Kumar Simkhada – Tan Ke Gardai Chhas Yahan

कुमार सिंखडा – तँ के गर्दैछस् यहाँ?

उशाका शीतका लहरले रातका चारै प्रहरले
आफैंलाई सोध्छन् सधैं आफ्नै हजार रहरले
तँ के गर्दैछस् यहाँ?

यो वर्षात पनि छ बढो पक्षपाती
भिजाउँछ यो ज्यान सुख्खै छोड्छ छाती
हरपल उर्लिएर आँधी दिन्छ चुनौती
उसै त टुक्रा मन खडा छ करौंती
अनकन्टार एक्लो रातिले निर्बल आफ्नै छातीले
एकै प्रश्न सोध्छन् सधैं मेरा नौला साथीले
तँ के गर्दैछस् यहाँ?

यो अपरिचित भीड़ एक्लै छिचोल्न
मन त कहाँ थियो र इच्छा आफ्नै चिथोर्न
आडम्बर बोकी हिंड्छु दोषी अरू देखाउँछु
मनमा बार बाँधेर कमजोरी छेकाउँछु
पराई रूखा भाकाले निर्जीव सुखा पाखाले
बिहानीमै सोध्छन् सधैं भीडका हजार आँखाले
तँ के गर्दैछस् यहाँ?

उकालोमाथिको एकलास चौतारी
मेरै बाटो हेरी बस्छन् मेरा शैशव दौंतरी
आँखा चिम्ली हेर्दा चरी झैं छ यो मन
आँखा खोल्दा देख्छु उही उराठ जीवन
घरखेत गोठ टौवाले गाउँका पाटी पौवाले
एकनास सम्झाइरहन्छ ठुटे काले कौवाले
तँ के गर्दैछस् त्यहाँ?