Baldev Bhatta – Bayask Ichchha Haru

बलदेव भट्ट -बयस्क इच्छाहरु

मान्छेमाथि मान्छेका पर्खालहरु
यत्र-तत्र साइनाइडको घैंटो बोकेर
सामुहिक आत्महत्याको बिजारोपण गर्दैछन,
मैदानमा निथ्रुक्क भिज्दै मृतकहरुका घरसम्म
छाता माग्न दौडिदैछन एकहुल कालभैरवहरु !

बयस्क इच्छाहरु कामातुर फूलका मैदानहरूमा
आफ्ना भत्केका अनुहारहरु खोज्दैछन
उपसर्ग र प्रत्ययहरुका ऐनाभित्र
आफ्ना इच्छाहरु नियाल्दैछन,
दुर्घटनाका आँखाहरु निला सपनाहरु बोकी
लोभ्याउदैछन सृष्टिका चलायमान पाइलाहरु !

आकारको निम्ति धरातल चाहिन्छ
धरातलबिहिन दाँतको कडापन क्षय हुँदै
ओठका परिधिभित्रै आफ्नो चिहान खोज्दैछ
बिचारहरुको निरीह सहिछाप लगाएर
पूर्णबन्न सक्दैन आकारको धुमिल साम्राज्य!

म एम्बुसका मैदानहरुमाथि
एकहुल मानिसहरुका पदचाप बोकेर दौडिदैछु
मेरो किनारका बालुवाका घरहरुमा
नदिका छालहरुलाई आमन्त्रित गर्छु,
यस बस्तिको नालायक पात्र म
विष्फोटक तर्कहरुसँगै नयाँ बस्तिखोज्दै छु!

तमोरका छालहरूसँग पानीको रंग नियाल्दै
स्वप्निल आँखाहरु सूदुर समयसँग
एकाकार गर्जनहरुको पैंचो मग्दैछ्न,
सुखद दुर्घटनाहरुको घडी पर्खिदै
पुष्पगुच्छाहरुमा लहराउँदो छ
मेरो देशको स्वर्णिम साहित्य !

Baldev Bhatta – Dhrubiya Bipatti Haru

बलदेव भट्ट – ध्रुबिय बिपत्तिहरु

सङ्कटकालिन भूगोलको जीवन-चक्र
धरापमा अभिसापहरु लुकाएर
चियाउँदै छन सुपरब्वाइजका भबिष्यहरु
डढाएर पैरवी आँखाहरुमा ।

रडारको आँकलनमा हिडेका
सर्बनाशी टाइटानिक यात्रीहरु
आफ्नै छातीमा घोपी रहेछन
बिनाशका जहरिला संगिनहरु ।

निलो समुद्र निला सपनाहरुसँग
रगतमा साट्दैछ आफ्नो वासस्थान,
सुनाखरी फुलाएर छातीमा मान्छेहरु
हेर्दैछन चराचरहरुको दाहसंस्कार ।

मैदानको अनुहार फुस्रीदै
जुत्ताहरुको भारी बोकेर,
मृत गोडाहरुलाई
सिकाउँदै छ जीवनको पाठ ।

आफ्ना गरिब सन्ततिहरुको निम्ति
ध्रुबिय बिपत्तिहरु जम्मा गर्दै
आजको रातो शिकारमा
क्रुर नियति पस्किइ रहेछन अभियन्ताहरु ।

Baldev Bhatta – Kalam Ka Mithakharu

बलदेव भट्ट – कलमका मिथकहरु

आफ्नै अनुष्ठानहरु भित्र
बर्षौंसम्म निम्छरो भजनगीत गाउदैं आएको
‘सेरेमोनियल’ राष्ट्रिय साहित्य
उत्तरआधुनिक चँदुवाहरुमा बेजोड देखिएको छ ।

खोरेतयुगिन फोसिलहरु
पतझडको Continue reading “Baldev Bhatta – Kalam Ka Mithakharu”

Baldev Bhatta – Yestai Ho Bhane

बलदेव भट्ट -यस्तै हो भने

एक सय चार वर्ष राणाले देश चलाए
आफ्नो ढुकुटी भरे जनता नाङा बनाए
तीस बर्ष पञ्चे आए ती अघाए
त्यसपछि ऊ आयो सबै आए ।
तिमी जङ्लमै थियौ भन्यौ-
ती सब फटाहा हुन
देश मैले चलाउनु पर्छ
जनतालाई फकायौ
तिम्रो मुक्तिदाता मै हो भनेर
हो त , तिमीलाई पनि चुनेर पठाए
समय कुद्दै गयो
तिमी पनि
धेरै दिन सिटमा बस्न सकेनौ
तिमीले भनेऊ- फेरी हाम्लाई लखटे
अहिले फेरि उनीहरु छन
देश चलाउनमा ।

उहिले पञ्चायत कालमा ती पनि
त्यसै भनेर आएका थिए
वाचा गरेर अर्कै काम गर्नु
जनता मर्न दिएर आफू मोटाउनु
सबैले यही देखे यही सिके
प्रजातन्त्र लोकतन्त्र गणतन्त्र
गजब गर्यौ सब आफ्नै तन्त्र बनायौ
नत्र त अलिकति तिम्रा पालामा
जाजरकोटमा झाडापखालाको औषधि
पुगेको हुनुपर्ने हो
देशको सिमाना मिचिदा, तिमीलाई पनि
छटपटी हुनुपर्ने हो !

झगडा गर्नमा भागबण्डा लगाउनमा
आफ्ना पराइ छुट्याउनमा ब्यस्त रह्यौ
काम भन्दा कुरानै फलाक्यौ
यस्तै हो भने किन मान्छे मार्नु
जनतालाई दु:ख दिनु
के क्रान्तिका कुरा गर्नु
अबबाट आऊ सबै
आफू खाने कुरा गरौं
छोरा नभए छोरी खुवाऔँ
जनता मरे के भो,
देश त्यही
सत्ता चलाउनु न हो
पातकीहरुले!