त्यतिखेर,
सम्पूर्ण ताताहरू हराएका थिए ।
समस्त उज्यालाहरू बिलाएका थिए ।
र समग्र न्यानाहरू चोरिएका थिए ।
समान न्यानो बाँड्ने सुर्य समेत सेलाएको थियो ।
जसको उपस्थितिमा,
चिसोको अस्मिता स्वयं टुहुरो हुने गर्दथ्यो ।
र त्यतिखेर केवल,
चिसोका साम्राज्यहरू पालेर
ताराहरु जाग्राम बसेका हुन्थे आकाशमा ।
र लगातार रुपमा एउटा जूनलाई काखी च्यापेर,
शीत छरिरहेका थिए !
चिसो झारिरहेका थिए !!
र तुसारो फ्याँकिरहेका थिए !!!
उचाइको घमण्डमा,
आफ्नो सत्ताको तुजुकमा-
आकाश त्यतिखेर मात्तिएको थियो ।
हुनसक्छ आकाश अहंकारले ग्रस्त थियो ।
कैयौं वसन्त झरे पनि
सधैं शरद फलाएर,
अनि हिमपात बर्साएर-
र सिरेटो र्छर्केर,
आकाश त्यतिखेर
हाम्रो अस्तित्व नै निल्ने दाउमा थियो ।
हामी तल धर्तीमा,
बाँच्ने अधिकारको स्पष्ट बहुमत ल्याउन नसकेका,
मान्छेहरू भने,
चिसिएर-
सेपिएर-
र कक्रिएर आक्रन्त हुँदै,
आकाशले चोरेका हाम्रा न्यानाहरू,
धर्तीमै फर्काउन भनेर,
आकाशको विरुद्धमा एकजुट भएर-
समूह भरिरहन्थ्यौं ।
सभा लगाइरहन्थ्यौं ।
र नारा घन्काइरहन्थ्यौं ।
खबरदार !
तिमी तातो चोर्ने आकाशहरू,
अब कसैगरी हामीसँग नजिस्क-
हामी मान्छे हौं र मान्छे हुनुको हाम्रो हकलाई-
समाप्त पार्ने षड्यन्त्रहरू पनि नपस्क ।
जुलुसमा उभिएका हामीहरू त्यसबेलासम्म पनि,
ताताकै खोजीमा हुन्थ्यौं-
र आकाशले हडपेका न्यानो पार्ने हाम्रा संयन्त्रहरू –
हामी फिर्ता लिने तरखरमा थियौं ।
हुँदा-हुँदा,
हाम्रो आवाजले थर्किएर-
हाम्रो भीडसँग डराएर-
केही सीप नचलेपछि
एक दिन,
आकाश एकाएक एउटा सम्झौतामा आयो ।
र उसले लुकाएका हाम्रा उज्यालाहरू,
हाम्रा लागि धर्तीमै फिर्ता दिने भयो ।
यसरी हाम्रा न्यानाहरू विनाशर्त आकाशले फिर्ता दियो ।
अहिले पनि हामी एक हूल मान्छेहरू छौं ।
जो धर्तीमा फ्याँकिएको त्यो उज्यालो तापेर बसेका छौं ।
कतै फेरि आकाशले उज्यालो नचोरोस् भनेर,
अहिले हामी,
उज्यालोको चौकीदारीमा छौं ।