Nistej – Bartamna Pariprekshya Ma 2

निस्तेज – वर्तमान परिप्रेक्षमा -२

वर्तमान परिप्रेक्षमा
अभियुक्त बनेर
कठघरामा
समय उभिएको छ
र फरियादी बनेर
इजलनसमा हाम्रा खुशीहरु
प्रतीक्षामा
निष्पक्ष निसाफको
तराजु हातमा लिएर
निसाफ गर्नेछन्
ढुङ्गाका मूर्तिहरु
र प्रफुल्ल मुद्रामा
घर फिर्नेछन् हाम्रा खुशीहरु
म सशङ्कित छु आज पनि
यस कुरामा ।

हूल बाँधेर
सडकमा असहमतिहरु
हिंड्ने छन् वा छैनन्
रात उषामा सहिद भएपछि
चराहरु खुसियालीमा
गाउनेछन् या छैनन्
नयाँ होइन
इतिहासको घोडा चढेर
विजय जुलुसमा
विजेताहरूले निस्किनु
र एकथरिहरूले
झन्डा बोक्दै
पछि पछि लाग्नु
कनक-कनक को अन्तर
प्रष्ट्याउने छन्
यी फिलुङ्गाहरू
को निस्किन्छ
तपेर झन् प्रभासित हुँदै
र को हुनेछ खरानी
फिलुङ्गाहरू खोल्ने नै छन् पोल ।

हिमपातले
लुटिएका रुखहरू
पातको प्रतिक्षामा
वसन्त कुर्नेछन फेरी फेरी
र मुस्कुराउने छन
फेरी नयाँ खुसीहरू
यामले प्रत्येक हानिको
गर्नेछ क्षतिपूर्ति
र मलाई सिकाउनेछ
पराजय बिर्सेर फेरी जिउने कला
तर अफसोस
मलाई थाहा छ
वसन्तका उपहार अवश्य हुनसक्छन
नयाँ पालुवाहरू
तर हिमपातले लुटेका
ती पातहरू कदापी हुन् सक्दैनन्
यामको क्षतिपूर्ति।

र वर्तमान परिप्रेक्षमा
जलेरुहरू जाल बुन्दैछन
स्थिर तलाउ बाहिर
र तलाउ भित्र
ठुलो षड्यन्त्रबाट बेखबर
माछाहरूको वस्तीमा उत्सव चलेका बखत
बल्छीहरू तिखारिंदैछन्
र तिखारिंदैछन् भालाहरू
रातारात उमारिंदैछन
झुट्ठा साक्षीहरू
खेलाची बन्नेछन इजलासहरू
तर नियम सङ्गत नै हुनेछ
प्रत्येक कुरा
र वर्तमान परिप्रेक्षमा
मैले सिकेको छैन
नियम हरु भङ्ग गर्ने कला
र माछाहरूले सिकेका छैनन्
जालहरु काट्ने विज्ञान ।

म कायर हुन सक्छु
या लो लाचार
र तोड्न सक्दिन नियमहरू !
या म प्रभावित छु
कुनै तथाकथित शाश्वत ज्ञानबाट
जुन लेखिएको हुनसक्छ
बाक्ला- बाक्ला किताबहरूमा
र कसरी असत्य हुन् सक्लान
किताबहरूका नियम सङ्गत कुराहरू ?
मेरो मस्तिष्क
डसेको छ
किताबहरूको भूतले
मलाइ विश्वास छैन
रत्तिभर पनि आफुमा
म किताब हरूको दासताले
आज पूर्णरुपेण निकम्मा भएको छु
र किताबहरू लेखिएका छन्
सफल पर्न अभूतपूर्व षड्यन्त्रहरू ।

सपनाहरूको हाटमा
सजाइएका झुठा सपनाहरू
हरेक सपनाको यौटा ब्राण्ड छ
र त्यस ब्राण्ड को यौटा विज्ञापन
कर्पोरेट सपनाहरू
ओझेलमा पार्छन
हाम्रा अक्षुण्ण काँचा र अप्रशोधित सपनाहरू
यी किताबहरू
विभेद उत्पन्न गराउँदैछन्
सपनाहरूमा
म हेर्दैछु
हातका रेखाहरूमा
मेरा सपनाहरू
हाटमा पनि छैनन्
र हातमा पनि छैनन् ।

वर्तमान परिप्रेक्षमा
बजारमा
चोकहरूमा
साईबर क्याफेहरूमा
अखबारका पानाहरूमा
भेउ खोज्दै
नाली बेली सोध्दै
शब्दहरू निस्केकाछन्
नयाँ अर्थको खोजीमा
नयाँ परिभाषाहरूको खोजीमा
अर्थहीन / परिभाषाहीन
कति बस्न सक्छन शब्दहरू
र म महसुस गर्दैछु
वर्तमान परिप्रेक्षमा
मेरो चेतना जागृत भएझैं छ
मलाई आभाष हुँदैछ नयाँ अर्थको खोजीमा
नयाँ परिभाषाहरूको खोजीमा
अर्थहीन / परिभाषाहीन
कति बस्न सक्छन शब्दहरू
र म महसुस गर्दैछु
वर्तमान परिप्रेक्षमा
मेरो चेतना जागृत भएझैं छ
र मलाइ आभास हुँदैछ
बक्ला-बक्ला किताबहरूमा
लिपिबद्ध यी सत्यहरू
यी कथित सत्यहरू
कुनै औधी चकचके बलकले
पिसाप फेर्दै
भित्तामा बनाएका
अश्लील आकृति झैं
मेरो भाषामा
पहिलो पल्ट हराएको छ
शीष्टताको आवरण
र म निरावृत छु
र म महसुस गर्दैछु आफुलाई
अभूतपूर्व शक्तिशाली
र सत्य
र निरावृत
वर्तमान परिप्रेक्षमा।

बैतडी,हाल: धनगढी

Nistej – Maya Malai Sanchhai Garne Bichar Rakhi (Nepali Gajal)

निस्तेज – मायाँ मलाई साँच्चै गर्ने विचार राखी (गजल)

मायाँ मलाई साँच्चै गर्ने विचार राखी
बस्थ्यौ कहाँ बगलमा तीखो कटार राखी

पत्याउँ पो कसोरी हौ फूल यो तिमी नै
रङ्गीन भो र पतझड नाउँ बहार राखी

नाता Continue reading “Nistej – Maya Malai Sanchhai Garne Bichar Rakhi (Nepali Gajal)”

Nistej – Bartaman Pariprekshya Ma

निस्तेज – वर्तमान परिप्रेक्षमा

वर्तमान परिप्रेक्षमा
ओझेलमा परेका छन् कतिपय परिप्रेक्षहरू !

वर्तमान परिप्रेक्षमा
हामी डराएर जूनकिरीसङ्ग
खाटमुनी लुकेका छौं
र पढ्दैछौं हाम्रो वीरताको इतिहास !

शिखण्डीहरू
निर्बाध विचरण गर्दैछन कुरुक्षेत्रमा
मुस्कुराउँदै र अनुहार पछाडी
लुकाउँदैछन आफ्नो लाचारी
नेपथ्यबाट अर्जुनको प्रहारको प्रतिक्षामा
वाण बर्साउँदै अभेद्य भीष्म वक्षमा,
अखबार खोज्दैछन शिखण्डीहरू
छपाउन आफ्नो वीरताको समाचार
शिखण्डीहरूको आत्मविज्ञापनको लालसा,
नेपथ्यबाट अर्जुनको प्रहार
र भीष्मको अभेद्य छाती
कुरुक्षेत्रका नियति बनेका छन् ।

वर्तमान परिप्रेक्षमा
चमेली षड्यन्त्र गन्हाउँदैछ
बेलीले बोक्दैछ बस्ती जलेको गन्ध
जाई र जुही हरू फुल्न डराएझैं छन्
गुलाब काँडा मत्रै फुलाउँदैछ
र गुराँसको बैंसालु मुस्कान
त्रसित छ यो मौसम देखेर
आकाशबाट अम्लवर्षा हुने हल्लाहरू बोकेर
एक हूल परेवाहरू
भूमिगत भएकाछन् ।
ब्वाँसाहरूको बस्तीमा
वसन्तोत्सवको तयारी चलिराखेको छ
अभूतपूर्व तवरले
खुम्चिदैंछन यो वस्तीका सीमाहरू
फाँट खुम्चिएर खेत
खेत खुम्चिएर घडेरी बन्दैछन
त्यस्तै बस्ती खुम्चिएर टोल
टोल खुम्चिएर घर
घर खुम्चिएर कोठा
र कोठा खुम्चिएर कुना भईराखेको वर्तमान परिप्रेक्षमा
सत्ताको प्रयोगशालामा
अभ्यास गरिंदैछन नयाँ नयाँ प्रयोगहरू
नयाँ नयाँ सूत्रहरू
नयाँ नयाँ गणितहरू
र नयाँ नयाँ व्याकरणहरू
शसकहरू गोप्य मन्त्रणामा छन्
र दिनहुँ छपाउँदैछन आतंक अखबारमा ।

युगौं पुरानो घाउमाथिको पाप्रा कोट्याउँदै
बसेको छ ईतिहासले बिर्सिएको यौटा योद्धा
ऊ सम्झिदैंछ आफ्ना हारका शृंखलाहरू
र बिस्तारै फुक्ने कोसिस गर्दैछ प्रतिशोधको आगो
खरानी भित्र केही झिल्काहरू उठ्दैछन
वाणविद्व छातीबाट पीप निचोर्दै
ऊ फेर्न खोज्दैछ आफ्नो शापित ईतिहास
पराजयका शृंखलाहरू हुनेछैनन अन्तहीन
शिखण्डी समयका वाणहरूमा छैन त्यो विष
जस्ले रोक्न सकोस उसको रक्त-प्रवाह।

वर्तमान परिप्रेक्षमा
गतिमान वर्तमान परिप्रेक्षमा
ओझेलमा परेका छन् कतिपय परिप्रेक्षहरू
र देखा पर्दैछन कतिपय नौला परिप्रेक्षहरू
यो समय दास बनेको छ
परिप्रेक्षहरूको
वर्तमान परिप्रेक्षमा
परिप्रेक्षहरूको यस महान असङ्गतिमा
हामी हाम्रो वीरताको इतिहास किताबहरूमा कैद गरेर
खाटमुनी लुकेका छौं र पढ्दैंछौं
घोक्दैछौं इतिहासका परिप्रेक्षहरू।

बैतडी,हाल: धनगढी

Nistej – Ghoshana Patra

निस्तेज – घोषणा पत्र

यसपाली म चुनावमा जितीगए जाने थियौ कोरिया
आऊ लौन जिताऊ जे जसरि नि हो चिन्ह नि ‘तोरियाँ’
मेरो चिन्ह परेछ लौ बहुमुखी क्या लाभदायी अहो
तरकारी भुटुवा बनाउनु नाता पोलेर चटनी कसो!

तरकारी हरियो अति असल यो खानी भिटामिनको
यसमा छाप लगाऊ हे सुजन हो हौ स्वस्थ आँफै कसो
भोट मात्रै तिमि देउ हे नगरका हे गाँउका सज्जन
नाँउ नोट गरि सकल्का बाँकी रह्यौ खै कुन ?

पुलि छैन भनि सुने भन् सखे तर्छु नदि के गरि
यसपाली बुझियो कुरा गहकिलो खान्न्चु कसम यै घरि
पैले झैं अब बिर्सिइन्न पुल यो बन्ला यसै सालमा
मात्रै एक मद्दत गरे हजुरले निर्वाचनी कालमा ।

नेपालीहरु काममा अति असल भन्दैछ रे कोरिया
लावा लस्कर यो पठाउँछु त्यतै सम्झे फगत तोरियाँ
गण राष्ट्रिय गाउने अब मा झैं सर यहीं बस्तछौँ
बाँकी जाउ कतार या अरब या त्यै कोरिया भेज्दछौँ ।

जितें मात्र भने चुनाव रणमा निश्चित छ मन्त्री हुनु
मन्त्री के म भएँ अनि हजुरले चिन्ता छ के को लिनु
यै हो गूढ रहस्य हे सुजन हो यो राम्ररी बुझ्दिनू
आफ्नो नेक भविष्य को मन भए भोट तोरियाँमा दिनू ।

(संविधान सभा निर्वाचन सम्बन्धि जनचेतना जगाउने उद्देक्षका साथ्
शुक्लाफाँटा एफ एम ९९.४ ले गराएको रेडियो कविता गोष्ठीमा वाचन गरिएको कविता । )