जगन्नाथ आचार्य – मोर्चा कसौं है सब
बोल्नै बन्द गरेर नागरिकका आस्था दबिन्छन् भने,
लेख्नै बन्द गरेर भाव कविका भाका थुनिन्छन् भने ।
यातायात सुस्वास्थ्य सिर्जनकला नाका नथिन्छन् भने,
जो–जसले जति सक्छ चुस्छ निमुखा उसकै छ टीका भने ।
मुर्र्दाशान्ति त चाहिंदैन प्रभुको आदेश कालो हुने,
झन्डा बोक्नु छ लोकतन्त्रतिरको सम्मान साझा हुने ।
यौटा बोट उमार्नुपर्छ विधिको छाया दिने शीतल,
पाना पुस्तकको बसेर पदमा मूलै सुकेर मार्शल ।
उर्लेको जनक्रान्तिका लहरले पोल्ने छ मुढो अब,
झुल्के हेर न झन्डीका जुलुस ती ताली बजारौं सब ।
बारम्बार कठोर विघ्नहरूका उल्का र भुल्का खपी,
बाटो खन्नु छ एक नव्य विधिको आऊ जुटौं है तपी ।
लाखौंलाख जमात बास वनमा झुप्रा उदाड्डै कति,
जान्छन् विश्वविहार मर्न कु“डुलो दरबारका सन्तति
ढाल्नैपर्दछ झाडीको रुखबुढो शाही सजेको घर,
पुर्नैपर्दछ संस्कृति कुमतिका भण्डार थोत्रा थर ।
यौटा देव झरेर मानव कुनै देवत्व बन्ने भए,
को–को छन् अब हेर विश्वभरमा पुर्खा कतिका झरे ।
धोत्रो रुख छ भित्र–भित्र धमिरा गोलो छ कोट्याउने,
थोत्रो वंश परम्परा पनि ढल्यो पालो छ यसको पनि ।
फक्रेनन् वनमा वसन्त मुजुरा वैशाख बा“झै रह्यो,
त्यो आएन विहानी बाल बबुरो आस्था त का“चै रह्यो ।
बाचा बन्धन बोली फेर्न चतुरो स्वाधीन उसकै भयो,
वर्षौं वर्ष बिते कति तर डुबे हाम्रो दशा यै भयो ।
नौला सिर्जना झाङ्गियून् धरतीमा धारा बगोस् क्रान्तिको,
मान्छे मर्न सकोस् चिरञ्जीवि बनी मूलै मरोस् भ्रान्तिको ।
साँचो लौकिकतन्त्रको पथ नयाँ रोप्ने छ बेला अब,
तातो संगम क्रान्तिका लहरमा मोर्चा कसौं है सब ।