प्रकाश थाम्सुहाङ – सोल्टिनी
सोल्टिनी !
गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा
हेर्नु एकैछिन उभिएर
हाम्रो मायाको निसानी
बरपिपल उम्री सुरक्षित छ अझै ।
सम्झना आउँछ अझै पनि-
रोमान्टिक हुँदै खान्थ्यौँ भावुक कसम
अर्जाप्थ्यौँ हाम्रो धारिलो प्रेमको हतियार
मुठ्ठीभित्र राखेर मुटु
फेदाङमाले झैँ जोखना हेर्थ्यौँ
र गाउँथ्यौँ जोडसँग खुशी हुँदै पालाम-
हा – हा – हाहाहुर्रा – हा – हा
हाहा हाहा हुर्रा हाहा
सोल्टिनी !
याद आउँछ हगि ?
तर वियोग लेखेको रहेछ लेखान्तमा
छुट्टिनु रहेछ एकदिन
भत्किदैँ – भत्किदैँ बगेँ म नदीसँग कता-कता
पुगेँ विरानो जग्गामा
तिमी बिनाको नितान्त एक्लो जीवन
सोल्टिनी झ्
भत्किनु पनि त जीवन रहेछ
भत्किँदै बाँचीरहेँ
भत्किँदै बगिरहेँ ।
सुनेँ यसबीच
तिमी अलप भयौँ रे !
तिमी जीवन बनाउन हिड्यौँ रे !
अन्तरालमा भेट भयो
म यति विवश छु सोल्टिनी
चाहेर पनि मायाको स्पर्श गर्न सक्दिन
उफ !
म कत्ति लाचार !
सोल्टिनी !
गएर हेर्नु है नबिर्सी गाउँको फलैचाँमा
हेर्नु एकैछिन उभिएर
हाम्रो मायाको निसानी
बरपिपल उम्री सुरक्षित छ अझै ।