तिमीले हेरेको क्षण
मलाई
मौनता मनपर्छ
मौनता
सिर्जनाको प्रस्थान विन्दु
यहीँबाट
सुन्दर सँगीतको प्रारम्भ हुन्छ
मौनता
आत्माको अनन्त गहिराइ
यहीँबाट
प्रेम अङ्कुरण हुन्छ
मौनता
प्रेमालापको उद्गम स्थान
यहीँबाट
निशब्द वार्ता हुन्छ
तिमी हेरिरहु
तिमीले हेरेको क्षण
मलाई
मौनता मनपर्छ ।
Tag: Nepali Poems By Abhas
Abhas – Dhane : Euta Kavita
धने
बञ्जर भूमी खन्छ
जोत्छ र उमार्छ बीउहरु
बीउसँगै उम्रन्छ धने
फक्रन नपाउँदै
उसको खेतमा
उसको जिन्दगी उम्रने खेतमा
साँढे पस्छ र चपाउँछ उसको पूरा जिन्दगी
फेरि
बेला नहुँदै ओइलाउँछ
मात्र ओइलाउँछ धने
पैह्रो जान्छ उसको हृदयमा
जिन्दगीका पाटा पाटामा पैह्रो जान्छ
ओठमा
आँखामा
सपनामा
चारैतिर पैह्रो जान्छ
उसका स–साना
नानीका नानामा पैह्रो जान्छ
हरेक बिहान र हरेक साँझको
खानामा पैह्रो जान्छ
पटक पटक बन्ने प्रयत्नमै
भत्कन्छ धने
मात्र भताभुङ्ग हुन्छ
कान्लो लड्छ र उ पनि लड्छ
असिना वर्षन्छ र उ पनि चुटिन्छ
तै पनि
पूर्वको लालीसँगै
उठ्छ धने
कुटाले भुईँ खोप्छ
र आफैंलाई माटोमा
रोप्छ धने।