Sharad Nirola – Kina Aayeu America

शरद निरोला – किन आयौ अमेरिका?

के के न पाउँला भनी अमेरिका आयौ
बाबु-बराजेले नखाएको मसालेदार गोता खायौ
आउन त आयौ सबै कुरा छोडेर
आफ्नो स्वाभिमान आफ्नो वर्चस्व सबै गुमायौ

त्यसै भनिकन निराशावादीहरु कुर्लिन्छन
आफू केही गर्न सक्तैनन् अर्कालाई दोष दिन्छन
निरर्थक भावुकताका क्षणिक लहरमा रमाउने ती
अमेरिकाको केवल खेदो मात्र गर्छन

हाम्रो देश कामै नगरी खाने देश हो
अमेरिका कामै मात्र गरेर खाने देश हो
हाम्रो देशमा कामचोरलाई सधैं हाई-हाई छ
यस देशमा कामचोरलाई सधैं बाई-बाई छ

यो कर्मठ मान्छेहरुले बनाएको देश कर्मठ्तामै अडेको छ
यो इमान्दारी र सच्चाईको बज्र-कठोर जगमा उभिएको छ
यसमा आफ्नो इमान्दारी हाल्नसके लोक-परलोक सप्रन्छ
बेइमानीको बाटो लिए इहलोक समेत बिग्रिन्छ

गर्छु भन्नेलाई यहाँ अवसरको खाँचो छैन
उद्धेश्य लिएर हिंड्नेका लागि बाटोमा काँडा छैन
निरुदेश्य हिंड्नेका लागि यो मरुभूमि समान छ
सफल त्यही बन्ने छ जसको हातमा तीर-कमान छ

Sharad Nirola – Kesh Raashi Le Jhataro Handa

शरद निरोला – केशराशिले झटारो हान्दा

पानीले लतक्क भिजेको केशराशिले
जब मतिर एक्कासी झटारो हान्छ्यौ
उछिट्टिएर मतिर दौडेका ती सहस्र जलबिन्दुहरुमा
आत्मसात भै म निथ्रुक्क हुन्छु
अनायासै बादल बिनाको आकाशमा गर्जन सुन्छु
बिना मौसममैं पनि बर्षाको अनुभूति पाउँछु

तिम्रा मृगनयनद्वारा शुरुमैं हताहत त छँदै थिएँ
कम्मर चुम्ने केशराशिले अर्कै मात लगाएको छ
बडो नराम्रोसंग तिम्रा केशहरुमाझ भौतारिएको यो मुटु
बाहिर आउने बाटो नपाएर अलपत्र छ

तिम्रो रुपरेखा कोर्ने बेलामा ब्रम्हाका नौनारी नै गलेहोलान्
समस्त अप्सराहरूको सौन्दर्य निचोरी तिम्रो नक्सामा हालेहोलान्
“फाइनल प्रोडक्ट” का रुपमा तिमीलाई आफ्नो अगाडि देख्दा
आफैं आशक्तिको द्वन्द्वमा फँसे होलान्

भगवान ब्रह्माकै नियत डाँवाडोल गराउने तिम्रो रुप अघि
यो बबुरो मनुवाको नियतको मूल्य के
मलाई त केवल केशराशिकै भुलभुलैयामा बाँच्नपाए पुग्छ
नबाँचु त जीवनको अर्थ नै के?

मेरील्याण्ड, यू.एस.ए.

Sharad Nirola – Hamile Bhagawan Shrikrishna Bhayera Janu Parchha

शरद निरोला – हामीले भगवान श्रीकृष्ण भएर जानुपर्छ

अस्वीकृत मान्यताहरुको मापदण्डमा खारिएर
अविवेकी अवमूल्यनमा पछारिएका
श्रस्टा र संरचनाको चक्रब्यूहमा फँसेर
भीष्म-पीतामहको जनै भिरेका
हाम्रा यी नेताहरुले
मेरो Continue reading “Sharad Nirola – Hamile Bhagawan Shrikrishna Bhayera Janu Parchha”

Sharad Nirola – Bhanera Faida Chhaina

शरद निरोला – भनेर फाइदा छैन

भन्न थाल्यो भने किन भनिस भनेर भन्छन
बोल्न खोज्यो भने किन बोलिस भनेर रोक्छन
नभनुँ त मुख चिलाएर चौपट्ट छ भन्दा
बढ्ता हुन्छस तँ ? भनेर ठोक्छन

देशमा कस्ता कस्ता कुरा भा’का छन् कसले भन्ने?
कति करोड रुपियाँ कता गा’का छन् कसले गन्ने?
बाग्मती र टुकुचामा मात्र होइन मनहरामा पनि
शहरको ढल बगेको कसले देख्ने?

सागपात भनेपछि हुरुक्कै हुने काठमाडौंबासीले
चौंसुर-पालुंग खान छोडेको कसले देख्ने ?
रायोको सागका मूठाका मूठा
गुहे पानीमा धोएको कसले देख्ने?

सडकमा गाडीको जाम छँदाछँदै
मोटर साइकलको बिगबिगी कसले रोक्ने ?
पेटीमा दुई पांग्रे गुड्छन त सडकमा दुई खुट्टे हिडछन्
यो अचम्मको कैफियत कसले बुझ्ने?

न शान्ति छ न सुरक्षा छ
ज्यान संगको खेलबाड कसले हेर्ने
पार्टीपार्टीका बीच महासंग्राम छ
जनताको भलो कसले गर्ने ?

संबिधान नभए देश चल्दैन
त्यसको खाका कसले कोर्ने
जुनसुकै मूला आए पनि
घटीमा छ महिना माग्नै पर्ने !

देशभरि ठूल्ठूला नदी र नाला छन्
तिनका पानी कता फाल्ने
धाराका टुटी जोडले खोल्दा
स्वाँ-स्वाँ आवाज कसले सुन्ने?

जुन बेला बत्ती दरकार छैन
त्यही बेला बत्ती आइ दिने
रात भरि टुकी बाल्नु पर्दा
जनताको मर्का कसले बुझ्ने?

आफुलाई भन्छन जनताको नेता
जनता चाहिं सधैं यता न उता
यो हरिबिजोगको अन्त्य कतै छैन
यो समस्या कसले बुझ्ने?

विश्वमै दुर्लभ यी जन्तुलाई
नेपाली भनी कसरी भन्ने
देश त यिनले मासेकै छन्
दु:ख-पुकारा कोसित गर्ने ?

Sharad Nirola – Sagarmatha Hansi Rahechha

शरद निरोला – सगरमाथा हाँसिरहेछ

बीस बर्ष अघिको नेपाल सम्झेर
त्यति नै बर्ष अघिको काठमाडौंलाई गुनेर
आज त्यही नेपाललाई अनिमेष हेर्दा
त्यही काठमाडौंलाई नियालेर हेर्दा
सगरमाथा किन हो
मरिमरी हाँसिरहेछ

घिनलाग्दो राजनीति र पराकाष्ठाको पदलोलुपता
सहमतिको नाममा मोलमोलाइको महाभारत
पार्टीगत स्वार्थले चिराचिरा भएको एकता
कोही दक्षिण, कोही उत्तर
कोही राष्ट्रियताइतर
देशको माया कसैलाई छैन
नेपाली भनाउन कसैलाई मन छैन
यो हरिबिजोगलाई
उनन्तीस हजार फीट माथिबाट हेर्दै
सगरमाथा किन हो
औधि हाँसिरहेछ

सहमतिका नाममा अतिरन्जित भागबन्डा
यो नभए त्यो, त्यो नभए ‘म’ को कुश्ताकुस्ती
समयको सीमांकन खरानीको थुप्रो
जिन्दगीभर अन्तरिम संबिधान काँधमा बोक्ने
पूर्ण संबिधानको वास्तै नगर्ने
अन्तर्राष्ट्रिय जगतमा भैरहेको देशको बेइज्जति
देखेको नदेखै गर्ने, आँखा भएर पनि अन्धा
यस्ता मतिभ्रष्ट हुतिहाराहरुले
देशलाई च्याँखे थापेको देखेर
साँच्ची नै सगरमाथा
खित्का छोडेर हाँसिरहेछ
कस्तो देशमा स्थायी बसोबास गरिएछ भन्दै
अट्टहास गरी गरी
वायुमंडल थर्काइरहेछ

यस्ताका लागि म किन हुनु राष्ट्रियताको प्रतीक
सोच्छ सगरमाथा–
मैले सदा देखिआएको भातृत्वको भावना
चार जात छत्तीस वर्णको सुमधुर सहअस्तीत्व
अभिवाजित एउटा सिंगै सबल मुलुक
आज टुक्राटुक्रा हुने खतरा
बढ्दो छ, उर्लंदो छ

यस्तै सोचाइले आक्रान्त छ सगरमाथा
नेपाल छोडी बरु तिब्बततिरै घस्किने कि ?
उग्रपन्थी सोचाइमा पर्छ सगरमाथा
यो अर्काले नउचालेसम्म स्वविवेकले नजुर्मुराउने जनता अंगालेर
निरर्थक कति दिन बस्ने
सोचमा परेको छ सगरमाथा
तर टुलुटुलु हेर्ने बाहेक
अरु कुनै विकल्प नदेख्दा
आँखाभरि आँसु लिएर
आहत हाँसो हाँस्न
बाध्य छ सगरमाथा

अमेरिका

Sharad Nirola – Disha Hin Gantabya

शरद निरोला – दिशाहिन गन्तब्य

अचेल निकै दिन भयो
विरक्तिले ग्वाम्लाङ्ग छोपेको छ
शरीरका प्रत्येक स्नायूहरु
स्पन्दनहीन भएर लोलाएका छन्
यस्तो लाग्छ मानौ मस्तिष्कमा केवल
शून्यताको मात्र वास छ ।

पाईला टेकेदेखि यस नौलौ धरतीमा
जिवनले सुस्केरा हाल्न बिसर्िसकेको छ
विवशताको उच्छ्वासभित्र अभिशप्त यो बुद्धि
रातोदिनको गुजारा टराईले
कुण्ठित भईसकेको छ ।

अतिरँजना यहाँको दिनचर्या छ
प्रत्येक क्षेत्रमा नैतिकताको मर्दन छ
जीवनको यहाँ कुनै मूल्य नै छैन
केवल पैसाको नै बोलवाला छ ।

व्यक्तिवादी जीवन प्रवृतिले बाँधिएको जनमानस
पहिले म र पहिले मेरो मा झुण्डिएको छ
बसुधैव कुटुम्बकम्को परम्परामा हुर्किएको यो मनुष्य
बसुधैव सर्वनाशम् सँग जेलिएको छ ।

कहिले काहिँ त यस्तो लाग्छ बरु आफ्नै धरती निको
अभाव र अशान्तिले सँधै चुर्मुरिनु परेपिन
राजनीतिक अस्थिरताको कारण देश दिशाहीन हुनपुगे पिन
जीवन त्यहु झरना जस्तै सलल बग्छ
भावनाहरु उदात्त हुन्छन्
एकजना घाईते हुँदा सम्पुर्ण छिमेक हताहत हुन्छ
मान्छेको जीवनको महत्व छ उसको स्वाभिमानको ईज्जत छ
एकार्का बीच ममत्व छ ।