जगत नवोदित – सुम्निमा
सुम्निमा!
यहाँ आईपुगेर
तिमीलाई सम्झिए
भुल्न त कहिले नै पो सकेको थिए र?
तर
यो ठाउँमा आईपुगेपछि
तिमीलाई खुब सम्झिएँ
तिम्रो मायालु मुटु
कतै नदुखाई
कतै नसच्चाइ
तिम्रै मुटु जस्तो
एउटा गीत लेख्ने रहर पलाएर आएको छ
कि
दुनियाँको गलामा गुन्जियोस त्यो गीत
तिम्रो सफा मन
कतै नभाँची
कतै नसाटी
दुरुस्तै
कवितामा छिप्न जागर लागेको छ
कि
दुनियाँको भावनामा पग्लियोस त्यो कविता
हो,सुम्निमा!
तिम्रो आँखा सजिएको अनुहार
यो आकाशभरिको तारामा खोजिरहेछु
तिम्रो बिचार मिसिएको मस्तिष्क
यो धर्तिको माटोभरी सोधिरहेछु
पाईला पाईला
तिमीले छोड्दै हिंडेको त्यो-‘जननी डोब’
सवलाई एक्साथ मिलाएर
तिम्रो तस्बिर कोर्ने अन्तिम इच्छा छ
कि दुनियाँको आँखाले
तिमीलाई हेर्न पाउन
हेरुन
र हेरिरहुन….