प्रल्हाद पोख्रेल – स्वाभिमानको गोरेटो
लम्क-
क्रान्तदर्शी पुरुषहरु ! लम्क
वीराङ्गना नारीहरु ! लम्क
क्षितिजमा उज्यालो आउँदैछ, कलिला बालकहरु !
जीवनको बिहानैदेखि
आव्हान गरेर सम्प्राप्तिको देदीप्यमान सुर्यलाई
लम्क-
स्वाभिमानको उज्यालो गोरेटोतर्फलम्क ।
शान्तिले यतै कठाङग्रिन नपरोस्
मृतशान्तिको चीसो सिरेटोमा
सिर्जनाले कतै जम्न नपरोस्
गतिहीनताको निस्प्राण पोखरीमा;
शान्ति सेलाएर अनायास
सिर्जनाको गतिशीलता हराउँदैछ अचेल
बुद्धका ज्योतिर्मय आँखाहरु !
घन्क-
अर्धमुदित नयनहरु
अब शान्तिका ज्वालाहरु दन्क ।
विस्फोट ब्यूँझन्छ उत्पीडनमा
ज्वालामुखी लप्लपाउँछ त्राटनमा
घन्क-
संसारभरका स्वतन्त्रता र शान्तिकामी आवाजहरु !
उज्यालो छेकिंदैन हत्केलाको छेकाइले
घन्क-
साहसको महासागरमा
स्वाभिमानका ज्वारभाटा चलाएर घन्क ।
राष्ट्रियता-
आफ्नो महान् मुटुमा राख,
देश-
आफ्नो विशाल मस्तिष्कमा राख,
सिङ्गै सगरमाथा अट्न सक्छ तिम्रो छातीभित्र
एउटा काँधमा अन्नपूर्ण राख,
अर्को काँधमा धवलागिरी राख ।
समेटेर सम्पूर्ण देशलाई
आत्मशक्तिका अजस्र स्रोतहरुमा
चम्क-
शौर्यशाली युवाहरु ! चम्क
स्वाभिमानी सपूतहरु चम्क !
बालेर अस्तित्वको झर्झाउँदो अग्निशिखालाई
आफ्नै यज्ञशालामा
तिमी स्वदेशको पूजा गर
चढाएर इमान्दारीको सुन्दरतम पुष्प गुच्छालाई
आफ्नै मातृधर्तीमा
तिमी शहीदको बन्दना गर ।
लम्क-
क्रान्तदर्शी युवाहरु ! लम्क
वीराङ्गाना नारीहरु ! लम्क
आव्हान गरेर सम्प्राप्तिको देदीप्यमान सुर्यलाई
लम्क-
स्वाभिमानको उज्यालो गोरेटोतर्फलम्क ।