R M Dangol – Ichchha Patra

आर.एम्. डंगोल – इच्छा-पत्र

ढोकैमा थियो
इच्छाको बीभत्स लास
हत्यास्थलमा
हुलिया नरोकिकन बहिरहेको
बासी हावा पनि थियो
घरको भित्तामा थियो
समयसंग गरिएको इच्छाको हस्ताक्षर

कसरी मारियो
एउटा जिउँदो इच्छा दिनदहाडै
सिङ्गो दिन
साक्षी भएर उभिँदाउभिँदै पनि कसले रोक्यो
घृणाको आवाज, क्रोधको आवेग
दमनको प्रतिक्रिया
संविधान किन बोल्दैन अहिलेसम्म ?

समयसंग यसरी भ्रमित छन् मानिसहरू
सत्ताका मतियारहरू
जो ओहोर-दोहोर गर्दैछन्
शून्य सडकपेटीमा
पाप पखाल्न
मन्दिर परिक्रमाको परम्परा छ यथावत्
यथावत् छ
भजनकीर्तनको आलाप राग
जयगानको दुन्दुभि क्रीडा छ निरन्तर
मानिसहरू
हेरिरहेछन्- समयको भित्तामा यो सिनेमा दृश्य ।

अँध्यारो कोठामा बसेर
ज-जसले सत्ताको सिनेमा हेरे
उनीहरूले हर्ेर्नुछ- अझै अँध्यारिँदै गएका
आफ्नै भग्न सपनाहरू
छेउमै उभिएका
लुइ चौधौं
र अट्टहास हाँसो हाँसिरहेका
सत्ताका मतियारहरू ।

यतिबेलासम्म
समयले लेखेको
जुन इच्छा
जीवित छ
उसले शासन गर्नु छ अब
सिनेमाहल बाहिर ।

R M Dangol – Dash Gajaa Wari

आरएम डंगोल – दशगजावारि

एकजना जँड्याहाले मेरो हातबाट
मेरो कविताको एउटा शिर्षक खोस्यो
र, ठूलो स्वरले पढ्यो-
दसगजावारि …
र, थप्यो एक हरफ-
‘कालापानीपारि’

म झस्किएँ
मेरो अधुरो कविताको शिर्षक
र उसको संवेदनशील मस्तिष्क
सम्भवतः ऊ जाँड खाएको अभिनय गर्दै छ

मैले बुभेँ
उसले जाँड खाए पनि नखाए पनि
ऊ पनि एक नेपाली नै हो
त्यसपछि मैले सुरु गरेँ…

दसगजावारि
हामी मेलम्चीको बिम्बले तिर्खाएका मानिस
हामी कारगिलको बिम्बले आतङ्कित बस्ती
आफ्ना घाउको डिलमा उभिएर
बेवारिस नदीमा डुबुल्की मारिरहेका
हामी, हाम्रो बाँकी दुनियाँसँग बेखबर
धेरै टाढा छौँ जस्तो लाग्छ
तर सुदूर अर्को किनाराको घाउ
हामीलाई नै किन दुख्छ हँ ?
किन कोसोभोको घाउले हामीलाई नै चहर्याउँछ –
अभावको यो हीनग्रन्थि पालेर
हाम्रा खुकुरीको धारबाट
स्वार्थको नदी बगिरहेको बेला
हामीलाई हाम्रो आकाश हेर्ने फुर्सद छैन
सत्ताक्रीडाको यी आकाशे पुलहरूमाथिबाट
हामीभन्दा माथि देखिने
ती विदेशी हार्मोनले अग्लिएका झैँ देखिने सगरमाथाहरू
‘कामसूत्र’ विज्ञापनबोर्ड बोकेर
हामीमाथि लादिएका ती स्वयम्भू डा“डाहरू

यी हल्लाका हावा
यी खान्दानी सा“झ
रगतमा हार्मोनको कमीले पहेँलिएका
हाम्रो शिरमाथिको अस्ताउँदो घाम
हामी प्रौढावस्थामा झैँ घाम ताप्दै छौँ

दसगजावारि
पीडा र व्यथाका यी मट्टितेल लाइनहरूमा
खै हाम्रा पाइतालाहरू कहाँ छन् !
हाम्रा लहराजस्ता सपनाहरू
टेको लगाउने ती थाँक्राहरू कहाँ छन् !
थाहा छैन
हाम्रा जराहरू दसगजावारि छन् कि पारि छन्

सत्ताक्रीडाको यो अगम्य जङ्गलबाट
वर्षौँ अघिदेखिको उही पुरानै नालायक नारा
हामी भीमसेन थापाको काँधमाथि
सत्ताक्रीडाको भर्याङ चढिरहेछौँ
दसगजावारि, कालापानीपारि
खै हामी कहाँ छौँ ?

मेरो कविता अझै अधुरो छ,
त्यो जँड्याहाको हातमा पर्यो भने
मेरो यो कवितामा अझ धेरै कुरा थपिनेछन्
म उसैलाई पर्खिरहेछु ।

R M Dangol – Bhoj Yathawat Chalirahechha

आर एम डंगोल – भोज यथावत चलिरहेछ

सुकुलको तहमाथिबाट खबरदारी गरिरहेका
बेवारिसे औँला-हत्केलाहरू
संविधानको त्यान्द्रो चपाउँछन्
र, उग्राउँछन् आराम गरीगरी

समयको यो सुकुल
रोगी संविधानजस्तै अझै खिइँदै Continue reading “R M Dangol – Bhoj Yathawat Chalirahechha”

R M Dangol – Parichaya

आर एम डंगोल – परिचय

एउटा चट्टान
अथवा हीराको टुक्रा
चट्टान अथवा हीराको टुक्राभन्दा
अझै परेको समय
मेरो भोगाइ समयरहित एउटा पदार्थ ।

यसकै अथवा यीजस्तै पदार्थहरूको
केस्राकेस्रा भएर
बिल्कुलै हल्लारहित भएर
र बिल्कुलै चालरहित भएर
मैले एउटा जीवितकोष बोकेँ
यही कोषको सतहमा
हामी हाम्रो भाग्य खोज्दै छौँ ।

भनिन्छ – यही भित्ता हाम्रो नियतिरेखा हो
जिउनुपछाडिको बाध्यता
जस्तो कि हामी अहिले
खुत्रुकेमा हाम्रो भविष्य चिहाउँदै छौँ ।

R M Dangol – Bato Soddhai Yatai Katai

आर.एम. डङ्गोल – बाटो सोध्दै यतैकतै

बाटो सोध्दै छु
यतैकतै
बाटो पछ्याउँदै पछ्याउँदै
हिँडिएछ यहाँसम्म
यहाँसम्म आइपुग्दा
आफ्नै जस्तो नलाग्ने स्वभावले
पछ्याइरहेको छ मलाई ।

हिजोअस्तिजस्तै
उस्तै देखिन्छु
छालाको रङ उस्तै छ
हातखुट्टा, नाकमुख
हिँडाइ, बोलाइ, हँसाइ
सबै उस्तै जस्तो लाग्छ ।

तर भन्नेहरू भन्छन्
हिजोअस्तिजस्तो छैन मेरो स्वभाव ।

उस्तैउस्तै त छौँ
सँगै फर्किएका हामी
भोक आफैँलाई मात्र लागे जस्तो
दुखाइ आफ्नै मात्र भए जस्तो
आफैँलाई खुसी बनाउन
आफ्नै जस्तो नलाग्ने स्वभाव
हाम्रै साथमा छन् ।

थाहा छैन
सँगै फर्किएकाहरूलाई
आफ्नै स्वभाव कस्तो लाग्दो हो ।

हिँड्नुपर्ने दिशा
पार गरेको दूरी
र पुग्नुपर्ने गन्तव्यले
आफैँलाई यसरी भ्रमित तुल्याउँछ भन्ने सोचिएन
हराएको बाटोको नक्सा खोजेर
म यहाँ आइपुगेको छु
हिँड्नुछ अझै
र बाटो सोध्दै छु
यतैकतै ।