Manu Lohorung – Upasana

मनु लोहोरुंग – उपासना

खण्डवृष्टिको
सुगन्धित अत्तरको
मोहमा लट्ठिएर
निशाले नछोडेका

बादशाहहरुको
भीड कुल्चेरै
यो पवित्र-भूमिमा
अनुरागको तोरण टाँग्न
आउँनु पर्छ
जसरी पनि
तिमी आउँनु, प्रिय !

अभ्यर्थी भएर
तिमी मार्फत
अमरलोकमा
यो हृदयउद्गार चढाउँछु
सबै अनुयायीहरुको
आलिंगनमा हरदम बस्नु
युग-युग,
अश्मिभूत भएर
प्रिय ! म यही चाहन्छु

एक बराबर
हजारौं सपनाहरु
टुटेर के भो र ?
जीवन्त मानव-मनोहर हाँस्न
प्रतिबोधी लोकलाई
अलौकिक अप्सानी
चढाउँन चाहन्छु।
प्रिय ! म यही अर्जी गर्छु

युगान्त पछिको युग
फेरि मधुमास बोकेर
निहारिका उदाँउदो छ l
इज्जतका निशानीहरु
उत्खनन गर्न,
उराठ खडेरीमा
सागर उरालेर
गोधुलिको असिम प्रेम
लिएरै आउँनु प्रिय !

त्यसैले असमिपक
युगिन सहगामी हुन
तिम्रै समीभूतमा राख्न
दर्शन कुँद्ने हतियार
बोकेर तिमी एकलव्य,
जगको अभिमुख रहन,
तिमी आउँनु पर्छ
जसरी पनि आउँनु !
प्रिय !
म यही उपासना गर्दछु !!!

रचना समय :- ३१ जेष्ठ २०६७ – सोमबार
शितलपाटी – ६, संखुवा-सभा