J B Sherpa – Yahan Kahan Aai Puge Ma

जे बी शेर्पा – यहाँ कहाँ आइपुगें म

कहाँ म त्यों स-ह्रृदयी मुस्कानहरू र हाँसो हरु बिर्सेर !
कहाँ यहाँ पराय अनुहारहरू को भिडमा एक्लै !
जहाँ मुस्कान हरु बनावटी अनुहारमा सिमित हुन्छ !

कहाँ म भिर पाखाको माटो खेल्दै खाँदै को सम्झना बोकेर !
कहाँ यहाँ दूषित माटो हरुमा पसीना चुहाउँदै !
जहाँ जिन्दगी यन्त्रवत हुँदो रहेछ !

कहाँ म नाता , आफन्तहरू को न्यानो भीड़ छाडी !
कहाँ यहाँ चीसा गल्ली हरुमा आफन्त खोज्दै !
जहाँ आफन्तपन आफैं मा सिमित हुँदो रहेछ !

कहाँ म नाति पनाती हरु संग रमाउने बा आमा छाडेर !
कहाँ यहाँ कुकूर र बिरालो संग रुने र रमाउने हरु बिच !
जहाँ जीवन एउटा व्यक्तिगत स्वतंत्रता मा सिमित रहन्छ !

कहाँ म निर्धक्क बोल्दै , सुसेल्दै गाउने मान्छे !
कहाँ यहाँ हाच्छिउँ लाई पनि नाक भित्रै दबाउँदै !
जहाँ कुकूर पनि भुक्न र टोक्न विर्सन्छ !

कहाँ मेरो सेतो हिमाल, हरिया पहाड़, र खर्क डुल्ने मन !
कहाँ यहाँ कंक्रीट को जंगल र मोटरको बाढी बिच !
जहाँ प्रकृतिमा पनि कृत्रिम सौन्दर्यता देखिन्छ !

कहाँ म कोइली को कुहू कुहू … सल्लाघरीको स्यांइँ स्यांइँ अनी मन्दिर
र गुम्बा को टिङ टिङ आवाज छोडी !

कहाँ यहाँ अल्राम, एमवुलेन्स, पुलिस र दमकल का कर्कश साइरन बिच !
जहाँ यस्तै आवाज प्राकृतिक र दैनिकी हुन्छ !

कहाँ म मेरो गाउँ को लाला…!!! ..लैलै …!!! र ऐ कान्छी
!! भुल्दै !
कहाँ यहाँ टेक्नो , रयाप र साल्सा हरुमा बटारिँदै !
जहाँ स्वस्फूर्त तरंगहरु , सुसेलीहरू कोठाहरू भित्रै कैद हुन्छ !

सोच्छु….. ! यहाँ कहाँ आई पुगेँ म ?

Bhim Darshan Roka – Nadi Kinaar Ma

बितोस् सन्ध्या मेरो एक नदीको किनारमा
होला घाम पश्चिमी बादलको पुछारमा
डुबेको होला वन र पाखा झिंगुरको झङ्कारमा
डुबेको हुँला म पनि एक गहिरो विचारमा
बितोस् सन्ध्या……..
पन्छीहरु सबै जालान् आफ्नो आफ्नो वासमा
एक्लै हुँला तर म त्यहाँ टाढाको आशमा
बितोस् सन्ध्या………
चिसो बतास आई फकाउला मलाई
तब उदय होला तारा मेरो पूर्वको दुवारमा
बितोस् सन्ध्या……
बादलको झ्यालमा जून झुल्की आउनेछ
ताराहरुले गीत एक नयाँ गाउनेछन्
आएर मेरो भविष्यको संसारमा
बितोस् सन्ध्या………
गुन्गुनाउनेछु म पनि हुँदैन हार मलाई
यद्यपि बित्दछ यो जीवन मेरो हारैहारमा
बितोस् सन्ध्या……….

Mani Lohani – Jeevan Ko Reet

मणि लोहनी – जीवनको रीत

छाडेर गए पनि तिमीले
दुःख लागेन मलाई ।

यो हाम्रै मनजस्तो कहिल्यै नअडिने पृथ्वी पनि
एकछिन त अडिएजस्तो लाग्यो
विरुपाक्षजस्तो टक्क रोकिएर समयले
धारेहात लगाइरहेझैँ लाग्यो
छाडेर गएपछि तिमीले
भगवान् पनि तिम्रै साथमा उभिएर
मलाई सरापी रहेझैँ लाग्यो ।

छाडेर जाँदा तिमीले लिएर गएकी थियौँ
मेरा ओठका खुसीहरू
सपनाहरू मेरा आँखाका
लिएर गएकी थियौ मेरा चौडा छातीका साहसहरू
र बाँकी थिए मसँग
पीडाकै पाइलाजस्ता कलेँटीहरू ओठमा
नपुङ्सकको पत्नीको श्रापझैँ आँसुहरू आँखामा
र गडेथ्यो छातीमा, आफैँसँग हारेको मानिसको अनुहारजस्तो दुःख ।

छाडेर गएपनि तिमीले
दुःख लागेन मलाई ।
हामीले छोएको र देखेको मात्रै
सत्य रहेनछ
सँगै हुनु र रमाउनु मात्रै पनि
जीवन होइन रहेछ
हो, जसरी हाँस्यौ नि तिमी मेरो अँगालोमा
हो, जसरी अग्लिए नि म तिम्रा सपनाहरूसँग
यी सबै पनि पूर्ण रहेनछन् ।

कोही हुनु, नहुनुले
कहाँ रोकिदोरहेछ र यो घुमिरहने पृथ्वी
कसैको हुनु, नहुनुमा
कहाँ अडिदोरहेछ र यो बगिरहने समय ।
सँगै हुँदा हामीले
कपडाजस्तै फुकालेर आफ्ना अहमहरू
एकसाथ नबाँचेका पनि होइनौँ
बेपरवाह छाडेर आफ्ना खुसी र रहरहरू
एकअर्कालाई न्यानो नबनाएका पनि होइनौँ
ओच्छ्याएर आफ्नै छाती मैले
तिमीलाई दुःखहरूबाट सुरक्षित राखेको पनि हो
समातेर मेरो पाखुरा
संसार बैरी हुँदा तिमी मेरो पक्षमा उभिएकी पनि हौ ।
र पनि यस्तै भयो
सँगै हुन सकेनौँ हामी ।
भेटिनु र छुट्टनु
एउटा प्रक्रिया रहेछ
जसरी पलाउँछन् पातहरू रुखबाट
जसरी र्झछन् पातहरू रुखबाट
यो एउटा सिलसिला रहेछ जिन्दगीको
कहिल्यै नअडिएजस्तै पृथ्वी
कहिल्यै नरोकिएजस्तै समय
एउटा रीत रहेछ जीवनको ।
तिमीसँग छुट्टएिको वर्षौंपछि
आज मैले बुझें
छुट्टनिकै लागि भेटिएका रहेछौँ हामी ।
छाडेर गए पनि तिमीले
दुःख लागेन मलाई ।

Mahesh Regmi – Anshu Ko Rumal

महेश रेग्मी – आँसुको रुमाल

तिमीले हिँडेका बाटोहरू हेरेर चित्त बुझाउँछु
तिमीले हिँडेका बाटोहरूलाई स्पर्श गर्छु
तिमीले नाघि गएका पहाडहरूको अभिनन्दन गर्छु ।
अब पहाडहरूलाई प्रेयसी भन्न थालेको छु
रुखलाई Continue reading “Mahesh Regmi – Anshu Ko Rumal”

Rakesh Karki – Laash Haru

इन्जिनियर राकेश कार्की – लाशहरु

गरीबी भित्रका लाशहरु
कुनै मरिसके
कुनै जिउँदै छन्
तर लाश भएर

सास फेर्न पाए पो
बाँच्लान ति लाशहरु
पसिनाको मूल्य पाए पो
जन्मेलान् आशहरु

भोकै छन् लाशहरु
बाँचे पनि मरे पनि
रोएकै छन् लाशहरु
रुवाउने हाँसे पनि

लाश माथि बाँच्नेहरु
दुर्गन्धमै बाँचिरहेछन्
ऐश आरामको नशाले
गन्धलाई भुलिरहेछन्

अघाएका बलिष्ठ हात
गाँस खोस्दै घिचिरहेछन्
लाशको गन्ध झैं
डकारेर गन्हाइरहेछन्

करोडौं लाशहरु
अझ लाशै छन्
तिन्का आशहरु
पनि लाशै छन्

लाशले मसानमै
जन्म लिनु परेको छ
शक्ति सबै गुमाएर
मसानमै लड्नु परेको छ

– उपाध्यक्ष / अनेसास लस् एन्जेलस् च्याप्टर / लस् एन्जेलस्

Rajab – Kharab Satta Ko Itihas

हिजोका
समाचारका खराब मानिसहरू
सत्तामा गइसके
राम्रा भइसके
यसैले
आजका खराबहरू पनि
सत्तामा जाने छन्
र इतिहासमा राम्रा लेखिने छन्
किनभने
इतिहास लेख्नेहरू
खराबहरूले बाँडेको पदमा छन्
र पद हुनेहरू
खराब सत्ताको इतिहास
राम्रो लेख्छन्

Manoj Bogati – Seema

त्यो कोमल फूलमा बस्छ
नङ्‌ग्रा बोकेको भवँरो।

गौरी भाउजुले गाइरहेकी त्यो भद्दा गीतको
कम्मर भॉंचिएको जीउ
सधैँ
पग्लिएको आँखाको चेपबाट हेर्छ
रत्ने दाज्युको बैंश।

मान्छेको शरीर प्लास्टिककै त हो
जो आगोले खुम्चिन्छ।
आगोले के छोड्छ ढुङ्गालाई
हिँउ त कोमल हुन्छ
न सुन कठोर हुन्छ।
आगो?
आगो न कोमल हुन्छ न कठोर हुन्छ।

त्यो फूलमा लागेको आगो देख्छ भवँरा
गीतको झिल्काले ढड़्‌छ रत्ने दाजु।

जब पग्लनु पर्ने समय हुन्छ
त्यसलाई कुनै बॉंधले रोक्दैन।

Sandhya Regmi – Balnu Ra Jalnu Ko Mahima

सन्ध्या रेग्मी – बल्नु र जल्नुको महिमा

जीवन यदि नबल्दो हो त
तिमी भित्रको प्रकाश कसरी विस्तारित हुन्थ्यो
जीवन यदि नजल्दो हो त
तिमी भित्रबाट सुवास कसरी प्रवाहित हुन्थ्यो ।

संसारमा जन्मेपछि तिमीले जीवनको चुनौती स्वीकार गर्नैपर्छ
जति दुःख पाए पनि तिमीले यात्राको गति कायम राख्नैपर्छ
धरतीमा एकैपटकको उपस्थितिलाई पछिसम्म जनाउ दिनैपर्छ
अरबौ“को जनसङ्ख्यामा तिम्रो जन्मको पनि औचित्य हुनैपर्छ ।

तिमीले समाजमा एउटा संवेदना छोड्नैपर्छ
तिमी इतिहासमा एउटा सत्पात्र बन्नैपर्छ
तिमी भित्रको दन्क“दो प्रतिभाग्निले जगत बल्नैपर्छ
तिमी भित्रबाट उदाउ“दो सूर्यले रोशनी छर्नैैपर्छ ।

पाइला यदि नचल्दो हो त गन्तव्यको के आभास हुन्थ्यो
सङ्घर्ष यदि नहु“दो हो त सफलताको के मिठास हुन्थ्यो ।

तिमीले अग्निस्नान गर्नुपर्छ, तिमी ज्वालाको प्रवाहमा बग्नुपर्छ
तिमीले अग्निदीक्षाबाट लिनुपर्ने शिक्षा पनि यही हो
जीवन हात फैलाएर माग्ने दयाको भिक्षा होइन
जीवन त सूर्य झै“ चम्किलो ज्योति छरेर बल्ने इच्छा हो ।
बल तिमी पनि मैनबत्ती झै“ आलोक छरेर
जल तिमी पनि अगरबत्ती झै“ बासना छरेर
आजको तिम्रो बल्नुको प्रभाव भोलिको उज्ज्वल जीवन बन्छ
आजको तिम्रो जलनको पीडा भोलिको निम्ति सुगन्ध बन्छ ।

जीवन यदि नबग्दो हो त नदीमा के तर¨ हुन्थ्यो
जीवन यदि नदुख्दो हो त जिउनुको के उम¨ हुन्थ्यो ।

तिमी बल्न छोड्यौ भने सूर्य मर्छ, जीवन निभ्छ
जति तिमी बल्छौ त्यति नै चहक जीवनमा आलोकित हुन्छ
जति तिमी जल्छौ त्यति नै महक तिमीबाट प्रवाहित हुन्छ
बल्दै र जल्दै सकिनुमा नै तिम्रो विशेषता प्रमाणित हुन्छ ।
निभ्नु त छ“दैछ छ“दैछ आगो झै“ बलेर निभ
डुब्नु त छ“दैछ छ“दैछ सूर्य झै“ बलेर डुब
जीवनको अ“ध्यारो खाडलमा अज्ञात भएर होइन
उष्णता र जागरणको प्रभात भएर निभ ।

पूmल यदि नझर्दो हो त फुल्नुको के धर्म हुन्थ्यो
मानिस यदि नमर्दो हो त बा“च्नुको के मर्म हुन्थ्यो ।

Harihar Dahal – Bighatit Nahunu Parne Thiyo Timi

आशाले बाँचेका मनका भित्ताहरुमा-
झुटा आश्वासनका पर्चाहरु टाँगेर,
भाबाबेशमा-संबन्धका सर्तहरु बिर्सिएर
नयाँ गन्तब्य,
नितान्त फरक यात्रा थालिछौ।

बाटाहरुमा,
आहात् नेत्रले निर्निमेश हेरिरहेछु।
समय,ओईलिएर चाउरिरहेछ।
म त सम्झौतापूर्ण अनुक्रममा थिएँ।
किन भङगालिनु पर्थ्यो यात्रामा ?

अभाब र गरीबि मात्र,
जीवन कहाँ हुन्थ्यो होला र!
भरोशा गर्नु पर्थ्यो-मेरा कोशिसहरुमा।
विश्वाश गर्नु पर्थ्यो-मेरा परिश्रमहरुमा !
आत्मासँयमतालाई अलिकति,
बढाएकै भए पनी त हुन्थ्यो |
महत्वाकांक्षालाई थोरै,
दबाएकै भए पनि त हुन्थ्यो |

बिभक्त मनहरु- घायल छन
पुराना चोटहरु-
आलो घाऊ बनेर चर्किरहेछन्।
असम्मतीपूर्ण प्रस्थानले,
पिंडा भोगिरहेछु।

जीवन-दरिद्रतामा बाँच्ने निस्चितता नै के थियो र!
भबिस्य-उन्माद हाँसो हाँस्थ्यो होला!
भबिस्य-सफलताको उत्सब मनाँउथ्यो होला!
कती हाँसिन्थ्यो होला खुशीहरुमा-सँसगैं!

बिचलित् नहुनु पर्ने थियो बचनमा|
न भङ्गालिनु पर्थ्यो यात्रामा।
बिघठित् नहुनु पर्ने थियो तिमी जीवनमा ।

Komal Bhatta – Budhesh Kaal Le Chhoyo Aba (Nepali Gajal)

कोमल भट्ट – बुढेसकालले छोयो अब (गजल)

बुढेसकालले छोयो अब दुवै गाला चाउरी परे
आयु पनि सकियो कि सबै छाला चाउरी परे

सम्झनलाई गाह्रोभयो स्मरण शक्ति हराएर
विस्मृतिले गर्दाखेरी जीउका चाला चाउरी परे

आँखाभरी Continue reading “Komal Bhatta – Budhesh Kaal Le Chhoyo Aba (Nepali Gajal)”

Prakash Sayami – Ma Apad Ma Timi Sita Hinde [Nepali Gajal]

म आपदमा तिमीसित हिँडे
म सापटमा तिमीसित हिँडे

हिँड्नेहरु कहाँ कहाँ पुगे खै
म राहतमा तिमीसित हिँडे

नदीको वेगसरिको जवानी यो
म चाहतमा तिमीसित हिँडे

के नगद के बाँकी पिरतीमा
त्यै वापतमा तिमीसित हिँडे

घाउ दुखेसरिको पीडामा छुँ
म आहतमा तिमीसित हिँडे

Ram Prasad Prasain – Mathi Tira Bagchha Eenwa Khola

रामप्रसाद प्रसाईं “आशुतोष आंशु” – माथितिर बग्छ ईंवा खोला
(The River Eenwa Flows UPWARDS)

बादलुको घुम्टाहरूले
धुमधुम्ती धुमिइएका
धुम्म क्षितिजहरूको संयोगमा
मुसुक्क मस्किंदै
सिँहलीला, फालोट र तिम्बुपोखरीहरू
तयारीमा छन् सद्भाव चुम्बनमा
कञ्चनजङ्गा, सिदिङ्ग्मा
र पाथीभराहरूसंग


तल
तल तल
तल तल तल
बस्तीहरूमा पनि
तल् तल्
लत

लागेको छ
शिक्षाको, रोजगारीको,
म्याद गुज्रेकै भए पनि
सिटामोलको, जनजीविकाका
नाङ्ला र नाम्लाहरूको अनि ह…ह… र
होरा होराले कुहिरीमण्डल पाखा, पखेरा र बस्तीहरूमा
मानो पाथी बेसाउन हिँडेका आमाहरू, अँगेरीका
पातभरि बेरेका काँचोपातका खिलीहरू
चुरोट र बिंडीका धुँवाका
अर्धपारदर्शितामा
खि
लि

एका
श्यामस्वेत आकृतिहरू,
आवेगहरू, विश्वास र
विद्रोहका
भारीहरू
मानौं,
टारबारी दिनभरि जोत्दा
नमेटिइएका राँटाहरू हुन्
घाँसका भारीसंग रसाएका पसिनाहरू
कोदाला र गैंतीका एकहोरा विलापहरू
गाउँबस्तीमा चुलो नबल्दा,
धुरी नधुवाउँदा
घर बस्तीबाट
चियाइरहेका भोका अबोधपनाहरू
घाँटीभरि घण्टी झुण्ड्याइएका
र भाकल गरेर चढाइएका
चञ्चल बाख्राका पाठाहरू
कोक्रोमा सारा संसार
खुम्च्याइएका
बोली नफुटेका अबोध नानीहरू
मानवताको नरमेधमा परेड खेल्न
ब्यस्त घोडाका टापहरू
गड्याप्प गड्याप्प गड्याप्प
गड्याप्प गड्याप्प
गड्याप्प
गड्
याप्

उच्चताग्रन्थिले ग्रसित
सामाजिक स्वास्थ्यका ‘कोलस्ट्रोल’हरू
सत्कारक र तस्करहरू
भोका चखेवा र मुख बाइरहेका
चँचेरा बचेराहरू र टियुराहरू
अ/कथ्य
अ/लेख्य
अर्ध/ठोस
सरलताभित्रका जटिल दलीलहरू
जटिल नजीरभित्रका सरलताहरू
इतिहाँसका तमोसुकमा
न/लेखिइएका ब्याज, स्याज, सावाँ
अनि सबै हर्जानाहरूबाट
मुक्तरूपले गाँजिइएका
अ/ब्यबस्थाका
भड्खाराहरू
टुलुटुलु
हेरिरहन्छ—
मान्छेहरूको बीचमा मान्छेले श्रृजेको बाँध/बन्धनलाई
हाम्रा आशा र आस्थाका रैकरहरूको
भोगचलनमा भएका त्रुटिहरूलाई
युगको धरहरामा चेतनाको
दियाले डाँडा पिर्लिक्क
पिर्लिक्क
हेर्छ—
विरासतैबाट
शिर धसेको
इनार पीँधको
भ्यागुतो जस्तै,
समयको अन्तरालमा
चिलिम तान्न
ठीक्क परेका स्मृतिहरू
भकाभक
झ्वाम्म झ्वाम्म
झ्वाम्म
हाम फाल्दैछन्
दिलका डीलहरूबाट
मनका मिनारहरूबाट
सपनाका गजूरहरूबाट
प्रत्येक बिहानीमा
लालिमा फक्रिनु अघि
ताराहरू खसेझैं
पिलिक्क पिलिक्क
पिलिक्क
अनि
पुच्छ्रे ताराहरू
मध्याकाशमा
स्याट्ट सुट्ट बिलिन भएझैं
पवित्र प्रेमको प्रेमिल अनुभूति
अस्वीकृत
गीताङ्गे सभ्यताको
संगीत
अनन्त जीवन
अन्तहीन
युगीन वन्दना
रगताम्मे फुलेका
समयका टुक्राहरू
यस्तै यतै
अ/सामयिक पहिरन
सस्तो मूल्यमा
बेचिरहदा,
चर्को दरमा खरिदिरहेछु
जीवन
पर्खदा पर्खदै
‘गोडोत’*हरूलाई
सडक छेउमा
स्तम्भित भएका
ल्याम्पपोष्टहरू
स्त्रीका स्तनहरूमा ग्लोबहरू
अनि
ग्लोबहरूमा स्त्रीका स्तनहरू
नदी, किनार र हिमालहरू
सापेक्षताका विकर्णले
बीचैमा छेदित
दुई
त्रिभुजहरू
एक सिंगो
चतुर्भुज
ईंवा खोला
यसरी नै बगिरहन्छ
अ/मूर्त
ज्यामितिका
बक्र र सरलरेखाहरूमा
आवर्तित र परावर्तित
दुम्लाका धानखेतहरू
दोभाने मेलाका भेलाहरू र
साठी मुरेका पेटी हुँदै
मनका गोलार्ध्दबाट भूमध्यरेखामा
खग्रास र खण्डग्रास
ग्रहण लागे भने
मोतियाविन्दुहरूलाई
राखिनेछन्-—
युग र चेतनाबोधका
शल्यक्रियाका सघनकक्षहरूमा
स्मृतिका बहारहरूमा, बहावहरूमा अनि बगरहरूमा
छेलोखेलो गर्दै
ईंवाखोलाका छालहरूमा
सुस्केरा हाल्नै पर्ने भो—
त्यसैले अब महासागरहरू,
हिन्द महासागर
गंगानदीहरू, सप्तकोशी
तमोर, ईंवाखोलाहुँदै सिदिङ्गमाबाट
कुम्भकर्णहुँदै पाथीभरा भाक्तै श्रीजङ्गका प्रतापहरूले
अबईंवाखोलामाथितिरबग्दछसलललमाथिकञ्चनजंगाकाशिरबिन्दुभन्दामाथि

* Waiting for Godot by Samuel Beckett

सेप्टेम्बर ११, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल । अबुधाबी श्रमशिविरबाट।

[Sent to Sanjaal Corps via Email]

Ashok Parthib Tamang – Timro Samu

अशोक पार्थिव तामाङ – तिम्रो सामु

भन्ने र मान्ने पद्दतिको लहलहैमा
बिना कुनै अन्वेषण समाहित भएर हावा झैं उडेको भए
हजारौं चिसा कंक्रिटका मुर्तिहरूलाई आस्थाको नाममा
यदि पुज्दै म फुलमाला र खादा लाउँदो Continue reading “Ashok Parthib Tamang – Timro Samu”

Manoj Kafle (Mansoon) – Mayako Pareli Tarera Hajurle

मायाको परेली तरेर हजुरले
मनैभरी उमंग छरेर हजुरले

टोलाएर हेरे यी मेरा नयेन
बोलाउदा सम्बोधन गरेर हजुरले

फुलको थुंगा पहिलो भेटमा
दिनु भो बेशी झरेर हजुरले

सासैमा कुन्निके भनेझैँ लाग्यो
मलाइ अंगालोमा भरेर हजुरले

आँखामा आँखा जुधाउनुभो अनी
अझ करिव मेरो सरेर हजुरले

मनसुन

Gopal Prasad Rimal – Jangi Nishan Hamro

रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो ।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो ।।
हिमालझैं अटल यो, झुकेन यो कहिल्यै ।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो ।।
यो जन्मँदै जगत्मा कैयौं प्रहार आए ।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो ।।
जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन् ।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो ।।
गाईसरि छन् साधु जोजो यहाँ जगत्मा ।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो ।।

Kshetra Pratap Adhikari – Haiku Yatra

क्षेत्रप्रताप अधिकारी – हाइकु यात्रा

थुम्का मुन्तिर-
सुरुङभित्र सानो
तामाको टुसो ।

कुरैकुरामा
तामा खाने तिर्सना
ओइलाएछ ।

ठूल्ठूला ताल –
तालमा समागम
खहरेहरू ।

अगम्य सेती –
सेतीमाथि सुकला
महेन्द्र पुल ।

गाउँलेबाला –

छातीमा चिटिक्क छ
नौगेडी माला ।

ह्याङ्जाली पाखा –
पाखामा राम्रा आँखा
आँखामा सान ।

सानको स्पर्श-
मान्छेभित्र उजेलो
नयाँ बिहानी।

सालीको भट्टी –
तातेको तिनपाने
मातेको बैंस ।

Nawaraj Subba – Chhati : Dui Abhibyakti


सबैको यो छाती भित्र
केही रहर हुनसक्छ
कस्तै हुरी बतासमा पनि
यही छाती भित्रै अँटाई दिनु
सायद यही छातीले नै
हरेक प्रहार छेक्न सक्छ ।


कसैको पीरको तीर
लागेको छ यो छातीमा
फेरि, तिमी को हौ ?
कसैको प्यारो तस्वीर
लुकाएको छु यो छातीमा ।

Tanka Subba – Ma Euta Yatri Hun

टंक सुब्बा – म एउटा यात्री हु

जन्में हुर्केर सृष्टिको श्रृखलामा
कर्तव्य बोध भए पछि
अन्तहीन सपनाको वस्तीबाट
पोख्दै रङ्गीन विचारहरु चेतनामा
गोरेटाहरु छाम्दै प्राप्तिको लागि गन्तव्यमा
सम्झौताको वेगवान नदीहरुमा
शुभमुहुर्त गरेको छु जीवन यात्रालाई
जुन यात्रा साकार पार्न
हिंडेको म एउटा यात्री

समयको तन्दुरुस्त घोडाहरु माथि
आसिन भएर
धकेल्दै जादा जीवनरथ
कहीं बग्दै जान्छ सलल पानी झै
कहीं मोडिदैं जान्छ विकट भै
कहिले उज्यालोमा कहिले अध्यारोमा
कहिले एकान्तमा कहिले समूहमा
कहिले हासोमा कहिले रोदनमा
गुज्रदैं जान्छन् ती क्षणहरु
यी क्षणहरु किन नहोस् असम्भव
चाल्न थालेको छु उत्साह वाधेर पाइलाहरु
जुनपाइला सफलतामा टेकाउन
हिंडेको म एउटा यात्री ।

असीमित यात्राहरुको दौरानमा
उभ्छन् अग्लिएर बाधाका पहाडहरु
असीम वेदनाको सागरमा
अनायस थपिनु पुग्छन् नीरका थोपाहरु
पर्खदा पर्खदैं गोधुली साझमा
अस्ताउन पुग्छन् निर्मम दिनहरु
समयको उतारचढावमा
विछोडिदै जान्छन् सहयात्रीहरु
विवशताको बज्रपातमा
टुट्दा रहेछन् धैर्यताका बाधहरु
छुट्दा रहेछन् कसम खाएका वाचाहरु
तर पनि
घाइते भएको मनलाई
घिस्याउनु पर्दोरहेछ विश्वासको वैशाखी टेकेर
असहज बन्दारहेछन् यात्राहरुमा
सहज देखिएका गोरेटाहरु
त्यसैले चपाउन थालेको छु कठिनतालाई
जुन कठिनता सहजै पार गर्न
हिंडेको म एउटा यात्री ।
बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु
टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु
भङ्ग हुने छैनन् मोहमा बाधिएका मोक्षहरु
मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु
त्यसैले बुन्न थालेको छु यावत सपना
जुन कठिनता सहजै पार गर्न
हिंडेका म एउटा यात्री ।

बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु
टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु
भङ्ग हुने छैनन मोहमा बाधिएका मोक्षहरु
मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु
त्यसैले बुन्न थालेको छु यावत सपना
जुन सपनालाई जीवन्त पार्न
हिडेको म एउटा यात्री हु ।

Mina Bantawa ‘Mridu’ – Ek Choti Aayo Yesto Mod [Nepali Muktak]

एक चोटि आयो मेरो जीवनमा यस्तो मोड!
आफूले चाहँदा-चाहँदै पनि ऊसँग भयो बिछोड!!
मैले उसलाई जीवन बलिदान दिन नखोजेको त हैन!
तर एक्कासि आयो आँधीबेहरीको ठुलो स्वर!!

Manoj Bogati – Ring Tone Ko Desh

मनोज बोगटी – रिङटोनको देश

-हेल्लो…
-क्याफेमा?
-ओके, ल ल…

***

मल्टिकलर्ड हेल्लोहरूको
माकुरी जालबीच
मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई
जीउ जोगाउन साह्रो
यो रिङटोनको देशमा।
गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र
बिलाइरहेछ
रायोको साग उम्रिने गाउँको सातो।
कति छिटो उभियो हँ
हेल्लोहरू कै ईंटाले
गाउँको ढुकढुकी।

बाख्रा खान पल्केको चितुवा बस्ने डॉंड़ामा
टावर बस्छ
त्यसले बाख्रा मात्र खॉंदैन
मान्छे पनि खान्छ।

कति छिटो पुग्यो निर्माण र पतनको सङ्घारमा
गाउँको अर्ग्यानिक संस्कार।

न अक्षर न आवाज
न गोर्खाको रह्यो
न बङ्गालीको, बिहारीको न अङ्ग्रेजको
हिन्दु ईशाई न शिखको।
यो ग्लोबल भाषाको रक्सी पिउन पल्केदेखि
लोकगीतहरू
शोकगीत जस्तो बज्न थालेको छ।

कसैसित रहेन आवाज
आफ्ना आवाजहरूको रङ बसेन अनुहारमा।
आवाज र अक्षरहीन संवेदना
फना उठाएर घिस्रिरहेछ
एलसीडी ग्लोबमा।

बिहानै आइपटले गाउने
भजन
गाउँभरि डुल्छ। बिजुली छ भने मात्र पूजा हुन्छ।

भजनको भॉंच्चिएको जीउभरि सल्बलाइबस्छ
उपभोक्तावाद।

घर-घरको छाना हुँदै
सर्दै आइरहेछ
असम्वेदित्‌ सलह सभ्यता
मल्टिकल्चर्ड झण्डा बोकेर।

स्कुसको जरा र फर्सिको मुन्टा
कुखुराको सुलीले बॉंचेको डल्ले खुर्सानीको सम्झना
आह!
अझ पनि
कति बल्झिन्छ शहर पसेको गाउँलाई।

आह!
कति साह्रो पर्छ अचेल
आँगनका दुबोहरू टेक्दै-टेक्दै
नागबेली बाटो ओहोर-दोहोर गर्नु
गाउँ फर्केको शहरलाई
फिता चुट्टिएको चप्पलमा।

ठूलो मल्टिकलर्ड झोला भिरेर
रिङटोनहरूको फेरी बजाउँदै आइपुग्छन्‌
अम्बानीहरू
घरै दैलोमा।

कति गाह्रो छ अहिले वेदलाई लाज राख्नु।
ग्रन्थबाट एलसीडीमा घुस्रिएका मन्त्रहरू
ट्याटु खोपेको पाखुरा देखाउँदै बस्छन्‌।

सेल्फोनिक मनको भित्ताबाट उप्किदै झर्छ र मर्छ
संवेदनाहरू
एसएमएसको लिलिपुट अक्षरहरूले लेखिन्छ जीवनको नयॉं संस्करण।

( उः अर्जुन
एसएमएस गर्दैछ।)
एलसीडीभरि पोखिएको पुरूष
थाहा पाउँछे उर्मि।

असंवेदित्‌ अनुहारको छॉंया दलेको नयॉं किताब पढ़ाउन
कसले ठड़ाएका हुन्‌
गाउँको चिसो हावा बग्ने डॉंड़ा-कॉंड़ा
टावरे स्कूलहरू?

हेर्नुहोस्‌ त
देशको माटोको रानीमासुमा नै मुख गाड़ेर
घाउ नै घाउ बनाइरहेका छन्‌।
कस्तो टोक्ने
इकोनोमिक डॉंठहरू हुन्‌ ती।

छोरीले सिकरभित्र बिस्तारोस्वरमा आइलबयू भनेको सुन्दा
बाहुनी बोजुले किन खोतलेका होलान्‌
पुराना चिठ्‌टीको त्यो पोको?

कसरी छुट्टियो नि संवेदनाको नाता पनि
ढिलो नढिलो ढुकढुकिने लामो केश पाल्ने चिठ्‌टीलाई
फर्किएर पनि हेर्दैन सबैतिर चिरिएको जिन्स लगाउने त्यो एसएमएसले।

सबै आ-आफ्नो झण्डा बोकेर बस्ने त्यो ग्लोबलभिलेजमा
कसैले मोइ पार्छ कि
यो संक्रमणको तिर्खा मेट्‌ने।

ए सॉंच्ची
पाठक तपाईं कुन दलको?
रिलायन्स कि एयरटेलको ?