Shyam Rimal – Shabda Seema

श्याम रिमाल – शब्दसीमा

मानिसहरु किन व्यर्थमा
शब्द फालिरहेछन् हँ ?

हावामा बिलाइरहेका शब्दप्रति कुनै शोक छैन
शब्दवाचकहरुलाई,
न शब्दलेखकहरु
कागजका भावहीन शब्दप्रति पश्चाताप गर्छन्

शब्दको अनस्तित्वमा
आशौच बार्छन् त
शान्त सौम्य हावाहरु
सेता कागजहरु
र मौन आत्माहरु

शब्द त ब्रम्ह हो
शब्द त सृष्टि हो
शब्द त सत्य हो र शाश्वत रहन्छ
शब्द त नित्य हो र अनन्त रहन्छ

मानिसहरु शक्तिहीन शब्द फ्याँकेर
किन आफंैलाई कमजोर बनाइरहेछन् ?