस्ता त्यसका आँखा
र तिनबाट
मैले चियाएका दृश्य
सम्झना छन्
त्यसका सुकोमल औँला
र तिनबाट
पाएका स्पर्श
त्यो थिई सायद
मलाई
झुक्याउन आएकी प्रेयसी
मभित्र छन् त्यसका केही अंश ।