Hariprasad Bhandari – Nepali

जन्मेको हुन्छ नेपाली भिजेर आफ्नै माटोमा
दुःख र सुख राष्ट्रको बोकेर आफ्नै छातीमा
अल्छी भै आफ्नो कर्तव्य भुलेर कैल्यै बस्दैनौँ
लोभ र लालच जालमा नेपाली हामी फस्दैनौँ।

विश्वका अग्ला हिमाल अम्बर चुम्न उठ्दैछन्
गण्डकी, कोशी, कर्णाली सागर भेट्न जुट्दैछन्
लाएर पर्खाल छेक्दैमा नदीको गति रुक्दैन
देखेर मोटा पाखुरा आस्थाको शिर झुक्दैन।

गुराँस फुल्छ अप्ठ्यारा पहरा–भीर फोरेर
संदेश दिन्छन् गौंथली चुच्चोमा माटो बोकेर
सानी र च्याण्टे मिलेर आस्थाको जग खन्दैछन्
स्वयम् आफ्नै खुट्टामा उभिनुपर्छ भन्दैछन्।

भिजेर आफ्नै माटोमा जन्मेको यौटा नेपाली
यै माटाको मायाम हुर्केको यौटा नेपाली
माटाको माया कहिल्यै बिर्सन उस्ले सक्दैन
सिर्जना फूल फुलाउँछ बाँधेर हात बस्दैन।

Hariprasad Bhandari – Shraddanjali

तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल
यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल
चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो
कालो शासनको समस्त जगमा छायाँ परेको थियो।

केही कर्मठ सन्तती र बलिया यो देशका रक्षक
आफ्नो देश बचाउने प्रण गरी पारेर ठाडो शिर
गर्जे हाँक दिदै डटे समरमा उत्साहको भेलमा
‘मर्छु किन्तु म मर्न दिन्न जननी नेपाल’ भन्दै यहाँ।

‘बैरीलाई भगाउँदै जतनले रक्षा गरी देशको
आफ्नो स्वत्त बचाइ गौरव अनि झण्डा र यो देशको’
भन्थे रे― ‘तरवार बज्री शिर यो टुक्रा परे तापनि
हाँसी हाँसी म जाउला जननी यी नेपाल बाचून्’ भनी।

रातो रक्त छचल्कियो शरीरमा अल्छीपना दौडियो
यस्तो शाहस सामुमा दनुजता कापेर थर्थर् भयो
पक्री ब्यर्थ रिसाइ सत्य नचिनी अन्धाहरू वैरिए
चोखो राष्ट्रिय भावलाई सहजै फाँसी चडाई दिए।

आलै छन् पदचिन्ह ती सहिदका टाटा अझै रक्तका
आलै छन् अझसम्म नै उनीहरू लड्दा बनेका कथा
त्यस्ता वीर सुपुत्र जो मुलुकमा बाँचिरहेछन् मरी
वीरैको गति पाउने सहिदमा मेरो छ श्रद्धान्जली।

Hariprasad Bhandari – Kaligandaki

दामोदर जलकुण्डबाट सहजै निस्केर यात्री सरी
कैले शान्त त रौद्र रुप कहिले हा–हा र हूँ–हूँ गरी
अग्ला श्वेत हिमाल, उच्च गिरि औ ढुङ्गा, मुडा, बन्जर
खोपी मार्ग बनाउदै र कहिले तोड्दै ठूला कन्दरा ।
— ० —
मुक्तिनाथ Continue reading “Hariprasad Bhandari – Kaligandaki”

Hariprasad Bhandari – Uni Surya Lina Gayeka Chhan

१. मध्य रात्रिमा
चारैतिर चकमन्न अध्यारो थियो
कालो बादलले ढाकेको आकाशबाट
चिसो पीठो वर्षदै थियो
सिरेटोको निर्मम प्रहारले
हाम्रा छातीमा ठुङ्दै थियो
खाली धर्तीमा रित्तो आकाश ओडेर पनि
कैयौँ मान्छे सुतेकै थिए
टाडा कतै कराएको स्यालको आवाजले
वातावरणलाई उराठ उराठ बनाइरहेको थियो।

२. त्यसै वेला
उनी उठे
न्याना हातले बसेहै सानी भन्ने संकेत गर्दै
अध्यारो रातमा छाम–छाम र छुम–छुम गर्दै
सर्पको डसाइ र कुकुरको टोकाइबाट बच्दै
एउटा संघर्षशील यात्राका लागि
हिडेका थिए।

३. भन्थे―
विहानको मिर्मिरेसंगै
अन्धकारलाई हटाउन प्रकाश लिएर र
अन्यायका विरुद्धमा संघर्षको मसाल बोकेर
उदाउने छु पूर्व क्षितिजमा।

४. तर कुन्नि किन हो
उनी अझै आएका छैनन्
कतै बाटामा आउँदा कुकुरले झम्टे की
या कतै स्यालको जाल वा
चितुवाको फन्दामा परे की
काँडा र बुट्यानमा अलमलिनु पनि नपर्ने।
मलाई विश्वास छ―
उनी दृढ छन्
उनी शक्तिशाली छन्
त्यसैले,
स्याल र व्वाँसोले रोक्न सक्दै
न उनलाई,
कुकुर र चितुवाले देख्न सक्दैन उनलाई र
झाडी र बुट्नले अल्मल्याउन पनि सक्दैन उनलाई
त्यसैलै सारा बन्धनहरू ताड्दै
सारा अफ्ठ्याराहरू पार गर्दै र
पूर्व उजिल्याउँदै
उनी अवश्य आउने छन्।

५. म देखिरहेकी छु–
पूर्वमा लाली चढ्दै छ
उनी चक्माबाट आगो झक्दैछन् क्यार
आगाका फिलिङ्गा देखिन्छन् कताकती
त्यो त उनको प्रकृया हो,
त्यत्तिले पुग्दैन उनलाई
उनी झन् माथि पुग्नेछन्
अनि प्रमिथस बनेर आगो मात्र होइन
सिङ्गो सूर्य लिएर आउने छन्।

६. राता किरणका प्रहारमा
अन्धकार भाग्ने छ,
बादल फार्ने छ,
सिरेटो हराउने छ र
निलो आकाशमुनिको स्वच्छ धर्ती
मुसुक्क हाँस्ने छ– उनी हाँसे जस्तै
उनलाई कसैले रोक्न सक्दैन
उनलाई कसैले छेक्न सक्दैन
उनी अवश्य आउने छन्
किनकि उनी सूर्य लिन गएका छन्।