राजकुमार पुडासैनी – मेरो वतन
मेरो- भीर, पाखा, गांऊ, बस्ती र फाँटहरु
निचोरिएर बगेको पानी
तल कतै नदी भएर बग्छ
त्यहि पानीको रंगमा मेरो जीवन पोखिएर बगेको छ
मेरो आमाको मन
मेरो बाबुको मन मिसिएको छ
त्यसैले त नदी –
सधैभरी मेरो बेदनाको गीत एकोहोरो गाइरहन्छ
र मेरो दुःख र सुखका अब्यक्त आवाजहरु निकालेर सुसाइरहन्छ
तसर्थ, नदीमा मेरो जीवनको कयौं कथाहरु छन्
अशंख्य पीडा र बेदानाहरू छन्
म नदीमा आमा देख्छु
म नदीमा बाबु देख्छु
यसै पानीमा मेरो आमाको आँशु बगेको छ
मेरो बाबुको रगत र पसिना मिस्सिएको छ
यसै नदीमा मेरो पिता पुर्खाको परिचय लुकेको छ
मेरो अशंख्य अलिखित सभ्यताहरु यसैमा अदृश्य भएर बगेको छ
नदी मेरो जीवनको बिम्ब हों
जहां नदी काली, गण्डकी, कोशी, कर्णाली र त्रिशूली भएर बग्छ
म त्यहि नदीको छोरो हूँ
त्यसैमा मेरो आमाको आँशु बगेको छ
मेरो बाबुको रगत र पसिना मिस्सिएको छ
यसै नदीमा मेरो पिता पुर्खाको परिचय लुकेको छ
मेरो अशंख्य अलिखित सभ्यताहरु यसैमा अदृश्य भएर बगेको छ
नुवाकोट, हाल बेल्जियम