Rajendra Shalav – Maaf Garnos Shreeman

राजेन्द्र शलभ – माफ गर्नोस् श्रीमान् !

खोल फेरेर
पुरानै समय बाँचिरहेको
यो समयलाई
म , कसरी मेरो समय भनौँ ?
मिनि – स्कर्टबाट
साडी लाउँदैमा
प्रेमिका श्रीमती बन्न सक्तिन ।

हामीले चाहेको त
एउटा घरजस्तो देश थियो
पिताजस्तो शासन थियो
छोराजस्तो अनुशासन
र , आमाजस्तो माया थियो ।
अब तपाईँ
आफै भन्नोस , श्रीमान् !
सँधियारझैँ झगडिरहेका छोराहरू
सौता भित्र्याउन
तम्सिरहेका पिताहरू
र पोइल जान लालायित
आमाहरूको जमघटलाई
म कसरी
आफ्नो देशको नाम दिऊँ ?

तथापि एउटा कुरा भन्छु –
सधैँ त , दुशासनहरू
सिंहासनमा नबस्लान्
सधैँ त, उज्यालोलाई
अँध्यारोले नछोप्ला !

आगोलाई
खरानीले छोपेर
कत्तिन्जेल
शीतलताको भ्रम
ताप्न सकिन्छ र !

Rajendra Shalav – Malai Samau Ra Rang Bhara

राजेन्द्र शलभ – मलाई समाउ र रंग भर

थाहा छैन
तिम्रा आँखाको सम्मोहनले
सम्मोहित छु म
या ओठको मुस्कानले ।

पहिले – पहिले त
तिमीलाई देख्दा मात्र
म सम्मोहित हुन्थेँ
आकर्षित हुन्थेँ
तर , अचेल त
तिमी नहुँदा पनि
तिम्रो सम्मोहनले
सम्मोहित बनाउँछ
तिम्रो आकर्षणले
आकर्षित बनाउँछ ।
मलाई त ,
यो पनि थाहा छैन
यो सम्मोहन
यो आकर्षण
माया हो वा स्नेह हो
मलाई त यत्ति मात्र थाहा छ
तिम्रा हातमा कुची
र छेउमा रंगहरू मलाई मन पर्छन्
तिमीले बनाएका
पेन्टिंगहरू मलाई मन पर्छन् ।

अनुहारभरि निराशा ओडेर
जब तिमी भन्छौ –
अब के पेन्टिग गर्नु र ?
त्यो चाहिँ मलाई पटक्कै मन पर्दैन
तिम्रो मनभरि
अहिले उदासी छ भने
तिमी त्यही निराशा र उदासीको
चित्र बनाऊ !

मेरो आग्रहमा कुनै स्वार्थ छैन
मेरो चाहना कतैबाट पनि विषाक्त छैन
कसैले लेखेको
कसैलाई मन पर्नसक्छ
कसैले बोलेको
कसैलाई मन पर्नसक्छ
त्यस्तै , तिम्रा हातहरूले
ब्रस चलाएका हेर्न
मलाई मन पर्छ ।

उमेरसँगै
धेरै जिम्मेवारी बढे होलान्
म तिमीलाई
ती जिम्मेवारीहरूबाट भाग
भनिरहेको छैन
समयसँगै
धेरै घाउहरू लागे
र खाटा परे होलान्
म तिनीहरूलाई
उप्काउन पनि भनिरहेको छैन
एकान्तमा आउने
अतीत र वर्तमानका
अनेकौँ सम्झनाहरू होलान्
बस् ! ती सम्झनाहरूलाई
केवल ती आनन्दी –पीडाहरूलाई
कुचीले क्यानभासमा कोर्ने गर
आफ्ना जिम्मेवारीहरूबाट
अलिकति समय उबारेर
भावनालाई रंगभर्ने गर ।

धेरै पछि ,
जब तिमी बूढो भइसक्ने छौ
तिम्रा हातहरूले राम्ररी
ब्रस पनि समाउन सक्ने छैनन्
त्यतिबेला
हो , त्यति बेला
तिमीलाई मेरा यी शब्दहरू
याद आउने छन् ।

Rajendra Shalav – Shashak Ra Joon

राजेन्द्र सलभ – शासक र जून

मेरो झ्यालनिर आएर जून
मलाई सधैं माया गर्न सिकाउंछ
म भित्र उत्साह र प्रेम भरेर जान्छ ।

बिहानै मेरो देशका शासकहरू
म भित्र घ्रिणा भरेर जान्छ्न
बिस्तारै म भित्र पनि
स्वार्थको बिऊ रोप्न आतुर छ्न
र, म पनि अरूलाई माया गर्नुभन्दा
अरुले माया नगरेको गुनासो गर्छु
मलाई आफ़ैसंग डर लाग्न थालेको छ ।

म प्रेम बांड्न चाहन्छु
म जूनको कुरा सुन्न र मान्न चाहन्छु
मलाई मेरा शासकहरूभन्दा
जून नै बडी प्रिय छ ।

थाहा छैन,
जून कतिन्जेल मेरो झ्यालमा आइरहन्छ
र म स्नेह बांडी रहन्छु

अचेल शासनका काला बादलहरू
आकाशभरि मडारिन थालेका छ्न ।

Rajendra Shalav – Jangal Ko Kunai Kanoon Hundaina

राजेन्द्र शलभ – जंगलको कुनै कानून हुँदैन

उनीहरू शहर पसेका छन्
र,शहरलाई पनि जंगल ठानिरहेछन्
जंगलको कुनै कानून हुँदैन

आफ्नो अनुहारमाथि
अर्को अनुहार टाँसेर
उनीहरू शहर पसेका छन्

हितैषीको भ्रम पारेर
उनीहरू हाम्रो विश्वास जिस्किरहेछन्
उनीहरू हाम्रो भविष्य खेलिरहेछन्
उनीहरू हुल बाँधेर आएका छन्
हामीहरू एक्लै – एक्लै
निधारका रेखाहरू खुम्च्याएर
आगत र अनागतमै अल्झिरहेछौँ

उनीहरू योजनाबद्ध छन्
उनीहरूलाई थाहा छ – एकान्त धमिरा हो
उनीहरूले हामीलाई एक्लो बनाइरहेछन्
धमिराले भित्रभित्रै खोक्रो पारिरहेछ
धमिराले थाहै नदिई मक्काइरहेछ
तै हामी एकान्तलाई सिर्जनाको भ्रम बाँचिरहेछौँ

उनीहरू निर्धक्क छन्
भोलि सम्झेर उनीहरू दंगछन् र
हामी पनि बुद्ध अँगालेर
स्वयम्भूको आँगनमा मस्त निदाइरहेछौँ

अहिलेसम्म त,
निराश छैनौँ हामी , पराजित पनि छैनौँ
अझै विश्वास मक्किएको छैन
अझै आस्था भत्किएको छैन

तर …
तर , कुनै पनि पल शहर जंगलमा अनुवाद हुनसक्छ
हामी कुनै पनि पल जंगल काटिन सक्छौँ , बञ्चरोले
हामी कुनै पनि बेला स्तम्भ ढल्न सक्छौँ , धमिराले
र, शहरमा पनि जंगलको हैकम चल्न सक्छ
नक्कली अनुहारहरूको हैकम चल्न सक्छ

जंगलको कुनै कानून हुँदैन ।

Rajendra Shalav – Bhadrapur

राजेन्द्र शलभ – भद्रपुर

भद्रपुरमा
अलिकति कारिन्दाहरू छन्
त्यो भन्दा बढ्रता हाकिमहरू छन्
अलिकता उद्योगधन्दाहरू छन्
त्योभन्दा बढी नेताहरू छन्
केही स्कूल र कलेजहरू छन्
त्योभन्दा बढी भट्टी पसलहरू छन्
कमबेसीको कुरा बेग्लै हो
तर , मेरो भद्रपुरसँग सबै थोक छ
छैन भने – जाबो प्रगति छैन ।

मेरो भद्रपुरमा
बाह्रै महिना राजनीतिको खेती हुन्छ
मेची पुल सेलाए
हुलाकी राजमार्ग तात्छ
हुलाकी राजमार्ग सेलाए
मेची पूल तात्छ
खोयाबिर्केहरूको एउटा जमात छ
जो हरेक साँझ नेता बन्छन्
अर्काथरी
कोठे नेताहरू छन्
जो बिना काम नै
बाह्रै महिना चर्चामा हुन्छन् ।
के छैन मेरो भद्रपुरसँग
क्याम्पस छ , अस्पताल छ
जिल्लास्तरीय कार्यालयहरू छन्
यो अर्कै कुरा हो
हामी सौदादेखि चन्दासम्म लिन
धुलाबारी जान्छौँ
दुईदुईवटा दैनिक अखबार छन्
तर यो अर्कै कुरा हो
हामी पनि गोरखापत्र र कान्तिपुर मात्रै पढ्छौँ ।

भद्रपुरका छोराहरू राजधानीमा छन्
भद्रपुर उनीहरूका लागि साँगुरो छ
दशैँतिहारमा घर आँउछन्
बाआमाहरूसँग चिनजान गर्छन्
र , माया बस्न नपाउँदै राजधानी फर्किन्छन्
राजधानी आखिर राजधानी हो
उनीहरूबिना शून्य राख्नु पनि त भएन ।

जे होस् , भद्रपुरसँग
अलिकति सम्वेदनाहरू छन्
केही नाता – गोताहरू छन्
त्यसबाहेक ,
जमिन्दारी हराएको जमिन्दारजस्तै भद्रपुर
आफ्नो अस्मिता जोगाउन
पुराना सामानहरू लिलाम गर्दैछ ।

Rajendra Shalav – Aama

राजेन्द्र शलभ – आमा

सूर्यजस्तै ठूलो रातो टीका
निधारमा लगाउँदा
मेरी आमा साह्रै राम्री देखिनु हुन्थ्यो ।
संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस
तर बुवा बित्नु भएपछि
आमाले रातो टीका लगाउन छोड्नु भयो
बिना टीका मलिन देखिन्छ आमाको अनुहार ।

जबजब गोधुलीको बेला
निधारमा सूर्यको रातो टीका लगाएको
आकाशलाई देख्छु ,
म आमालाई सम्झन्छु ।
रातो टीका लगाएको
आकाश पनि राम्रो देखिन्छ
तर, आमा जत्तिको राम्रो होइन ।

Rajendra Shalav – Timi Nahunda

राजेन्द्र शलभ – तिमी नहुँदा

सूर्य
आफ्नै रापले डढेर
कतै खोलामा झर्यो ।

खोला
बग्न छोडेर
त्यहीँ बालुवामै
सुक्न थाल्यो ।

चराहरूलाई
गुँड बनाउन मन लागेन
र , थुपारेका सिन्काहरू
मेरै छेउमा छोडेर
कतै उडी गए ।

हावा
बहन छोडेर
पीपलको हाँगामा
थकाइ मार्न बस्यो ।

ह्दयगति
हत्केलाका रेखाहरूमा
छट्पटाइरह्यो ।

आँखाहरू
अनिँदा रहे
सपनाहरू आउनै मानेनन् ।
ओठका मुस्कानहरू
औपचारिकताको मुग्लान पसे ।

उमेर
घामसँग
आँखा जुधाउन नसकेर
बेतोड कुद्न थाल्यो ।

मेरा कविताका
अक्षरहरू
सबैसबै हराए ।

भन तिमी कहाँ थियौ ?