प्रकाश थाम्सुहाङ – थोत्रो साइकल
अचेल
अनवरत बिहानी
अलार्म घडीको किरिङ-किरिङ
बलजफ्ती निद्राबाट जाग्छु
अनि ठीक पार्छु मेरो थोत्रो साइकल
जानैपर्छ मैले
निरर्थक काममा
यो समय
ऐरावत चढ्ने बेला
यो उमेर
इफेल टावर चढ्ने बेला
कुन्नि झ् कस्तो नियति मेरो –
अविराम थोत्रो साइकल चढिरहेछु
विशाल कालो सर्पजस्तो
लमतन्न परेर सुतेको सडक
मेरो थोत्रो साइकलको ख्याट-ख्याटमा
ब्यतिन्छ एक्कासी
अनि आफ्नो मुख बाउँछ मलाई निल्नलाई
बस्, म निलिँदै जान्छु भित्रभित्र सडकको उदरसम्म
हो झ् अनि म पुग्छु चिहानमा
सारा एषणाहरू रित्तिएको म
उभिदिन्छु भावहीन ठिङ्ग
अचेल म चिहान कुरूवा भएको छु
कस्तो अचम्मको चिहान हो यो
दिउँसै पनि भित्र बाहिर गर्छन्
काला सेता करवीर मसानहरू
अनि, कुन्नि झ् केले अभिसंचालित म
ओठमा अनृत मुस्कान छर्दै भन्छु
सलाम आलेकुम
छि ! चिहान कुरूवा म
छि ! मसानहरूको चाटुकार म
यसर्थ बिरामी म
ऐ फेदाङमा ! मेरो सातो बोलाइदेउ है
अचेल सातो हराएको छ मेरो
त्यसैले त
धारे हात लगाउन सक्दिन मेरो नियतिलाई
मेरो नियति कोर्ने समाजलाई अथवा शासकलाई
साँच्ची सातो हराएको छ मेरो
त्यसैले त
फोर्न सक्दिन ग्रेटवाल जो मेरो सपनाको बाधा बनेको छ
रोक्न सक्दिन मेरो आवाजहरूले
अनगिन्ती चिहान कुरूवा बन्न ओइरिनेहरूलाई
अहर्निश साँझ
रङ्गहीन, फुस्रो परिक्लान्त म
फर्किन्छु कोठा उही थोत्रो साइकलमा
भोलिको पुनरावृत्तिको निम्ति मनस्थिति तयार बनाउँदै ।