Shyamal – Waripari

देशे बेचेर आफ्नो छोरालाई घडेरी किन्नेहरु छन् वरिपरि
अर्काको काँधमा चढेर सगरमाथा आरोहण गर्नेहरु छन् वरिपरि
जोताएर तमाम मानिसहरुलाई किसान बन्नेहरु छन् वरिपरि
भोक्दै छु एकनाससँग
मलाई लुछ्दै गइरहेका किर्ना, जुम्रा र बिच्छीहरु झैं
केही बाबुहरु छन् वरिपरि ।
हावामा झुलिरहेछन् प्लाष्टिकका रङ्गीन फूलहरु
र जबरजस्ती चुँडिएर
पूजाकोठाको मूर्तिमा चढाइएका छन् सृष्टिका सुन्दर शिशुहरु
परन्तु निःशब्द मानिसहरुको लाटो भीड छ वरिपरि
निहत्था आमाहरुको जमात छ वरिपरि
र ग्रह घुमिरहेका उपग्रहहरु छन् वरिपरि
केही बाबुहरु छन् वरिपरि ।
यो कहाँ हो ?
कहाँ छु म ?
र कहाँ छ यहाँको मानवबस्ती ?
कतिहजार कोष टाढा फैलिएको छ यो अँध्यारो जङ्गल ?
को सँग सोधूँ, कहिले पुगिन्छ मानिसहरुको बस्तीमा ?
यहाँ त केही ताजमहलहरु छन्
जो बनाउँदा काटिए हातहरु कर्मीका
केवल ठुटा हात भएका कलाकारहरु छन् वरिपरि
इतिहास बन्दै गएका केही मानवकृतिहरु छन् वरिपरि
अकुत सम्पत्तिको समुद्रमा पौडिरहेका केही बाबुहरु छन् वरिपरि ।
छद्म समाजसेवीहरु छन् वरिपरि
मृत्यु—घण्टाको रालो अँठयाएर
जबरजस्ती बाँचिरहेका सिकारी चितुवाहरु छन् वरिपरि
सधै घातक खेलमा व्यस्त
व्यूह रचना गरिरहेका केही दुष्टहरु छन् वरिपरि
आगो चोरेको आरोपमा मानिसलाई सजाय दिन सधै उत्सुक
सिकारी द्यौताहरु छन् वरिपरि
केही बाबुहरु र उनका
प्रिय नातेदारहरु छन् वरिपरि ।