Kewalpure Kisan- Ghorindai Ghorindai

केवलपुरे किसान – घोरिँदै घोरिँदै

के दिनमा पसेछु सहर, सहर पस्न मलाई थिएन रहर
लाउन खान टिबिल टिबिल छेलोखेलो होइन
पाखोबारी राम्रै थियो धान फल्ने चाहिँ होइन
गुजारा चाहिँ चल्थ्यो चल्थ्यो मरिहत्ते गर्दा
त्यहाँ बस्न मन लागेन बूढी थला पर्दा

अहिले पनि सम्झना भैरहन्छ मेरो केवलपुर
त्यतैतिर फर्कौं क्यार के छ तिम्रो सुर ?

अहिले पनि उस्तै छौ कि अलि राम्री भयौ
मैले छोड्दा तिमी अलि साँक्क सुँक्क रोयौ
आजसम्म जिउँदै छ है तिम्रो कोखको घाउ
तिमीसित झुम्मिनलाई गर्दै छ है दाउ

बेला बेला सम्झना भैरहन्छ सम्झना भैरहन्छ
मुटु केवलपुर म आउँ क्यार तिमीतिरै के छ तिम्रो सुर

आजसम्म उस्तै छन् कि ती बारिका पाटा
मेटिएका छन् कि छैनन् रगतका टाटा
दुइतिरको चेपुवामा कसो परिनछौ
त्यत्रो गडबड हुँदा पनि तिमी मरिनछौ
कोल्पुखोलो सोधिरहन्छ भन्थ्यौ तिमी पैले
पौडी खेल्न सिकाउँथ्यो सम्झना छ अैले
सलिन डाँडो के गर्छ हँ गाई चराउने पाखो
छहारीमा सुत्दा सुत्दै म गोठालो भा’को
ऐँसेलु खुब खाको
मेरो मुटु केवलपुर
फाल हालौँ कि कुनै दिन के छ तिम्रो सुर
नागढुङ्गाको छेडोबाट चियाउँदै हेर्छु
बाहिरतिर जाँदा बढी सास लामो फेर्छु
धार्के पुग्दा त्यै उकालो उक्लौँ उक्लौँ जस्तो
बुढेसकालको फितलो मन केश पाके जस्तो

कठैबरी माया लाग्छ मेरो केवलपुर
हस्याङफस्याङ आइपुग्छु कि पर्ख केवलपुर

बुढो कैले खुर्मुरिन्छ मन्मा कुरा खेलाऊ

Kewalpure Kisan – Sangharsha Ko Thik Gara

केवलपुरे किसान – संघर्षको ठीक गर

ओइलाएर भएन काम गतिलो हे वीर नेपाली हो !
रुन्छौ नि कति आज देशभरका हे भाइ कंगाली हो !
क्रान्तिकारी कदम लिएर बढ्ने चर्को प्रतिज्ञा गर !
भिक्षाले हक पाइँदैन बुझ है संघर्षको ठीक गर !

जाली दानवका कठोर र तिखा कानुन कटाइकन
सारा मानिसलाई प्रेम गर्दै राम्रो चलन ल्याउन
गाउँमा बढ् फूर्तिसाथ डट लौ सब चेतनाले भर
भिक्षाले हक पाइँदैन बुझ लौ संघर्षको ठीक गर !

कैयौं हेर मरे गए अझ कति मर्छन् यिनै पाटीमा
झुन्डिन्छन् कति शोक विहृवल हुँदै डोरी कसी घाँटीमा
देऊ वर्गीय चेतना घर घरै कत्ती नमानी डर
भिक्षाले हक पाइँदैन बुझ लौ संघर्षको ठीक गर !

मर्का तन्त्र छँदैछ देशभरमा नौलो कहाँ के छ र ?
जो अन्याय थियो अघि अझ बढ्यो लौ हेर देशैभर
हाहाकार परेर रुन्छ जनता आवाज को सुन्छ र ?
भिक्षाले हक पाइँदैन नि तीखो संघर्षको ठीक गर !

खेताला, मजदुर, छात्र, महिला ती खेतीवाला सब
जागिरे, पसले र देशभरका ती र्सवहारा सब
भेला भइकन लड्नुपर्छ नि बुझयौ कामोस् भूमि थर्थर
भिक्षाले हक पाइँदैन तगडा संघर्षको ठीक गर !

चारौं तर्फछ अन्धकार निमुखा माथि छ त्यै शोषण
गर्ने छन् कि ती मित्र राष्ट्रहरूले नेपाल आलिङ्गन
यो नेपाल नछो नछो अब नछो ! इन्कलाबी नारा भर
भिक्षाले हक पाइँदैन गतिलो संघर्षको ठीक गर !

लग्लग् कामीसके ल हेर छिचरा साम्राज्यवादी जति
तिनकै चाकरीदार यी अब छिट्टै रोएर जालान् सती
मीठो मानववाद बढ्छ दिनहुँ लौ हेर चारैतिर
नेपाली बन लौ भिरेर खुकुरी पारेर ठाडो शिर !

पल्टाऊ इतिहास हेर विचरा ती थैली शाही सब
बिग्रे, खेर गए मरे, सब सडे फोस्रो छ त्यो गौरव
ढोका भित्र कुँदेर हुन्न अबता संसार धावा गर !
भिक्षाले हक पाइँदैन नि कडा संघर्षको ठीक गर !

खाली पेट छ खान छैन घरमा पाइन्छ आश्वासन
नाङ्गो देह छ वस्त्र छैन करमा के काम यो भाषण
रातो रक्त उमाल भक्भक् छिट्टै नेपालका हे धन !
देलान् आशिक ती तर्राई चुचुरा पाखा पखेरा वन ।
मर्नुपर्दछ वीरले समरमा पारेर छाती खुला
पर्नुपर्दछ देशका जति पनि चुसेर खाने दुला
राम्रो जोश लिएर होस सितको चड्कै परेझैं गर
भिक्षाले हक पाइँदैन बुझ है संघर्षको ठीक गर !

ती साहित्य कला र संस्कृति उपर गर्दै ठूलो आदर
सच्चा हे जनसेवी साथीहरू हो ! लौ विश्व मोर्चा गर !
आजादी प्रगति र शान्तिपथको कर्नाल फुक्दै गर
भिक्षाले हक पाइँदैन दरिलो संघर्षको ठीक गर ।

चारौं तर्फछ अन्धकार निमुखा माथि छ त्यै शोषण
गर्ने छन् कि ती मित्र राष्ट्रहरूले नेपाल आलिङ्गन
यो नेपाल नछो नछो अब नछो ! इन्कलाबी नारा भर
भिक्षाले हक पाइँदैन गतिलो संघर्षको ठीक गर !

साभार: जनमत कविता खण्ड १ २०६४